५ आश्विन २०७८ मंगलबार
विचार

सम्बन्धमा आउने द्वन्द्वको व्यवस्थापन

कुनै पनि सम्बन्ध मतभेदरहित हुँदैन। पतिपत्नीको झगडा, दाजुभाइको विवाद तथा छिमेकी र साथीसंगीबीचको तिक्तता यत्रतत्र हुन्छ। मतभेदको आयतनका सम्बन्धमा प्रश्न गर्दा कुनै पनि मानवीय नाता तनावरहित नहुने मनोवैज्ञानिकहरू बताउँछन्। सबै सामाजिक सम्बन्ध तथा पारिवारिक नाताबीच विवाद अपरिहार्य भएकाले तिक्ततालाई व्यवस्थापनबारे जिज्ञासा हुनु स्वाभाविक हुन्छ।  

कुनै विवाद किन सहजै सामान्य बन्छ अनि के कारणले कुनै झगडाले नातालाई जुट्नै नसक्ने गरी चुडाउँछ ? भन्ने सम्बन्धमा मनोवैज्ञानिक अनुसन्धान भए। दीर्घकालीन मानसिक तनाव दिने रडाको अनि गाली बेइज्जती तथा चरित्र हत्याका विवाद प्रायः नाता विच्छेदमा रुपान्तरित हुन्छ भन्ने ठान्छन् विज्ञहरू।  

समाजका कुनै पनि सदस्यले विवादको छनक नपाएका जोइपोइको नाता अन्त्यमा सन्बन्ध विच्छेदमा पुगेको अनि सधैँ घोचपेच चलिरहने युगल जोडी प्रतिकूल अवस्थामा एकापसप्रति निकै सहयोगीका रूपमा प्रस्तुत भएका घटना मनग्य देखिन्छन्। आखिर त्यस्तो अनौठो नतिजा किन देखिन्छ भनेर अमेरिकाको न्यूयोर्क सहरमा लामो समयदेखि ‘क्लिनिकल साइकोलोजिस्ट’ का रूपमा काम गरेकी डा. डेब्रा ग्रोडीको अभिव्यक्ति मननयोग्य छ। पतिको अभिव्यक्ति अक्षरशः पालन गर्ने पत्नी अनि पत्नीको भनाइमा प्रतिप्रश्न नै नगर्ने पतिबीचको सम्बन्ध अन्ततः पारपाचुकेमा रुपान्तरित हुने सम्भावना उच्च देख्छिन् डा. ग्रोडी। गुनासोरहितको सम्बन्धलाई खतरनाक ठान्छिन् उनी। 

कसैको पनि सबै अभिव्यक्ति अर्को व्यक्तिलाई सदैव ठीक लाग्ने अवस्था हुनै नसक्ने भएकाले वादविवाद तथा छलफल नहुने पारिवारिक वातावरण कुनै पनि हालतमा स्वस्थ हुन सक्दैन भन्ने ठान्छिन् मनोवैज्ञानिक डेब्रा ग्रोडी। एउटाको कुरालाई अर्कोले चासो नदिने अवस्थामा जोइपोइले विवाद गर्नमात्र पनि उचित देख्दैनन् अनि अन्ततः परिवार भाँडिन्छ। आपसी चासो नदेखाउने जोडीझैँ सधैँ विवाद झिक्ने दम्पतीलाई समेत उनी सामाजिक जड ठान्छिन्।  एकले अर्काको जुनसुकै कुरामा खोट देख्नेको दाम्पत्य जीवन पनि स्वस्थ र दीर्घजीवी हुन नसक्ने देख्छिन् उनी।  

कुनै पनि विषयमा कहिल्यै विवाद नहुने जोइपोइ अनि झिनो÷मसिनो कुरामा समेत सधैँ रडाको गर्ने जोडीबीचको पारिवारिक सम्बन्ध स्वस्थ तथा स्थायी हुन नसक्ने भएपछि कस्तो वैवाहिक अवस्था उचित होला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। त्यसैको उत्तर खोज्ने क्रममा ‘सोसाइटी फर पर्सोनालिटी एन्ड सोसियल साइकोलोजी’ ले अनुसन्धानमार्फत एउटा लेख प्रकाशित गर्‍यो सन् २०१२ मा। एउटाले भनेको अर्को पक्षले सुनिरहने तथा एकले भनेको कुरा अर्कोले पचाउनै नसक्ने परिस्थितिको मध्यमार्गलाई उक्त अनुसन्धानले सबै भन्दा उचित सामाजिक शान्ति देखेको छ। जायज कुरामा सहमति जनाउने अनि चित्त नबुझेको कुरामा तुरुन्तै असहमति दर्शाउने अभ्यासले वैवाहिक सम्बन्धलाई सबल बनाउने उक्त अनुसन्धानको निचोड हो।  

उक्त परिणामलाई प्रस्ट्याउने क्रममा फ्लोरिडा स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता डा.जेम्स म्याकनल्टी क्षमाको संस्कारले वैवाहिक जीवनलाई झन दलदलमा फसाउँछ भन्छन्। लोग्नेले कुनै कैफियत गरेमा स्वास्नीले त्यसलाई बेवास्ता गर्दा पुरुषलाई उक्त गल्ती दोहोर्‍याउन उत्प्रेरणा मिल्ने ठान्छन् डा. म्यबकनल्टी। उदाहरणका लागि विवाहपछि एक पक्षले लागु औषध सेवन गरी घर फर्कँदा अर्कोले तुरुन्तै असहमति नजनाउँदा गल्ती गर्ने व्यक्तिलाई ‘ड्रग्स’ सेवनमा प्रोत्साहन मिल्छ, सम्बन्धित पक्षले गल्ती बोध नगर्न सक्छ। समाधानका खातिर दुव्यर्सनी पतिलाई तत्कालै पत्नीले गाँजा सेवनले स्वास्थ्यमा पार्ने प्रभाव अनि परिवारमा भित्र्याउने विकृतिबारे सचेत गराउँदा पतिले तत्कालका लागि आफ्नो पुरुषत्वमा आघात परेको ठाने पनि अन्ततः त्यसले पारिवारिक सम्बन्धमा दीर्घकालीन लाभ दिने ठान्छन् अनुसन्धानकर्ता जेम्स।  

नेपालको परिवेशमा भन्नुपर्दा विवाह भएको वर्षौँपछि पत्नी धेरै खर्चिलो भइ, पारिवारिक तथा सामाजिक मान्यता पालन नगरेका कारणले सगै बस्न नसक्ने अवस्था आयो भन्ने पुरुष संख्या धेरै देखिन्छ। त्यस्तै, पुरुष चरित्रमा इमान्दार नभएको, दुव्यर्सनमा लागेको जस्ता कारणले आफू सम्बन्ध बिच्छेदको अवस्थामा पुगेको भन्ने आमा समूह पनि सानो छैन। विवाह भएको वर्षौँपछि एकअर्कालाई दोषारोपण गरी पारपाचुके चरणमा पुगेको भन्नेलाई आफूले वैवाहिक जीवनको पूर्वावस्थामा क्षमा दिएका कारण अहिलेको विकराल अवस्था सिर्जना भएको त होइन भन्ने स्मरण गर्न सल्लाह दिन्छन् डा. म्यबकनल्टी। नवविवाहित केटीलाई सुरुका दिनमा बेलगाम किनमेल गर्दा केही नभन्ने पति अनि मादक पदार्थ सेवन गरी आधारातमा घर आउँदा कुनै कैफियत नदेख्ने पत्नीले वैवाहिक जीवनको प्रारम्भिक दिनमै धेरै खर्च नगर्न तथा दुव्यर्सनका सम्बन्धमा खुला छलफल गरेको भए जीवनको उत्तराद्र्धमा पारिवारिक विखण्डन नहुने देख्छन् मनोवैज्ञानिकहरू।  

उपरोलिखित अन्वेषण तथा मनोवैज्ञानिक अनुभवका आधारमा भन्नुपर्दा पतिपत्नीबीचको दीर्घकालीन सुमधुर सम्बन्ध स्थापनाका खातिर खुला छलफल आवश्यक छ। एकले अर्काको कमी/कमजोरी औल्याउँदा प्रारम्भिक चरणमा असहज देखिए पनि कालान्तरमा त्यसले हित गर्छ। आफ्नो कमजोरी औल्याउँदा प्रारम्भमा चित्त नबुझे पनि पछिल्ला दिनमा आफूलाई सही सल्लाह दिने जीवनसाथीका रूपमा स्वीकार्नेमात्र होइन, बरु त्यस्ता अभ्यासले पारिवारिक सम्बन्धमा स्नेह तथा प्रेम थप्ने ठान्छन् साइकोलोजिस्टहरू।  

तिक्तता र त्यसको उचित व्यवस्थापनले वैवाहिक सम्बन्धलाई थप ऊर्जावान बनाउने भएकाले पतिपत्नीबीचको झगडालाई खराब तत्वका रूपमा बुझ्न नहुने बरु त्यसलाई मायाप्रेमको उत्प्रेरकका रूपमा लिनुपर्ने ठान्छन् डिपउल युनिभर्सिटी, सिकागोका प्राध्यापक नोआम ओस्ट्यान्डर। पतिपत्नीको विवादले वैवाहिक सम्बन्धलाई थप ऊर्जा प्रदान गर्ने भए पनि एउटै विवाद लामो समयसम्म कायम रहँदा त्यसले दीर्घकालीन मानसिक समस्या पैदा गर्ने भएकाले झगडा छिटो समाधान हुँदा फाइदा हुन्छ।  

दम्पतिबीचको द्वन्द्व स्वाभाविक भएकाले त्यसको अविलम्ब समाधान पारिवारिक स्वास्थ्यका लागि लाभप्रद् छ। चित्त नबुझेको कुरा अर्को पक्षको जानकारीमा ल्याउने र समस्या समाधानका खातिर मध्यम मार्ग पहिचान गर्ने समाधानका उपाय फेला परेका छन्। खुला छलफलका क्रममा एउटाले अर्काको कुरा प्रष्टसँग सुन्ने अनि आवश्यकता परे समय तालिकासहित आफ्नो अभिव्यक्ति दिने अभ्यास लाभप्रद् हुन्छ। कहिलेकाहीँ सानो कुरा बढेर विकराल समस्या बन्न सक्ने भएकाले झगडाको समाधान अविलम्ब खोज्ने अभ्यास हितकर हुन्छ। त्यस्तै, समस्या बढ्दै गए ‘इन्टरन्यासनल वार’ मा झगडालु समूहले युद्धविराम गरेझै जोइपोइले आपसी सहमतिमा झगडालाई पुनर्सञ्चालन गर्ने गरी विवाद थाती राख्नु राम्रो हुन्छ। लडाइँका क्रममा बेइज्जती तथा चरित्र हत्याको चरणमा विवाद पुगे तुरुन्त युद्धविराम गर्नुपर्छ अन्यथा झगडा जटिल मोडमा पुग्ने कुरा ध्यान दिनुपर्ने हुन्छ। 

उत्कर्षमा पुगेको लडाइँ पछि धकेलिँदा परिस्थितिले नयाँ आयाम लिने भएकाले समस्या समाधान सहज बन्न सक्ने ठान्छन् विज्ञहरू। आरोप लगाउनु भन्दा अनुरोध गर्दा समस्या सहज हुने भएकाले त्यता ध्यान दिन आवश्यक छ। उदाहरणका लागि अर्कोले घर सफा गरेन भन्ने आरोप लगाउनु भन्दा कोठा धेरै फोहोर छ सफा गरिदिने हो ? भन्ने आग्रह प्रभावकारी हुन्छ। मानिसबाट गल्ती हुुनु स्वाभाविक भएकाले आफूबाट कैफियत भएको अनुभूति हुनेबित्तिकै सहयात्रीसँग माफी माग्नु उचित हुन्छ।  

उल्लिखित परिदृश्यले पतिपत्नीबीच झगडा हुनुलाई अस्वाभाविक मान्दैन बरु सहयात्रीको रडाकोलाई सहज तथा ऊर्जा शक्ति मान्छ। आपसमा झगडै नहुने जोडी भन्दा व्यवस्थापन गर्न सके सानोसानो विवाद परिरहने जोइपोइको सम्बन्ध गाढा हुन्छ। आवधिक अध्ययनले आफ्नो घरमा ठाकठुक परिरहन्छ त्यसैले विवादै नहुने अर्को युगल जोडी आफू भन्दा भाग्यमानी हो कि भनी चिन्ता गर्नु आवश्यक छैन। पारिवारिक समस्या लम्बिँदा त्यसले मानसिक समस्या थप्ने अनि समाधान जटिल बन्ने भएकाले दुवै समूहले अविलम्ब विवाद मत्थर पार्न आफ्नो पक्षबाट पहल गर्नु उचित हुन्छ।    

यस्तो परिदृश्य पतिपत्नीका सम्बन्धमा मात्र सत्य होइन, बरु निकटतामा रहने दाजुभाइ, साथीभाइ, इष्टमित्रलगायतका हकमा समेत सही देखिएकाले सबैले ध्यान दिन आवश्यक छ। निकट व्यक्तिसँग विवाद तथा मनमुटाव हुँदा तिक्ततालाई खुला छलफलका माध्यमबाट समाधान खोज्नुपर्ने हुन्छ। यस्तो समाधानले आपसी सम्बन्धमा दरार पार्दैन बरु त्यसले मित्रतालाई थप सुमधुर बनाउँछ भन्ने पक्षमा सबैले हेक्का राख्नु पर्छ। पारस्परिक छलफल र विमर्शले सम्बन्ध चिरा पर्दा सेतुमात्र निर्माण गर्दैन बरु नातालाई अझ सुमधुर बनाउँछ भन्ने पक्षलाई सबैले मनन् गरौँ।

प्रकाशित: ५ श्रावण २०७८ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App