७ वैशाख २०८१ शुक्रबार
विचार

ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार

ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवस

‘ज्येष्ठ नागरिकले राम्रो रसिलो व्यवहारको आशा जोबाट गरेको छ उसैबाट एक पटक मात्र नभएर पटक पटक मनै फुरुंग पार्ने काम नगरेर उल्टै नोक्सान पुर्‍याउने र दुःख दिने काम गर्नुलाई नै ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार भनिन्छ। यो विश्वव्यापी सामाजिक मुद्दा हो जसले विश्वभरिका ज्येष्ठ नागरिकको अधिकार र स्वास्थ्यलाई नराम्रो असर गर्छ। यो मुद्दालाई विश्व समुदायले ध्यान दिनु परम आवश्यक छ’ (संयुक्त राष्ट्र संघ, २०२१ ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार रोकथाम काम गर्ने अन्तर्राष्ट्रिय सञ्जाल, संस्था (आइएनपिइए) ले सन् २००६ देखि प्रत्येक वर्षको जुन १५ तारिखलाई ‘ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवस’ का रूपमा विभिन्न किसिमका कार्यक्रम आयोजना गरेर मनाउँदै आइरहेको पाइन्छ। 

अर्काेतर्फ यसै संस्थाले ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहारकोे विषयमा खोज तथा अनुसन्धानको सुरुवात पनि गरेको छ। यसले दुर्व्यवहारसम्बन्धी प्रचारप्रसार गर्ने क्रममा संयुक्त राष्ट्र संघलाई समेत घच्घच्याउन थाल्यो। संयुक्त राष्ट्र संघ महासभाले पनि प्रस्ताव नम्बर ६६ र १२७ बमोजिम आइएनपिइएको अगुवाइमा डिसेम्बर, २०११ मा जुन १५ तारिखलाई ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवसका रूपमा प्रत्येक वर्ष मनाउने निर्णय गर्‍यो। २०१२ देखि यो दिवसलाई संयुक्त राष्ट्र संघले औपचारिकरूपमा मनाउँदै आएको छ।

राष्ट्र संघका सबै सदस्य राष्ट्रले यो दिवस मनाउँछन्। नेपालमा पनि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले यो दिवस २००७ देखी मनाउँदै आइरहेकामा सन् २०१२ देखि हालको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग संयुक्तरूपमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना हुने गरेको छ।  

राष्ट्र संघले यस वर्ष प्रस्तुत गरेको नारा ‘ज्येष्ठ नागरिकको न्यायमा पहुँच’ भन्ने छ। कोभिड–१९ को प्रभावशाली दोस्रो लहरका बाबजुद पनि यो विषम परिस्थितिमा ज्येष्ठ नागरिकलाई हुन सक्ने दुर्व्यवहारसमेतलाई उजागर गर्दै, ज्येष्ठ नागरिकलाई कुनै पक्षबाट दुर्व्यवहार हुन नदिने उपाय अवलम्बन गर्नेतर्फ अझ थप सतर्क हुँंदै सरोकारवाला निकायसँग हातेमालो गरेर सामाजिक सञ्जालको माध्यमसमेतबाट अघि बढिरहेका छौँ। विश्वमै ज्येष्ठ नागरिकको जनसंख्या द्रुततर गतिमा बढ्दो छ। उमेरका हिसाबले ज्येष्ठ नागरिकमाथि हुने भेदभाव प्रशस्त पाइन्छन्। विश्वका विभिन्न राष्ट्रमा भएका कानुनले ज्येष्ठ नागरिकको मानव अधिकार संरक्षण गर्न नसकेको प्रशस्त उदाहरण छन्। हिजोका दिनमा आफूले भोगचलन गर्दै आएको अधिकार, जस्तै– व्यक्तिगत स्वतन्त्रता, आत्मसम्मान, सम्पत्तिको अधिकारबाट वञ्चित, स्वास्थ्य सुविधा र मानवोचित कार्यबाट समेत अलग्याइन्छ। यसबाट उनीहरूको आत्मसम्मानमा आइपर्ने चुनौतीहरूले गर्दा ज्येष्ठ नागरिक हेँला र दुर्व्यवहारको सिकार बन्छन्।

ज्येष्ठ नागरिक आफ्नै वा आफन्तहरूको घरमा र उनीहरूलाई स्याहारसुसार गर्ने जिम्मा लिएका आश्रममा समेत दुर्व्यवहारको सिकार हुँदै आएका प्रशस्त प्रमाण छन्। हामीले चिनेजानेका ज्येष्ठ नागरिकलाई शारीरिक अथवा भावनात्मकरूपले परिवारबाट बेवास्ता हुने अथवा आर्थिकरूपले शोषण हुने स्थिति हामी आँखैअघि देख्न सक्छौँ। ज्येष्ठ नागरिकलाई गरिएको दुर्व्यवहारका खत र उदाहरण पत्ता लगाइसकेपछि जुन ज्येष्ठ नागरिकप्रति यस्तो व्यवहार गरिएको छ उसको पक्षबाट तपार्इँले सहयोग गर्दा कुनै कुनै व्यक्तिविशेषलाई मात्र सहयोग नगरी भविष्यमा हुने ज्येष्ठ नागरिकप्रतिको दुर्व्यवहार रोक्नमा तपाईँको सहयोगको ठूलो महत्व हुने छ।  

शारीरिकरूपले बढी कमजोर ज्येष्ठ नागरिकहरू कसैले हेप्यो भने सामना गर्न असमर्थ हुन्छन् वा कसैले आक्रमण गरेमा प्रतिकार गर्न सक्दैनन्। पहिला पहिला जस्तो स्पष्टसँग देख्ने, सुन्ने, सोच्ने शक्ति उनीहरूमा हुँदैन। त्यसैले गलत नियत भएकाहरूले उनिहरूबाट फाइदा उठाउने सम्भावना बढी रहन्छ।

वर्षौँदेखि तपाइँले बाटाघाटामा वा मेलामा भेटिरहेका ज्येष्ठ नागरिकलाई अकस्मात बाटोघाटो वा घरबाहिर भेट्दा तपाईँ उनीसँग भलाकुसारी गर्न चाहनुहुन्छ तर कसोकसो उनले शिष्टतापूर्वक नमस्कार फर्काए पनि उनले तपाईँलाई नचिनेको जस्तो गर्नुहुन्छ। उनको पाखुरामा भएको घाउका बारेमा तपाईँ सोध्नुहुन्छ तर उनी लडेको थिएँ भन्दै टारेर आफ्नो घरतर्फ लाग्छन्। केही न केही त पक्कै पनि भएको हुनुपर्छ भन्ने आभास तपाइँलाई हुन्छ। तपाईँ घाउको बारेमा र उनको व्यवहारको बारेमा सोच्नुहुन्छ– पक्कै पनि बुढ्यौलीको प्रभाव होला भन्ने। तर सत्य त्यस भन्दा फरक अरू केही पनि त हुन सक्छ। करिव करिव ९५ प्रतिशत ज्येष्ठ नागरिकलाई दुर्व्यवहारबारे जानकारी छ। दुर्व्यवहारमध्ये सबभन्दा बढी ८६ प्रतिशत अवहेलना, वास्ता नगर्ने, अनादर गर्ने प्रतिशत ७५ छ भने गाली गर्ने ७० प्रतिशत र शारीरिक यातना ५४ प्रतिशत छ। त्यसैगरी आर्थिक दुर्व्यवहार २० प्रतिशत र आवेशपूर्ण–भावात्मक दुर्व्यवहार १३ प्रतिशत देखिन्छ। ज्येष्ठ नागरिकमाथि हुने मुख्य दुर्व्यवहार ६ भागमा बाँडिएको पाउँछौँ। तल उल्लिखित दुर्व्यवहारहरू प्रायः विश्वमै हुने गर्छन् :  

१. शारीरिक दुर्व्यवहार : ज्येष्ठ नागरिकप्रति हुने शारीरिक दुर्व्यवहार दुर्घटनालगायत उनीहरूमाथि प्रयोग गरिने बलजफ्ती हो जसले उनीहरूलाई शारीरिक घाउचोट वा पीडा दिन्छ। यसभित्र कुटाइ खाने वा घँचेटिने मात्र नभई लागु पदार्थको अनुचित प्रयोग, बाधा/व्यवधान र थुनेर राख्नेसमेत पर्छ।

२. भावनात्मक दुर्व्यवहार : हेरचाह गर्नेले ज्येष्ठ नागरिकलाई धम्काउंँदै अपमानित गर्दै गरेको अथवा अधीनमा राखेको तपाईँले देख्नुभएमा भावनात्मक दुर्व्यवहार हुन्छ।

३. यौन दुर्व्यवहार

क. स्तन वा सन्निका वरिपरि कोरिएका घाउ।

ख. बताउन नसकिने भिरिङ्गे रोग वा सन्निमा इन्फेक्सन।

ग. बताउन नसकिने योनी वा गुद्धारबाट रक्तश्राव।

घ. भित्री लुगा च्यातिएको, दाग बसेको वा रगतको टाटा परेको।

४. स्याहारकर्ता वा आफैँबाट बेवास्ता

क. असाधारण वजन घट्नु।

ख. कुपोषण, शरीरमा पानीको कमी।

ग. ओछ्यानमा हुने घाउहरू जस्ता उपचार नगरिएका शारीरिक समस्या।

घ. धुलो, कीरा वा लुगाफाटा र ओढ्ने/ओछ्याउने फोहोर भएका जस्ता अस्वस्थकर समस्याहरू।

ङ. मैलोधैलो वा ननुहाएको स्थिति पाइएमा।

च. मौसम सुहाउँदो लुगा वा ओढ्ने नभएको।

छ.  ज्येष्ठ नागरिकलाई एक्लै सार्वजनिक स्थलमा छाडिएको पाइएमा।

५. आर्थिक शोषण  

क. इच्छापत्र, सम्पत्ति, जायजेथाका कागजपत्रमा शंकास्पद परिवर्तन हुनु ।

ख. ज्येष्ठ नागरिकको खाताबाट प्रशस्त पैसा निकाल्नु।

ग. ज्येष्ठ नागरिकको घरबाट सामानहरू वा नगद हराउनु।

घ. ज्येष्ठ नागरिकको हस्ताक्षर कार्डमा नाम थपिनु।

च. खातावाला ओछ्यानमै सीमित भएका बेला कार्ड प्रयोगबाट अरूले नै पैसा निकाल्नु।

६. स्वास्थ्य सेवासम्बन्धी भ्रष्टाचार र दुर्व्यवहार।

क.  एउटै उपचार सेवाका लागि दुई दुई बिल प्राप्त हुनु।

ख. बढी औषधिको प्रयोग वा कम औषधिको प्रयोगको प्रमाण हुनु।

ग.  औषधि उपचारका विषयमा गरिएका प्रश्नहरूको अनुपयुक्त जवाफ आउनु।

हाम्रो समाजमा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यहार जस्ता घटना धेरै कम प्रकाशमा आउने हुन्छन्। कहाँ उजुरी गर्ने भन्ने जानकारी अभाव, पारिवारिक इज्जतको डर, जसका विरुद्ध उजुरी गरिँदैछ उसले थाहा पाएर बढी मारमा परिन्छ कि भन्ने त्रासलगायतका कारण यसका स्रोत हुन्।

राज्यले ज्येष्ठ नागरिक दुर्व्यवहार रोक्न सम्बोधन गर्नुपर्ने विषयहरू

१.   ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा कार्यरत कर्मचारीद्वारा दिन/प्रतिदिन दुर्व्यवहार र अपमानित व्यवहार भएको देखिन्छ। ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ मा ज्येष्ठ नागरिकलाई २ सिट आरक्षणसहित ५० प्रतिशत छूटको व्यवस्था भए पनि त्यो पूर्णरूपमा पालना नभएकाले गराइनुपर्छ।  

२.    नेपालको संविधान, २०७२ को मौलिक हकको धारा ४१ म व्यवस्था भएअनुसार ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हकबमोजिम समयसापेक्ष निर्माण गरिने नयाँ ऐन, नियमावलीमा ज्येष्ठ नागरिकमाथि हुने सबैखाले दुर्व्यवहार रोक्न विशेष व्यवस्थाका साथै दुर्व्यवहार गर्ने व्यक्ति÷निकायलाई सजायको भागीदार बनाउने कुरा नीतिगत तहबाट व्यवस्था हुनु आवश्यक छ।  

३.  ज्येष्ठ नागरिकप्रति हुने विभिन्न प्रकारका दुर्व्यवहार मूलतः आर्थिक दुर्व्यवहार नै बढी हुने हुँदा त्यस्तो दुर्व्यवहारबाट सुरक्षित गराउन ज्येष्ठ नागरिकले आर्जेको सम्पत्तिमा इच्छापत्रको व्यवस्था हुन र छोराछोरीको आर्थिक हैसियतको आधारमा आफ्ना बाबुआमाको अनिवार्यरूपमा हेरविचार गर्नुपर्ने जस्ता प्रावधान ऐनमै व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ।  

४.  ज्येष्ठ नागरिकमाथि भएका दुर्व्यवहारसम्बन्धी आवश्यक कानुनी सल्लाह तथा परामर्श सेवालगायत ज्येष्ठ नागरिकको कुनै पनि प्रकारको आकस्मिक समस्यालाई समाधान गर्न ज्येष्ठ नागरिक हेल्पलाइन स्थापना गर्न जरुरी छ।  

५.  राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको समन्वयमा सामुदायस्तरबाट प्रहरीको संयन्त्रमार्फत टोल–टोलमा रहेका ज्येष्ठ नागरिकको अवस्थाको लगत संकलन गरी दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकलाई उद्धार तथा पुनस्र्थापना गराउन उक्त निकायमा अनिवार्य ज्येष्ठ नागरिक प्रहरी सेल स्थापना गराउने व्यवस्था मिलाउन जरुरी छ।  

६.  ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानित, मर्यादित एवं दुर्व्यवहारबाट मुक्त बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने हुँदा विभिन्न भाषामा जनचेतनामूलक सन्देशहरू तयार गरी आमसञ्चारको माध्यम (पत्रपत्रिका, रेडियो, टि.भि. एवं सामुदायिक एफ.एम.) बाट प्रचारप्रसार गराउने व्यवस्था मिलाउनुपर्ने देखिन्छ।  

ज्येष्ठ नागरिक स्वयंले पनि आफूप्रति हुने सम्भावित दुर्व्यवहार कम गर्न सक्दो प्रयत्न गर्नुपर्छ। आफ्नो आर्थिक एवं अन्य व्यवहारहरू ठीकसँग चले–नचलेका हेर्ने त्यसमा समस्या आए कानुनी सहयोग लिने, विश्वस्त मित्र र आफन्तलाई त्यसको जानकारी दिने, यति नभइसकेसम्म आफन्त र सहृदयीको सम्पर्कमा बस्ने गर्नुपर्छ। असजिलो नमान्ने र आफू बसेको परिवार वा स्थानमा आफूप्रति दुर्व्यवहार भैरहेको छ भन्ने लागेमा तुरुन्तै सम्बन्धित निकायमा त्यसको जानकारी दिने कार्य गरेमा यस्ता दुर्व्यवहारबाट बच्न सकिन्छ।  

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको महासचिव

प्रकाशित: १ असार २०७८ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App