१० असार २०७८ बिहीबार
विचार

कोरोना खोपमा लगानी गर्दा सर्वाधिक प्रतिफल

हाजिरी जवाफको एउटा प्रश्नबाट प्रसंग सुरु गरौँ। सबैभन्दा उच्चतम प्रतिफल दिने लगानी भन्दा तपाईँ के सोच्नुहुन्छ ? निजी इक्युटी फर्म ? अथवा हेज फन्ड ?

पख्नूस्, यी भन्दा झन् बढी प्रतिफल दिने अर्काे लगानी पनि छ। त्यो हो– कोरोना भाइरसविरुद्धको खोप गरिबतम् राष्ट्रमा पुर्‍याउने विश्वव्यापी अभियान।

हालसम्मको स्थिति हेर्दा अमेरिका र ग्रुप–७ का अन्य राष्ट्रले विश्वव्यापी महामारीविरुद्ध लड्न नेतृत्व दिन सकेका छैनन्। अमेरिकाको खोप राष्ट्रवादको अर्थ भनेको अमेरिकाले खोप र खोपका लागि आवश्यक कच्चा पदार्थ अनावश्यकरूपमा भण्डारण गर्नु हो। यसो गर्दा विश्वका अन्य देशमा अनावश्यक मृत्यु बढ्ने र अमेरिकाका आफ्नै आर्थिक पुनर्उत्थानको अभियानमा नकारात्मक प्रभाव पर्छ। ‘यो जि–७ समूह राष्ट्रको ठूलो नैतिक हार हो’, अर्थशास्त्रका नोबल पुरस्कार विजेता इस्थर डफ्लो थप्छन्– हामी आफ्नै समस्यामा केन्द्रित छौँ र बाहिरको स्थिति देख्न सकेका छैनाैं।

अर्थशास्त्री डफ्लोका श्रीमान् तथा अर्थशास्त्री अभिजित बेनर्जी गरिब देशमा भाइरसको नयाँ भेरियन्टले जोखिम झन बढेको प्रसंग उल्लेख गर्दै भन्छन्– यो ठूलो असफलता मात्रै होइन, मलाई लाग्छ यसले अन्ततस् हामी (धनी राष्ट्र) लाई सताउनेछ।

यो पैसासँग सम्बन्धित विषयमात्र होइन। यो जीवनसँग जोडिएको विषय हो। यो मानवताको प्रक्षेप पथ (ट्राजेक्टरी) हो। नैतिक हिसाबले गरिबतम् देशलाई सहयोग गर्दा ठूलो लगानी आवश्यक पर्ने तर्क गर्नेहरूलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको नयाँ अध्ययनको नतिजा यथेष्ट छ। यो अध्ययनले विश्वव्यापी खोप अभियानमा लगानी किन आवश्यक छ भन्ने प्रष्ट्याएको छ।  

कोषका अनुसार धनी राष्ट्रले गरिब राष्ट्रका नागरिकलाई खोप उपलब्ध गराउन तत्काल ५० अर्ब अमेरिकी डलरको लगानी आवश्यक छ। यो लगानीले महामारीको समयमै नियन्त्रण गर्न सहयोग गरेर अन्ततस् सन् २०२५ सम्म ९० खर्ब डलर बराबरको अतिरिक्त आर्थिक वृद्धि गर्न सहयोग पुग्नेछ। यो भनेको आगामी ४ वर्षसम्म लगातार हरेक वर्ष लगानीको २६७ प्रतिशत प्रतिफल पाउनु बराबर हो। यसविपरित निजी इक्युटीमा लगानी गर्दा प्रतिवर्ष ११ प्रतिशत प्रतिफल आउने अक्सफोर्ड विश्वविद्यालयको अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिभाका अनुसार सार्वजनिक लगानीमार्फत यति धेरै प्रतिफल दिने उदाहरण आधुनिक इतिहासमा छैन। यसका लागि विश्वका कम्तीमा ४० प्रतिशत जनसंख्यालाई यो वर्षको अन्तसम्म र सन् २०२२ को पहिलो ४ महिनासम्म ६० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउनुपर्ने देखिन्छ। विश्वव्यापी खोप अभियानले धनी राष्ट्रलाई झन् धेरै फाइदा हुनेछ किनकि उनीहरूले अतिरिक्त १ खर्ब डलर आयकरमार्फत आम्दानी गर्नेछन्– कोषको अध्ययनले भनेको छ। छोटकरीमा भन्ने हो भने अतिरिक्त आयकरमार्फत यो खोप अभियानले आफैँ भुक्तानी गर्नेछ।

हालको चुनौती मानव जातिको चुनौती हो। दशकौँसम्म मानव जातिले गरिबी, अशिक्षा, रोग, अन्धोपना तथा भोकमरीविरुद्ध प्रभावकारी सफलता हासिल गरेको छ। तर कोरोना भाइरसका कारण हामी पछाडि धकेलिएका छाैं। महामारीको उग्र रूपसँगै कम आय भएका देशमा कलिलो उमेरका युवती विद्यालय जानबाट वञ्चित हुनुपरेको छ र सानो उमेरमा बिहे गर्न बाध्य हुनुपरेको छ। भिटामिन ए खुवाउने अभियान रोकिँदा पोषण अभावमा अत्यधिक अन्धोपना र मृत्यु निम्तनेछ। जुकाको औषधि बालबालिकाले नपाउँदा उनीहरूले खाएको पोषण तिनै परजीवीले खानेछन् र उनीहरूको शरीर, दिमागको विकासमा नकारात्मक प्रभाव पर्नेछ। यसैगरी उनीहरू रक्तअल्पता र कुपोषणको सिकार हुनेछन्। यसैगरी परिवार नियोजन र मातृ स्याहारका समस्या आउँदा बच्चा पाउने बेलामा धेरै महिलाको मृत्यु हुन सक्नेछ भने बच्चा जन्माउने क्रममा प्रजनन अंगमा आन्तरिक घाउ हुन सक्नेछ। अन्ततस् यसले विश्वव्यापी असमानताको स्थिति झन् विकराल पार्नेछ।  

‘खोप खरिद तथा उत्पादन गर्ने केही सीमित राष्ट्रले विश्वको भविष्यलाई नियन्त्रण गरेका छन्’, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेसस भन्छन्– हालको खोप असमानताले महामारीलाई झन बढाएको छ। विश्वका १० राष्ट्रले विश्वव्यापी खोपको ७५ प्रतिशत हिस्सा लिएका छन्।जाम्बिया, सुडान र ताजकिस्तान जस्ता मुलुकमा कुल जनसंख्याको १ प्रतिशत भन्दा कमले खोपको पहिलो डोज पाएका छन्। कुनै पनि देशका नेताले आफ्नै नागरिकको हितलाई प्राथमिकता दिनु बुझ्न सकिने विषय हो। तर उनीहरूले अत्यधिक मात्रामा भण्डारण गर्दा कोरोना भाइरसविरुद्धको विश्वव्यापी लडाइँ कमजोर भएको छ। यो गर्नैपर्ने विषयमात्र होइन, यो धनी राष्ट्रको आफ्नै स्वार्थसँग गाँसिएको विषय पनि हो।  

जाम्बियामा बेवास्ता गरेको भाइरसले धनी राष्ट्रलाई आक्रमण गर्ने भाइरस जन्माउन सक्छ। प्रभावकारी खोप अभियानअन्तर्गत ट्रम्प प्रशासनका बेला अमेरिकाले गुमाएको विश्वव्यापी सद्भावना पुनस्र्थापना हुन सक्छ तथा नोभेम्बरमा हुन लागेको जलवायु सम्मेलनमा समेत यसले प्रभाव पार्न सक्छ।  

अनुमानमा आधारित भएकाले अन्तर्राष्ट्रिय मुद्रा कोषको आकलनलाई शंका गर्न सकिन्छ तर गरिब राष्ट्रमा खोप अभियानको पहँुच सबै भन्दा पेचिलो विषय हो। अन्तर्राष्ट्रियरूपमा खोपको सहज आपूर्तिका लागि गठन गरिएको कोभ्याक्सले अपेक्षित प्रगति गर्न सकेको छैन। उदाहरणका लागि दक्षिणी सुडानलाई उपलब्ध गराइएको ५९ हजार डोज खोप प्रयोग गर्नुअघि नै पुरानो (डेट एक्सपायर) हुन पुगेका थिए।  

अन्तर्राष्ट्रिय मुद्रा कोषले आकलन गरेको मुनाफाको स्तर ठूलो छ। त्यसैले पश्चिमा राष्ट्रले यो लगानी गर्न आवश्यक छ। यो अमेरिकाका राष्ट्रपति जो वाइडेनका लागि ठूलो अवसर हो। उनको सक्रियताले जि–७ समूहमा अमेरिकाको नेतृत्व स्थापित हुनेछ, समग्र विश्वले यसबाट फाइदा लिनेछ र अन्ततः अमेरिकाको अर्थतन्त्रले पनि सुरक्षा पाउनेछ। भ्याक्सिन अलायन्स गाभीका प्रमुख कार्यकारी सेथ वर्कले भन्छन्– हामीलाई महामारी कसरी अन्त्य गर्ने भन्ने थाहा छ। यो मिसन सफल हुन नदिनु भनेको अपराध गरेसरह हो।  

(न्युयोर्क टाइम्सबाट)

प्रकाशित: २७ जेष्ठ २०७८ ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App