१ कार्तिक २०७८ सोमबार
विचार

नयाँ राजनीतिक ध्रुवीकरणतिर

बाइरोडको बाटोमा

मुलुकमा राजनीतिक ध्रुवीकरणका निम्ति उपयुक्त अवसर छ। सत्तारुढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका निम्ति पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ‘अयोग्य’ नेतृत्व हुन्। त्यसैगरी प्रमुख विपक्षी नेकपा (एमाले) मा वरिष्ठ नेता माधवकुमार नेपालका निम्ति कांग्रेस भरपर्दो र देउवा विश्वासिला नेता हुन्।  

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीका निम्ति नेपाल काम नलाग्ने मानिस हुन् भने नेपालका मनमा पनि ओलीप्रति कुनै सहानुभूति छैन। राजनीतिक दलहरूले कुनै सिद्धान्तका आधारमा यतिबेला आफ्नो राजनीति गरिरहेका छैनन्। बरु ती दलभित्रका व्यक्तिले गरेका व्यवहारका आधारमा मन पर्ने र नपर्ने अवस्था छ।  

सिद्धान्तका आधारमा हुन्थ्यो भने एउटै दलभित्र रहेका व्यक्तिबीच हार्दिकता हुन्थ्यो। अहिलेको परिस्थिति आउनु पनि राम्रो हो। व्यक्तिका गुण र दोषका आधारमा अब निर्णय गर्न सजिलो भएको छ। आफ्नो दलभित्रको व्यक्ति भएपछि जसो गरे पनि सही हुने र अर्को दलभित्र रहेको व्यक्तिले ठीक काम गर्दा पनि गलत हुने भन्ने परिपाटीलाई यसले कम गर्नेछ।  

एउटै दलभित्र रहेका व्यक्तिबीच हार्दिकता संघर्षका बेलामा हुन्छ। सहजकालमा अन्तरर्संघर्ष हुन्छ। बाहिरकासँग संघर्ष गर्नुपर्ने अवस्था हुँदैन। आन्तरिक संघर्षका निम्ति उनीहरूले समय खर्चिनुपर्ने हुन्छ। देशमा यतिबेला कुनै पनि दलले बाह्य खतरासँग लड्नुपरेको छैन। सबै दल आन्तरिक संघर्षमा लागेका छन्।  

सत्तारुढ एमालेको आन्तरिक संघर्ष यतिबेला उत्कर्षमा छ। भावनात्मकरूपमा यो दल दुई टुक्रा भइसकेको छ। एकातिरको नेतृत्व ओलीले गरेका छन् भने अर्कोतिर छन्– नेपाल। एमाले अन्तरसंर्घषका निम्ति अब फुर्सदमा छ। ओली बालुवाटारबाट बालकोटको बार्दलीमा पुगिसकेका छन्। बालकोटबाट कोटेश्वर नजिकै पर्छ तर त्यो निकटताको कुनै अर्थ छैन। बरु कोटेश्वरबाट बाल्कोट भन्दा खुमलटार र बालुवाटार नजिक भइरहेको छ।  

निकटमै निर्वाचन पनि नरहेको र तत्काल एमालेले गरिहाल्नुपर्ने कुरा केही नभएको हुनाले यसको विभाजनको घडी पनि यतिबेला घर्किएको छ। ओली र नेपाल दुवैथरी यतिबेला जोखाना हेर्दैछन्। धेरै तातो लागेको भनेको एमालेभित्र आफूलाई दोस्रो पुस्ता दाबी गर्ने समूहलाई हो। तिनको पनि अहिले सक्रियता धेरै देखिएको छैन। दोस्रो पुस्ताले आफैंँलाई केन्द्रित गरेर पार्टीमा बर्चस्व कायम गर्ने रणनीति पनि अख्तियार गर्न खोजेको छ।  

तत्कालका लागि दोस्रो पुस्तालाई तलदेखि माथिसम्मका कार्यकर्ताले पत्याइहाल्ने स्थिति भने छैन। यिनलाई पत्याइनहाल्नुको कारण भने यिनको आधार नभएरै हो। विद्यार्थी राजनीति गर्दागर्दै यिनीहरू काठमाडौँमै बसेर नेता भए। यही नेताको गणेश परिक्रमाबाट माथिल्लो नेतृत्वमा पनि पुगे। अहिले आधार नभएकै कारण कहिले ओली र कहिले नेपाललाई मनाउन दौडिरहेका छन्। तैपनि यो समूहले पनि आफूलाई धु्रवीकरणको एउटा हिस्साका रूपमा विकास गर्दैछ।  

भन्नुको मतलव के हो भने दलभित्र बेमेल छन् तर अरू दलभित्र सहकार्य छ। उस्तैउस्तै सोच भएका नेताहरू विभिन्न दलमा छन्। ओलीलाई जसरी पनि बालुवाटारबाट धपाउनुपर्ने भएको थियो। त्यसका निम्ति देउवा, पुष्पकमल दाहाल, नेपाल, उपेन्द्र यादवलगायत एक ठाउँमा आइपुगे। र, यो समूहले ओलीका अराजक व्यवहारमा रोक लगाउन भूमिका खेलेको छ। यो समूह एक ठाउँमा नआउञ्जेल ओलीलाई कसैले सक्दैनन् भन्ने विश्वास बढ्दो थियो।  

ओलीसँग वैचारिक निकटतामा यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापादेखि विवेकशील नेपाल पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसम्म छन्। संघीयता, धर्म निरपेक्षता जस्ता विषयमा यो समूहको निकटता देखिन्छ। विस्तारै यसले घनीभूत एकताबाट बाटो समात्छ। संघीयता खारेज गर्न र धर्म निरपेक्षताका बारेमा जनमत संग्रह गर्न मिश्रले हालै राखेको प्रस्ताव ओली निकट नेताहरूले राख्दै आएका विचारसँग निकट छ। यी विचारपूर्वक आएका प्रस्ताव हुन् भन्ने आमबुझाइ छ।  

कांग्रेस आफ्नै घरझगडामा केन्द्रित छ। आसन्न महाधिवेशन यिनको घरझगडाको केन्द्र भए पनि यसमा पनि वैचारिक मतभेद छ। लामो समयसम्म देउवाले सरकारमा जान चाहेका थिएनन्। उनी दलभित्रकै अवस्थाका कारण सरकारमा जान नचाहेका थिए भन्ने अहिले पुष्टि हुँदैछ। दलभित्रका आकांक्षाका व्यवस्थापन हुन नसक्दा देउवाले सरकार बनाएको एक महिना पुगिसक्दा पनि पूर्ण आकार लिन सकेको छैन। त्यसैगरी माओवादी र राष्ट्रिय जनता पार्टी (राजपा) सम्मको आन्तरिक व्यवस्थापनको समस्या छ। सरकारमा जान सबै जना लालायित छन्।  

कुनै सिद्धान्तका लागि भन्दा जसरी पनि लाभको पदमा जानुपर्छ भन्ने मान्यता यी दलहरूमा छ। दलभित्रका नेताहरूमा हार्दिकता कम छ। तर अन्य दलका नेतासँगको सम्बन्ध सुमधुर छ। यसो हुनुको कारण दलभित्र लोकतन्त्रको कमी हो। नेतृत्वले अनुशासनको डण्डा लगाउने र तिनलाई परास्त गर्न नसकिने अवस्था छ। ओलीलाई सरकारबाट हटाउन भएको दलहरूबीचको सहकार्यले आगामी दिनमा ध्रुवीकरणलाई थप बल पुग्नेछ।  

यो  ध्रुवीकरण वाम दलका बीचमा सबै भन्दा पहिले हुन सक्छ। त्यसका निम्ति ओलीले नेतृत्व गरेको दलबाहेकका अन्य वाम नेताहरू एक ठाउँमा बस्न सक्छन्। बृहत्तरस्तरमा सरकार सञ्चालनसम्मका निम्ति कांग्रेस र वाम दलबीच सहकार्य हुन सक्छ। ओलीविरुद्धको संघर्षका क्रममा यो ध्रुवीकरण सुरु भइसकेको छ। त्यसैको परिणामस्वरूप यो समूहले राष्ट्रियसभामा दुई स्थान पाइसकेको छ। संघीय सरकार परिवर्तन भइसकेको छ। प्रदेश स्तरमा एक र वाग्मतीबाहेक सबै ठाउँमा सरकार परिवर्तनसमेत भइसकेको छ।  

आगामी निर्वाचनसम्ममा यो ध्रुवीकरणले थप स्वरूप ग्रहण गर्नेछ। ध्रुवीकरण अरू हुन दिने वा नदिने भन्नेमा सबै भन्दा धेरै भूमिका एमाले अध्यक्ष ओलीको हुनेछ। नेपाल समूहलाई धकेल्दै लगेर उनैले कांग्रेस, माओवादी केन्द्र र राजपासँग सहकार्य गर्नुपर्ने अवस्थामा पु¥याएका हुन्। अझै पनि समय छ। योबीचमा दललाई समेटेर अगाडि बढेको खण्डमा धु्रवीकरण केही भिन्न हुन सक्छ।  

अन्यथा, नेपालले अब केही समय आरामले आगामी रणनीतिक तयारी गरे पनि पुग्छ। अहिले तत्काल केही गर्नुपर्ने अवस्था नभएका कारण ओलीले कसरी व्यवहार गर्छन्, त्यो हेरेर बस्ने मौका उनलाई आएको छ। अहिले तत्काल चुनाव पनि नभएको र पार्टी महाधिवेशन पनि नजिकै नभएको हुनाले ओलीलाई छट्पटाउन दिएर उनी ढुक्क बस्नेछन्। आफ्नो दलको सरकार ढालेर विपक्षीलाई सत्तामा जान सहयोग गरेको भनेर आलोचना गरेरमात्र हुँदैन। यो परिस्थिति ओलीमा आएको अधिनायकवादी चिन्तनको प्रतिफल हो। उनी नेपालदेखि दाहालसम्मलाई सिध्याएर आफ्नो शासन दीर्घजीवी बनाउन केन्द्रित थिए।  

दलको आन्तरिक लोकतन्त्र कमजोर भएपछि त्यसले धु्रवीकरणलाई प्रोत्साहित गर्छ। आफ्नै दलको नेताले आफूलाई अगाडि बढ्न नदिने परिस्थिति आएपछि आफूसँग विचार मिल्ने व्यक्तिको खोजी हुनु स्वाभाविक हुन्छ। ओलीले पनि दाहालसँग दलको एकीकरण गरेर ध्रुवीकरणलाई अगाडि बढाएकै हुन्। आफूले सत्ता प्राप्त गरेपछि छाड्दै नछाड्ने ओलीको प्रवृत्तिका कारण त्यो प्रक्रियाबाट दाहाल बाहिरिन वाध्य भए। त्यसैक्रममा नेपाल र दाहालबीच सहकार्यको परिस्थिति समेत ओलीले सिर्जना गरेका हुन्। उनको दम्भी स्वभाव र राजनीतिक सहमति पालना नगर्ने चरित्रका कारण क्रमशः सबै उनीबाट टाढिँदै गएका हुन्।  

ओली प्रवृत्तिकै कारण मुलुकमा ध्रुवीकरण प्रक्रिया सुरु भइसकेको छ। प्रतिनिधिसभामा गत मंगलबार ओलीले जसरी आफ्ना दम्भी अभिव्यक्ति दिए, त्यसले पनि यो प्रक्रियालाई अरू बढाउन मद्दत गरेको छ। उनी बदलिएका छैनन् र बदलिँदैनन् पनि। यो स्थितिमा नेपाल समूहले ढिलो÷चाँडो अर्को दल बनाउने परिस्थितितिरै मुलुक अगाडि बढ्छ। त्यो दलसँग अहिलेका प्रमुख दलहरू कांग्रेस, माओवादी र राजपाबीच सहकार्य हुन सक्छ। त्यसैगरी नयाँखाले राजनीतिक प्रश्न उत्पन्न गरी समर्थन आफ्नो पक्षमा पार्न ओली समूहले पनि भूमिका खेल्ने नै छ। मुलुकको राजनीतिक शुद्धीकरणका निम्ति यस्तो ध्रुवीकरण आवश्यक पनि छ। 

प्रकाशित: ३१ श्रावण २०७८ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App