छ। यो संभावना सदुपयोग गरे देश चाँडै सप्रन्छ। यतिमात्र होइन, महाथिरको भनाइअनुसार राजनेता वा दलले सबै जनताको हित सोच्ने हो र जनताकै सेवामा समर्पित हुने हो। आफ्नो सुख सुविधाको चिन्ता गर्ने होइन। विडम्बना, हामी भने सिराहा, रौतहट, महोत्तरी या तराईलगायतका गरिब गाउँमा शीतलहरले जनता मरिरहँदा पाँचतारे होटेलको हिटरमा जीउ तताइरहेका राजनीतिक नेता बेहोर्न अभिशप्त छौँ। यद्यपि, गणतन्त्रको वर्षातमा च्याउ झैँ उमि्रएका तराई केन्द्रित दल बिस्तारै खिइँदै र हराउँदै छन् र अन्ततः यिनको अवसान निश्चित नै छ तर ठूला भनिएका दल के गर्दैछन् त? महाथिरको विकास सूत्रअनुसार चलिरहेका छन् त?
देशमा विद्यमान संभावनाअनुसारको उद्यम गर्न विदेशी लगानी प्रोत्साहन गर्ने, दक्ष कामदार उत्पादन गर्ने, व्यवस्थापन चुस्त बनाउने र सरकारले सहयोगी भूमिका निर्वाह गर्ने सिद्धान्तमा महाथिर चलेका रहेछन्। राज्यले आधारभूत शिक्षालाई निःशुल्क गरी उच्च शिक्षामा उल्लेखनीय छात्रवृत्तिको व्यवस्था गर्ने र विश्वभरका नाम चलेका विश्वविद्यालयमा आफ्ना विद्यार्थीलाई अध्ययन गराउने योजना उनको रहेछ। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गरी त्यसको कार्यान्वयन गर्न बलियो सरकार चाहिने रहेछ कम्तीमा दुई तिहाई बहुमत भएको संयुक्त सरकार। सामान्य बहुमतको सरकारले जनता र देशका लागि गतिलो काम गर्न आँट गर्न नसक्ने रहेछ। किनभने, त्यस्तो सरकार कुनै पनि बेला ढल्नसक्ने जोखिम रहन्छ। यसैले सके चुनावअघि नै गठबन्धन निर्माण गरी त्यसले प्राप्त गर्ने विजयको दुईतिहाइले देश चलाउने, नभए पनि चुनावपछि गठबन्धन बनाएर बलियो सरकार चलाउने शैली र अनुभव महाथिरले नेपालीलाई सुनाए। हाम्रो यथार्थ भने फरक छ। अहिलेसम्म ‘वाद'को लडाइँ जारी छ। कांग्रेसलाई सकेसम्म लोकतान्त्रिक समाजवादी पार्टी मान्न तयार नहुने उग्रवामपन्थी चरित्र बोकेका दलहरुसँग ठूलै जनमत छ। संसारमा आजसम्म कसैले ल्याउन नसकेको रामराज्य मार्क्सबादले ल्याउने डंका पिटिरहेका कम्युनिस्टसँग लोकतन्त्रवादीले कस्तो गठबन्धन गर्ने? राजसंस्थाको मतिभ्रष्ट भएपछि लोकतन्त्र फर्काउन गरिएको तत्कालीन गठबन्धन चिरकालसम्म चल्न सत्तै्कनथ्यो। त्यसैले महाथिरले प्रयोग गरेको गठबन्धनको सूत्र लागु गर्न यहाँ भने संभव छैन। चिन्ताको विषय चाहिँ के छ भने अझै कहिलेसम्म हार्ने र हराउने लडाइँ चलिरहने हो नेपालमा?
महाथिरको भनाइअनुसार लोकतन्त्रमा त हार्न पनि तयार हुनुपर्छ। अर्थात्, हार्नेलाई पनि मान्न तयार हुनुपर्छ। तर हामीकहाँ त जित्नेको मात्र लोकतन्त्र चलेको छ। विसं २०६४ को संविधान सभा निर्वाचन परिणामपछि माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड'ले कांग्रेसलगायतका अरू दललाई हरुवाको पगरी भिराएको प्रसंग नेपालीले बिर्सिएका छैनन्। महाथिरको भनाइअनुसार त माओवादीले यसपटक र कांग्रेसले त्यतिबेला हार्दा पनि लोकतन्त्रले हारेको थिएन। तर नेपालमा कसैको मानसिकता पनि महाथिरले सुझाएजस्तो देखिँदैन। हामी आफूले जितेको अवस्थालाई मात्र लोकतन्त्र भनिदिन्छौँ। नेपालका वर्तमान प्रधानमन्त्री सुशील कोइरालाबाट उनि कति प्रभावित भए वा उनले सुशील कोइरालालाई कति सिकाए समयक्रममै थाहा होला तर यो ऐतिहासिक भेट र जमघटले नेपालको राजनीतिमा तात्विक असर पार्ने कुनै लक्षण छैन। कुनै पनि सत्सङ्गमा पुगेर फर्केको गृहस्थले तत्काल मद्यपान छाडेको वा पत्नीसँगको झगडा बन्द गरेको घटना अपवादमा मात्र हुनसक्छ। महाथिरको भ्रमण, भेटघाट र विचार त्यस्तै सत्सङ्गमात्र हुने संभावना बलियो छ।
बाबुराम भट्टराईको मार्क्सवादी खास्टो ओडेर त्यसभित्रैबाट निर्माण गरिने नयाँ शक्ति पनि परम्परागत जनवादी अभ्यासको नयाँ संस्करण मात्र हुनसक्छ। जनताले बुझेको सत्य के हो भने दुनियाँले हासिल गरेको समृद्धिमा मार्क्सवादको पटक्कै भूमिका छैन। सच्चा मानवतावादी दार्शनिकले एउटा वर्गको हितमात्र सोच्दैन र त्यही वर्गको मात्र वकालत पनि गर्दैन। सच्चा मार्गदर्शक त्यही हो, जसले अरूलाई अहित गर्नेको पनि हित सोचिराखेको हुन्छ। सर्वहारा वर्गको अधिनायकत्व भन्नेबित्तिकै सबै नागरिकको सर्वहाराकरणको खतरा र त्यसभित्रका खास व्यक्ति वा समूहको तानाशाही भन्ने स्वतः बुझिन्छ। बाबुरामको लोकतन्त्रमा विश्वव्यापी मूल्य मान्यता सहितको लोकतन्त्र अटाउँदैन। मार्क्सवादको नयाँ व्याख्याकारका रूपमा उनी यस व्याख्याका नयाँ पंडित कहलिन चाहन्छन्। उनी २०७० सालमा आएर समाजवाद र पुँजीवादका राम्रा पक्षसहितको नयाँ राजनीतिक प्रयोग भन्दैछन्। यो त उहिल्यै अर्थात् २००७ सालको जनक्रान्ति ताका नै बीपीले अघि सारेको राजनीतिक विचार हो र वर्तमानमा स्कानडेनेभियाली देशले अभ्यास गरेको जनमुखी लोकतन्त्र हो। यति छर्लङ्ग सत्यलाई बाबुरामको नयाँ आविष्कार मान्न कोही तयार छैनन्। बीपीकै विचारपथको नजिक देखिने गरी मदन भण्डारीसमेतले निकै अघि बहुदलीय जनवादको दृष्टिकोण अघि सारेका हुन्। तसर्थ, हामी आज पनि यस्तो राजनीतिक अन्योलकै चरणमा छौँ। महाथिरको प्रजातन्त्र बाबुरामलगायतका नेतालाई कसरी बुझाउने र कस्ले बुझाउने? जुनसुकै भावभंगीमा वा शैलीमा व्यक्त गरेको भएपनि बाबुरामको ‘टार्गेट' प्रचण्डले ओगटेको पार्टी अध्यक्षको कुर्ची नै हो। जे गरेर त्यो प्राप्त हुन्छ उनले त्यसैलाई २१ औं शताब्दीको जनवाद भन्ने हुन्। प्राप्त हुने संभावनाको अन्त्य भए नयाँ टुक्रे पार्टीको अध्यक्ष हुने परम्परागत बाटोमा हिँड्ने हुन्। त्यसैले उनलाई महाथिरको मन्त्र मनन गर्नेे फुर्सद पक्कै छैन। यता प्रधानमन्त्री कोइराला, झलनाथ खनाल र प्रचण्डले कम्तीमा पनि यी विवेचनालाई आत्मसात गर्ने हो भने संविधान पनि बन्न सक्छ र राष्ट्रले विकासको बाटो समात्न पनि सक्छ।
महाथिरले जतिसुकै आदर्श प्रवचन दिएपनि उनी प्रजातन्त्रवादी नेता भने होइनन्। उनले आफ्नो कार्यकालमा धेरै राजनीतिक दल र मलेसियाली जनताको स्वतन्त्रता अपहरण गरेका छन्। रोवर्ट मुगावे, भ्लादिमिर पुटिन र महाथिर मोहम्मद जननिर्वाचित तानाशाहका रूपमा संसारभर चिनिन्छन्। महाथिरले देशलाई उभो लगाएकैले उनको अधिनायकवादी अवतार ओझेलमा पर्योश। हुन त अति स्वतन्त्रतालाई प्रजातन्त्र भन्ने कि अराजकतन्त्र बहसकै विषय हो। तर, देश र जनतालाई उँभो लगाउने नेताका यस्ता कमजोरी क्षम्य हुने रहेछन्। हामी पनि समयमै विवेक पुर्यायउँ अन्यथा फेरि १० वर्षपछि अमेरिकाका पूर्वराष्ट्रपतिका रूपमा बाराक ओवामाको प्रजातन्त्रको व्याख्या सुन्न अभिशप्त हुनेछौँ।
प्रकाशित: १८ चैत्र २०७० २०:३६ मंगलबार