coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

चाहियो एउटा कुकुर मन्त्रालय

मैले यो लेख लेख्नु भन्दा पहिला नेपालमा एउटा कुकुर मन्त्रालय चाहियो भन्दा केही मानिस हाँसे। यो विचार कतै सरकारमाथि व्यंग्य हो कि भन्ठाने। तर मैले यो पूरा गम्भीरताका साथ उठाएको विचार थियो र छ पनि।  

पहिलो कुरा त हामी जुन व्यवस्थाअन्तर्गत बसिरहेका छौं त्यसले नै कुकुरको महत्व बढाएको छ। यो व्यवस्थालाई मानिसले संसदीय व्यवस्था भन्ने गरेका सुनेको छु। माओवादीहरू जुन बखत युद्ध गरिरहेका थिए त्यसबेला उनीहरूले यो व्यवस्थालाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ हो भनेर बयान गर्थे तर कालान्तरमा उनीहरू पनि यही व्यवस्थामा संलग्न भए।

यसबाट दोस्रो कुरा के स्पष्ट हुन्छ भने कुकुरको मासु नेपालमा अखाद्य वस्तुमा गनिन्छ। खसीको मासु खाद्य मानिन्छ र मानिस यसको किनबेच गर्छन्। कुकुरको मासु नखाने हुनाले किनबेच पनि हुँदैन। यो त सोझो हिसाब भयो। तेस्रो कुरा के बुझिन्छ भने यो व्यवस्था जाली हो। खसीको टाउको देखाएर कुकुरको मासु बेच्नु जस्तै हो। नेपालीले खसी र कुकुर उल्लेख गरिएकाले यसको माने सजिलै बुझ्न सके। यसबाट बुझिने चौथो कुरा के हो भने कुकुर पनि खसी जस्तो काटिँदो रहेछ तर कुकुर काटिएको घटना कसैले उठाएका छैनन्। गाई काटेको घटनाले अनेक विवाद उठेको त हामीलाई थाहा छ। गाईलाई पूजा गर्ने चलन पनि नेपालमा बलियै छ।

हुन पनि हाम्रो प्राचीन सभ्यता र संस्कृतिमा कुकुरलाई उच्च स्थान दिइएको छ। तिहारमा एक दिन हामी कुकुर पूजा गर्छौँ। उसलाई माला लगाइदिन्छौँ। टीका लगाइदिन्छौँ। उसलाई ढोग पनि गर्छौँ। उसलाई मीठो मीठो खाने कुरा पनि दिन्छौँ। त्यस मानेमा कुकुर पुजनीय नै रहेछ। हामीले आफ्नो पुरानो संस्कृतिको सिको र आदर गर्ने हुनाले चाणक्यले भनेजस्तो कुकुरबाट सक्दो प्रेरणा र शिक्षा लिनुपर्छ। चाणक्य नीतिमा भनिएको छ–  ’बह्वाशी स्वल्पसन्तुष्टः सुनिदः शीघ्र चेतनः। प्रभु भक्तश्च ज्ञातव्या षट् शुनो गुणाः।। चाणक्य ६–२१। अर्थात कुकुरबाट ६ गुण लिनू। ठूलो आशा नलिने, थोरैले खुसी हुने, थोरै निदाउने, झट्ट ब्युँझने, मालिकको भक्त, सुर्‍याइ।

चाणक्यकै कुरा सुन्दा पनि नेपालीले आफ्नो जीवनबाट, आफ्नो सरकारबाट र आफ्ना नेताहरूबाट ठूलो आशा लिएका जस्तो पनि लाग्दैन। दुई छाक खान पाए र एकसरो लाउन पाए खुसी हुनेखालका मानिस नेपालमा बस्छन्। अन्याय/अत्याचार जस्तै भए पनि सहेर बस्ने तर झट्ट नब्युँझने, देश/विदेशमा गएर आफ्ना मालिकको इमान्दारीसाथ सेवा गर्ने बानीबेहोरा राख्ने र लडाइँ आदिमा जाँदा सुर्‍याइ देखाउने नेपाली नै हुन्।  

तर अर्कोखालका मानिसका गतिविधि हेर्दा यसको ठीक उल्टो देखिन्छ। राजनीतिक र सामाजिक नेताहरूले भने ठूलैै आशा देखाउने, थोरैले खुसी नहुने, एउटा घरमा सन्तुष्ट नहुने, जग्गा पनि ठूलै चाहिने, पैसा पनि दुई चार लाख र दुई चार करोडले नपुग्ने, अरब र खरबमा नै हिसाब लगाउनुपर्ने कुरा सुन्दा र लेखेको पढ्दा कतै हाम्रा अग्रपंक्तिमा रहेका ठूलाबडाहरू कुकुर भन्दा तल खसेका त होइनन् भन्ने शंका लाग्छ।  

तर उनीहरूलाई आजकल ‘विदेशीको दलाल’ भनेर आलोचना भइरहेकाले उनीहरू त कुकुर जस्तै मालिकको भक्त भएको र आफ्नै जनताबाट पटक्क नडराउनेखालका देखिन्छन्। यस मानेमा त चाणक्यले बयान गरेजस्तै कुकुरको नक्कल गरेकै जस्तो देखिन्छन्। कुकुर कत्तिको महत्वपूर्ण छ भन्ने तथ्य हामीहरूको प्रत्येक घरमा कुकुर पालेको देखेर नै अनुमान लगाउन सकिन्छ। घरको रक्षाका लागि मानिसले कुकुर पाल्ने गरेका छन्। तर कुकुरको आवाजले रातभर सुत्न नसकिने, कतै जाँदा भुक्न थाल्ने र रेबिजको महामारी हुँदा कुकुरदेखि डराउनुपर्ने, अप्ठेरो भोग्नुपर्ने हुन्छ।  

हाम्रो संविधानमा कुकुर कुन सरकारअन्तर्गत पर्छ भनेर खुलाइएको छैन। तर यसको चालचलन र गतिविधि हेर्दा स्थानीय तहअन्तर्गत नै राख्नुपर्ने देखिन्छ। यसबाट ती तहले प्रशस्त कर असुल गर्न पनि सक्छन्। घर पालुवा कुकुरको आकार हेरेर कर निर्धारण गर्न सकिन्छ। ठूलोको ठूलै र सानोको सानै रकम सजिलै उठ्न सक्छ।  

कुकुरको उपयोग अनेक काममा गरिएको देखिन्छ। खासगरी अपराधीहरू पत्ता लगाउने काममा उपयोग हुने गरेको छ। कुकुरको घ्राण शक्ति बलियो हुनाले अपराधका घटना भएको ठाउँमा घेराबन्दी गरी अपराधी पत्ता लगाउन कुकुर प्रयोग गरिन्छ। यो प्रक्रिया नेपालमा मात्र होइन, सारा संसारमा चलन छ। यसको माने हो– अपराधीको खोजीमा मानिसबाट गल्ती अथवा पक्षपात हुन सक्छ तर कुकुरबाट हुन सक्दैन। साँच्चै भन्ने भए मानिसलाई भन्दा कुकुरमाथि धेरै विश्वास गरिन्छ।

कुकुरलाई विभिन्न देशमा प्र्रहरी सेवामा भर्ना गर्ने चलन पनि छ। उमेर, तालिम र अनुभवअनुसार उनीहरूलाई त्यस सेवाको दर्जा पनि दिइन्छ। भारतमा त्यस्ता कुकुर अधिकारीलाई निवृति भत्ता दिने चलन पनि छ। सेवाबाट निवृत भएपछि उनीहरूलाई खाने बस्ने समस्या नहोस् भनेर जिउँदो हुँदासम्म भत्ता दिइन्छ।

पहिलो विश्व युद्धमा हजारौँ कुकुर सैनिक सेवामा थिए। जर्मनीले मात्र ३० हजार कुकुर आफ्नो सेनामा राखेको थियो जसमध्ये ७ हजार कुकुर नाश भए। दोस्रो विश्व युद्धमा जर्मनका नाजी शासकहरूले ५० हजारभन्दा बढी कुकुरको सेवा लिएका थिए। उनीहरू विशेषतः चौकिदारी, सुराकी, खाना र खरखजाना ओसारपोसार गर्ने काममा लगाइएका थिए। यसका लागि जर्मनीको फ्रैंकफर्टमा कुकुर तालिम केन्द्र सञ्चालन गरिएको थियो। उनीहरू सबै जर्मनीको रक्षा मन्त्रालयअन्तर्गत राखिएका थिए।  

नेपाली सेनाले पनि कुकुर प्रयोग गरेको छ। विगत १८ वर्षसम्म नेपाली सेनाले खासगरी शान्ति सेनामा यसको उपयोग गरेको पाइन्छ। तिनीहरू अपराधीको खोजमा र सुरक्षाको क्षेत्रमा प्रयोग गरिएका पाइन्छ। द्वन्द्वरत देशहरूमा नेपाली शान्ति सेनाले हातहतियार, बम, माइन आदि पत्ता लगाउन यसको प्रयोग गर्दै आएको छ। लाइबेरिया र लिबिया जस्ता देशमा तालिम प्राप्त कुकुरहरूले सेनालाई ठूलो सहायता गरेका थिए। २०५५ सालमा नेपाली सेनाले तालिम प्राप्त कुकुरहरू सामेल गराएको छ।

नेपालमा पशुपक्षीको कत्तिको महत्व छ भन्ने कुरा यस सम्बन्धमा एउटा मन्त्रालय नै खडा गरिएको छ। मन्त्रालय नै खडा गरिनु र त्यसलाई यस क्षेत्रको व्यवस्था मिलाउन जिम्मेवारी दिनु नै सो क्षेत्र देश र समाजका लागि महत्वपूर्ण भएको जनाउँछ। त्यसै प्रकारले कुकुरको महत्व पनि हामीले बुझ्दै गएपछि त्यस सम्बन्धको व्यवस्था मिलाउन एउटा मन्त्रालय राख्नु आवश्यक देखिन्छ। कुकुर मन्त्रालयमा कुकुर मन्त्री पनि हुने भयो। तर सो मन्त्रालयमा बस्न कोही नचाहने हुन सक्छ। त्यस घडीमा प्रधानमन्त्री आफैँले सो मन्त्रालय सम्हाल्नु उपयुक्त हुन्छ।

कुकुरको उपयोग हालै थाइल्यान्डमा कुनै मानिसमा कोरोना छ कि छैन भनेर पत्ता लगाउन उपयोग भइरहेको खबर छ। कोरोनाको संक्रमण भएको मानिसअगाडि कुकुर थपक्क बसिदिन्छ भन्ने खबरमा उल्लेख छ। नेपालमा पनि यस्तै कुकुर आवश्यक छ।  

प्रकाशित: ११ जेष्ठ २०७८ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App