१० असार २०७८ बिहीबार
विचार

संकट सामनामा गुणस्तरीय तथ्यांक

सन् २०२० को मार्चमा कोभिड–१९ को महामारी सुरु हुँदा अफगानिस्तानमा जम्माजम्मी ३ सय वटा भेन्टिलेटर र २ सघन उपचार कक्ष (आइसियु) थिए। झण्डै ३ करोड ८० लाख जनसङ्ख्या भएको अफगानिस्तानमा सरुवा रोग हेर्ने निकायले गर्मी यामको सुरुआतसँगै प्रतिदिन ५ लाख २० हजार मानिसमा कोभिड–१९ को सङ्क्रमण हुने र उनीहरूमध्ये ३ हजार ९ सय जनाको निधन हुने प्रारम्भिक पूर्वानुमान गरेको थियो। महिना दिनभित्रै एक करोड मानिसमा कोभिड सङ्क्रमणको सम्भावना देखेपछि स्वास्थ्यकर्मी र सरकारी अधिकारीहरूले जनस्वास्थ्य संकट सामना गर्न पूर्वतयारी थाले।

सीमित स्रोतलाई कुन ठाउँमा केन्द्रित गर्ने भन्ने टुंगो लगाउन अफगानी नीति निर्माताहरूलाई सहयोग गर्न संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय नियोग (ओसिएचए) र द रकफेलर फाउन्डेसनले कोभिड–१९ सङ्क्रमण दर र स्थानीय स्वास्थ्य केन्द्रहरू रहेका स्थानसम्बन्धित वस्तुगत तथ्यांक संकलन गर्‍यो। अफगानिस्तानका ती वास्तविक तथ्यांक प्रयोग गरेर ४ साताभित्र सङ्क्रमण दर, अस्पताल भर्ना हुनेको सङ्ख्या र मर्न सक्ने सङ्ख्याको पूर्वानुमान गरियो। यो वस्तुगत पूर्वानुमानले अफगानी अधिकारीहरूलाई सङ्क्रमण र मृत्यु दर उच्च रहने अवस्थाको पूर्वतयारी गर्न मद्दत गर्‍यो। अन्य तथ्यांक प्रयोग गरिएको ढाँचाभन्दा वस्तुगत तथ्यांकको प्रयोगबाट गरिएको पूर्वानुमान ढाँचा बढी उपयोगीसिद्ध भयो। ठीक ढंगबाट गरिएको पूर्वानुमानले प्रभावकारी मानवीय सहयोगको निम्ति मद्दत गरेको हुन्छ।  

पूर्वानुमानको कुन ढाँचा वस्तुगत हुन्छ भन्ने कुराको निर्क्याेल भने त्यसले प्रयोग गर्ने तथ्यांकमा निर्भर रहने गर्छ। कुनै पनि बेला आउन सक्ने अर्को संकट सामनाको तयारी गर्न संसारसँग अझ उत्तमखालको तथ्यांक हुन जरुरी हुन्छ।  

जोन्स हप्किन्स विश्वविद्यालयको प्रयोगात्मक भौतिकशास्त्र प्रयोगशालासँग मिलेर हामीले विकास गरेको ढाँचा (मोडल)को निर्देशक सिद्धान्तमा ‘मानवीय संकटको समयमा धेरै भन्दा धेरै मानिसको जीवन रक्षा गर्न छिटो र प्रभावकारी निर्णयमा सहयोग गर्ने’ उल्लेख छ। अफगानिस्तानका साथै हामीले यो ढा“चा प्रजातान्त्रिक गणतन्त्र कंगो, इराक, सोमालिया, दक्षिण सुडान र सुडानमा प्रयोग गरेका छौँ। हामीले कोभिड–१९ सँग सम्बन्धित अपूर्ण तथ्यांकलाई पूर्णता दिनुका साथै मानिसको गतिशीलताको अवस्था, स्वास्थ्य पूर्वाधारका तथ्यांकलाई आधार बनाउने गरेका छौँ। साथै, खाद्य असुरक्षा वा मधुमेह जस्ता स्वास्थ्य जटिलता भएका जनताको जोखिमलाई पनि यो ढाँचाअन्तर्गत हिसाब गर्छौँ।  

पूर्वानुमान ढाँचा बनाउने हाम्रो अनुभव र उल्लिखित देशका जनस्वास्थ्य अधिकारीहरूले गरेको प्रयोगले यो ढाँचाले मानवीय सहायतामा उत्तम नतिजा दिने देखाएको छ। तर संसारकै सबभन्दा विपन्न देशहरूमा तथ्यांकको अन्तर र गुणस्तरका कारण यस्ता ढाँचाको विश्वसनीयता र तथ्यपरकतामा चुनौती रहेको देखिन्छ। उदाहरणका लागि, विभिन्न गरिब देशमा मुटुसम्बन्धी रोगको तथ्यांक ४ देखि ७ वर्ष पुरानो पाइयो। सुडान र दक्षिण सुडानमा त त्यस्तो कुनै तथ्यांक नै पाइएन।  

मानवीय आकस्मिकता सामना गरिरहेका देशहरूमा प्रभावकारी तरिकाबाट ती समस्या सामनाका लागि आवश्यक तथ्यांकमध्ये ५० प्रतिशत तथ्यांक अझै पनि पाइएको छैन। ओसिएचए र द रकफेलर फाउन्डेसनले कोभिड–१९ महामारीको संकटको पूर्वानुमान, संकटको अवस्था र त्यसपछिको अवस्थाबारे पूर्वानुमान गरिरहेको छ। तर हाम्रो यस्तो अवधारणाको पूर्णता भने अरूका योगदानमा निर्भर रहन्छ।  

महामारी सामनाको पहिलो वर्षमा सरकार, विकास बैंक र प्रमुख मानवीय र विकास निकायको अवस्था र हालै सम्पन्न विश्व बैंकका वसन्तकालीन बैठकहरूका छलफलमा उनीहरूले संकटबाट उम्कन र भविष्यमा संकट दोहोरिन नदिन तथ्यांकले खेल्ने भूमिका र महत्व हृदयाङ्गम गरेका छन्। सबै मानवीय र विकासका संस्थाहरूले अत्यावश्यक तथ्यांकको विकासलाई उच्च प्राथमिकतामा राख्न जरुरी छ। त्यसकारण सरकार, मानवीय सहायता संगठन र क्षेत्रीय विकास बैंकहरूले तथ्यांक संकलन, तथ्यांक आदान–प्रदान पूर्वाधार र यी प्रक्रियामा काम गर्ने जनशक्तिको विकासमा लगानी गर्नुपर्छ। त्यस्तै यी साझेदारहरूले खुलारूपमा आफूसँग भएको तथ्यांक आदान–प्रदान गर्नुपर्छ र ती तथ्यांकको विश्वसनीयता कायम राख्न कडाइका साथ लाग्नुपर्छ।  

तथ्यांक उपलब्ध नभएको अवस्थामा निजी क्षेत्रले अनुसन्धानमूलक तरिकामार्फत् सूचनाका नया“ स्रोतको विकास गर्नुपर्छ। उदाहरणका लागि जनसङ्ख्याको गतिशीलताबारे सामाजिक सञ्जालमार्फत् अप्रत्यक्ष ढंगबाट तथ्यांक वा कल रेकर्डमार्फत् तथ्यांक संकलन गर्न सकिन्छ। तथ्यांक आदान–प्रदान पक्कै पनि विश्वासमा भर पर्ने गर्छ। त्यसकारण हालै विश्व बैंकले साझा सामाजिक र आर्थिक मूल्य, समतामूलक हित र तथ्यांक संकलन गर्नेबाट कुनै प्रकारको दुरूपयोग नहुने विश्वास प्रबद्र्धनमा आधारित नयाँ सामाजिक सम्झौताका लागि गरेको आह्वानलाई संसारले गम्भीरतापूर्वक लिन जरुरी छ।  

विश्वव्यापी मानवीय प्रणाली निकै प्रभावकारी छ। तर आजको खास आवश्यकता के हो भन्ने कुरा निश्चयका साथ भन्न सजिलो छैन। सन् २०२० बाट संसारका २३ करोड ५० लाख मानिसलाई मानवीय सहायता र संरक्षणको खाँचो पर्छ। पहिले भन्दा यस्तो सहायताको खाँचो पर्ने मानिसको सङ्ख्या ४० प्रतिशतले बढेको छ। भोक बढिरहेको छ। आन्तरिक विस्थापन केही दशकयताकै सबभन्दा बढी भएको छ। मौसमी चरमोत्कर्षका घटना नियमित बन्दैछ। विभिन्न रोग फैलने क्रम बढिरहेको छ। तर यही समयमा मानवीय आवश्यकता र ती आवश्यकता पूरा गर्ने उपलब्ध स्रोत साधनबीचको खाडल भने फराकिलो बन्दैछ।

उच्च गुणस्तरको तथ्यांकले नीति निर्माताहरूलाई सीमित स्रोत/साधनबीच धेरै आवश्यकता पूरा गर्न सक्षम बनाउँछ। कोभिड–१९ महामारीले त्यस्ता गुणस्तरीय तथ्यांकको खाँचो अझ प्रष्ट पारेको छ। कुनै पनि खालका संकटअघि, भविष्यको आवश्यकताको हिसाब गर्न र तत्कालै समस्या सामना गर्न सक्षम बन्न तथ्यांक पूर्वाधारमा लगानी गर्नुपर्ने पाठ संसारले सिक्न जरुरी छ। बचाउन सकिएको जीवनको प्रतिफल अकथनीय हुन्छ।  

(लोकक संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला नियोगका उपसचिव हुन भने शाह द रकफेलर फाउन्डेसनका सभापति। स्रोत : प्रोजेक्ट सिन्डिकेट। नेपाली अनुवाद : नीरज लवजू) 

प्रकाशित: २३ जेष्ठ २०७८ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App