८ कार्तिक २०७८ सोमबार
विचार

निर्मल निवासलाई निम्तो

दाजु देवशमशेरलाई अपदस्थ गरेर शासनको बागडोर हातमा लिएका चन्द्रशमशेरलाई प्रधानमन्त्रीको रक्षार्थ स्थापित फौज बिजुली गारतले सलामी दिन अस्वीकार गरेपछि सबैको मनमा चिसो पस्यो। कमान्डरले हिटी दरवारको पटाङ्गिनीमा स्पष्ट बोले– ‘श्री ५ महाराजाधिराजबाट हुकुम भएपछि मात्र कमान्डर–इन–चिफ चन्द्रलाई हामी श्री ३ महाराज स्वीकार गर्छौँ।’ यसरी सेनाले असन्तुष्टि जनाउँदा जनरल फत्यशमशेरलगायतलाई पसिना आयो। यो १९५८ असार १३ को कुरा हो।  

परिवारभित्रको कलहले १९४३ फागुन २३ शनिबार कमान्डर इन चिफ खड्गशमशेरलाई पदच्युत गरिएको थियो। अपमानको विष पिउन नसकेर उनी भारततिर लागे। मध्यप्रदेशको सागर भन्ने ठाउँमा गएर बसे। पशुपतिशमशेरकी सासू विजयराजे सिन्धिया (लेखादेवेश्वरीदेवी) लगायतका सन्तति उतै पैदा भए। सिन्धिया खड्गशमशेरकी छोरीबाट जन्मेकी हुन्।  

श्री ३ रणोद्धीपसिंह कुँवर राणाको हत्या भयो, १९४२ मंसिर ९ गते। आफ्नै भतिजाहरूबाट मारिए। एक जना दार्शनिकले भनेका छन्– ‘शत्रुको सामना म आफैँ गर्छु, हे भगवान। मलाई आफन्तबाट बचाऊ।’ सिध्याउने, बिताउने, ध्वस्त पार्ने र जरो उखेल्ने त आफ्नै भनाउदाले हो। रावणको पतन गराउन रामले विभीषणलाई प्रयोग गरे। धेरै राष्ट्रमा राजाका प्रियजन नै शत्रुसँग मिलेका उदाहरण छन्। राजा महेन्द्रको हृदयघातबाट मृत्यु भएको प्रचार गरियो, २०२८ माघ १७ गते। बाउन्न वर्षमै उनको प्राण गयो। कतिपयले शंका गरेका छन्– केही भारतीय डाक्टर उनको उपचार गर्दै थिए। मन्दविष दिएजस्तो लाग्छ।

दीपेन्द्र शाहले क्षणिक आवेगमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, बहिनी श्रुति, भाइ निराजन, फुपूहरूलगायतको ‘हत्या गरेको’ भनियो। घटनाका एक जना प्रत्यक्षदर्शीले भनेका छन्– ठ्याक्कै दीपेन्द्र जस्ता तीन चार जना अत्याधुनिक हतियार लिएर घुस्दै थिए। दीपेन्द्र मारिएपछि पनि गोली चलिरह्यो।

घटनाबारे छानबिन गर्न बनाइएको आयोगले सत्य बोल्नैपर्ने चर्को दबाब आएपछि माधवकुमार नेपालले आयोगबाट नाम फिर्ता लिएर ऊबेला आयोगमा बस्न किन मानेनन् भन्ने प्रश्न छँदैछ तर आज पनि उनी वीरेन्द्र र मदन भण्डारीका हत्याराहरू पत्ता लगाउनुपर्छ भन्ने गर्छन्। हो, गाउँकै दरिद्र किसान मारिएको होस् वा राजा, विधिको शासनमा कसैले उन्मुक्ति पाउनुहुँदैन। ‘आफ्नो सरकार’ आएको भन्दै ठूला दलले हजारौँ अपराधीलाई कैद–सजाय माफी मिनाहा गरे।

‘गणतन्त्र’ आयो। त्यसपछि बाह वर्षमा धेरैवटा सरकार फेरिए। यसबीचमा ‘शाहवंशका अन्तिम राजा’ भनिएका ज्ञानेन्द्र शाहले केही वर्ष नेताको दुर्वचन सुनिरहे। राष्ट्र कसरी चल्छ, त्यो पनि हेरिरहे। ‘एक्लो वृहस्पति झुटो’ भनेझैँ राष्ट्र बचाउन र बनाउन ‘सबैलाई’ समेट्नुपर्छ भनिरहे। पृथ्वीनाराण शाहले नेपाललाई सबै जातको फूलबारी भनेको पनि सम्झाइरहे। अहिले आएर धेरैले भनिरहेका छन्– सबैलाई समेट्नैपर्ने रहेछ।

उसो भए ‘सबै’ भनेको को हो ? दलका नेताले पचास वर्ष पुराना साथीलाई भकुरेको दृश्य हामी हरेक दिन टेलिभिजनमा देखिरहेका छौँ। जात, धर्म, क्षेत्र, गोत्र आदिका तीनआने पर्खालभित्र बसेर सबैलाई हेलाँ, अपमान र घृणा गर्नेहरू राष्ट्रनायक हुन सक्छन् ? पुर्खाले खोरिया फाँडेर, दशनंग्रा खियाएर जोडेको खेतबारीको माया लाग्छ असल सन्तानलाई। अपुताली, चिठ्ठा, लुटपाट वा भ्रष्टाचारमा प्राप्त सम्पत्तिको उति सारो माया हुँदैन। अपराधको दुनियाँबाट राजनीतिलाई पेसा बनाउनेलाई भन्दा निश्चय पनि राजालाई राष्ट्रको माया धेरै हुन्छ। युरोप, एसिया र अफ्रिकामा त्यही देखियो।

चीनका अन्तिम सम्राट पु यी बालक छँदा त्यहाँ राजतन्त्र समाप्त भयो। चालीस वर्ष जति गृहयुद्ध भयो। वयस्क भएपछि अपदस्थ सम्राट पु यी आफ्नै दरवारमा माली भएर बसे, कम्युनिस्ट शासनमा। विदेश गएर बस्ने इच्छा गरेको भए शायद सरकारले अनुमति दिन्थ्यो होला। पु यीको आत्मकथा पढ्दा आँसु आउँछ। ‘चीनको स्वच्छ हावा, रमाइला पहाडहरू, सफा नदीहरू सबै मेरा लागि प्रिय छन्’– उनले लेखेका छन्।

 पुर्खाले खोरिया फाँडेर, दशनंग्रा खियाएर जोडेको खेतबारीको माया लाग्छ असल सन्तानलाई। अपुताली, चिठ्ठा, लुटपाट वा भ्रष्टाचारमा प्राप्त सम्पत्तिको उति सारो माया हुँदैन। अपराधको दुनियाँबाट राजनीतिलाई पेसा बनाउनेलाई भन्दा निश्चय पनि राजालाई राष्ट्रको माया धेरै हुन्छ।

राजतन्त्रविरुद्ध केही नेताले विष वमन गर्दै थिए। २०६३ सालतिर एउटा होटलमा बिबिसीका पत्रकार शरद केसीसँग म चिया पिउँदै थिएँ। शरदले सोधे– ‘दाइ, राजा ज्ञानेन्द्र भाग्छन् कि के गर्छन् ?’ राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा रुचि र ज्ञान भएका शरदसँग अफ्रिका भ्रमणमा गएदेखि नै हामीबीच प्रगाढ मित्रता भयो। शरदले सोधेको प्रश्न गम्भीर थियो। गणतन्त्र घोषणा हुने निश्चित देखिएको अवस्थामा धेरेको मनमा ‘ज्ञानेन्द्र शाह भाग्छन्’ भन्ने थियो।

मैले उनलाई भनेँ– ‘गोरखाको पुख्र्यौली गाउँमा तीन आना जग्गामा सानो छाप्रो बनाएर बस्लान् तर उनी भाग्दैनन्।’ मानिसको आधारभूत चरित्र अध्ययन गरेपछि व्यवहारको आँखीझ्यालबाट हेर्दा अन्तरआत्मा देखिन्छ। ज्ञानेन्द्र शाहका गण र अवगुणको सूक्ष्म विश्लेषण गर्दा नेपाल र नेपालीप्रति उनको अटुट माया र विश्वास देखिन्छ। त्यो उनको सबै भन्दा ठूलो गुण हो। जसले जतिसुकै अपमान गरे पनि दलका नेताझैँ तल ओर्लेर प्रतिक्रिया जनाउँदैनन्, राजाहरू। राष्ट्र सर्वोच्च ठान्छन्। यस्ता गुण राष्ट्रनायकमा मात्र हुन्छ।  

कम्बोडियामा राजतन्त्र हटाउन अमेरिकी गुप्तचर संस्थाले कम्युनिस्टलाई प्रयोग गरेको कुरा राजा नरोदम सिंहानुकले ‘माइ वार विथ द सिआइए’ ग्रन्थमा लेखेका छन्। जसरी नेपाली सेनाको बिजुली गारतले चन्द्रशमशेरलाई श्री ३ मान्न अस्वीकार गर्‍यो। कम्बोडियाको सेनाले त्यति मात्र साहस देखाएको भए पोलपोटलाई उकासेर राजतन्त्र हटाउने दुःस्वप्न साकार हुने थिएन। प्रधानमन्त्री बनाएर दरवारले पूर्ण विश्वास गरेका जनरल लोन नोललाई राजतन्त्रविरुद्ध प्रयोग गर्छ भन्ने कुरा राजा सिंहानुकले चिताएकै थिएनन्। 

गणतन्त्र त आयो तर लोननोल स्वदेशमा टिक्न सकेनन्। उनीहरू अमेरिकामा शरणार्थी भएर बसे, उतै मरे। गणतन्त्रमा राष्ट्रपति भएको व्यक्ति लोन नोल भागेको घटना एसियाका धेरै प्रधानसेनापतिका लागि पाठ सावित भयो। लोन नोलहरू जताततै हुन सक्छन्। उलटपुलट गराउने प्रयोजनका लागि सेनाका प्रभावशाली अधिकृतलाई प्रयोग गरिएका पचासौँ उदारहण छन्।

युरोपमा डेनमार्क, नर्वे, स्विडेन, ब्रिटेन, स्पेन, हल्यान्ड, बेल्जियम, लक्जेमवर्ग, भ्याटिकन सिटीलगायतका राष्ट्रमा गणतन्त्र छैन। गणतन्त्र नहुँदा प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, खुसी, समृद्धि केही पनि हुँदैन भनेर युवालाई पाठ सिकाउने नेतागणले ती राष्ट्रमा प्रजातन्त्र (डेमोक्रेसी) छैन भन्न सक्छन् ?

साउथ सुडान, मोजाम्बिक, सियरालिओन, अफगानिस्तान, नाइजर, कंगोलगायतका धेरै राष्ट्रमा ‘गणतन्त्र’ मात्रै छ। त्यहाँ शान्ति, खुसी, समृद्धि छैन। एसियामा जापान, थाइल्यान्ड, मलेसिया, युइए, कतार, कुवेत आदिले दिन दोब्बर रात चौबर उन्नति गरेका छन्। हामी सरकार पाल्ने र ढाल्ने खेलमा मात्र व्यस्त छौँ। विदेशीले लाए÷अराएको काम गर्ने ‘दर्वानतन्त्र’ भयो गणतन्त्र। त्यसैले जनता र नेताको दूरी बढिरहेको छ।  

२००४ असार २३ गते माहिला छोरा ज्ञानेन्द्रको जन्म भएपछि राजा महेन्द्रलाई ज्योतिषिहरूले भनेछन्– ‘कुण्डलीमा त बालक तीनपल्ट राजा हुने लेखिएको छ।’ राजा त्रिभुवन जेठा छोरा महेन्द्र र नाति वीरेन्द्रलाई लिएर सपरिवार दिल्ली गए, २००७ साल कात्तिकमा। ऊबेला भारदारी सभाले श्री ३ मोहनशमशेरलाई सल्लाह दियो– ‘गद्दी रित्तो राख्न हुँदैन। त्रिभुवन सरकारका माहिला नाति मामाघरमा छन्। उनलाई ल्याएर राजगद्दीमा राख्नुपर्छ।’ प्रधानमन्त्री मोहनशमशेरले राजाको नाति ज्ञानेन्द्र र आफ्नो नाति पशुपतिशमशेरलाई डो¥याउँदै वसन्तपुर दरवारमा लगे। त्यहाँ ज्ञानेन्द्रलाई श्री ५ महाराजाधिराज घोषणा गर्दै उनका नाममा टक र ढक चलाइयो। विदेशीका ढोका ढक्ढक् गर्नेहरूलाई यस्तो इतिहास चलचित्रको कथा लाग्न सक्छ।

मोहनशमशेरलाई आफैँ श्री ५ महाराजाधिराज बन्न केही चाकडीबाजले उकासेका थिए। भारदारी सभामा यस्ता कुरा उठेपछि काजी रत्नमानसिंहले कडा विरोध गरे। गणेशमान सिंहका बाजे सुब्बा ज्ञानमानका दाजु हुन, रत्नमान। उनी हक्की थिए। सभामा उनी बोले– ‘राणाजीहरूलाई ‘ए बि सी’ क्लासमा बाँडेर जुद्धशमशेर महाराजले गुहुको टीका पहिरिबक्स्यो। त्रिभुवन सरकारलाई गद्दीच्युत गरिबक्स्यो भने हजुरले त्यो भन्दा ठूलो गुहुको टीका पहिरिबक्सनेछ।’ ‘बाफ् रे बाफ्’ भन्दै सबै मुखामुख गर्न थाले। अब रत्नमानको जिब्रो थुतिने भयो भन्दै खासखुस गरे धेरैले। जर्नेल, राजगुरु, प्राज्ञ, राणाका उच्च तहका नातेदार सबै थिए। मोहनशमशेर भविष्यद्रष्टा रहेछन्। उनले आफू राजा बन्न नचाहेको कुरा सबैलाई आश्वस्त तुल्याए। चाहेको भए उनले राजा हटाउन र ज्ञानेन्द्र शाहलाई भारततिर पठाउन सक्थे। त्यसो गरेनन्। नेपालको परम्परा, धर्म, संस्कृति सबै मान्ने अठोटमा बाबु चन्द्रशमशेरबाट तालिम पाएका मोहन २००७ सालपछि भारत गएर बसे।

‘तीनपल्ट राजा हुने ज्ञानेन्द्रको राजयोग’ दुष्प्रचार, भाग्यवाद, प्रायोजित विज्ञापन वा केही व्यक्तिको स्वैरकल्पना होइन भन्ने समयले पुष्टि गरिरहेको देखिन्छ। प्रभावशाली छिमेकी राष्ट्र मात्र होइन, टाढाका पुराना साथी राष्ट्र पनि नेपालमा स्थायित्व होस् भनिरहेका छन्। टोलमा पनि दुईतिर दश/दश रोपनीका महलमा बस्नेले ‘तीन आना’ जग्गा लिएर बसेको छिमेकीका घरमा रातदित कुटाकुट, कचिंगल र फोहोर गरेको रुचाउँदैन। शान्ति, सुव्यवस्था, खुसी सबै हराएको अवस्था छ नेपालमा। गणतन्त्रबाट केही हुन्छ भन्ने आशा हराएको छ। गणतन्त्र चाहियो भन्दै कुद्नेहरू नै दिक्क मानिरहेका छन्। हरेक महिना अर्बौँ रुपियाँ खर्च गरेर हजारौँ नेतागण पाल्नु भन्दा एउटा राजा भए पुग्छ भनिरहेका छन्, बहुसंख्यक जनता। त्यसैले सबैको दृष्टि अब निर्मल निवासतिर छ।

राष्ट्रलाई अन्योल, अस्थिरता, अराजकता र विदेशी हस्तक्षेपबाट बचाउन पृथ्वीनारायण शाहकै पालादेखि राजा, जनता र सेना एक ढिक्का भएको इतिहास छ। राष्ट्र बचाउने हो भने सेनाले स्पष्ट मार्गचित्र बनाउनुपर्छ।

शास्त्र भन्छ– सत्य बोल्न नसक्ने र मिथ्या स्वीकार्नु दुवै उस्तै अपराध हो। कठपुतली बनिसकेका दलहरू, विदेशी मालिकले दिएको आदेश पालन गर्नेहरू, भ्रष्ट र राष्ट्रघातीलाई अहिलेको प्रणाली सुवर्ण अवसर हो। तर राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका पक्षमा उभिएका जनता अहिले पनि भनिरहेका छन्– ‘राजा, जनता र सेना एकताबद्ध भएमात्र नेपाल सुरक्षित रहन्छ।’ तसर्थ यो अवस्था राष्ट्र बचाउने अन्तिम मौका पनि हो।

प्रकाशित: १४ जेष्ठ २०७८ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App