coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

नरसिंह अवतारको पर्खाइ

यो देशले साँच्चै नरसिंह अवतार पर्खिरहेको हो? नरसिंह अवतार त एउटा धार्मिक कथाका पात्रमात्र हुन् तैपनि देशको स्थितिले त्यस्तै अवतार खोजेको भन्ने मानिसको विश्वास छ। हुन त समयचक्र बुझ्न मानिसधार्मिक ग्रन्थहरूको सन्दर्भ कोट्याउने गर्छन्। खासगरी जब कुनै अवस्था बुझ्न गाह्रो हुन्छ त्यसबेला यस्तो प्रयत्न गरेको देखिन्छ।  

भगवान्कृष्णको सन्दर्भ बारम्बार आउने गर्छ। आजको नेपालको अवस्थासित मिल्ने प्रकारले उनकी श्रीमती रुक्मिनीभन्छिन्– तपाईँसित एउटा कुरा सोध्नु छ। तपाईँ त अन्तरयामी हुनुहुन्छ। मैले के सोध्न खोजेको कुरा त्यो पनि तपाईँलाई थाहा छ।

अनि कृष्ण भन्छन्– यो देशमा के हुन गइरहेको छ भन्नेबारे तिमीले जिज्ञासा राख्न खोजेकी छौ, होइन ?

रुक्मिनी भन्छिन्– हो, आज चारैतिर हाहाकार छ। किन भइरहेछ यस्तो?शान्तिको संसार बनायौ, किन अशान्ति हुनेगर्छ ?प्रेमको दुनियाँ बनायौ भने किन घृणालाई जन्म दियौ?

कृष्ण भन्छन्– जे भइरहेछ, हुन सक्छ यो सबै विधाता आफैँले लेखेको होस्। आफैँले लेखेको कुरा उसले पनि काट्न सक्दैनन्। हे महादेवी, हुन सक्छ यो मानवको परीक्षा हो। उसको कर्मको परीक्षा हो।

रुक्मिनी भन्छिन्– यस्तो हो भने तपाईँ नै सृष्टिकर्ता भएर यस्तो संसार र यस्तो मानिस नै तपाईँले किन बनाएको ? आफँैले बनाएको देश र पृथ्वीमा यस्तो गडबड फैलिइरहेको छ?

कृष्ण भन्छन्– तिमी चाहन्थ्यौ कि मैले दिनमात्र बनाउँतर रात नबनाउँ ?त्यसो गरेको भए मानिसलाई कसरी उज्यालो र अन्धकारको जानकारी हुन्थ्यो?विष नभए अमृतको महत्व नै कसरी थाहा पाउने? पतझड नहुने हो भने वसन्त ऋतु कसरी रमाइलो लाग्थ्यो? मैले त मानव बनाएको हो। तर मानव इतिहास बनाउने काम मैले आफ्नो हातमा लिएको छैन। त्यो त उसैको हातमा छाडिदिएको छु। अहिले बल्ल उसले आफ्नो शक्ति चिन्न लागेको छ। यसैबाट उसलाई न्याय, अन्याय, पुण्य पाप, धर्म, अधर्मको जानकारी हुनेछ। मैले त उनीहरूलाई बुद्धि दिएको छु, विवेक दिएको छु।

रुक्मिनी भन्छिन्– तर यसैप्रकार मानिसले आफ्नो बुद्धि र विवेक छाडिदिए भने अन्धकारले उज्यालोलाई जितिरह्यो भने यो संसारमा के हुने नि? त्यस्तोबेला तपाईँ के हेरेर मात्र बस्नुहुन्छ?

कृष्ण भन्छन्– चिन्ता नगर देवी, असत्य र अधर्मले आफ्नो सीमा नाघे भने धर्मको हानि हुन थाल्यो भने म आफैँ पृथ्वीमा जानेछु। म वचनबद्ध छु। तिमीले सुनेकै हौला, ‘परित्राणाय साधुनाम्, विनासाय च दुष्कृताम्, धर्म संस्थापनार्थाय सम्भवानी युगेयुगे।’अनि रुक्मिनी ढुक्क भएर बस्छिन्।

तर नेपाली रुक्मिनी जस्तो ढुक्क भएर बस्न सक्दैनन्। उनीहरू कृष्ण कसरी प्रकट हुँदा रहेछन् भनेर खोजी गर्छन्। उनीहरूलाई प्रह्लादको कथाबाट ईश्वर कसरी प्रकट हुँदा रहेछन् भनेर प्रष्ट हुन्छ।  

उनका पिता हिरण्यकश्यप एक राक्षस कुलका थिए तर राजा थिए, बलवान थिए र आफूलाई सर्वशक्तिमान ठान्थे। तर उनका छोरा प्रह्लाद जहिले पनि नारायणको प्रार्थना गरिरहन्थे। उनको पितालाई यो मन पर्दैनथ्यो। तर प्रह्लाद‘ॐ नमो भगवतो वासुदेवाय’ भन्न छाड्दैनथे। उनले भने–मैले मेरो भगवानको दर्शन गरेँ।

हिरण्यकश्यप रिसाएर भन्छन्– झुट, कपटी, तँसित अवश्य मायावी शक्ति छ। यसैको बलले यो खम्बालाई शीतल बनाउँदैछस्। सैनिकहरू, यसलाई यसै खम्बामा बाँधिदेओ।

प्रह्लाद प्रार्थना चालु राख्छन्। हिरण्यकश्यपले तरवार झिकेर ‘अब तँलाई कसैले पनि बचाउन सक्दैन। तेरो विष्णुले पनि सक्दैन। आफ्नो विष्णुको स्मरण मनभर गर्दै जा। तेरो विष्णु यसै खम्बामा छ भने यहीं प्रकट होस् र तेरो मरणको दृश्य पनि हेरोस्। अब तँ कसैगरेर पनि बच्दैनस्।

त्यसैबखत नरसिंह अवतार प्रकट हुन्छन्। अनि सुरु हुन्छ उनको र हिरण्यकश्यपको युद्ध।आफ्नो हातको तरवारले हान्छ तर नरसिंहअवतारले तरवार नै समातिदिन्छ। त्यसपछि हिरण्यकश्यपले आफूसित भएका सबै हतियार एक–एक गरी प्रयोग गर्छन् तर नरसिंहअवतारअगाडि उसको केही लाग्दैन।

‘को हौ तिमी, मेरो अगाडि नआउ’ भन्छन् हिरण्यकश्यप। त्यसपछि हिरण्यकश्यपलाई काखमा राख्छन्। ‘छाडदेउ मलाई’ हिरण्यकश्यप कराउँछ। तर नरसिंहअवतार भन्छन्– म तेरो काल हो। म तेरो मृत्यु हो।

‘म मर्न सक्दिन। म राजा हिरण्यकश्यप हुँ। मलाई ब्रह्माको वरदार प्राप्त छ।’ ‘के वरदान पाएका छौँतिमीले?’ नरसिंहअवतार सोध्छन्। हिरण्यकश्यप भन्छन्–‘न म दिनमा मर्छु न राति।’ ‘ए मुर्ख, हेर, न यो दिन हो न राति। यो सन्ध्याकालको समय हो’– नरसिंहअवतार भन्छन्।  

‘न म घरको भित्र मर्न सक्छु न घरबाहिर।’ ‘न तिमी अहिले घरभित्र छौ, न घरबाहिर। यस समयमा तिमी घरको चौखटमा छौ।’

‘न म यो पृथ्वीमा मर्छु न आकाशमा।’ ‘ब्रह्माले सत्य नै भनेका थिए। तिमी न यो पृथ्वीमा छौ न आकाशमा। तिमी अहिले पृथ्वी र आकाशको बीचमा मेरो काखमा छौ’– नरसिंहअवतार भन्छन्।  

‘न मलाई कुनै पशुले मार्न सक्छ, न कुनै मानवले।’ ‘हो, मलाई न कसैले पशु भन्न सक्छ, न मानव नै। म हुँ नरसिंहअवतार। बाबुले आफ्नो छोराको हत्या गर्न थाले भने यो सृष्टिको के हुन्छ?’ तब उसको पेट चिरेर मारिदिन्छ।  

‘पापी, महापापी, अधर्मी थियो यो। महात्माहरूको जीवनलाई नै संकटमा पारेको थियो यसले। मेरो इच्छाले नै प्रह्लाद जस्तो भक्तको अपूर्व जन्म भयो। प्रह्लादको जन्मबाट यो सावित होस् कि असुरहरूमा पनि एक महापुरुषको जन्म हुन सक्छ। हे नराधम, तिमीले छल गरेर ब्रह्मासित केही वरदान पाएका थियौ। मैले त यो सम्झेको छु कि तिमीले मृत्युबाट मुक्ति पायौ। परमेश्वरको कारणले कोही पनि जन्म र मृत्युबाट मुक्त छैन। तिमीलाई लाग्यो तिमी सर्वशक्तिमान छौ। तिमी अमर छौ। हे दुर्बुद्धि, केवल ईश्वरमात्र श्रेष्ठ छ। ईश्वर सर्वशक्तिमान छ।’

त्यसैबखत सबै शक्तिशाली देवताहरू प्रकट हुन्छन्। नरसिंहअवतारलाई शान्त हुन अनुरोध गर्छन्। तर उनी मान्दैनन् र भन्छन्– होइन, आज संसारका मानिसलाई यो ज्ञान हुनुपर्छ कि ईश्वरको शक्तिलाई ललकार्नेको के हालत हुँदोरहेछ। अभिमानीहरूले देख्नुपर्छ कसरी उनीहरूको अभिमानलाई नष्ट गरिन्छ।  

नारद पनि आउँछन् र भन्छन्– हिरण्यकश्यपको शरीरका साथै उसको अभिमान पनि नाश भइसक्यो। अब त शान्त भइदिनूस्। होइनभने सारा सृष्टि नै तपाईँको क्रोधमा भष्म हुनेछ।  

‘यो नै हो जसले आफूलाई ईश्वर मै हुँ, सर्वशक्तिमान पनि म हुँ भनेर फुर्ती गरेको थियो। आज सबैले देखोस् कि यसो भन्नेको के हाल हुन्छ।’

रुक्मिनी प्रकट भएर भन्छिन्– जब कसैले मानिसमाथि अन्याय गर्छ, जब कसैले तपाईँको भक्तलाई दुःख दिन्छ, तपार्इँलाई रिस उठेर आउँछ। तपाईँले आफ्नै हातले आफ्नो भक्तको शत्रुलाई मारिदिनुभयो। अब त शान्त भइदिनूस्।

‘म कसरी शान्त होउँ ? अधर्मी मेरो अगाडि मरेर परेको छ।’

‘प्रह्लाद, यिनको क्रोधको कारण तिमीले पाएको कष्ट हो। अब त तिमीले मात्र यिनलाई शान्त पार्न सक्छौ। यिनी रिसाइरहे भने सृष्टिमा यसको प्रभाव पर्नेछ’– रुक्मिनी भन्छन्।

प्रह्लादप्रार्थना गर्दै भन्छन्– हे, नारायण, मैले सधैँ तपाईँको शान्त स्वरूपको प्रार्थना गर्थेँ। त्यही स्वरूपमा फर्कनूस्। मलाई तपाईँको पुरानो स्वरूपको दर्शन दिनूस्। मेरो दुःख कष्टको नाश त भइसक्यो।  

श्रीकृष्ण आफ्नो स्वरूपमा फर्कन्छन् र भन्छन्– ‘हे प्रह्लाद, तिमी धन्य हौ। तिमीले धेरै कष्ट पायौ तर धैर्य छाडेनौ। तिमीले दानवहरूबीच एउटा बत्ती बालिदियौ। तिमीले यो असभ्यताको हिलोमा सभ्यताको कमल फुलायौ। तिमीले सबैलाई देखाइदियौ कि कस्तो गुरु हुनुपर्छ, शिक्षक कस्तो हुनुपर्छ र शिक्षा कस्तो हुनुपर्छ। तिमी मेरो परम भक्त हौ। जबसम्म यो संसार रहन्छ तबसम्म तिमीलाई कसैले भुल्न सक्दैन।’ के आजको स्थिति पनि यस्तै हो? नरसिंहअवतार नै प्रकट हुनुपर्ने? अरू उपायबाट नहुने ?

प्रकाशित: २६ जेष्ठ २०७८ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App