११ असार २०७८ शुक्रबार
विचार

खोप उपलब्धताको अन्तर कम गर्नुपर्छ

सन् २०२१ को मे महिनाको अन्त्यसम्ममा कम्तीमा २.१ प्रतिशत अफ्रिकीहरूले कोभिड–१९ को खोपको एक मात्रा प्राप्त गरेका छन्। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस घेब्रेयेससले संज्ञा दिएको ‘खोपको रंगभेद’ अन्त्य गर्ने हो भने विकसित राष्ट्रहरू र विकासशील राष्ट्रबीच देखिएको यो खोपको अन्तरलाई कम गर्नैपर्छ। यसो गर्नु नैतिक हिसाबले सही हो र यो सबैको हितमा पनि छ।  

यस कारण पनि खोपको उत्पादन बढाउन र सिंगो विश्वलाई नै खोपको पहुँचमा पुर्‍याउन विश्वव्यापी बहुपक्षीय कार्यनीति अंगाल्नु अन्यन्तै जरुरी छ। महामारीको सुरुवातदेखि नै युरोपियन युनियनले रोजेको बाटो यही नै हो। जि–२० का अगुवाहरूले पनि २१ मेमा रोममा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा यही मार्ग नै निर्धारण गर्नुपर्छ भनेका छन्।

अहिले पनि महामारीका कारण हरेक दिन हजारौँ व्यक्तिको ज्यान गइरहेको छ। अहिले जुन गतिमा खोप प्रदान गरिएको छ, हामी भन्न सक्छौँ कि सन् २०२३ भन्दा अगाडि पूरै विश्वले खोप पाउन सम्भव हुने छैन। फेरि पनि महामारी अन्त्य गर्ने नै हो भने विश्वका सबै मानिसले व्यापकरूपमा खोप लगाउन पाउनैपर्छ। अन्यथा भेरियन्टका नयाँ नयाँ प्रकार देखापर्नेछन् जसले खोपको प्रभावकारितालाई कमजोर पार्ने सम्भावना रहन्छ। 

कोरोना महामारीले स्वास्थ्य विश्वव्यापी सार्वजनिक वस्तु हो भन्ने कुरालाई पुनः स्मरण गराइदिएको छ। 

हाम्रो अर्थतन्त्र तथा स्वतन्त्रता (जुन अहिले खुम्चिएको अवस्थामा छ) लाई फुकुवा गर्न चाहिने पूर्वसर्त भनेको पनि खोप लगाउने कार्य हो। यस्ता प्रतिबन्धहरूले पूरै विश्वलाई दण्डित त गर्छ नै तर पनि त्यसको अत्यधिक मार भने विकासोन्मुख मुलुकले बढी खेप्नुपर्ने हुन्छ। विकसित देशहरूले भने आफ्ना नागरिकमा पर्ने महामारीको प्रभाव सीमित गर्न आफ्ना सामाजिक संयन्त्र तथा आर्थिक नीतिका पक्षहरूमा बढी भर पर्न सक्छन्।

अहिले भइरहेको खोपको विभेद वा अन्तर कायमै रहने हो भने गरिबी र असमानता घट्ने जुन क्रम छ त्यो उल्टिनेछ। यस्तो नकारात्मक गतिशीलताले आर्थिक गतिविधिलाई पछाडि पार्ने मात्र नभई भूराजनीतिक तनावहरू बढाउने काम गर्नेछ। निष्क्रियताको लागत निश्चय पनि विकसित अर्थतन्त्र भएका मुलुकका लागि अहिले सबै मिलेर पूरै विश्वलाई खोप प्रदान गर्ने लागत भन्दा बढी हुनेछ। त्यसैले अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रस्ताव गरेको ५० अर्ब डलरलाई युरोपियन युनियन स्वागत गर्छ जसले विश्वका ४० प्रतिशत जनसंख्यालाई २०२१ सम्ममा खोप लगाइसक्ने र बाँकी ६० प्रतिशतलाई २०२२ को मध्यसम्ममा खोप लगाउने लक्ष्य राखेको छ।  

यो लक्ष्य हासिल गर्नका लागि हामीलाई नजिकबाट संयोजन गरिएको बहुराष्ट्रिय कार्य आवश्यक हुन्छ। हामीले ‘खोप कूटनीति’ ले ल्याउने खतरालाई सामना गर्नुपर्छ जसमा खोपको उपलब्धतालाई राजनीतिक लक्ष्यसँग जोडिन्छ र ‘खोप राष्ट्रियता’ लाई पनि, जसले खोप आफ्नो देशका लागिमात्र राख्नुपर्छ भन्छ। अरूको तुलनामा युरोपियन युनियनले यस महामारीको सुरुदेखि नै यी दुवैलाई इन्कार गरेको छ। हालसम्म हामीमात्र यस्तो विश्वव्यापी कर्ता हौँ जसले आफ्ना जनतालाई खोप दिँदैं गर्दा खोपको ठूलो परिमाण निर्यात गरिरहेको छ र न्यून आय भएका मुलुकहरूमा खोपको उपलब्धतालाई सुनिश्चित गर्न उल्लेख्यरूपमा योगदान दिइरहेको छ। हामी युरोपियनहरू यस कुरामा गौरवान्वित छौं।  

सन् २०२० मा युरोपियन युनियनले खोपबारेको अनुसन्धान तथा विकासका लागि ठूलो परिमाणमा सहयोग प्रदान गरेर ‘एमआरएनए’ खोपको नयाँ पुस्ता विकास गर्न उल्लेख्यरूपमा सहयोग प्रदान गर्‍यो। विश्व स्वास्थ्य संगठनका अनुसार युरोपियन युनियन त्यसपछि कोभिड खोपको मुख्य उत्पादक बन्यो, करिब ४० प्रतिशत खोप विश्वव्यापीरूपमा प्रयोगमा आइसकेको छ। युरोपियन युनियनले ९० मुलुकमा २४ करोड खोप निर्यात गरिसकेका छन् जुन हामीले युरोपियन युनियनभित्र प्रयोग गरेको संख्यासँग बराबरी हुन आउँछ।

युरोपयन युनियन र आफ्ना सदस्य राष्ट्रहरू तथा यसका वित्तीय संस्थाहरू (जसलाई हामी ‘टिम युरोप’ भन्छौं) आफ्ना छिमेकमा रहेका मुलुकहरू (जसलाई खोपको आवश्यकता छ) लाई खोप दान गरिरहेको छ, विशेष गरी पश्चिमी बल्कन क्षेत्रमा रहेका मुलुकलाई। यसले २०२१ को अन्त्यअघिसम्ममा कम्तीमा पनि दश करोड खोप न्यून तथा मध्यम आय भएका मुलुकलाई दान गर्ने उद्देश्य राखेको छ जसबारे पछिल्लो युरोपियन काउन्सिलको बैठकमा सहमति भएको थियो। २.८ अरब युरोको कोषसहित टिम युरोप कोभ्याक्स् फ्यासिलिटीको सबैभन्दा ठूलो दाता हो जसले विपन्न मुलुकहरूको खोपमा पहुँच पाउन सहयोग पुर्‍याउँछ। हालसम्म प्रदान गरिएका कोभ्याक्सको करिब एकतिहाइ खोपको खर्च युरोपियन युनियनले बेहोरेको छ। यद्यपि खोप अभावको दायरा कम गर्नका लागि यो प्रयास धेरै अपर्याप्त छ।

यो अभावको दायरा कम गर्न आवश्यक ज्ञान र साधन भएका मुलुकहरूले आफ्नो उत्पादन क्षमता बढाउनुपर्छ ताकि ती मुलुकले आफ्ना जनतालाई खोप प्रदान गर्न सकून् र साथसाथै युरोपियन युनियनले गरेझैँ बढी खोप निर्यात गर्न सकून्। खोप उत्पादकहरूसँगको सहकार्यमा युरोपियन युनियनले सन् २०२१ को अन्तसम्ममा खोपको उत्पादनलाई प्रतिवर्ष तीन अरब भन्दा बढी बनाउन काम गरिरहेको छ। सन् २०२१ को अन्तसम्ममा न्यून आय भएका मुलुकहरूलाई मुनाफारहित दरमा तथा मध्यम आय भएका मुलुकहरूलाई कम दर रेटमा १.३ अरब खोप प्रदान गर्नका लागि युरोपियन औद्योगिक साझेदारहरूले प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले सन् २०२२ मा १.३ अरब खोप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् जसमध्ये धेरै कोभ्याक्स कोभ्याक्स्मार्फत प्रदान गरिनेछ।

सबै मुलुकले खोपको आपूर्ति शृंखलालाई प्रभावित गर्ने निषेधात्मक प्रावधान हटाउनुपर्छ। हामीले ज्ञान र प्रविधिको हस्तान्तरणलाई पनि सहजीकरण गर्नुपर्छ ताकि धेरै भन्दा धेरै मुलुकहरूले खोप उत्पादन गर्न सकून्। हाम्रो तर्फबाट हामीले युरोपियन उत्पादकहरूलाई त्यसो गर्नका लागि जोडदाररूपमा प्रोत्साहित गरिरहेका छौँ, विशेष गरी अफ्रिकामा। गत मे महिनाको १८ तारिखका दिन प्यारिसमा आयोजना भएको अफ्रिकाका लागि वित्तीय सहयोगसम्बन्धी शिखर सम्मेलनमा म सहभागी भएको थिएँ जहाँ सो महादेशका नेताहरूले अफ्रिकाले आफ्नो ९९ प्रतिशत खोप आयात गर्ने गरेको कुरामा जोड दिएका थिए। यो बदलिनुपर्छ। टिम युरोपले यो अवस्था अन्त्य गर्नका लागि एउटा अभियान नै सुरु गर्दैछ जसलाई युरोपियन युनियन तथा युरोपियन विकास वित्तीय संस्थाहरूले सहयोग गर्नेछन् र जो अफ्रिकी साझेदारहरूसँगको साझेदारीमा सञ्चालन गरिनेछ। यस अभियानले अफ्रिकाको खोप, औषधि तथा स्वास्थ्य प्रविधिहरूको उत्पादन क्षमतालाई बढावा दिनेछ।

निःशुल्क लाइसेन्स प्रदान गर्नु प्रविधि र ज्ञानको हस्तान्तरण गर्ने एउटा उत्तम तरिका हो। यो अपर्याप्त प्रमाणित भएमा विद्यमान ‘ट्रिप्स’ सम्झौता र सन् २००१ को दोहा घोषणाले अनिवार्य लाइसेन्स लिनुपर्ने सम्भावनालाई पूर्वअनुमान गरिसकेका छन्। केही मुलुकका अनुसार यी लचकताहरू निकै कठिन तथा प्रयोग गर्न सुस्त छन्। प्रविधिको यस्तो हस्तान्तरणलाई द्रुत बनाउनका लागि युरोपियन युनियनले आउने जुन महिनाको सुरुसम्ममा विश्व व्यापार संगठनको ढाँचाभित्र रहेर नयाँ प्रस्ताव अगाडि ल्याउनेछ।

कोरोना महामारीले स्वास्थ्य विश्वव्यापी सार्वजनिक वस्तु हो भन्ने तथ्यलाई पुनः स्मरण गराइदिएको छ। विश्वव्यापी स्वास्थ्य शिखरले भर्खरै अवलम्बन गरेको रोम घोषणापत्रले पूर्वअनुमान गरेझैँ खोपको अभावको दायरा हटाउनका लागि हामीले गर्ने साझा विश्वव्यापी कोरोनाको खोप प्रदान गर्ने कार्य वास्तविक विश्वव्यापी स्वास्थ्य क्षेत्रमा हुनुपर्ने सहकार्यको पहिलो कदम हुनुपर्छ।

(बोरेल युरोपियन युनियनका वैदेशिक मामला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि तथा युरोपियन कमिसनका उपाध्यक्ष हुन् ।)

प्रकाशित: २८ जेष्ठ २०७८ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App