१० असार २०७८ बिहीबार
विचार

मिर्गौला रोगीमाथि मनपरी

प्रसंग स्वास्थ्य सेवाको नियमनः

हाम्रा एक भान्जा मिर्गौला रोग लागेर डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगे। डायलाइसिसका लागि गोंगबुमा रहेको एक अस्पताल बुलन्द सिद्धि अस्पतालमा नाम दर्ता गराइ पालो लिइ डायलाइसिस गराउन थाले। पहिले हप्तामा दुई र पछि तीन पटकसम्म डायलाइसिस गराउन थाले तर विडम्बना त्यहाँ डायलाइसिस गराउँदासम्म उनलाई सास फेर्न गाह्रो हुने, न्युमोनिया हुने समस्याले बारम्बार अस्पताल भर्ना हुनुपर्ने भैरह्यो। यो मिर्गौला रोगको कारणले नै रहेछ, यस्तै हुने रहेछ भन्ने लागिरह्यो। सुकेधारा बस्ने उनलाई गोंगबु पुग्नुभन्दा महाराजगन्जमा रहेको शिक्षण अस्पताल नजिक पर्ने भएकाले त्यहाँ डायलाइसिस गर्न पालो पाउने भएपछि त्यहाँबाट गराउन थाले। अनि उनलाई भैरहने न्युमोनिया तथा सास फुल्ने समस्या हराएर गयो। स्वास्थ्य राम्रो भएर आयो। उनी तथा पारिवारको रातिको निद्रा तथा पटक–पटक हप्तौँ अस्पताल बस्नुपर्ने समस्या हटेर गयो। अचेल पनि डायलाइसिस त गर्नुपर्छ तर पहिलाको जस्तो समस्या छैन। हप्तामा ३ पटक डायलाइसिस गरायो अनि सामान्य तरिकाले जीवन चलायो।  

समस्याको जरो रहेछ– गुणस्तरहीन डायलाइसिस। उक्त अस्पतालले बिरामीको स्वास्थ्य र जीवनमाथि खेलवाड गर्दोरहेछ। त्यो कसरी भने डायलाइसिसका लागि प्रयोग हुने डायलाइजर १४–१५ पटकसम्म प्रयोग गरिदिने। डायलाइजर भनेको मिर्गौलाले पिसाब छानेझैँ छान्ने कुरा हो। जसरी कुनै फोहोर कुरा छानेपछि छनौटोका प्वालहरू थुनिन्छन् र अर्को पटक छान्न सक्दैन त्यसैगरी डायलाइजर पनि त्यति धेरै पटक प्रयोग गरेपछि त्यसको छान्ने क्षमता कम भएर जान्छ। डायलाइजर सफा गरेर २–३ पटकसम्म प्रयोग गर्न सकिनेखालका र एक पटक प्रयोग गरेपछि अर्को पटक प्रयोग गर्न नमिल्नेखालका हुन्छन्। उक्त अस्पतालले पुनः प्रयोग गर्न मिल्नेखालको डायलाइजर प्रयोग गरेको थियो तर राम्रोसँग सफासमेत नगर्ने र अत्यधिक धेरै १५ पटकसम्म प्रयोग गर्‍यो।  

सरकारले मिर्गौला रोगीलाई आजन्म निःशुल्क डायलाइसिस गर्ने सुविधा प्रदान गरेको छ। एक पटक डायलाइसिस गरेबापत रु. २५ सय संस्थाले पाउने गर्दोरहेछ। यो रकम डायलाइसिसको पूरा खर्च बेहोर्दा कम बचत हुने हुँदा संस्था डायलाइजर पुनः प्रयोग गर्न प्रेरित हुँदारहेछन्। एक पटक प्रयोग गरेर फाल्नुपर्ने (डिस्पोजेबल) खालको सट्टा पुनः प्रयोग हुनेखालको डायलायजर प्रयोग गरेमा बढी रकम बचत हुने वा नाफा बढ्ने हुँदा निजी स्वास्थ्य संस्थाले सफा गर्दै प्रयोग गर्दारहेछन्। जसरी लोभको कहिल्यै अन्त्य हुँदैन त्यसरी नै लोभको अन्त्य नभएर डायलायजर १५ पटकसम्म प्रयोग हुन पुग्दोरहेछ बिरामीको स्वास्थ्यमाथि घातक खेलबाड गरेर। जुन खेलबाडका कारण हाम्रा भान्जामात्र होइन, सयौँ जना भएका होलान्। आजमात्र स्ट्यान्ड–अप कमेडियन आदर्श मिश्रको दुखेसो यु–ट्युबमा सुनेँ– उनका पिता पनि मिर्गौलाका बिरामी थिए, त्यसैले नेसनल मेडिकल कलेज, वीरगन्जमा डायलाइसिस गराउँथे। सो मेडिकल कलेजले बाह्र पटकसम्म उही डायलायजर प्रयोग गरिदिन्थ्यो र त्यसको गुणस्तरहीनताको असर उनको पिताको स्वास्थ्यमा परेको थियो। उनका अनुसार गत वर्ष डायलायजरको धेरै पटक प्रयोग भएकै कारण एक महिनामा पाँच जनासम्म मरे। उनका पिता कोरोना भाइरसको संक्रमणको कारण बित्नुभएछ। त्यसमा अप्रत्यक्षरूपमा स्वास्थ्य अवस्था कमजोर राखिरहनमा गुणस्तरहीनतवरले हुने गरेको डायलाइसिसको हात रहेको उनले बताएका छन्।

सरकारले मिर्गौलाका बिरामीलाई डायलाइसिस गर्न आर्थिक सहयोग पुगोस् भनी आजन्म डायलाइसिस गर्न लाग्ने खर्च बेहोर्ने भनेको छ र जुन रकम उपलब्ध गराउने गरेको छ त्यो अपर्याप्त छ भनी जानकारहरू तथा भुक्तभोगीहरू भन्दैनन् तर पैसाका लागि मानिसको जीवनसँग सजिलै खेलबाड गर्ने तर स्वास्थ्य सेवाप्रदायकको खोल ओढेका ब्वाँसाका कारण सरकारले दिएको अनुदान सहयोग न बाच्छाको मुखमा न त गाईको थुनमै भएको छ। बरु ब्वाँसोले झुक्याएर खाएको छ।  

सरकारले सहयोग दिने नीति लियो र सहयोग दिइरहेछ जुन स्वागतयोग्य छ। अत्यन्त खर्चालु रोगको उपचारमा सहयोग गर्नु राम्रो कदम हुँदाहुँदै पनि सरकारले माथि उल्लेख भएजस्ता सेवाग्राहीको जीवन संकटमा पार्ने तहको बदमासी हुँदा पनि निगरानी र नियन्त्रण कार्य नगर्दा अनर्थ हुन गएको छ। नाफामुखी निजी क्षेत्र नाफाका लागि जे पनि गर्न सक्छ उसले बदमासी नै नगर्ने विश्वास गरेर ढुक्क हुन सकिन्न। त्यसैले गरेमा पत्ता लगाउने प्रयास सरकारले गर्नुपर्ने हुन्छ। त्यस पक्षमा हाम्रो सरकारी संयन्त्र कमजोर छ भन्ने देखिएकै हो र मिर्गौला रोगीलाई दिइएको यो सहयोगको दुरूपयोग रोक्न पनि प्रयास गरिएको पाइएन। यो पंक्तिकारले मिर्गौलाका विशेषज्ञ चिकित्सकहरूलाई सोध्यो– एउटा डायलाइजर कति पटकसम्म प्रयोग गर्न सकिन्छ ? एकैखालका उत्तर आएनन्। कारण– हालसम्म त्यसको स्तर निर्धारणसमेत भएको छैन।  

यसखाले बदमासी/गलत अभ्यास नियन्त्रण गर्न के/कस्तोखालको नियमन उपयुक्त होला भनी यसका विशेषज्ञ र जानकारहरूले बताउलान् नै तर यो कुरा त भन्न सकिन्छ– डिस्पोजेबल डायलाइजर भए एक र पुनः प्रयोगयोग्य भए दुई पटकका लागि मात्र प्रयोग गरिनुपर्छ। वास्तवमा आफ्नो बिरामीले गुणस्तरयुक्त सेवा पाउन सकेका छन् कि छैनन् भनी चासो राख्ने जिम्मेवारी मिर्गौलासम्बन्धी डाक्टरको हो। उनी त्यस अस्पतालमा काम गर्छन् तलबमा वा शुल्कमा। धेरै पटक एउटै डायलाइजर प्रयोग गरेबापत आउने नाफा त अस्पतालका मालिकलाई जाने हो। आफ्नै अस्पताल रहेछ भने पनि बिरामीले भगवान/प्राणरक्षक ठानेको डाक्टरले बिरामीको अवस्था झन् बिग्रने कुरा गर्न अस्वीकार गर्नुपर्ने हो पेसागत नैतिकता सम्झेर। त्यसकारण डाक्टरलाई आचारसंहिता उल्लङ्घनका लागि जिम्मेवार बनाउने उपाय खोजिनु त पर्छ। 

त्यसै गरी सरकारबाट डायलाइसिस गरेबापतको रकम निकासा दिँदा तोकिएको पटक भन्दा धेरै पटक डायलाइजर प्रयोग नभएको प्रमाण पेस गर्नुपर्ने बाध्यात्मक अवस्था राख्न सकिन्छ। यो प्रमाण पेस पनि ढाँट हुन नसक्ने होइन। कसरी हुन सक्दैन त्यो उपाय खोजिनुपर्छ। सरकार सान्ताक्लसले झैँ जे/जति दिने हो दियो, त्यसपछि के भएको छ भनी वास्ता नगरी बस्न मिल्दैन नत्र आफूले दिएको रकम दुरूपयोग हुने र बिरामीको स्वास्थ्यमा त्यसकै कारण नकारात्मक असर पर्न सक्छ। सरकारले अनुदान, सहयोग दिनु राम्रो कुरा हो तर राम्रोसँग अनुगमन/नियमन गर्न सकेन भने दिएको रकम न बाच्छाको मुखमा पुग्ने न त गाईको थुनमै रहने हुन्छ। जसको एक उदाहरण बनेको छ मिर्गौला रोगीलाई डायलाइसिस गर्न दिएको सहयोग। यो समस्या निजी संस्थामा देखिएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App