८ वैशाख २०८१ शनिबार
विचार

इतिहास दोहोरिन्छ

नेपोलियनले सन् १८१२ मा र हिटलरले सन् १९४१ मा रसियामा हमला गरे। दुवैले हिउँदमा हमला गर्दा ठूलो क्षति भोगे। नेपोलियनबाट शिक्षा लिन नसक्दा हिउँमा पुरिएर जर्मनीका हजारौँ सैनिक हताहत भए। इतिहास यसरी क्रूर बनेर दोहोरिन्छ। टाइटानिक जस्तै चीन र स्पेनका विशाल पानीजहाज डुब्दा इतिहास दोहोरिएको छ। समयमा सत्य र गुप्त सूचना नपाउँदा कैयन् राजाले गद्दी त्याग्नुपरेका उदाहरण छन्। केही मुलुकमा जर्नेललाई थुनेर जुनियर अफिसरले सैनिक विद्रोह गरेका छन्। अर्थात, इतिहास दोहोरिएको छ।  

बाजे र बाबु बेपत्तासँग रक्सी खाएर मरेपछि पछिल्लो पुस्ताको युवकले त्यही बाटो लियो भने झुप्रामा पनि ‘इतिहास’ दोहोरिन्छ। जित्नेको कर्तुत इतिहास हुन्छ, हार्नेको कथा। फरक यत्ति हो। अमेरिकामा चार वर्षअघि काला र गोराको दुश्मनीजन्य ‘घृणा–अपराध’ सत्र प्रतिशत थियो। त्यो घटेको छैन। मेरा एक जना साथी भन्दै थिए– पहिले निक्खुर कालालाई मात्र घृणा गर्थे, अचेल एसियाली पनि असुरक्षित छन्। बन्दूक र डेमोक्रेसी दुवैको दुरुपयोग भयो।

अफ्रिकाबाट गएका अश्वेतहरूले संगठितरूपमा नागरिक हक माग्न थालेपछि केही बाठा शासकले कालाहरूलाई विभाजित गराउने जुक्ति निकाले, महिला अधिकार भन्ने। पहिले पति, पत्नी, सासू, ससुरा, छोराछोरी सबै एकजुट थिए। महिला अधिकारको नारा घर–घरमा चल्यो। बूढाबूढी गोदागोद गर्न थाले। कर्तव्य नगर्ने पुरुष र महिलालाई हक मात्र माग्दै हाँक दिने प्रवृत्ति हुन्छ। नेपालको शिक्षित समुदायमा त्यो इतिहास दोहोरिँदैछ, सामाजिक समस्याका रूपमा। अर्काको पति र अर्काकी पत्नी मात्र राम्रो देख्ने रोग मोतीविन्दु बनेको छ। ठूला महलमा बस्ने धेरैको पर्याप्त धन छ तर मन विभाजित छ। उनीहरू सेरेमोयिनल पति–पत्नी भएका छन्। जुत्ता फेरेझैं जीवनसाथी फेर्ने, होटलका कोठा फेरे जस्तो पार्टी फेर्ने र नरिवल फोरे जस्तो समाज फोर्नेहरू कैयन् भेटिन्छन्। ढुंगा कुटेर जीवन निर्वाह गर्नेलाई हामी दरिद्र भन्छौँ तर दरिद्र त उनीहरू हुन, जोसँग लिने÷दिने सबैथोक छ तर माया छैन। आफन्तको छायाँ छैन। अभिमान छ, स्वाभिमान छैन।

युवराज दीपेन्द्र शाह पाकिस्तान भ्रमणमा जाँदा उपहारका रूपमा बाइसवटा घोडा प्रदान गरिएको थियो  विमानमा ल्याउन असम्भव भएपछि कराँचीबाट मुम्बईसम्म जलमार्गबाट नेपाल ल्याउन खोज्दा भारतले अनुमति दिएन। पाकिस्तान भ्रमणमा जाँदा पाकिस्तानी सेनाका सेवानिवृत्त जर्नेलले एउटा डिनरमा ठट्टा गर्दै भनेका थिए– सयौँ वर्ष अघिदेखि विदेशी घोडाले कुल्चेको हुँदा उनीहरू घोडासँग डराए होलान्। नत्र दीपेन्द्रका घोडाले समर जित्ने त थिएनन् होला।  

सारथि साप्ताहिकको सम्पादकको हैसियतले मैले दीपेन्द्रको पाकिस्तान भ्रमणको लगत्तै ‘बाइसवटा घोडा’ बारे खबर छापेको थिएँ। सो खबरबारे दरवारमा चर्चा भएको तत्कालीन सम्वाद सचिव नरेन्द्रराज पाण्डेले सुनाएका थिए। वास्तवमा दीपेन्द्रका घोडाप्रति रिस र शंका व्यक्त गर्न आवश्यक थिएन। भारतबाहेक अरूसँग नेपाल र नेपालीले प्रेम गरेको मन नपराउने दिल्लीको दरिद्र दिल तिलभन्दा ठूलो देखिएन।

इतिहासको पुनरावृत्ति नयाँ शैली, रूप वा बान्कीमा हुने गर्छ। बीस वर्ष लगाएर भोल्तेयरले फ्रान्सका सम्राट लुई चौधौका बारेमा गतिलो किताब लेखे– ‘द एज अफ लुइ फोर्टिन्थ।’ त्यसमा उनले इतिहास दोहोरिन्छ भनेका छन्। आफैँले ती सम्राटको उन्नयनमय राज्यकाल देखेका थिए भोल्तेयरले। फ्रेन्च सभ्यतालाई शिखरमा पु¥याएका थिए लुइले। लेखक, कूटनीतिज्ञ र विचारक भोल्तेयरले राजाले इमानदार, असल र निष्पक्ष मानिसलाई विश्वासमा लिन सकेनन् भने राष्ट्रको पतन हुन्छ भनेका छन्।

इतिहास दोहोरिएका अनेक उदाहरण छन्। स्पेनमा ‘राजतन्त्र चाहिँदैन’ भन्दै गणतन्त्र स्थापना गरियो। राष्ट्र भने कमजोर भयो। सन् १९७५ को नोभेम्बर २० तारिखमा सैनिक तानाशाह फ्रान्सिस्को फ्रांकोले राजा हुआँ कार्लोसलाई राष्ट्रको अवस्था नाजुक भएकाले पुनः राजगद्दी सम्हालिदिन निवेदन गरे। कम्बोडियामा राजतन्त्र पुनर्बहाली भएपछि मात्र शान्ति सुव्यवस्था भयो। ब्रिटेनमा त्यस्तै भयो। ब्रिटेनकी महारानीलाई अहिले पनि सोह्र राष्ट्रले राष्ट्राध्यक्ष मानेका छन्। क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका राष्ट्रले बलियो राष्ट्राध्यक्ष चाहिन्छ भन्ने स्वीकार गरेर राजतन्त्र (मोनार्की) स्वीकार गरे।  

कम्युनिस्ट राष्ट्रमा मानव अधिकार, प्रजातन्त्र, स्वतन्त्रता र समता–समानता ‘पुस्तकको पौष्टिक खाना’ जस्तो हुन्छ। त्यो हेर्न पाइन्छ, अक्षरमा। भोग गर्न पाइँदैन। साँच्चै कम्युनिस्ट परे भने क्युबा र अल्वानियामा जस्तै चालीस वर्षभन्दा बढी राष्ट्राध्यक्षले बुल्डोजर चलाउँछन्।  इतिहासमा राजतन्त्र फर्केर आएका उदाहरण छन्। कम्युनिस्ट शासन एकपल्ट चिप्लेपछि खोलैखोला जान्छ वा पद पाएपछि बाँचुन्जेल खान्छ। त्यसकारण कैयन् कंगालहरू कम्युनिस्ट भएर सत्तामा पुगेपछि मस्तले धन कमाउँछन्। भोलि फर्किने वा इतिहास दोहोरिने सम्भावना न्यून हुन्छ। नेपालका पचास जना अर्बपतिको तथ्यांक लिने हो भने पचास प्रतिशतभन्दा धेरै त वामपन्थी छन्। पछिल्ला केही वर्षमा नेपालमा जनवाद भनेको धनवाद बुझिन्छ।  

ब्रिटेनका राजा जर्ज (प्रथम) अंग्रेजी जान्दैनथे। उनी विदेशमा जन्मेर उतै हुर्के। उनका छोरा जर्ज (द्वितीय) कनीकुथी ‘इङ्लिस’ बोल्थे। नाति जर्ज (तेस्रो) मात्र अंग्रेजी बोल्ने भए। रबर्ट वालपोल प्रधानमन्त्री थिए। धेरैले भन्छन्– ‘राजालाई अंग्रेजी नआउने हुँदा राजकाज हेर्ने सबै काम प्रधानमन्त्रीले गर्थे। जस÷अपजस उनैले लिन्थे। राजा ‘लालमोहर’ लगाउने यन्त्रमानव मात्र भए। सम्वैधानिक राजतन्त्र भन्दै राजालाई खोपीको देउता बनाइयो। वेद, महाभारतलगायतका धर्मग्रन्थमा राजा सबैथोक जानेका, बुझेका, ज्ञानी, साहसी, विद्वान् र प्रत्यक्षरूपमा जनताका हितैषी, अभिभावक र रक्षक मानिन्छन्। उनले मैदानमा गएर युद्धको ‘कमान्ड’ गर्छन् भन्ने उदाहरण पृथ्वीनारायण शाह नै छन्।

पृथ्वीनारायण शाहको युगमा संसार बिस्तारै बिस्तारै ब्युँझिँदै थियो। राजनीतिमा कैयन् आरोह÷अवरोह हुँदै थिए। ब्रिटेनको दासत्वबाट मुक्त हुन अमेरिका न्वारानदेखिको बल लगाइरहेको थियो। चीनका वादशाहसँग घाहा (राम्रो सम्बन्ध) राख्नु भन्दै पृथ्वीनारायणले नुवाकोट दरवारको भारदारी सभामा प्रवचन दिएका बेला चीनमा छिङसम्राटको शासन थियो। विदेशी साहूमहाजनलाई गौर–पर्साबाट उँभो आउन नदिनू भनिरहँदा इस्टइन्डिया कम्पनीको शासन थियो, भारतमा। ती गोराले ‘देश कंगाल पार्ने’ चेतावनी दिएका थिए पृथ्वीनारायणले।

सन् १२१० मा दिल्लीको राजगद्दीमा बसेका आराम शाह जस्तो पृथ्वीनारायण शाह आराम गरेर बसेनन्। बीस वर्षमा राजा भए। झण्डै तीस वर्ष भोक, प्यास, आराम सबै बिर्सेर अहर्निश नेपाल एकीकरण अभियानमा लागे। उनले नेपाल र नेपाली भन्न सिकाए। अखण्ड नेपाललाई खण्ड–खण्ड (पार्ट–पार्ट) बनाउन केही पार्टीले नै विदेशीबाट घर भत्काउने ठेक्का पाएका छन्। राष्ट्र ध्वस्त पार्न प्राचीन धर्म, संस्कृति, प्रचलन, मूल्य÷मान्यता, राष्ट्रिय एकता, अखण्डता र सर्वाभौमसत्ता निर्मूल गर्नुपर्ने भएकाले फँडानीमा सक्रिय छन्, विदेशीका खेतालाहरू। हामी यो दर्वानतन्त्र, खेतालातन्त्र र परतन्त्र नै गणतन्त्र ठान्दैछौँ। नेपाल र नेपालीको हितको रक्षा गर्ने कुनै ज्युँदो व्यक्ति वा शक्ति खोजिरहेका छन्, सच्चा नेपालीले। त्यसैले अहिलेको नांगो नाच धेरै चल्दैन।  

रसिया, चीन, ब्रिटेन, फ्रान्स, जर्मनी, इजरायल आदिको जस्तो सम्पूर्ण सुविधायुक्त सेना हरेक राष्ट्रमा हुँदैनन् तर भियतनाम नै उदाहरण छ, अठोट बलियो भएकाले उसले अमेरिकालाई पनि धुलो चटायो। सन् १९७५ को अप्रिल ३० तारिखमा आफ्ना सैनिकलाई फिर्ता लैजान बाध्य भयो अमेरिका।

अन्ठाउन्न हजार अमेरिकी सैनिक मारिए, भियतनाम युद्धमा। एउटा दरिद्र राष्ट्रले अमेरिकालाई जित्छ भन्ने कसैले सोचेका थिएनन्। फरक यति थियो, अमेरिकी सैनिक जागिर खाँदै थिए। भियतनामका सैनिक र जनता राष्ट्र बचाउन युद्ध गर्दै थिए। बट्टाको धुलो दूध खाएर हुर्केका अमेरिकी सैनिकलाई आमाको दूध चुसेर हुर्केका लडाकुहरूले ठहरै पारे। प्रबल अठोट, राष्ट्रभक्ति, इमान, साहस, धैर्य र मातृभूमिको रक्षा गर्ने प्रण छ भने पचास हजारमात्र सैनिक भए पनि राष्ट्र बचाउन सक्छ।

घर–घरबाट भाला, बन्चरो, खुँडा, खुकुरी र तरवार लिएर जनताले सेनालाई साथ दिन्छन्। सिमाना बाहिरबाट अब शत्रु आउँदैन। शत्रु हाम्रै बीचमा छन्। ती शत्रु नेपालको नाम बदल्नुपर्छ भन्छन्। चन्द्र–सूर्य अंकित झण्डा राजाहरूले मानेकाले हामी मान्दैनौँ भन्छन्। सनातन धर्मलाई जरैसँग उखेल्नुपर्छ भन्छन्। संस्कृति मास्नैपर्छ र विदेशीको टाँस्नैपर्छ भन्छन्। कवि मनु मञ्जिलको ‘दुश्मन’ कवितामा झैं ऊ कहिले हाम्रो भलो चिताउँदैन। दुर्भाग्य, आज पनि हामी दुश्मनलाई सलाम गरिरहेका छौँ।

प्रकाशित: ११ असार २०७८ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App