११ असार २०७८ शुक्रबार
विचार

सेनाले गर्छ

बाढी–पहिरो, भूकम्प वा महामारीले अभिभावक गुमाएका केटाकेटीलाई कसैले सहारा दिन्छन्। ती अनाथका नाथहरू कोही न कोही भेटिन सक्छन् तर राष्ट्र नै अनाथ भयो भने जनताको दुःख, पीर, व्यथा र औडाहा थपिन्छ। नेपाल आज अनाथ जस्तो बनेको छ। समस्या गहिरिँदै गएका छन्। जनता भयाक्रान्त भएका छन्। धेरै धन हुनेलाई धनसम्पत्ति बचाउने चिन्ता छ। ‘हुने खाने’ र ‘हुँदा खाने’ वर्गमा श्रमजीवी, मजदूर, साना किसान तथा मध्यम, निम्न मध्यम वर्ग वर्तमानको बेथिति एवं भविष्यका चुनौती देखेर उकुसमुकुस भएका छन्।

विद्या, चातुर्य, बल, धैर्य र साहस मानिसका स्थायी साथी हुन् भनिएको छ शास्त्रमा। धेरै जना गुणहीनको भन्दा एउटा गुणी काम लाग्छ भनेर संगत गर्नु उत्तम हुन्छ भनिएको छ। राष्ट्र संकटमा पर्दा बथानले जोगाउँदैन, एउटा साहसीले राष्ट्र जोगाउँछ। उदाहरण कति छन्, कति।

राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने कुरा धेरै सुनेका छौँ हामीले। व्यवहारमा हामी आत्मसमर्पण गरिरहेका छौँ। कुनै सन्धि वा सम्झौता भएपछि जय र पराजय छुट्टिन्छ। पराजीतले विजेतालाई सम्मान गर्छ। सलाम गर्छ। सुगौली सन्धि अध्ययन गर्दा नेपाल–अंग्रेज युद्धमा हामी हारेकै हो। पराजयको मूल कारण हाम्रै गुटबन्दी थियो। मेचीपूर्व, महाकालीपश्चिम र दक्षिणमा हाल बिहार, उत्तर प्रदेशले समेटेका लाखौँ बिघा जमिन हामीले गुमायौँ। दुई सय वर्ष भन्दा अघिको त्यो घटनापछि पनि घात/प्रतिघात, अविश्वास र षडयन्त्रका अभ्यास भइरहे।

राष्ट्र स्थायी घर भएकाले सेनाले राष्ट्रलाई तहसनहस हुनबाट बचाउनुपर्छ भन्ने हामा पुराना ग्रन्थ र शास्त्रमा स्पष्ट लेखिएको छ।  

‘अधमा धनमिच्छन्ति, धनमानौ तु मध्यमाः। उत्तमा मानमिच्छन्ति मानो हि महता धनम्।।’ (शुक्राचार्य नीति) यसको अर्थ हो– महान् व्यक्ति मानलाई धन ठान्छन्। अधमलाई धनमात्र चाहिन्छ। मध्यमले धन र मान रोज्छ। उत्तम मानिसले मान र स्वाभिमान रोज्छ।

राष्ट्रको मानसम्मान बचाउनुपर्छ भनेर जो मन, वचन र कर्मले समर्पित रहन्छन्, ती उत्तम हुन्। यता फर्के पनि, उता फर्के पनि धनमात्र कमाउन चाहनेका हातमा राष्ट्र सुम्पेपछि राष्ट्रको स्वाभिमान कसरी जोगिन्छ त ? नेपाली जनताले सोचेको देखिँदैन। जहाँका जनताको चिन्तन उदात्त हुन्छ, त्यो राष्ट्रको चाँडै उन्नयन हुन्छ। नर्वे, स्विडेन, डेनमार्क जस्ता शान्त, सुखी र खुसी राष्ट्रका जनता ‘म र मेरो’ भन्ने घेराभन्दा माथि उठेर राष्ट्रोत्थानमा मात्र जुटे। सयौँ वर्ष संघर्ष गरे। बालुवामाथि जन्मिएका कतार, युएइ, बहराइन र इजरायलले राष्ट्र उठेपछि सबैको उत्थान हुन्छ भन्ने बुझेर सबैलाई राष्ट्र निर्माणमा एकताबद्ध गराए। यता नेपालमा उल्टो भइरहेको छ। एउटा जातलाई अर्को जातको शत्रु बनाउने, ‘देश नरहे के हुन्छ त, मधेस रहन्छ’ भन्ने हिमाली, पहाडी र समथर भागबीच मनको दूरी बढाएर सुनको धुरी उठाउने व्यक्तिहरू राजनीतिमा महारथि बनेका छन्। राष्ट्र जोगाउने जागिर खाइरहेकाहरूले राष्ट्रघातीका छातीमा माला लगाउँछन्। कैयन् राष्ट्रमा राष्ट्र रक्षकहरूले माला होइन, भाला उनेका छन्।

अति भइसक्यो। हेर्दाहेर्दै ठूलो खति भइसक्यो। विदेशीसँग मिलेर स्वदेशको अस्तित्व मेट्ने र जनताको घाँटी रेट्ने चरित्र भएका धनवादी अधमहरूले राष्ट्रलाई कंगाल बनाएका छन्। हामी विस्तारै सियरालिओन, मोजाम्बिक, सोमालिया र सुडान बन्दैछौँ। जनताले त्यस्तै नेतालाई मतदान गरेका छन् र आजसम्म उनकै भर परेका छन्।

राजनीति गर्नेहरूले राष्ट्रलाई पतन गराइरहँदा वा अनाथ बनाउँदा ‘व्यावसायिक’ (प्रोफेसनल) र संविधान अनुकूल हिँड्ने प्रतिज्ञाको कुनै महत्व हुँदैन। कुनै अंगमा क्यान्सर भएमा त्यसलाई काट्ने कि चाट्ने ? सेनाले सत्यको पक्ष लिएर बेलैमा राष्ट्र बचाउनुपर्ने धेरैको अभिमत पाइन्छ।

हातगोडा लुला भइसकेका, आँखा–कान कमजोर भएका, शरीरका हरेक अंग शिथिल भएका र हरेक दिन महँगो ओखति खाएर त्यसको साइडइफेक्टले हाँस्दै बर्बराइरहनेहरू राजनीतिका कमान्डर छन्। बितेका तीस वर्षमा रोगी, नालायक, भ्रष्ट र विदेशीका दासले राष्ट्रलाई लास बनाएका छन्। यमदूतले समेत अयोग्य लडाकु ठानेर परित्याग गरेका मानसिक रोगीहरूको ठूलो संग्रहालय बनेको छ राजनीति। परिवर्तनको सपना देख्ने मतदातालाई नातागोता, अन्नदाता, दलको नेता भए पुग्छ, योग्य र इमानदार चाहिएको छैन।

बुद्धले ‘अप्प दीपो भवः’ (आफ्नो दीपक आफैँ बन) भनेका छन्। संकट र विपत्तिमा, सुख र दुःखमा योग्य मानिसले आधारभूत चरित्र बदल्दैन। सूर्यास्तपछि भोलिपल्ट उषाकालमा सूर्योदय हुन्छ, नयाँ आलोक, ऊर्जासहित ज्योर्तिमय। हामी २०४६ सालपछि ठूलो ‘एनिमल फार्म’ चलाइरहेका छौँ। जर्ज अर्वेलका शब्दमा ‘हरेक पशु समान हुन् तर पशुनायकहरू अलि बढी समान हुन्छन्।’ सन् १९१७ को रुसी क्रान्तिपछि जनतालाई ठगेर, लुटेर, कुटेर शासन गर्ने कम्युनिस्टलाई काल मानेका छन्, अर्वेलले। जार शासन अन्त्य गरेर सत्ता हातमा लिए कम्युनिस्टले। यसले सत्तरी वर्षसम्म गोलचक्करमा घुमिरह्यो सोभियत भूमि। चिन्तनलाई कैद गरेर मानिस स्वतन्त्र हुन सक्दैन। अनुशासनको पखेटाले मानिस पनि उड्न सक्छ, माथि–माथि आकाशमा। जुन दिन मानिस थोरै स्वार्थका लागि एउटा विचारको पिँजरामा कैद हुन्छ, त्यो दिनदेखि ऊ पराधीन, परतन्त्र र परावलम्बी हुन्छ।

निर्दलीय प्रणाली छँदा पनि नागरिक स्वतन्त्र थिए, जनप्रतिनिधि छान्न। व्यक्तिको कार्यक्षमता, इमान र समाजसेवा मापदण्ड मानिन्थ्यो। असल मानिस संसद्मा आउँथे। केही अपवादबाहेक अरू सबैले जनताको चित्त बुझाएरै चुनाव जित्थे। राम्रो काम गर्न नसक्नेहरू पुनः सांसद (राष्ट्रिय पञ्चायत सदस्य) हुने ‘चान्स’ थिएन। पार्टीको मालिकले डगलाई गड (देवता) भन्दै टिकट दिएपछि बितेका कैयन् वर्षयता भ्रष्ट, अकर्मण्य, लाछी, पामर, हुतिहारा र दासहरू पनि नेता बनेका छन्। त्यस्तालाई मतदान गर्न पाउँदा एक हजार गाई दान गरेको ठान्ने हामी जनता जस्तै छ, हाम्रो डेमाक्रेसी। सातपल्ट संविधान फलाए पनि बालुवामा धान फल्दैन।

राष्ट्रलाई अनाथ बनाउने खेलमा नेता मात्र दोषी छैनन्। दलको दलदलमा भास्सिएका हामी जनता झन् जिम्मेवार छौँ। यही अवस्था रहेमा पद्धति यथावत् रहन्छ। नीति, विधि र नैतिकता पुस्तकमा सीमित रहनेछ।

वास्तवमा नायक (नेता) त्यही हो जसले सही बाटो हिँड्न प्रेरणा दिन्छ। जनतालाई उतै लैजान्छ र स्वप्नद्रष्ट बनेर युगलाई हाँक्न सक्छ। पैसाबाहेक ज्ञान, विवेक, क्षमता केही नभएका दरिद्र र सत्ताबाहेक केही नदेख्ने कथित राजनीति उस्तै हुन्। ‘एनी हाउ धन कमाऊ’ भन्ने सारांशको वरिपर घुमेर उनीहरूले समाज र राष्ट्र ध्वंश पार्छन्। समुन्नत राष्ट्रलाई बर्बाद र अनाथ बनाउँछन्। उनका नाथ विदेशी छन्। आफैँले लोकम्मति बुझेर शासन चलाएको भए नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी, दिगो र सुमन्नत राष्ट्र हुने थियो।

‘जनताको एकताले मात्र राष्ट्र बलियो हुन्छ।’ अमेरिकाका प्रसिद्ध लेखक, राजनीतिज्ञ र न्यूरो सर्जनले व्यक्त गरेको वाणी हाम्रा धर्मशास्त्रहरूमा हजारौँ सालपहिले अंकित थियो। ‘वयं राष्ट्र जागृयाम् पुरोहिता’ भनेको छ वेदले। राष्ट्र बलियो, सजीव र सजग बनाउन अनेक उपाय बताएका छन् हाम्रा पुर्खाले। पृथ्वीनारायण शाहको दिव्यउपदेशमा स्वदेशी वस्तुमा मात्र आश्रित रहने सन्देश दिँदै नेपाल अनेक जातको साझा फूलबारी भनेका छन्।

विद्वान्हरूले प्रमुख हितमा राष्ट्रिय सुरक्षा र आर्थिक हित रहनुपर्छ भनेका छन्। त्यसपछि गौण हितमा निजी स्वार्थ हुन्छ भनिन्छ। राष्ट्रहित गतिशील, अटुट र अक्सिजन जस्तो अपरिहार्य हुन्छ, हुनुपर्छ भन्छन् उनीहरू। राष्ट्रहित नगरेर राष्ट्र र जनतालाई धोका दिनेको वध गर्नुपर्छ भनिएको छ। पद्धति, सरकार वा कुनै पनि आरोह/अवरोहले राष्ट्र हित ओझेलमा पर्दैन र पर्नुहुँदैन भन्छन्, राजनीतिशास्त्रीहरू। राष्ट्र स्थायी घर भएकाले सेनाले राष्ट्रलाई तहसनहस हुनबाट बचाउनुपर्छ भन्ने हामा पुराना ग्रन्थ र शास्त्रमा स्पष्ट लेखिएको छ। राजनीति गर्नेहरूले राष्ट्रलाई पतन गराइरहँदा वा अनाथ बनाउँदा ‘व्यावसायिक’ (प्रोफेसनल) र संविधान अनुकूल हिँड्ने प्रतिज्ञाको कुनै महत्व हुँदैन। कुनै अंगमा क्यान्सर भएमा त्यसलाई काट्ने कि चाट्ने ? सेनाले सत्यको पक्ष लिएर बेलैमा राष्ट्र बचाउनुपर्ने धेरैको अभिमत पाइन्छ।  

हालै प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको एक हजार दिनमा भएका कामहरूबारे जानकारी दिँदै ‘सेनालाई कमजोर नठान्न’ चेतावनी दिएका छन्। राष्ट्रका सबै निकाय एकीकृत भएर अघि बढ्दा राष्ट्रघात रोक्न सकिने उनको तर्कले केही आशावादी बनाए पनि सेनाले सिंहदरवार, राजनीतिक दलहरू, मिडिया, मानव अधिकारवादी, परोपकारी आदिको भेषमा लुकेर बसेका विषाणु, जीवाणु र कीटाणुलाई कसरी विषादी छर्किएला, त्यो समयले बताउला। राष्ट्र र जागिरमध्ये एउटामात्र जोगाउने अवस्था पनि आउन सक्छ। इतिहासको लामो कालखण्ड अध्ययन गर्दा धेरै कुरा सेनाका लागि शिक्षा बन्न सक्छ।

स्पार्टाको सेनाले प्राचीन कालमा गर्ने असाध्य कठिन युद्ध अभ्यास, जापानमा लडाकु भिक्षु (सोहेइ) ले सयौँ वर्षपहिले गरेको रोमाञ्चक युद्ध अभ्यास आदि सिकेर आर्ट अफ वार (युद्धकला) देखाउनुपर्दैन। राष्ट्रका परम शत्रु चिनेर बेलैमा रामनामी ओढाउनुअघि गंगाजल खुवाए पनि पुग्छ, नेपाली सेनाले। राष्ट्रिय सुरक्षाका लागि प्रधानमन्त्री बेनजिर भुट्टो नै गम्भीर चुनौती ठहर्‍याउँदै पाकिस्तानी सेनाका गुप्तचर प्रमुख हमिद सइदले सन् १९९० मा सेनालाई प्रधानमन्त्रीले अविश्वास गर्न मिल्छ ? भन्ने प्रश्न गरेका थिए।

रावलपिन्डीमा सन् २००७ डिसेम्बर २७ तारिखमा प्रधानमन्त्री बेनजिर भुट्टोको हत्या भयो। उनीसँगै बम बिस्फोटमा तेइस जना मारिए। सन् १९८८ देखि २ वर्ष र १९९३ देखि १९९६ सम्म ३ वर्ष उनी प्रधानमन्त्री भए पनि पाकिस्तानको सेनाले उनले राष्ट्रलाई कमजोर बनाइरहेको विश्लेषण गरेको थियो। सेनाले राष्ट्रघातीबाट राष्ट्र रक्षा गर्छ भन्ने प्रबल विश्वास पाइन्छ, पाकिस्तानमा। धेरै राष्ट्रमा सेनाले साहसपूर्वक निर्णय गरेर राष्ट्र बचाएका उदाहरण छन्। दलहरू पूर्णरूपले असफल भएको नेपालमा लाखौँ जनता भन्दैछन्– ‘अब केही गर्छ, सेनाले।’ गर्छ, गर्दैन थाहा छैन। राष्ट्र बचाउन केही गर्छ भने गम्भीर संकट अवश्य टर्छ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App