७ वैशाख २०८१ शुक्रबार
विचार

युरो कपले ल्याएको आशा

आइतबार राति युरो कप २०२० ले विजेताका रूपमा इटालीलाई पाएको छ। इटालीले इङ्ल्यान्डलाई उसैको मैदान वेम्बली स्टेडियममा ३–२ ले पेनाल्टी सुटआउटमार्पmत स्तब्ध बनाउँदै एक वर्ष ढिला गरी भएको युरो कप आफ्नो बनायो। सुटआउटमा इङ्ल्यान्डले लगातार तीन प्रहारमा गोल गर्न नसक्दा इटाली नाटकीय ढंगबाट विजयी भयो। यी तीन प्रहारमध्ये दुई इटालीका गोलकिपर जियानलुजी डोनेरुमाले बचाए। १ सय २० मिनेटसम्म धकेलिएको खेलमा इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले पेनाल्टी हान्नकै लागि ल्याएका मार्कस रासफोर्ड र जाडोन सान्चो असफल हुँदा इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनको उपाधि उचाल्यो। सन् २००६ को विश्वकप उपाधि उचालेपछि विश्व फुटबलको ठूला प्रतियोगितामा उपाधिविहीन इटालीले धेरै उतारचढावको सामना गर्नुपर्‍यो। यसबीच चार पटक विश्वकप विजेता इटाली सन् २०१८ को रुस विश्वकपमा छनोट नै हुन सकेन।  

रुस विश्वकपमा स्थान बनाउन नसकेको इटालीले रोबेर्टो मान्चिनीको प्रशिक्षणमा ठूलो सफलता नै प्राप्त गरेको छ। उपाधिसहित इटालीले लगातार ३४ खेलमा अपराजित रहँदै आगामी कतार विश्वकपको पनि दाबेदारी गरेको छ। यता सन् १९६६ को विश्वकपपश्चात् प्रमुख प्रतियोगिताको उपाधि जित्न संघर्ष गरिरहेको इङ्ल्यान्ड फाइनलमा पुगेर पनि चुक्यो। सन् १९६६ पछि इङ्ल्यान्ड चार पटक प्रमुख प्रतियोगिताको सेमिफाइनल प्रवेश गरे पनि त्यहाँ भन्दा अघि बढ्न सकेको थिएन। तर यस पटक घरेलु मैदानमा त्यो अवसर पाए पनि इङ्ल्यान्ड सफल हुन सकेन। पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ल्यान्डको उपाधि जित्न सपनामा इटालीले सफल हुन दिएन। यस संस्करणको युरो कप आयोजनामा धेरै विशेषता रहे। सन् २०२० मै तय भएको आयोजना २०२१ मा आएर सम्पन्न भए।  

सन् २०२० मा विश्व खेलकुदमा ठूला आयोजना हुने भएका थिए तर विश्वभर फैलिएको कोरोना महामारीका कारण टोकियो ओलम्पिक, युरो कप र कोपा अमेरिकालगायत अन्य ठूला प्रतिस्पर्धा प्रभावित भए। ओलम्पिक, युरो कप र कोपा अमेरिका भने एक वर्षपछि नै धकेलियो। व्यस्त रहेको सन् २०२० केही समय खेलकुदविहीन नै भयो। कतिपयले ओलम्पिक र युरो कपको संस्करण नै रद्द गर्नुपर्ने आवाज पनि उठाए। तर सरोकारवालाहरूले मिति सार्दै संस्करण भने जोगाए। यसै वर्ष जुनमा तय भएको युरो कप हुनुअघि नै महामारीको ठूलो संकट मडारिरहेको थियो। त्यसैले मिति नजिकिँदै गर्दा पनि आयोजना नहुने हो कि भन्ने शंका उत्पन्न भएका थिए। तथापि, युरोपियन फुटबल महासंघ (युइएफए) ले जसरी हुन्छ युरो कप २०२० को आयोजना गर्ने अठोट लियो र अन्ततः सम्पन्न पनि गर्‍यो। यो युरो कप नगरेको खण्डमा युइएफएले पनि धेरै घाटा सामना गर्नुपर्ने थियो।

त्यसैले पनि जुन १२ देखि युरो कप आयोजना भयो। कोरोना महामारीका कारण धेरै देशका ठूला प्रतियोगिता बन्द रहेकाले पनि युरो कपतर्फ विश्व खेलकुदको नै ध्यान केन्द्रित भयो। युरो कपको पहिलो दिन फिनल्यान्ड र डेनमार्कबीचको खेलमा स्तब्धपूर्ण घटना भयो जसले विश्व खेलकुदलाई नै भावनाको सूत्रमा जोड्यो। घरेलु टोली डेनमार्कका क्रिस्टियन एरिक्सेन फिनल्यान्डसँगको खेलका क्रममा हृदयघातका कारण मैदान ढले। निकै दर्दनाक देखिएको उक्त दृश्यका कारण उनको जीवनमा नै खतरा हुने संकेत देखिएको थियो। साथै एरिक्सेनको उक्त घटनाले युरो कप नै छायाँमा पर्ने हो कि भन्ने शंका गरिए पनि उनकै सहकर्मीले तत्कालै गरेको उद्धारका कारण उनले नयाँ जीवन पाए। तथापि, त्यस दिनदेखि उनी मैदान फर्किएका छैनन्।

अभैm पनि उनको मैदान फर्किने टुङ्गो छैन र उनको करियर नै सकिने हो कि भन्ने पनि शंका उत्पन्न भएका छन्। आफ्ना महŒवपूर्ण खेलाडी एरिक्सेनलाई गुमाएका डेनमार्कले खराब सुरुआतका बाबजुद युरो कपमा सनसनी नै मच्यायो। दुई खेल गुमाइसकेको अवस्थामा डेनमार्क समूह चरणबाटै बाहिरिने संघारमा थियो। तर समूहको अन्तिम खेलमा रसियामाथि फराकिलो जित दर्ता गर्दै डेनमार्क उत्कृष्ट तेस्रो टोलीका रूपमा नाटकीय ढंगबाट नकआउट चरणमा स्थान बनाउन सफल भयो। सहकर्मी एरिक्सेनलाई मैदानमा सम्झँदै खेलेको डेनमार्कको जादु नकआउटमा पनि चल्यो। र, अन्तिम १६ मा वेल्स र क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई स्तब्ध बनाउँदै डेनमार्क सेमिफाइनलमा पुग्दै युरोपियन फुटबलको नयाँ शक्तिका रूपमा उदाउन संकेत गर्‍यो।

यसबीच एरिक्सेन अस्पतालबाट घर फर्किएका पनि थिए। सन् १९९२ जस्तै डेनमार्क अपत्यारिलोतवरबाट युरो च्याम्पियन बन्ने विश्लेषण पनि हुन थाल्यो। तथापि सेमिफाइनलमा केही विवादास्पद निर्णयका कारण डेनमार्कको यात्रा टुङ्गिन पुग्यो।  युरो कपको ६०औँ वर्षको उपलक्ष्यमा युरो कप ११ देशका ११ सहरमा सम्पन्न भए। धेरै देशले कडा स्वास्थ्य सुरक्षाबीच खेल आयोजना गरे पनि हंगेरीले भने स्टेडियमभरि दर्शक राखेर खेल आयोजना गर्‍यो। त्यहाँ पूर्णरूपमा स्वास्थ्य सुरक्षा प्रोटोकललाई बेवास्ता गरिएको थियो। तर युइएफले हंगेरीलाई सचेत गराएन। भरिभराउ दर्शकको साथ पाएको हंगेरीले पनि ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा सनसनी नै मच्चायो।  

पहिलो खेलमा पोर्चुगललाई कडा चुनौती दिए पनि हंगेरीले पहिलो खेल गुमायो। त्यसपछिका दुई खेलमा भने हंगेरीले विश्व फुटबलका दुई महारथि फ्रान्स र जर्मनीलाई कडा चुनौती दियो। हंगेरीले डिफेन्डिङ च्याम्पियन फ्रान्स र जर्मनी दुवैलाई बराबरी रोक्यो। तथापि, ग्रुप अफ डेथ मानिएको समूहमा पुछारमा सीमित रहँदै हंगेरीले समूह चरण भने पार गर्न सकेन। तर हंगेरीको त्यो प्रदर्शनले विश्व फुटबललाई नै मोहित गरायो। यसै समूहका पोर्चुगल, फ्रान्स र जर्मनी तीनैलाई युरोको बलियो दाबेदारका रूपमा हेरिएको थियो। तर तीनै टोली अन्तिम १६ बाटै बाहिरिँदा युरो कप थप रोमाञ्चक बन्यो।  त्यसपछि बेल्जियम, इटाली, स्पेन र इङ्ल्यान्डलाई दाबेदारका रूपमा हेरिन थाल्यो।

तर इटालीले नै बेल्जियमलाई क्वार्टरफाइनल र स्पेनलाई सेमिफाइनलमा हराउँदै आफू निकै बलियो टोली रहेको संकेत ग¥यो। फाइनलमा पनि घरेलु टोली इङ्ल्यान्डलाई हराउँदै दोस्रो पटक युरो कप च्याम्पियन बन्यो। युरो कप आयोजना भइरहँदा विश्व फुटबलको पुरानो प्रतियोगिता कोपा अमेरिकाको आयोजनामा पनि ऊर्जा थपिदियो। कोपा अमेरिका नजिकिँदै गर्दा दक्षिण अमेरिकामा कोरोना महामारी निकै उच्च विन्दुमा पुगेको थियो। यस्तो अवस्थामा कोपाको आयोजनाबारे पनि अन्योल हुनु स्वाभाविक नै रह्यो। तथापि, दक्षिण अमेरिकी फुटबल महासंघ कोनमेबोललाई युरो कपको आयोजनाले उत्साह थपिदियो। अन्ततः अन्तिम समयमा कोनमेबोलले अर्जेन्टिना र कोलम्बियाबाट आयोजना खोसेर ब्राजिललाई सुम्पियो। तर ब्राजिलमा पनि त्यसको निकै विरोध भयो।  

महामारीका समय जनता बचाउनुपर्ने अवस्थामा प्रतियोगिता गर्न नहुने भन्दै ब्राजिलमा चर्को आवाज उठिरह्यो। स्वयम् ब्राजिली खेलाडी पनि देशभित्र प्रतियोगिता आयोजना गर्ने निर्णयको विपक्षमा थिए। तथापि कोपा अमेरिका आयोजना भयो। तर युरो कपको छायाँमा पर्‍यो। युरो कपको छायाँमा परे पनि उसकै उत्साहमा कोपा सञ्चालन गर्ने माध्यम भने सिर्जना भएका थिए। यता, एक वर्ष पर सारिएको टोकियो ओलम्पिकको आयोजनामा पनि देशभित्रबाटै ठूलो आलोचना भइरहेको छ। एक सर्वेक्षणअनुसार त्यहाँ ८० प्रतिशत जनता टोकियो ओलम्पिकको आयोजना रद्द या अन्यत्र सारिनुपर्ने आवाज उठाउँदै आएका छन्। तर पनि ओलम्पिकको आयोजकले युरो कपमा जस्तो विलासीतवरबाट सञ्चालन नभए पनि जसरी पनि आयोजना गर्ने स्पष्ट पार्‍यो।

दर्शकसहित युरो कपकै सफल आयोजनाको प्रेरणाबाट टोकियो ओलम्पिक आयोजनाको संघारमा पुगेको छ। तथापि टोकियो ओलम्पिक आयोजकले युरो कपमा भएका स्वास्थ्य सुरक्षा चुनौती भने सिर्जना हुन नदिने प्रस्टाएको छ। त्यसका लागि उसले केही कडा स्वास्थ्य सुरक्षा नीति पनि ल्याइसकेको छ। युरो कप आयोजना हुँदा दक्षिण एसियाली राष्ट्र नेपालमा पनि निकै रोचकता साथ खेलप्रेमीको रोजाइ पर्‍यो। एक महिनाको आयोजनामा नेपालका खेलप्रेमीले निकै रोमाञ्चकताका साथ हेरे। महामारीका कारण शून्य अवस्थामा रहेको नेपाली खेल क्षेत्रलाई समेत युरो कप, कोपा अमेरिका र टोकियो ओलम्पिकको तयारीले एक पटक फेरि माथि उठ्ने सन्देश प्रवाह गरेको छ।  

प्रकाशित: २९ असार २०७८ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App