८ वैशाख २०८१ शनिबार
विचार

इतिहासको अर्थ

शाहवंशका राजाहरूका पुर्खा हरिहरसिंह र अजयसिंहलाई स्याङ्जाका मगरहरूले ग्रामीण पारामा जेठा (खाँछा) र कान्छा (मिचा) भनेर प्रेमपूर्वक बोलाए। मिचाका सन्तान राजा भए। रामशाहले गलकोट (बाग्लुङ) निवासी प्रतापी राजा नारायण मल्लकी छोरी बिहे गरेको इतिहासकारहरूले लेखेका छन्। सूर्यविक्रम ज्ञवालीकृत ‘पृथ्वीनारायण शाह’ ग्रन्थमा पनि यसको चर्चा छ।

वंश परम्परा खोज्ने क्रम हजारौँ सालदेखि चल्दै आएको छ। भगवान रामचन्द्र सूर्यवंशी हुन् भने पाण्डव र कौरव चन्द्रवंशी। चौधौँ शताब्दी भन्दा पहिले कर्णाली प्रदेशमा बसोबास गर्न थालेका मल्ल पनि सूर्यवंशी क्षत्री हुन्। काठमाडौँ उपत्यकामा शासन गर्ने मल्ल सोही वंशका हुन। दुल्लु (दैलेख) स्थित पृथ्वी मल्लको शीलालेखमा राजा पृथ्वी मल्लले आफूलाई ‘आदित्य वंश’ भनेको कुरा इतिहासकार योगी नरहरिनाथले लेखेका छन्। आदित्य सूर्यको पर्यायवाची शब्द भएकाले सो अपभ्रंश हुँदै आदित्यवारलाई आइतबार भनिन्छ नेपालमा। युरोप, अमेरिकाले सूर्यको वार (आदित्यवार) ‘सन डे’ हो भन्ने स्वीकारे।

सप्तगण्डकी क्षेत्र नेपाली इतिहास, भूगोल, भूगर्भ र संस्कृति मात्र होइन, प्राचीन धर्मको विश्वविद्यालय हो। मिथिला, काठमाडौँ उपत्यका, गण्डकी क्षेत्र, कर्णाली क्षेत्र तथा हिमाली क्षेत्र आदिका बारेमा अध्ययन गर्दा रोचक कुराहरू पाइन्छन्। पृथ्वीनारायण शाहका पालामा चौबीसी राज्यमा पर्ने लमजुङ, तनहुँ, गलकोट, पर्वत, नुवाकोट, पैंयु, गरहुँ, रिसिङ, घिरिङ, पाल्पा, गुल्मी, मुसीकोट, इस्मा, प्युठान, भिरकोट, धुर्कोट, अर्घा, सतहुँ, कास्की, खाँची, ढोर, सल्यान, दाङ र छिल्लीका आफ्नै विशेषता थिए।

राजा मुकुन्दसेनका चार छोरामध्ये विनायक सेनले जितेको हालको बुटवललाई ऊबेला विनायकपुर भनिन्थ्यो। मुकुन्दसेनका बारेमा केही प्रकाशित भए पनि विस्तारपूर्वक वर्णन गरिएका ग्रन्थ भेटिँदैनन्। पर्वतका प्रथम मल्ल राजा ‘आनम्म’ हुन भनेका छन्, राजपण्डित प्रेमनिधि पन्तले। गलकोटका मल्ल राजाका पुर्खा पर्वतबाटै गएको इतिहासकारहरूको मत छ।

पर्वतका मलय ‘बम्म’ मल्लका पुर्खा ब्राह्मण रहेछन्। सुदूरपश्चिमको इतिहास लेख्ने विद्वान् अन्वेषक आत्मराम ओझाले आफ्नो पुस्तकमा सो कुरा उल्लेख गरेको पाइन्छ। २००३ सालतिर काठमाडौँमा मेरा पिताजी भगीरथ गौतमसँग सहपाठी बनेर अध्ययन गर्नुभएका ओझाबाट सुदूरपश्चिमको केही इतिहास सिक्ने मौका मिल्यो। ओझाका अनुसार जुम्ली ठकुरी राजाकी छोरीबाट पैदा भएका अत्रि गोत्रका शाहहरू अछामका शाह राजाहरू हुन्। यस्तै कुमाउँतिरबाट चन्द राजाहरूले प्युठानमा पनि राज्य गरे। टिस्टादेखि सतलज नदीसम्म र दक्षिणमा प्रयाग (हालको इलाहावाद, भारत) सम्मका शासक नेपाली थिए। तिब्बतसम्म नेपालकै मुद्रा चल्थ्यो। त्यो सबै पुरिँदै गयो, माटोमा।

विदेशस्थित नेपाली कूटनीतिज्ञहरूले सरकार र नेता रिझाउन जानेका छन्। राष्ट्रको इतिहास, कला, साहित्य, संस्कृति, प्राचीन धर्म र राष्ट्रगाथा फैलाउन जानेको देखिएन, नेपाली कूटनीतिज्ञहरूले।

जोसेफ चाङ, ग्राहम कुप तथा पिटर राल्फलगायतका गवेषकले बत्तीस पुस्तासम्म खोज्दा युरोपका धेरैको वंश एउटै रहेको पत्ता लाग्यो भनेका छन्। नेपालकै कुरा गर्दा धेरै जात ‘सरकारी पद’ हो। सीमा अधिकारी ‘थापा’ भए। निजामती अधिकार पाउने अधिकारी, कर अधिकृत ‘कार्की’, ग्रामीण क्षेत्रका प्रमुख थकाली, विष्ट आदि भए। सुनुवारहरू मुखिया भए। तराईका जमिनदारले ‘चौधरी’ पद पाए। पूर्वमा किराँती राजाका सन्तान ‘राई’ (राजा) भए। घोडा व्यापारको अनुमति पाउनेहरू तामाङ भए। नेवारका मात्र सयौँ थर र जाति–उपजाति छन्। ज्ञान, कर्म, शिल्पका आधारमा गुरु भए कोही। कोही श्रमिक भए। गुरुवाचार्य, कर्मचार्य, ज्योतिषि (जोशी), वैद्य ज्ञान, पेसा वा कर्मले भए। उदाहरण धेरै छन्। यसलाई माथिल्लो र तल्लो जात भनेर अपव्याख्या गर्नु गलत हुन्छ।

पराजुल पर्वतका ‘पराजुली’ थापा पनि छन्। रेगमका रेग्मी, गोतमकोट (रुकुम) बाट फैलिएका गोतामे (गौतम), देवकोटका देवकोटा आदिझैँ ऋषिहरूका नामबाट गोत्र बन्यो। कौडिन्य र गर्ग गोत्रका ‘आचार्य’ हुन्। पुन, आले, घर्ती, बुढा, रोका, राना आदि मगर, सबैको इतिहास धर्म, संस्कृति र परम्परासँग जोडिएको छ। कुचविहार (भुटान दक्षिणमा पर्ने समथर ठाउँ) मा शासन गर्ने राजवंशीका सन्तान हुन, झापा मोरङका राजवंशी। यस्तै, ठाउँका आधारमा मेची नदीका दुवै किनारा र त्योभन्दा टाढासम्म फैलिएका मेचेलाई लिन सकिन्छ। झापामा किसान र सन्थाल (सतार) अल्पसंख्यामा छन्। सन्थालसँग मिल्दोजुल्दो किसान जातिमा राजा छान्ने चलन छ। धाइजन निवासी पछिल्लो राजा श्रम गर्न खाडी राष्ट्र पुगेको कुरा पत्रिकामा छापिएको थियो।

विश्वमित्र, अत्री, आत्रेय, कश्यप, गौतम, जमदग्नि, भारद्वाज र वशिष्ट ऋषिका नामबाट गोत्र फैलियो, सनातनीहरूमा। जर्मन विद्वान् म्याक्स मुलरले गोत्रको अध्ययनले सभ्यता र इतिहास बुझ्न मद्दत पुग्ने तर्क गर्दै यो प्रथा यजुर्वेदको इतिहास जस्तै पुरानो भनेका छन्। चीनको सिंचुआन विश्वविद्यालयमा विद्यावारिधिका लागि बुझाएको शोधगन्थमा अन्वेषक टेकबहादुर गुरुङले ‘चार जात’ र ‘सोह्र जात’ भन्ने वर्गीकरण गुरुङ जातिमा यथावत रहेको स्वीकारेका छन् भन्दै महेन्द्र पी. लामाले गुरुङको शोधग्रन्थमा रोचक कुराहरू रहेको उल्लेख गरेका छन्। (द काठमान्डू पोस्ट, नोभेम्बर २७, २०१९)

जातजातिको इतिहास जानेपछि पुर्खाको सिप, ज्ञान, इलम, इमान सिक्न सकिन्छ। उदाहरणका लागि नेपालका थारू उच्चकोटीको कृषि ज्ञान भएका र सिकारका शौखिन हुन। परम्परागत जडीबुटी चिन्नेमा थारू, मगर, गुरुङलगायतका धेरै जाति छन्। हामीले ती सबै ज्ञान जोगाउन सकेनौँ। इतिहास धुलोमा पुरिँदा विदेशीको झलक्क र टलक्क मात्र राम्रो लाग्न थाल्यो। टम रबर्टसनले थारूका बारेमा लेखेका छन्– तराईमा २०१५/१६ सालदेखि औलो (मलेरिया) उन्मूलन गर्न थालियो। यसले थारूका परम्परागत गाउँ र कृषिमा बाहिरबाट आएका मानिसको प्रभाव बढ्दै गयो।

अमेरिकी नागरिक पल रोजको नेतृत्वमा राप्ती परियोजनाको अध्ययन सुरु भयो, २००९ सालमा। राजा त्रिभुवनको निधनपछि राजा महेन्द्रले चितवनको समग्र उन्नतिका लागि मार्गचित्र बनाए। कृष्ण बम मल्ल परियोजनाका हर्ताकर्ता भए। राजा महेन्द्रको निर्देशन थियो– चितवनको पुरानो पहिचान जोगाउँदै आधुनिक बनाऊ।

दार्शनिक कार्लाइलको कथन घतलाग्दो छ– ‘महापुरुषलाई धेरैले समयमा चिन्दैनन्। ढिलो चिन्नेहरूले पनि अपव्याख्या गर्छन्।’ बर्माबाट रोग, भोक र शोक बोकेर आएका नेपाली मूलका बर्मेलीलाई कञ्चनपुरमा ६ सय बिघा जमिन उपलब्ध गराएर सहर बनाउने प्रबन्ध गरे महेन्द्रले।

झापादेखि कञ्चनपुरसम्म हजारौँ प्रवासी नेपालीलाई बस्ने/खाने स्थायी व्यवस्था गरे। उनै शरणार्थीका सन्तानमध्ये धेरैले ‘राजा महेन्द्र मुर्दावाद’ भन्न थाले। मेची–महाकाली छुने राजमार्ग बनेपछि लाखौँ जनताको स्तर उच्च भयो। दरिद्रहरू धनी भए। तागतिला भए। उनैले सडकमा नारा लगाए– राजतन्त्र मुर्दावाद।

रसियामा राजतन्त्र हटाएर धर्म, परम्परा, संस्कृति सबै मास्न थाले, कम्युनिस्टले। सन् १९१७ मा कम्युनिस्ट सत्तामा आए। सत्तरी बहत्तर वर्षपछि कम्युनिस्टतन्त्र मासियो। राष्ट्र टुक्राटुक्रा भयो। चेचन्यालगायतका ठाउँमा गृहयुद्ध हुँदा लाखौँ मानिस मरे। इतिहास मास्न खोज्दा समाज पतनतिर अभिमुख हुन्छ। पृथ्वीनारायण शाहले अमेरिका स्वाधीन हुनुभन्दा आठ वर्षपहिले नै परम्परागत धर्म संस्कृतिको रक्षा गरेपछि मात्र आफ्नो सम्मान हुन्छ भन्ने बुझेका थिए। त्यसैले काठमाडौँ उपत्यकाका प्राचीन धर्म–संस्कृति शिरोधार्य गरेर कुमारीको चरण स्पर्श गरे। तीन सहरका जनताको भावनाको सम्मान गरे। गोरखा विस्तार गरे पनि राष्ट्रको नाम नेपाल नै कायम राखे। ‘गोरखा राष्ट्र’ भनेनन्। इतिहास पुरेनन्।

राष्ट्र, समाज र नागरिकले विगतमा गरेका दूरगामी महत्वका घटनाको शृंखला हो, इतिहास। कसैकसैले ठट्टा गरेर ‘मुण्डमाला’ भन्छन् इतिहासलाई। इन्डोनेसियादेखि कम्बोडियासम्म, क्यारेबियन क्षेत्रदेखि युरोपसम्म, फिलिपिन्सदेखि थाइल्यान्ड, बर्मा, भुटान र भियतनामसम्म फैलेको सनातन धर्म दक्षिण एसियामा मात्र थिएन।

अफ्रिका, एसिया, युरोप, अमेरिका जताततै विस्तीर्ण ‘सनातन धर्म’ धेरै राष्ट्रमा ‘इतिहास’ भयो। एकमात्र ‘हिन्दु अधिराज्य’ नेपालले आज आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान गुमाइरहेको छ। विश्वलाई ‘इसाई’ बनाउने अभियानका प्रतिनिधिहरू परोपकारको बस्त्र धारण गरेर शस्त्र–अस्त्र चलाइरहेका छन्। सन् २०११ को तथ्यांकअनुसार पोल्यान्डमा झन्डै नौ सय जना स्थानीय जनता ‘हिन्दु’ छन्। मसँग नेपाली भाषा सिक्ने अग्नि नामकी छात्राले बताइन्– त्यहाँ केही हिन्दु मन्दिर पनि छन्। कम्युनिस्ट शासनमा धेरैले यातना पाए, अहिले राम्रो छ।

मैले उनलाई अग्निको अर्थ सोधेँ। उनले भनिन्–अंग्रेजीमा फायर भन्छन्, तपाइहरू आगो भन्नुहुन्छ। मेरी हजुरआमाले हिन्दु नाम भनेर यही नाम राखिदिनुभयो तर हामी पोल्यान्डका रैथाने हौँ। नेपालस्थित भारतीय राजदूतावासमा काम गरिसकेकी मोनिका मोहताको सक्रियतामा महाभारत र रामायण अनुवाद गरेर पोल्यान्डमा प्रचार गरिएको रहेछ। विदेशस्थित नेपाली कूटनीतिज्ञहरूले सरकार र नेता रिझाउन जानेका छन्। राष्ट्रको इतिहास, कला, साहित्य, संस्कृति, प्राचीन धर्म र राष्ट्रगाथा फैलाउन जानेको देखिएन, नेपाली कूटनीतिज्ञहरूले।

अमेरिकाको बोस्टन र त्यस वरपरको प्राचीन क्षेत्रका अभिजात्य वर्गले आज पनि आफूलाई ‘बोस्टन ब्राह्मण’ भन्ने गरेको पाइन्छ। ब्रिटिसले अमेरिकामा शासन गर्दा पनि उनीहरू धनी, कुलीन, सभ्य, शिक्षित र प्रतिभाशाली मानिन्थे। राष्ट्रपति एडम्स, मेजर जनरल जोसेफ वारेन, चाल्र्स एडम्स, पत्रकार थोमस ब्राउन, साहित्यकार टि.एस. एलियट, राल्फ एमर्सनलगायत धेरै बोस्टन ब्राह्मणहरूले प्रसिद्धि कमाए। उनीहरूका सन्तान आज पनि पुर्खाप्रति गर्व गर्छन्।

दोस्रो विश्वयुद्धकालका ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका छन्– ‘बाटो हिँड्दा आफूलाई देखेर भुक्ने कुकुर धेरै हुन्छन्। ती कुकुरलाई ढुंगा हानेर बस्यौ भने तिमी गन्तव्यमा पुग्न सक्दैनौ।’ इतिहासको अर्थ र पाठ पनि यही हो। हजारौँ साल पुरानो राष्ट्र नेपालले कैयन् अवसर गुमाएको छ। तसर्थ, अब सत्य र असत्य छुट्याउने काम जनताको हो। यही बाटो सही छ भनेर असुरपथमा हिँड्ने कि देवासुर संग्राम गरेर भए पनि असल नायक छान्ने ? यसमा अल्मलिने बेला छैन।

प्रकाशित: २४ वैशाख २०७८ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App