४ वैशाख २०८१ मंगलबार
विचार

प्रेम र यौनको हक

दृष्टिकोण

मनुस्मृतिमा एक श्लोक छ, ‘पिताका घरमै कुमारी कन्याले पुत्र जन्माएकी छे भने त्यस पुत्र त्यस कन्यासँग विवाह गर्ने पुरुषकै हुन्छ। र, यस्तो पुत्रलाई कानीन भनिन्छ।’  

यस श्लोकले तत्कालीन समाजमा विवाहअघि हुने सहमतिको यौन सम्बन्ध वा बलात्कारतर्फ संकेत गर्छ। आज हामी यस विषयलाई सम्बोधन गर्न ‘आमाको नाममा नागरिकता’देखि थुप्रै कानुनी अभ्यास र बहसमा छौँ।

हिन्दू समाजको जग जात व्यवस्थालाई व्यवस्थित बनाउने प्रमुख नियममध्येको एक हो, मनुस्मृति। जसमा विवाह र यौन सम्बन्धका बारेमा स्पष्ट रूपमा लेखिएको छ। मनुस्मृतिमा यौन कार्यलाई पवित्र वा अपवित्र रूपमा लिइएको पाइन्छ। कन्यालाई दूषित (करणी) गर्ने पुरुषलाई सजायको व्यवस्था यस्तो छ, ‘कन्यालाई दूषित गर्ने मानिस तत्काल मार्न योग्य हुन्छ। कन्याका इच्छाले दूषित गरेको हो र त्यो कन्या ऊसँग जात मिल्ने छे भने मारिहाल्नु हुँदैन।’ यो श्लोक कन्याको मञ्जुरीका सम्बन्धमा मौन तर जातीय विभेदका सम्बन्धमा बढी आकर्षित देखिन्छ।  

मानव सभ्यताको इतिहासमा सबैभन्दा बढी अनौठा सामाजिक नियम विवाह र यौनसम्बन्धलाई लिएर बनाइएका छन्। समूहमा रहँदाको आदिम युगमा मानिसबीच यौन सम्बन्धमा कुनै नियम थिएन, खुला थियो। क्रमशः यौन सम्बन्धमा प्रतिबन्ध लगाउँदै मानिस आजको अवस्थामा आइपुगेको छ। आज विश्वमा सामाजिक न्याय, मानव अधिकार, महिला अधिकारका बारेमा बहस भइरहेका छन्। अझै पनि समाजमा प्रेम, यौन, विवाह र सामाजिक न्यायका विषयलाई लिएर अनेक मतमतान्तर र अन्तर्विरोध कायमै छन्।  

कानुनले विवाहअघि १८ देखि २० वर्षको उमेरमा मञ्जुरी वा सहमतिमा यौनसम्बन्ध राख्न छुट दिएको ठहर्छ। यो स्पष्ट लेखिएको व्यवस्था होइन, यस्तो अर्थ निकाल्न मिल्ने मात्र हो। यहाँ अर्को प्रश्न पनि छ– किशोर वा किशोरीले १८ वर्षअघि नै म यौनका लागि शारीरिक र भावनात्मक रूपमा परिपक्व भएँ, म सुरक्षित यौनसम्बन्ध राख्न चाहन्छु, वा प्रेम सम्बन्धमा बस्न चाहन्छु भनेमा के गर्ने ? यसो नभने पनि उनीहरूका चाहना विद्रोहमा परिणत हुन सक्छन्, जसले विभिन्न दुर्घटना निम्त्याउन पनि सक्छन्।

सर्वविदितै छ, गत वर्षको जेठ १० गते पश्चिम रुकुमको चौरजहारीमा चार दलित र दुई गैरदलित युवाको हत्या भयो। जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक ‘आफ्नी प्रेमिका’लाई लिन साथीहरूसहित सो ठाउँ जाँदा आक्रमण भएको थियो। यस घटनाको पछाडि अन्तर्जातीय प्रेम वा विवाहसँगै जातीय विभेद तथा छुवाछुतको विषय देखिएको छ। यस घटनालाई लिएर विशेषतः सामाजिक सञ्जालमा विभिन्न कोणबाट बहस भए। एउटा कोण थियो– बालविवाहको। केटाको उमेर २१ वर्ष पुगेको भए पनि केटीको उमेर नपुगेकाले उनीहरूबीच विवाह हुन सक्दैनथ्यो। तर, के उनीहरूबीच ‘उमेर नपुगी’ प्रेम हुनु गैरकानुनी थियो ? वा, अप्राकृतिक थियो ? हामीकहाँ विवाहपूर्वको प्र्रेम र यौन सम्बन्धबारे खुलेर बहस भएको र निष्कर्ष निकालेको पाइँदैन। जसकारण धेरै समस्या जन्मिएका छन्।  

प्रेमको कुनै निश्चित परिभाषा छैन। यहाँ विपरीत लिंगी वा तेस्रो लिंगी (पारलैंगिक पुरुष वा महिला भन्नुपर्ने आवाज उठेको छ)बीच यौनिकतासहितको आकर्षणलाई प्रेम मान्ने हो भने, यो जैविक आवश्यकता र निरन्तरतासँग सम्बन्धित छ। आजको हाम्रो कानुनले २० वर्ष उमेर नपुगेसम्म विवाह भएको मान्दैन। २० वर्ष नपुग्दै प्रेम वा यौन सम्बन्ध हुन सक्छ, त्यसले सामाजिक मान्यता अनुरूप विवाहको रूप लिन पनि सक्छ। यस्तो परिस्थितिमा हाम्रा विभिन्न समुदायले आ–आफ्नै किसिमले व्यवहार गरेको पाइन्छ। कुनै जोडीबीच उमेर नपुगी प्रेम विवाह गर्ने अवस्था आयो, उनीहरूबीच वर्ग, लिंग लगायत सामाजिक मूल्य–मान्यता मिलेको छ, यस्तोमा स्वाभाविक रूपमा विवाह भएका उदाहरण हाम्रा समाजमा छन्। विवाह गर्ने जोडीबीच सामाजिक मूल्य–मान्यता नमिलेको अवस्थामा कानुनी कुरा उठाइएको पनि पाइन्छ।  

विश्वव्यापी भनाइ पाइन्छ, ‘प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ।’ यो भनाइ आजको चेतना र न्यायसँग मेल खाँदैन। किनभने, प्रेम र युद्धको पनि आफ्नै धर्म, नैतिकता र आदर्श हुन्छ। पौराणिक ग्रन्थ र साहित्यले हामीलाई युद्धका नियम पनि सिकाएका छन्। वाल्मीकिप्रणीत रामायणमा ‘बाली वध’ सम्बन्धी सर्गले युद्धधर्मको कुरा उठाएको छ। सुग्रीव र बालीबीच युद्ध भइरहेका बेला रामले बालीलाई विषालु बाण प्रहार गर्छन्। मर्नुअघि बालीले भन्छन्, ‘म त दोस्रो व्यक्तिसँग रोषपूर्वक लडिरहेको थिएँ, तिमीलाई देखेकै थिइनँ। म असावधान अवस्थामा रहेका बेला ममाथि बाण प्रहार गर्ने कार्यलाई तिमीले अनुचित सम्झनेछौ भन्ने मलाई लागेको थियो, परन्तु आज मलाई थाहा भयो– तिमी धर्मध्वजी रहेछौ।’

बालीलाई युद्ध आमनेसामने भएर गर्नुपर्छ, युद्धमा छलकपट गर्नु वा धोका दिनु अधर्म हो भन्ने थाहा थियो। युद्ध मात्रै होइन, प्रेम, यौन र वैवाहिक सम्बन्धसँगै हरेक मानवीय व्यवहार स्पष्ट भएकै उत्तम हुन्छ। सामाजिक न्यायसम्बन्धी हरेक कुरामा हरेकलाई स्पष्ट पार्नु नै आजको चुनौती र आवश्यकता दुवै हो। राज्यको स्पष्ट नीति–नियम र व्यवहार नहुँदा व्यक्तिगत र सामाजिक जीवनमा अनेक समस्या आइरहेका हुन्छन्। मानिसहरू जानीनजानी गल्ती र विद्रोह गर्न विवश हुन्छन्। एउटा व्यक्तिको सानो गल्तीले परिवार, समुदाय हुँदै देश–देशबीचमै ठूलो युद्ध हुने अवस्था सिर्जना हुन सक्छन्, भइरहेका उदाहरण पनि छन्। रामायणलाई नियालौँ, यस महाकाव्यको जगमा मानवीय कमजोरीबाट उत्पन्न तीन घटना देखिन्छन्– दशरथपत्नी कैकेयीले आफ्ना पुत्र भरतलाई राजा बनाउने मोह पाल्नु, राम–लक्ष्मणद्वारा रावणकी बहिनी शुपर्णखाको अपमान गर्नु र बदलामा रावणद्वारा सीता हरण गर्नु। झट्ट हेर्दा कतिपय मानवीय व्यवहार र वचन सामान्य लाग्छन्, तर ती सामान्य लाग्ने व्यवहार र वचनभित्र ठूलो विषवृक्ष हुर्किएर महामारी फैलाउने बिज लुकेको हुन सक्छ। अधिकांश युद्ध वा झगडाको पछाडि आस्था, अज्ञानता र अहंको भूमिका देखिन्छ। युद्धले मानवता भन्दैन, केवल आफ्नो विजयलाई जायज देख्छ।

विशेषतः दोस्रो विश्वयुद्धपछि मानव अधिकारको विषयलाई लिएर विश्वका न्यायप्रेमीले चिन्ता लिए। पहिलो र दोस्रो विश्वयुद्धका बेला विश्वमा मानिसमाथि बर्बरतापूर्ण दमन, हत्याहिंसा र बलात्कारका घटना भएका थिए। मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकलाई बम वा बन्दुकका गोलीले दबाइए, संगीनले रेटिए। यसलाई सम्बोधन गर्न ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्र– १९४८’ ल्याइयो। यसको प्रस्तावनामा उल्लिखित– ‘मानव जातिको अन्तस्करणलाई नै आहत गर्ने बर्बरतापूर्ण कामहरू भएका’ र ‘विद्रोह गर्न मानिसलाई बाध्य नगराउन’ भन्ने वाक्यांशले तत्कालीन परिस्थितिमा भएका हत्या, हिंसा, बलात्कारतिर संकेत र सम्बोधन गर्छन्।  

३० वटा धारा रहेको यस घोषणापत्रले विवाहका सम्बन्धमा र विवाहपूर्व जन्मिएका बालबालिकाको सम्बन्धमा पनि सम्बोधन गरेको छ। धारा १६ मा उल्लेख छ, ‘उमेर पुगेका पुरुष तथा महिलालाई जाति, राष्ट्रियता वा धर्मका कारणले लगाइने कुनै पनि सीमाविना विवाह गरी परिवार बसाउने अधिकार हुनेछ।’ त्यस्तै, अर्को धारामा उल्लेख छ, ‘विवाह भई वा नभई जन्मेका सम्पूर्ण बालबालिकाले समान सामाजिक संरक्षण पाउनेछन्।’ यसले तत्कालीन समाजमा स्त्री वा पुरुषको सहमतिविनै विवाह भइरहेको र विवाहविनै सहमतिको यौन सम्बन्ध वा बलात्कारबाट बच्चा जन्मिरहेकोतिर संकेत गर्छ।  

मानव सभ्यताको इतिहासमा यौन र विवाहसम्बन्धी ‘सामाजिक कानुन’ नै प्रधान देखिन्छन्। विश्वका विभिन्न समुदायले यौन र विवाहलाई पवित्रता र अपवित्रताको कसीमा राखेर सामाजिक नियम बनाएको पाइन्छ।  

मनुस्मृतिमा श्लोक छन्, ‘एक कन्याले अर्की कन्याको गुप्तांगमा औँला हालेकी छ भने दुई सय पण दण्ड राजालाई र त्यसको दुई गुना कन्याका बाबुलाई तिराउनुपर्छ। र, त्यसो गर्ने कन्यालाई १० कोर्रा हिर्काउनुपर्छ। त्यस्तै, स्त्रीले कन्याका योनिमा औंलो हाली भने राजाले तत्काल त्यसको कपाल खौरिन लगाइदिनुपर्छ, त्यसका दुई औँला काट्न लगाउनुपर्छ, गधामाथि चढाएर दोबाटोमा घुमाउनुपर्छ।’  

यस्ता थुप्रै प्रसंग मनुस्मृतिमा छन्। यहाँनेर अनौठो लाग्छ– कन्या वा स्त्रीहरू नै कन्याको योनिप्रति यति आक्रामक किन हुन्थे ? आवेग र बदलाको भावनाले भएको झगडा वा लडाइँ हो भने उनीहरूले अन्य अंगमा हातपात वा कुटपिट गर्न सक्थे, किन योनिमै औँला छिराउन उद्यत भए, जसलाई लिएर राजकीय कानुन नै बनाउनुपर्‍यो !  

यसको संकेत यस्तो पनि हुन सक्छ– कन्याको योनिलाई पवित्र बनाउन समाजमा अनेक मिथ रचिएको थियो। कुनै आवेग वा बदलामा त्यसलाई अपवित्र बनाउन स्त्रीले नै कन्याको योनिमा औँला हाल्ने दुष्प्रयत्न गर्थे होला। अझ हुन सक्छ, कुनै त्यस्तो पदार्थ, जसले योनिलाई अपवित्र बनाएको मानिन्छ, त्यसमा चोपलेर कन्याको योनिमा औँला हालिन्थ्यो।  

जयस्थिति मल्लले वि.सं. १४३६ मा बनाउन लगाएको कानुन (मानवन्यायशास्त्र)मा उल्लेख छ, ‘ब्राह्मणले गुरुतुल्यगमन (आमा, सानीआमा, गुरुमा, भाउजू, छोरी र दिदीबहिनीजस्ता व्यक्तिसँग सम्भोग) गरेमा उनका निधार आदि देखिने अंगमा स्त्री योनिको चिह्न बनाइदिनू। यो मनुको आदेश हो।’

निधार वा देखिने स्थानमा योनिकै चिह्न बनाइनु पनि सोचनीय विषय छ। त्यही धारामा ‘ब्राह्मणले चोरी गरेमा कुकुरको पाइलाको चिह्न बनाएर नमेटिने गरी डाम्नू’ भनिएको छ। यहाँ कुकुरको पाइला र स्त्रीको योनिको चिह्नलाई ‘तुच्छ वा अपवित्र’ संकेतका रूपमा दर्शाएको बुझिन्छ।

मनुस्मृतिकै प्रतिरूप लाग्ने जयस्थितिको कानुनमा प्रेम वा सहमतिको यौन सम्बन्धलाई छुट दिएको वा स्वीकार गरेको पाइन्छ। एउटा धारा छ, ‘स्त्री र पुरुषमा एक अर्कोले अर्काको उपकार गर्नु, खेलबाड गर्नु, गहनाहरू छुनु र एउटै पलंगमा सँगै बस्नु इत्यादि सबै संग्रहण (परस्त्रीसँग एकान्तमा भेट्नु वा सहवास गर्नु) मानिन्छ।’  

पुरुषले चुपचाप स्त्रीको अनुमतिविनै संवेदनशील अंगमा स्पर्श गर्न सक्ने सम्बन्धमा अर्को धारा छ, ‘स्त्रीलाई पुरुषले कुठाउँमा स्पर्श गर्ने र उसले स्पर्श गर्दा स्त्रीले सहिरहने गरेमा परस्परको अनुमतिबाट त्यसो हुन गएको भन्ने बुझिने हुँदा त्यो सबै संग्रहण मानिन्छ।’ यो धारा कहाँनेर बाझिएको छ भने स्त्रीले सहिनन् भने त्यो संग्रहण बन्दैन, सायद अपराध बन्छ। अर्कोतिर, स्त्रीले त्रासका कारण पनि सहेकी हुन सक्छिन्।

जंगबहादुरको मुलुकी ऐन– १९१०, जुन २०२० सालसम्म हाम्रो देशमा प्रचलित कानुनका रूपमा रह्यो, त्यसमा ‘बिहे नहुँदै अघि बिग्रन्या’, ‘आसय करणी’जस्ता महल थिए। ‘बिहे नहुँदै अघि बिग्रन्या’ महलले कन्याले बिहेअघि राखेको यौन सम्बन्ध वा करणीलाई सम्बोधन गथ्र्यो। यसको अर्थ– तत्कालीन समाजमा बिहेअघि कन्याले सहमतिमा यौन सम्बन्ध राख्थे, वा कन्यालाई पुरुषले ललाइफकाई वा जबर्जस्ती करणी गर्थे।  

मुलुकी अपराध संहिता, २०७४ मा ‘करणी सम्बन्धी कसुर’को व्यवस्था छ। जसमा यौन दुव्र्यवहारदेखि जबर्जस्ती करणीका सम्बन्धमा व्याख्या र सजायको व्यवस्था छ। करणीसम्बन्धी कसुर परिच्छेदमा उल्लेख छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ।’

अर्कोतिर, २० वर्ष उमेर नपुगी विवाह नहुने कानुनी व्यवस्था छ। यसरी कानुनले विवाहअघि १८ देखि २० वर्षको उमेरमा मञ्जुरी वा सहमतिमा यौनसम्बन्ध राख्न छुट दिएको ठहर्छ। यो स्पष्ट लेखिएको व्यवस्था होइन, यस्तो अर्थ निकाल्न मिल्ने मात्र हो। यहाँ अर्को प्रश्न पनि छ– किशोर वा किशोरीले १८ वर्षअघि नै म यौनका लागि शारीरिक र भावनात्मक रूपमा परिपक्व भएँ, म सुरक्षित यौनसम्बन्ध राख्न चाहन्छु, वा प्रेम सम्बन्धमा बस्न चाहन्छु भनेमा के गर्ने ? यसो नभने पनि उनीहरूका चाहना विद्रोहमा परिणत हुन सक्छन्, जसले विभिन्न दुर्घटना निम्त्याउन पनि सक्छन्।  

धार्मिक नियमदेखि राज्यको लिखित कानुनको इतिहासलाई नियाल्दा विवाह र यौनिकतालाई महत्व दिएको पाइन्छ, तर प्रेमका सम्बन्धमा धार्मिक नियम र राज्यको कानुनको इतिहास मौन देखिन्छ। हाम्रो संविधानमा मौलिक हकअन्तर्गत ३१ वटा धारा छन्, तर प्रेम र यौनको हकको धारा छैन। तपाईंलाई के लाग्छ, के यो धारा आवश्यक छैन ? तर्क गर्न सकिन्छ– के संविधानमा ‘श्वासप्रश्वासको हक’ राख्न जरुरी छ ? त्यस्तै हो यो धारा पनि।  

समाजमा कतिपय स्त्री–पुरुष विवाह गर्न नसक्ने शारीरिक वा अन्य अवस्थाका, वा विवाह गर्न नचाहने अवस्थाका पनि हुन सक्छन्, उनीहरूलाई बेला बेला यौनको आवश्यकता हुन सक्छ। यस्तो अवस्थामा भरपर्दो निकायसँगको गोप्य जानकारी वा सहजीकरणमा उनीहरूले केही समयका लागि घुमफिर वा भेटघाट गर्न पाउने व्यवस्था हुनुपर्छ। भरपर्दो निकायको कुरा यहाँ किन उठाइएको हो भने, यस्तो सम्बन्धमा पछि कानुनी विवाद उत्पन्न हुन सक्छ, त्यस्तो बेला त्यस निकायले न्यायपूर्ण भूमिका खेल्न सकोस्। प्रजनन स्वास्थ्यबारे पनि सल्लाह देओस्।  

अझै पनि हाम्रो समाज परम्परागत छ। सामाजिक मूल्य–मान्यतालाई देखाएर छोरा वा छोरीले चाहेको व्यक्तिसँग विवाह गर्न नदिने प्रचलन अझै समाजमा विद्यमान छ। अहिले हामीकहाँ ‘दर्ताद्वारा विवाह गर्न सक्ने’ र ‘सहमतिपत्र तयार गर्नुपर्ने’ कानुनी प्रावधान छ। यस्तो प्रकारको विवाहपछि पनि कतिपय विवाहित दम्पती परिवारबाट विस्थापित हुन्छन्, अर्थात् परिवारबाट अंश लगायत अधिकार पाउँदैनन्। यस्तो अवस्थामा ‘विवाह दर्ता’ कागजकै आधारमा विवाहित दम्पती अधिकार सम्पन्न हुनुपर्ने पहल वा प्रावधान आवश्यक छ। जसरी २० वर्ष नपुगी भएको विवाह स्वतः खारेज हुने व्यवस्था छ, त्यसरी नै ‘विवाह दर्ता’को प्रमाणपत्र लिएपछि उनीहरू परिवारबाट पाउने कुनै पनि प्रकारको अधिकारबाट वञ्चित हुन नपरोस्।  

संविधानमा महिलाका लागि ‘सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी’ हक उल्लेख छ। यसले महिलालाई यौन र प्रेमको हकतिर संकेत गर्छ, तर स्पष्ट कानुन बनेको अवस्था छैन। अर्कोतिर, यस धाराले पुरुषलाई प्राकृतिक रूपमा अनिवार्य आकर्षित गर्छ। तर, पुरुषलाई प्रेम र यौनको हक हुनुपर्नेतिर हाम्रो संविधान मौन छ।  

संविधानमा प्रेम र यौनको हक उल्लेख भयो भने धेरै सहज हुनेछ। किनभने, प्रेम, यौन र विवाहबारे स्पष्ट कानुनी व्यवस्था हुनुपर्छ। यसै पनि हामी कानुनी रूपमा संक्रमण कालमा छौँ। यसर्थ कि सामाजिक जीवनको लामो इतिहासमा हामीले विभेदपूर्ण नियम वा कानुन वा सामाजिक व्यवस्थाको अभ्यास गर्दै आयौँ। भर्खरै गणतन्त्र आए वा संविधान बनेयता हामी सामाजिक न्यायसम्बन्धी थुप्रै कानुनको अभ्यासमा छौँ। जस्तोः लामो समय छुवाछुतको अभ्यास गर्दै आएका हामीलाई १० वर्षअघि आएको ‘छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐनलाई शब्दशः पालना गर्न असहज भइरहेको हुन सक्छ। विभिन्न ऐन कानुनका अर्थ र आकर्षण हेरी वचन, व्यवहार र आसयको कसीमा यतिखेर हामी अधिकांशले अपराध गरिरहेका पनि हुन सक्छौँ। हरेक व्यक्तिलाई सामाजिक न्याय र कानुनी राज्यको आभास गराउनु राज्यको दायित्व हो। यसका लागि राज्यले सामाजिक न्यायका विभिन्न आयाममा स्पष्ट कानुन बनाउन र नागरिकका मौलिक हकबारे प्रत्येक परिवारलाई बुझाउन आवश्यक छ। यसो भएमा समाजबाट यौन अपराध, महिलाहिंसा र सामाजिक विभेदहरू हटेर जानेछन्।

प्रकाशित: २२ जेष्ठ २०७८ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App