७ कार्तिक २०७८ आइतबार
विचार

विश्वव्यापीकरणको प्रत्याक्रमण

निरन्तर जारी कोरोना महामारी र बढ्दो जलवायु परिवर्तनले सन् २०२१ को गर्मी मौसमलाई परिभाषित गर्छन्। यी दुवैको कारण विश्वव्यापीकरण हो। विश्वका देशबीच एकापसमा वस्तु, सेवा, पुँजी, तथ्यांक, आतंककारी र रोगको व्यापक र बेरोकतोक प्रवाह हँुदा समस्या झन् जटिल बनेको छ।  

अहिले कुनै पनि चिज स्थानीय भएर बस्न सक्दैन। चीनको वुहानमा देखिएको संक्रामक भाइरस त्यहाँमात्र सीमित रहेन। विश्वका कुनै पनि स्थानमा उत्सर्जन हुने हरितगृह ग्यासले समग्र वायुमण्डल र समुद्रलाई तताएको छ।  

यी दुवै संकटले विश्वव्यापीकरणको नकारात्मक प्रभावलाई सम्बोधन गर्न विश्वले पर्याप्त प्रयास नगरेको प्रमाणित गरेका छन्। अन्तर्राष्ट्रिय समुदाय भन्ने गरे पनि यो मात्र एक सामान्य र सानो समुदायमा सीमित देखिएको छ। विश्वव्यापीरूपमा अर्बौं डोज खोप आवश्यकता हुँदा पनि आवश्यकरूपमा आपूर्ति हुन सकेको छैन। विश्वव्यापी खोप अभियान सञ्चालनका लागि आवश्यक अर्बौं डलरको जोहो हुन सकेको छैन। खोप नलगाएको विश्वमा भाइरसका नयाँ नयाँ भेरियन्ट विकास भैरहँदा पनि विश्वका समृद्ध देशले आफ्नै देशलाई मात्र केन्द्रमा राखेका छन्। भाइरसका लागि राजनीतिक सीमाको कुनै अर्थ छैन।  

यही कारणले महामारी झन बिकराल बन्दै गएको छ। औपचारिकरूपमा ४० लाख मानिसको मृत्यु भएको भने पनि वास्तविक मृत्यु संख्या त्यो भन्दा कैयन् गुणा बढी मानिएको छ। विशेषगरी ब्राजिल, भारत, हंगेरी, रुस र अन्य केही राष्ट्रका लोकरिझ्याइँमा रमाएका नेताले जानाजानी तथ्यांक कम देखाएका छन् भने मृत्युको रिपोर्टिङ प्रणाली कमजोर हुँदा यो संख्या कम देखिएको छ। यसबाहेक महामारीको आर्थिक प्रभाव अत्यन्त बढी छ। महामारीले विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लाई ३ प्रतिशतले घटाएको आकलन छ। यसैगरी १० करोड मानिस फेरि गरिबीको रेखामुनि झरेका छन् भने असमानता बढेको छ।  

हामीलाई यी समस्या समाधान गर्न के गर्नुपर्छ र कुन माध्यमबाट यो गर्न सकिन्छ भन्ने जानकारी हुँदाहँुदै पनि त्यसो हुन नसक्नु निराशाजनक हो।  

अमेरिकालगायतका केही देशले ठ्याक्कै उल्टो काम गरेका छन्। उनीहरूले विद्यमान कमजोर आपूर्ति अवस्थामा खोपको माग झन बढाएका छन्। अर्काेतिर कट्टरपन्थी राजनीति र सामाजिक सञ्जालमा प्रवाहित हुने गलत सूचनाले खोप लगाउन हिच्किचाउने जनसंख्या बढ्दो छ। टेलिभिजन, रेडियोमा प्रसारण गरिने खोपविरुद्धका छलफल र सूचनाले खोप लगाउन अनिच्छुक समुदायलाई थप बल मिलेको छ।  

खोपसँगै मास्क, सामाजिक दूरी, परिक्षण तथा कन्ट्याक्ट ट्रेसिङ जस्ता स्वास्थ्य मापदण्ड कडाइका साथ कार्यान्वयन गरिएको भए हालको भन्दा धेरै कम मानिस गम्भीर बिरामी हुन्थे र महामारी झण्डै हराइसकेको हुन्थ्यो।  

यसैगरी विश्व समुदायका लागि अर्काे संकट जलवायु परिवर्तन हो। अपेक्षा गरे भन्दा धेरै छिटो जलवायु परिवर्तनका प्रभाव देखिन थालेका छन्। विभिन्न प्रमाणले पृथ्वी तात्दैछ भन्ने देखाए पनि विगतका कैयन् वर्षसम्म यो चुनौती सम्बोधन गर्न ठोस प्रयास हुन सकेनन्। तर सन् २०२१ को गर्मीयामले जलवायु परिवर्तन महŒवपूर्ण र अत्यन्त जरुरी विषय बनेको प्रमाणित गरेको छ।  

जलवायु संकटका प्रभाव बहुआयामिक छन्। यसका कारण अमेरिकाका पश्चिमी क्षेत्रमा जंगली आगोको फैलावट नियन्त्रणबाहिर गयो र धुवाँले देशको ठूलो भूभाग ढाक्यो। युरोप र चीनमा व्यापक बाढी आयो भने अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्वमा खडेरी लम्बियो। यो संकटका कारण मानवीय क्षति मध्यम स्तरको भए पनि यो बढ्न सक्ने देखिएको छ। यसको आर्थिक प्रभाव झन बढ्ने निश्चित छ। मानवका लागि विश्वका कतिपय स्थान बसोबासयोग्य नहँुदा आन्तरिकरूपमा विस्थापित जनसंख्या बढेको छ। उनीहरू आफ्नो थातथलोबाट बसाइँ सर्न बाध्य भएका छन्।  

जलवायु परिवर्तनको गति नियन्त्रण गर्न अथवा रोक्न भनेर धेरै छलफल र बहस भएका छन् तर अपेक्षित प्रगति भएको छैन। बेलायतमा आगामी नोभेम्बरमा आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु महासन्धि (कोप–२६) सम्मेलनले कसरी विभिन्न राष्ट्रले स्वतस्फूर्त हिसाबले निर्धारण गरेका प्रतिबद्धता कार्यान्वयनमा ल्याउने भन्ने विषयमा थप छलफल गर्ने तयारी भइरहेको छ। यो सम्मेलन र तयारी महŒवपूर्ण हुँदाहुँदै पनि अझै कतिपय देशले जलवायु परिवर्तनलाई न्यून गर्ने दिशामा आवश्यक ऊर्जा नीति अवलम्बन नगरी आर्थिक वृद्धिलाई अधिक महŒव दिएका छन्। के विश्व समुदायले कोइला प्रयोग गरेर उत्पादन गरिने वस्तुलाई अधिक कर लगाउने इच्छा देखाउला ? अथवा जंगल विनाश रोक्न अनिच्छुक राष्ट्रलाई प्रतिबन्ध लगाउला ? भन्ने विषय ज्वलन्त बनेका छन्। यसैगरी के धनी राष्ट्रले हरित ऊर्जालाई अवलम्बन गर्न गरिब राष्ट्रलाई आवश्यक प्रविधि र पुँजी उपलब्ध गराउलान् ? भन्ने विषय अहिले महŒवपूर्ण बनेका छन्।  

यहीबेला जलवायु परिवर्तनको गति रोक्न आवश्यक भए पनि यो दिशामा भएका प्रयास अपर्याप्त छन्। कोप–२६मा जे÷जस्तो निर्णय भए पनि जलवायु परिवर्तनसम्बन्धी यसअघि पनि राम्रा सम्झौता भएका छन् र भविष्यमा अन्य पनि हुनेछन्। जलवायु परिवर्तनका प्रभावलाई अनुकूलन गर्न, सहर र ग्रामीण क्षेत्रमा बढ्दो तापमान थेग्न, जंगली आगो, आँधीबेहरी र बाढी रोक्न तथा लामो खडेरी रोक्न तत्काल थप प्रयास आवश्यक छन्। रोकथाम सँगसँगै संकट थेग्न सक्ने क्षमता पनि उत्तिकै महŒवपूर्ण हुन्छ।  

सबैभन्दा महŒवपूर्ण पक्ष के हो भने वायुमण्डलबाट कार्बनडाइअक्साइड हटाउन सक्ने प्रविधिको विकास तथा नियमन गर्ने दिशामा थप प्रयास आवश्यक छ। यसैगरी पृथ्वीमा पर्ने सूर्यको प्रकाश परावर्तन गरेर वायुमण्डलबाहिर फाल्न आवश्यक देखिन्छ। जलवायु परिवर्तनलाई न्यूनीकरणका लागि आवश्यक मानिने यस्ता संभावित उपाय अप्रमाणित र विवादास्पद त होलान् तर कोभिड–१९ महामारी रोक्न जुन सामूहिक प्रयासको खाँचो थियो त्यो नभएको पृष्ठभूमिमा यस्ता प्रयासलाई ढिला नगरी तत्काल कार्यान्वयनमा ल्याउन आवश्यक देखिएको छ। हामी विश्वव्यापीकरणबाट भाग्न सक्दैनौँ तर कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सही निर्णय लिन सक्छौँ।  

प्रकाशित: १३ श्रावण २०७८ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App