५ वैशाख २०८१ बुधबार
विचार

महेन्द्रका ‘अपराध’

राजतन्त्र विरोधीहरूले राजा महेन्द्रलाई ‘अपराधी’ मान्ने गरेका छन्। नवीन पुस्ताका युवामध्ये धेरैलाई उनका बारेमा उतिसारो ज्ञान छैन। सर्प नपाइने देश भनेर चिनिएको आइसल्यान्डमा गोमनहरू प्रशस्त घुमिरहन्छन् भनेर सुनाइयो भने त्यहाँको विषयमा केही नबुझेकाले पत्याउँछन्। तसर्थ वस्तुपरक मूल्यांकन गर्न सूक्ष्म अध्ययन गर्नैपर्छ।  

राजा त्रिभुवनको देहावसानपछि राजा भएका महेन्द्रका अगाडि हजाराँै समस्याको थुप्रो थियो। पाकिस्तान फुटाएर बंगलादेश बनाएको भारतले दक्षिण एसियाको कान्छो राष्ट्र बंगलादेशलाई आफ्नै गोजीमा राख्ने ‘बगलीदेश’ बनायो। त्यसको योजनाकार थिए– भारतको गुप्तचर संस्था रअका प्रमुख रामेश्वरनाथ काओ नामका काश्मीरी बाहुन।  

राजा महेन्द्रलाई ठूलो पीर थपियो। ब्रिटेनमा मुटुको उपचार गरेर फर्किएका राजालाई तनाव बढ्दा त्यसको दुष्प्रभाव मुटुमा पर्ने नै भयो। अहोरात्र नेपाल र नेपालीको उत्थानका लागि सोचिरहने, केही गरिरहने राजा चौबीस घन्टामा चार/पाँच घन्टा मात्र आराम गरेर काम गर्थे। राष्ट्र सुरक्षित, सवल र सुवासमय बनोस् भन्ने सदाशयले उनले राष्ट्रियताका पक्षमा जनलहर ल्याए। यो उनको प्रथम अपराध थियो।

महेन्द्रसँग नजिकै बसेर काम गरेका कैयन्लाई भेटेर अन्तर्वार्ता लिएको छु। दुई केजी चार सय ग्राम तौल भएको वीरेन्द्र स्मृति ग्रन्थ सम्पादन गर्दा एक सय साठी जना जति लेखकले वीरेन्द्रको व्यक्तित्वबारे बोलेका, लेखेका कुरा छापिएका छन् त्यसमा। वीरेन्द्रको चर्चा हुँदा धेरैले उनको जीवनमा पिताको ठूलो छाप परेको बताएका छन्। 

महेन्द्रका छोरा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रलाई भेट्ने अवसर पाएँ मैले। बाहिर हल्ला गरिए जस्तो कुरा उनीहरूको मन, वचन र कर्ममा देखिएन। गद्दी त्यागेपछि मौन धारण गरेर बसेका राजा महेन्द्रका माहिला छोराले पंक्तिकारसँग भनेका थिए– ‘नेपाल सुरक्षित रहोस् भन्नेबाहेक मेरो कुनै स्वार्थ छैन।’ झण्डै डेढ घन्टा दाजुभाइ जस्तै सरल, सहज र सहृदयी वातावरणमा सम्वाद भयो। उनले कसैलाई पनि नराम्रा शब्द (अपशब्द) प्रयोग गरेनन्। संस्कार भनेको विपत्तिमा नआत्तिने र सम्पत्तिमा नमात्तिने विद्या रहेछ।

राजा महेन्द्रको विषयमा अध्ययन गर्दा धेरैले ‘पृथ्वीनारायण शाहपछि महेन्द्र नै हुन्’ भनेका पाइन्छ। कैयन् राजा अल्पायुमै बिते। कैयन्को ढंग पुगेन। कैयन् त एक सय चार वर्षसम्म राणा शासनको खटनपटनमा बसे। ती बन्दी राजाका बारेमा टिप्पणी गर्दा त्यो कालखण्ड अध्ययन गर्नुपर्ने हुन्छ। सुनेका भरमा सतही विश्लेषण गर्दा गलत पनि बुझ्न सकिन्छ।

मेरा पिताजी भगीरथ गौतम २००७ सालको क्रान्तिमा मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाको योजनामा झापा–इलाममा सक्रिय हुनुभयो। नरेन्द्रनाथ बास्तोला मेची क्षेत्रका कमान्डर हुनुहुन्यो। बास्तोला ‘अभिभावक’ र हितैषी हुनुहुन्थ्यो उहाँको। पुराना थोत्रा बाकसमा बुबाको संकलनमा रहेका केही पुस्तक पढेँ मैले, कक्षा चारमै छँदा। केही डायरी भेटेँ। म दुई वर्षको छँदा भारतमा निर्वासित जीवन बिताउन थालेका पिताजीले राम्रा अक्षरमा लेख्नुभएको ‘हाम्रो देशभक्ति’ शीर्षकको लेख पढेँ। पितासँग भेट भएन जीवनमा। 

धन कमाउन ध्यान दिनुभएन उहाँले। पचास वर्षमै बित्नुभयो। उहाँका शब्दले मलाई स्पर्श गर्‍यो। ‘राजा महेन्द्र छन्, त्यसैले नेपाल रक्षित छ’ लेख्नभएको रहेछ, मेरा कांग्रेसी बाबुले। ऊबेला संवैधानिक राजतन्त्र र प्रजातन्त्र मान्थ्यो कांग्रेस। राजा महेन्द्र र बिपी कोइरालाबीच केही वर्ष मतभिन्नता भयो तर कोइरालाले नेपालमा राजतन्त्रको विकल्प खोज्नुहुँदैन भन्दै कार्यकर्तालाई सम्झाइरहने। ‘बिपीको आत्मवृत्तान्त’ पढ्दा अझ स्पष्ट हुन सकिन्छ। सुरुका केही वर्ष बिपीले भूल गरे। महेन्द्रका पनि भूल भेटिन्छन्। दुवै युवक भएकाले ‘खेल्ने भए खेल्ने’ भने होलान्। पछि दुवैले बुझे। महेन्द्रका पचासौँ प्रियपात्र थिए, नजिक बसेर गुप्त काम गर्ने। तीमध्येका एक दमनराज तुलाधरले आत्मकथामा महेन्द्रका बारेमा केही महत्वपूर्ण कुरा उल्लेख गरेका छन्।

उनी लेख्छन्– ‘म परराष्ट्र मन्त्रालयमा हाजिर भएको एक हप्ता जतिमा परराष्ट्र सचिवलाई श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवको दर्शनभेट गर्ने अवसर प्राप्त भयो। म पनि सचिवका साथमा राजदरवारमा हाजिर भएँ। हामीले मौसुफ सरकारको अफिसमा एकान्त–दर्शन पाएका थियौँ। कुराका सिलसिलामा मौसुफबाट हुकुम भयो– ‘म तिमीहरूलाई तीनवटा काम गर्न निर्देशन दिन्छु। पहिलो, विश्वका साना–ठूला र नजिक–टाढाका जतिसक्दो बढी राष्ट्रसँग दौत्य सम्बन्ध कायम गर्नु। 

नेपालका दिल्लीपरस्तहरूमार्फत राजा महेन्द्र अपराधी हुन् भन्ने दुष्प्रचार गरियो। महेन्द्रले गरेका सत्कर्महरू छोपिदिने हो भने के/के बाँकी रहन्छ भन्दै सिपी मैनाली, नारायणमान विजुक्छेलगायत धेरैले प्रशंसा गरेका छन्।

अब त राष्ट्रको पूर्ण सदस्यता प्राप्त भएकाले पनि यस दिशामा दरिलो कदम चाल्नुपर्ने आवश्यकता भयो। दोस्रो कुरा, प्रजातन्त्र आएपछि भारतसँग जे/जति महत्वपूर्ण कुरा भए, ती सबै मन्त्रीहरूको र भारतीय अधिकारीहरूका बीचमा मौखिक विचार आदान–प्रदानबाटै भएको थियो भन्ने मैले सुनेको छु। मिलिटरी मिसन काठमाडौँ पठाउने, त्रिभुवन राजपथ निर्माण गर्ने, हाम्रो तिब्बतसँगको सिमानामा भारतीय सैनिक चौकी राख्ने जस्ता काम कुनै लेखापढी नै नभइकन निर्माण गरिएको जस्तो लाग्छ। आइन्दा तिमीहरू यस्ता विषयमा खुप सतर्क हुनू। 

व्यक्तिगत भेटघाटमा जुनसुकै कुरामा निर्णय भए पनि त्यसलाई पछिबाट लिखित पत्रको आदान–प्रदानद्वारा औपचारिकता दिने व्यवस्था मिलाउनू। तेस्रो कुरा, असम्बन्धित मन्त्रीहरू ककटेल–डिनर खाएर अनौपचारिक कुराकानी गर्दा पनि परराष्ट्र विषयलाई लिएर गैरजिम्मेवारी कुरा गरेर हिँड्छन् भन्ने मैले पनि थाहा पाएको छु। परराष्ट्र विषयमा कुराकानी, लेखापढी गर्ने एकाधिकार मैले परराष्ट्र मन्त्रालयलाई सुम्पेको छु। तिमीहरूको यस अधिकारमा कतैबाट अतिक्रमण नहोस् भन्नेमा तिमीहरू सतर्क रहनू। कतैबाट अतिक्रमण भयो भने दरिलोरूपले विरोध गर्नू।’ (दमनराज तुलाधर, आत्मकथा, पृष्ठ १६८/१६९)

नेपालमा आउने विदेशी पर्यटकहरू कहाँबाट आए, कति दिन बस्छन् भन्ने अभिलेख भारतीय राजदूताबासलाई बुझाउनुपर्दोरहेछ, राजा त्रिभुवनका पालामा। राजा महन्द्रले त्यो प्रचलन हटाए। टंकप्रसाद आचार्यका पालामा परराष्ट्र मन्त्रालय सम्हालेका चूडाप्रसाद शर्मा (ढुंगाना) का छोरा मुकुन्दले पंक्तिकारलाई सु्नाएका थिए, राजा महेन्द्रको निर्देशनअनुसार चूडाप्रसाद शर्माले संयुक्त राष्ट्र संघको महासभामा ‘नेपाल, चीन र भारतबीचमा अवस्थित कहिले पराधीन नभएको गरिमामय राष्ट्र हो’ भन्दा धेरै जना चकित भएछन्। धेरैले त नेपाल र नेपल्स (इटलीको भूभाग एउटै ठानेका रहेछन्। कतिलाई भारतकै प्रान्त भन्ने लागेको रहेछ।

मेची–महाकाली मात्र होइन, केही राष्ट्रमा बसेका इमानदार, योग्य र स्वाभिमानीलाई योग्यताअनुसार जिम्मेवारी दिए। जयस्थिति मल्ललाई न्याय कानुनमा सघाउने तराईका मिश्र, झालगायतका मैथिली–ब्राह्मणहरूका सन्तान र हिमाल–पहाड र तराईका योग्य मानिस छानेर महेन्द्रले राजकाज चलाए। माओले चीनमा सांस्कृतिक क्रान्ति चलाएका बेला रणधीर सुब्बालाई राजदूत बनाएर पठाए। सुब्बा भन्थे– महेन्द्र सरकार विनोदप्रिय होइबक्सन्थ्यो। चीन पठाउँदा मलाई हुकुमभयो, माओसँग तिम्रो तालमेल मिल्छ। तिम्रो जस्तै माओको पनि दाह्री जुँगा छैन। नेप्टो नाक र चिम्सा आँखा पनि मिल्छ। जेठा बा र कान्छा बाका छोराहरू भनेर चाइनिजहरू झुक्किएलान् है रणधीर।

रणधीरमात्र दक्षिण एसियाका यस्ता राजदूत भए जोसँगै बसेर यदाकदा माओको भान्सामा खाना खान्थे। कालिम्पोङ (दार्जिलिङ) सहरमा हुर्केका ती पाँचथरे लिम्बू स्पष्ट वक्ता थिए। बत्तीसपुतलीस्थित निवासमा माओसँग खिचेका तस्बिरहरू देखाउँदा उनी पुराना कुरा सम्झन्थे– हाओ युवराज भाइ, हरेक भेटमा माओले राजा महेन्द्रका बारेमा सोधिबस्थे। अरूसँग औचारिक कुरामात्र गर्ने, थोर बोल्ने, धेरै सोचेर बोल्ने माओले महेन्द्रलाई साम्राज्यवाद र विस्तारवादका विरोधी र प्रबल राष्ट्रवादी ठान्थे। चीनले राम्रो मद्दत गर्न थालेपछि नेपाललाई सिक्किमझैं क्वाप्प पार्न चाहने भारत पनि सतर्क भयो।

चीनका नेता मार्सल चेन यी रिसाहा थिए। उनले नेपालमाथि कुदृष्टि राखेमा आँखा फुटाइदिने, हातगोडा भाँचिदिने धम्की दिए। चीनले नेपालको सार्वभौमसत्तामाथि कदापि कुदृष्टि राखेन। नेपालका दिल्ली परस्तहरूमार्फत राजा महेन्द्र अपराधी हुन् भन्ने दुष्प्रचार गरियो। महेन्द्रले गरेका सत्कर्महरू छोपिदिने हो भने के÷के बाँकी रहन्छ भन्दै सिपी मैनाली, नारायणमान विजुक्छेलगायत धेरैले प्रशंसा गरेका छन्।

महेन्द्रले ‘नेपाल स्वतन्त्र राष्ट्र हो’ भन्ने सन्देश दिन ५३ राष्ट्रसँग कूटनीतिक सम्बन्ध गाँसेका र आत्मनिर्णयको अधिकार नेपालमै रहन्छ, रहनुपर्छ भनेको भारतलाई मन परेन। दमनराज तुलाधरले पुस्तकमा लेखेका छन्– सोभियत संघसँग दौत्य सम्बन्ध राख्दा नेपालस्थित भारतीय राजदूत भगवान सहायले आपत्ति जनाएका थिए। प्रधानमन्त्रीको हस्ताक्षर भएको पत्र पढेपछि भारतीय दूतले प्रधानमन्त्रीलाई भेटेर पाकिस्तानसँग नेपालले ‘दोस्ती’ नगरोस् भन्ने मात्र भारतको आशय रहेको जनाउँदै क्षमा मागेछन्।

गृह, अर्थ, राष्ट्रिय सुरक्षा, परराष्ट्र, शिक्षा, स्वास्थ्य, यातायातलगायतका विषयमा महेन्द्रको धारणा प्रष्ट थियो। विदेशी दाना खाने केहीले महेन्द्रले नेपाल ध्वस्त पारे भन्ने गरेका छन्। झण्डै छत्तीस वर्षअघिदेखि पत्रकारितामा लागेका तीर्थ कोइरालाले व्यङ्ग्य गर्दै भनेका छन्– मेची–महाकाली जोड्ने लामो राजमार्ग बनाए तराईमा। औद्योगिक क्षेत्रहरू खोले। उद्योग जति तराईमै स्थापना गरे। राम्रा स्कुल–कलेज र अस्पताल तराईमा बनाए। तराईका शिक्षितलाई जताजतै जागिर दिए। सयौँ जमिनदारका लाखाैँ बिघा जमिन खोसेर तराईका मोही र किसानलाई बाँडे। त्यसैले पहाडेहरूले महेन्द्रलाई अपराधी भन्नुपर्छ। खोइ त पहाडमा के भयो?

राजा महेन्द्रका बारेमा धेरै राष्ट्र र नेतामात्रै हैन, दार्शनिक लेखक बोलेका छन्। उनीहरूले उच्च मूल्यांकन गर्दै नेपालको जटिल भूराजनीतिक अवस्थामा तटस्थ बसेर महेन्द्रले अन्य राष्ट्रलाई पनि शिक्षा दिएको बताएका छन्। भारतका विद्वान् सर्वपल्ली राधाकृष्णनलगायतका राजनेता, लेखक र पत्रकारले बहुआयामिक व्यक्तित्व भएका महेन्द्रले विश्वलाई नै प्रभावित बनाएको बताएका छन्। नेपालमा राजनीतिका नाममा सत्ताबाहेक केही नदेख्नेहरूले महेन्द्रलाई बुझ्ने प्रयास नै गरेनन्। दुर्भाग्यपूर्ण कुरा यही हो।

प्रकाशित: ४ असार २०७८ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App