coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सुधारको आरम्भ आफैँबाट

केही दिनअघि स्नेही मित्र लक्ष्मण पन्थीले भन्नुभयो– ‘दाइ नेतृत्वको आलोचना गरेर नलेख्ने कि ? यही कारण केही नेताको अवसर गुमेको छ। भोलि तपाईँमाथि पनि प्रहार हुन सक्छ।’ मित्र लक्ष्मणको भावना म बुझ्छु। मेरो ‘प्रगति’ मा आउन सक्ने व्यवधानबाट चिन्तित भएर यो सुझाव आएको थियो। केही साथी स्पष्ट र सत्य वचनका कारण दण्डित हुनुभएको मलाई पनि जानकारी छ। तर यस विषयमा मैले सोचेको थिइन। यो सुझावपछि केही विचार प्रस्तुत गर्नु सान्दर्भिक लाग्यो।

हरेक नेपालीको एउटै आवाज सुनिन्छ– नेता ठीक भएनन्। भ्रष्ट भए। अलोकतान्त्रिक भए। निरंकुशताविरुद्ध नागरिकले आन्दोलन गरी निरंकुश शासकलाई परास्त गरेर लोकतन्त्र स्थापित भयो तर दलका नेतामा नै निरंकुश चरित्र हावी भयो। सामन्तवादको अन्तिम प्रतीक ढल्यो। गणतन्त्र आयो। नेताहरू नै नयाँ सामन्त बने। यो आजको आम भनाइ हो। केपी ओली यी अलोकतान्त्रिक नवसामन्तहरूका पनि महासामन्त हुन्। आधुनिक युगमा राजनीतिक दलको अस्तित्व नभएको लोकतन्त्र कल्पना गर्न सकिँदैन तर दलको नेतृत्व नै अलोकतान्त्रिक बन्यो। नेतृत्व लोकतान्त्रिक नबनेसम्म लोकतन्त्रले काम गर्न र अपेक्षित परिणाम दिन सक्दैन भन्ने भर्खरै नेपालमा भइरहेका घटना र परिणतिले नै स्पष्ट गरेका छन्।

अस्ट्रेलियाबाट नेपाल फर्कने क्रममा दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विमान पर्खिबसेको थिएँ। एक जना नेपाली मेरो बगलकै कुर्सीमा बसे। उनी फोनमा कुरा गर्न व्यस्त थिए। शायद आफ्ना नजिकका नातेदारसँग कुरा गर्दै थिए व्यवसायका सम्बन्धमा। कुरा गर्दै जाँदा उनको एउटा वाक्यले मेरो ध्यान आकर्षित गर्‍यो– ‘राजनीति गर्नुपर्छ है कान्छा राजनीति, नेपालमा आज जे छ राजनीतिमा छ।’ उनको भनाइ स्पष्ट थियो। व्यवसाय प्रवद्र्धनका लागि राजनीतिक पहुँच जरुरी छ। कतारमा रोजगारी गर्ने नेपालीको नेपालको राजनीतिप्रतिको यो दृष्टिकोणले म अचम्भित भइन तर सोचमग्न गरायो। के कारणले नेपालको राजनीति व्यवसाय बन्यो ? के हामी राजनीति गर्छाैं भन्ने मानिस यसका दोषी होइनौँ ? २०४८ सालमा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएपछि अमेरिकन भाषा केन्द्रमा प्रशिक्षकले प्रसंगबस सोधे– तपाईँहरूको पेसा के हो ? एक जना सांसद साथीले हाम्रो त पेसा नै राजनीति भनिदिए। हामी अरू १०–१२ जनाले त्यसमा आपत्ति जनाएनौँ। म आज सोच्छु, त्यो समयमा म कति अज्ञानी रहेछु। सेवाको क्षेत्रलाई मैले व्यवसाय स्वीकारेको रहेछु। दोहाको विमानस्थलमा भेटिएका भाइले अहिले भनेको कुरा हामी सांसदहरूले २०४८ सालमा नै भनेका रहेछौँ। अब ती भाइलाई गलत भन्ने नैतिक शक्ति मसँग कहाँ बाँकी रह्यो ?

नेपालमा युवा बेरोजगारको संख्या ठूलो छ। म प्रतिनिधिसभामा निर्वाचित हुँदा वा चार महिना एघार दिनका लागि मन्त्री हुँदा पनि मलाई सबै भन्दा बढी पिरोल्ने समस्या बेरोजगारी थियो। जिल्लाका मानिस विकास त हुँदै गर्ला, पहिला रोजगारी दिलाइदिनुपर्‍यो भन्थे। २०५१ सालमा एमालेको सरकार बन्यो। त्यो सरकारले साना–साना योजना बनाउने र ती आयोजना निर्माणको काम आफ्ना कार्यकर्तालाई दिने काम गर्‍यो। संस्थान, समिति, आयोग, कार्यालयहरूमा अधिक संख्यामा कार्यकर्ता भर्ती गर्‍यो। म जिल्लामा जाँदा साथीहरुले भन्नुभयो– एमालेबाट सिक्नूस्, कार्यकर्तालाई कसरी पाल्नुपर्ने रहेछ। तपाईँहरूले एमालेले जस्तै कार्यकर्ता पालेको भए नेपाली काँग्रेसले २०५१ सालमा बहुमत ल्याउने थियो। तत्पश्चातका सरकारका मन्त्रीहरू दीर्घकालीन हित भन्दा कार्यकर्तालाई तत्काल चित्त बुझाउनेतिर लागे। कार्यकर्ता पाल्न लाग्दा आफ्नै हैसियत पछिसम्म कार्यकर्ता पाल्न सक्ने बनाए। अब राजनीति व्यवसाय बनेकामा नेतृत्वलाई दोषी देखाउने नैतिक सामथ्र्य राजनीतिक कार्यकर्तामा कहाँ बाँकी रह्यो ?

हामी हाम्रो विगतको कर्म बिर्सन्छौँ या मामुली ठान्छौँ तर कर्म साथसाथै रहन्छ र शनै शनै त्यसको परिणाम देखिन्छ। जब त्यसको दण्ड भोग्न थाल्छौँ, दोष अरूमाथि थोपर्छौँ। विद्वान्हरूले भने कि समाज सुधार गर्न चाहन्छौ भने सुधारको सुरुवात आफैँबाट गर। जबसम्म तिमी सुध्रँदैनौ तिम्रो उपदेशले मात्र समाजको सुधार हुँदैन। आफूमा सुधार कसरी गर्ने? यसको अनिवार्य सर्त हो– बिगतका आफ्ना कमजोरीलाई निसंकोच स्वीकार गर्ने तथा त्यसको दण्ड भोग्न तयार हुने। गल्ती कमजोरी स्वीकार गर्नु भनेको भविष्यमा ती कमजोरी नदोहोर्‍याउन प्रतिबद्ध हुनु हो।

हामी नेतृत्व खराब भयो भन्छौँ। नेतृत्व किन खराब बन्यो ? त्यसको जडमा पुग्दैनौँ। हामी नेपाली काँग्रेसका मानिस महान् तथा त्यागी नेताहरूका उत्तराधिकारी हौँ। तीस वर्ष पञ्चायतविरुद्ध संघर्ष गर्दा राजनीतिबाट कमाउने हाम्रो ध्येय थिएन। हाम्रा आजका अधिकांश नेता प्रजातन्त्रका लागि संघर्ष गरेका नेता हुन्। ती पनि सुरुमा खराब थिएनन्। शासन हात लागेपछि शनैः शनैः पतनोन्मुख भए। नेतृत्व पतनोन्मुख हुँदै गर्दा हामीले यो भन्न सकेनौँ कि तपाईँ गल्ती गर्दै हुनुहुन्छ। नेतृत्व सामुन्ने उनीहरूको प्रशंसा मात्र गर्‍यौँ। प्रशंसा सबैलाई प्रिय लाग्छ तर झुटो प्रशंसा नै मानिसको बैरी हो। प्रधानमन्त्री जवाहरलाल नेहरुलाई कृष्ण मेननहरूले नेहरुको काममा सहयोगका लागि सल्लाहकारको टिम बनाउने प्रस्ताव गरे। नेहरुले सल्लाहकारको नाम मागे। नाम हेरेपश्चात नेहरुले भने– यी नाममा मेरो रायमा प्रश्न उठाउन सक्ने एक जना मानिस पनि छैनन्। यसम्यान (होमा हो मिलाउने)को टोलीले मलाई के सल्लाह देला ? यो हुँदैन भनी अस्वीकार गरिदिए। नेपालमा बिपी कोइरालाले समीक्षा पत्रिकालाई आर्थिक सहयोग गरेर आफ्नो आलोचना गर्न प्रोत्साहित गर्नुभयो। झुटो प्रशंसाले मानिस बिग्रन्छ। आलोचनाले मानिस सचेत बन्छ। गल्ती गर्नबाट जोगिन्छ। हामी नेतालाई जोगाउन लागेनौँ। पतन गराउन सहयोगी बन्यौँ।

लोकतन्त्रले अपेक्षित परिणाम दिन सकेको छैन। परिणाम दिन सकेन भनेर लोकतन्त्रको विकल्प खोज्न सकिँदैन। आहारबिहार राम्रो भएन भने जीवित शरीरमा रोग लाग्छ। रोग लाग्यो भनेर के जीवनको विकल्प खोज्न सकिन्छ र ? रोगको उपचार गरिन्छ। लोकतन्त्रको रोग राजतन्त्र हो भनी राजतन्त्र फ्याँक्यौ तर राजा गए तन्त्र नेतृत्वमा सर्‍यो। लोकतन्त्रले लोकको चिन्ता नगरी केही नेताहरूको मात्र चिन्ता गरेको जस्तो देखियो। यसैले आज फेरि लोकतन्त्र कमजोर बन्दैछ किनकि नेतृत्वको आचरण ठीक भएन। नेतृत्वको आचरण सुधार गर्ने लोकतान्त्रिक संस्कार हामीमा भएन। लोकतन्त्रले असललाई असल र खराबलाई खराब भन्छ। 

हामी खराबलाई पनि असल भन्छौँ। सुरु भएको २३ वर्ष र पुनर्संरचना हुँदा ५ वर्षको लक्ष्य राखी सन् २०१३ मा सम्पन्न गर्ने भनिएको राष्ट्रिय गौरवको महत्वपूर्ण मेलम्ची आयोजना अधुरै अवस्थामा सन २०२१ को मध्यमा उद्घाटन गर्दा पनि हामी किन ढिला भयो ? लागत कति बढ्यो ? यसको दोषी को हो ? भनी प्रश्न गर्नुको बदला प्रधानमन्त्रीको जय/जयकार गर्छौँ। जनताको राजस्वबाट करिब ३ अर्ब खर्च गरी दमकमा भ्यु टावर बनाउँदा विकास पुरुष केपी ओली भन्दै जय÷जयगान गर्छौँ। अहिलेको प्राथमिकता भ्यु टावर हो कि बहुउद्देश्यीय विद्युत् तथा सिँचाइका आयोजना भनी प्रश्न गर्दैनौँ। शक्तिमा रहेका व्यक्तिलाई प्रश्न नगरी झुटो प्रशंसा गरी क्षणिक लाभ लिने हाम्रो संस्कारले लोकतन्त्र बलियो बन्न सकेन। देशमा परिवर्तन भएको, प्रगति भएको देख्ने चाहना राख्ने तर परिवर्तन गर्न आफैँ अग्रसर नभइ अर्काको मुख ताक्ने हाम्रो चरित्र रहँदासम्म लोकतन्त्र बलियो त बन्दैन नै, राष्ट्रको प्रगति पनि हुँदैन।

पार्टीसँग आबद्धता रहेको राजनीतिक पदाकांक्षी व्यक्ति जो जनतामा जान चाहन्छ, त्यसलाई पहिले पार्टीले विश्वास गर्नुपर्छ। पार्टीले विश्वास गर्ने भनेको नेपालको सन्दर्भमा उच्च नेतृत्वले विश्वास गर्नु हो। यसका लागि के असत्यसँग सम्झौता गर्ने ? आज जनताबाट अनुमोदित हुने बाटो खुला गर्न सम्झौता गर्नुपर्‍यो। भोलि मन्त्री हुन वा अन्य कामका लागि सम्झौता गर्नुपर्ला। यस्तै केही न केही प्राप्त गर्ने लालसाका लागि अवाञ्छित सम्झौता गरिरहने हो भने व्यक्तिको आफ्नो चरित्र कहाँ बाँकी रह्यो ? यो परपीडनमा रमाउने सेडिस्टिक प्रवृत्तिको कुरा होइन। असललाई असल र गलतलाई गलत भन्ने सत्य र स्पष्टवादिताको कुरा हो। मानिसले अरूलाई धोका दिन सक्छ, आफ्नो आत्मालाई छल्न सक्दैन। नेपालको भविष्य उज्यालो बनाउने र हामी नेपाली आत्मवञ्चनाको अवस्थाबाट मुक्ति प्राप्त गर्ने हो भने आफ्नो आत्माप्रति इमान्दार हुनु जरुरी छ।

गल्ती/कमजोरीको आलोचना हुन्छ, गर्नुपर्छ। आलोचना गर्नुको आशय यो होइन कि आलोचित व्यक्ति सम्पूर्णरूपले अग्राह्य हो। राजनीतिक नेतृत्वमा पुगेपछि गरेका कमजोरी/गल्ती उजागर गरी व्यक्तिमा सुधार ल्याउने तथा सचेत गराउने हेतुले आलोचना गरिन्छ। बाटो देखाउँदा पनि सुधार भएन भने दण्डित हुन्छ, हुनुपर्छ। सत्य उजागर गर्ने व्यक्तिको अझ ठूलो जिम्मेवारी यो पनि हो कि कतै आफूमा नै ती कमजोरी अरूले दृष्टिगत नगरुन्। यसर्थ आलोचकमाथि झन् ठूलो दायित्व सिर्जना हुन्छ।

राजनीतिक पद सेवाका लागि हो। व्यवसाय होइन। व्यवसायमा लाभ/हानिको विचार गरेर सम्झौता गरिन्छ। सेवाको उद्देश्य लिएको व्यक्तिले अवाञ्छित सम्झौता गर्न सक्दैन। २०४८ सालपछि शक्तिमा रहने अधिकांश व्यक्तिले राजनीतिलाई व्यवसाय बनाउँदा राष्ट्रले अपेक्षित गति लिन सकेन। हामीले यसका लागि राजनीतिक दलको नेतृत्वलाई दोष लगाएर बसेका छौँ। यो सोचेका छैनौँ कि दलको नेतालाई व्यावसायिक बनाउन हाम्रो पनि योगदान छ। तसर्थ राष्ट्रको चिन्ता गर्ने हो भने हामीले हाम्रो संस्कार प्रवृत्तिमा परिवर्तन गर्नु जरुरी छ। निर्वाचित गर्नु मात्र हाम्रो कर्तव्य होइन। निर्वाचित व्यक्तिलाई खबरदारी गर्नु, सचेत गराउनु र बाटो बिराउँदा आलोचना गर्नु पनि हाम्रो कर्तव्य हो। हामी कर्तव्यपालनमा विचलित नहुने हो भने खराब बनेको राजनीतिलाई ठीक ठाउँमा ल्याउन सकिन्छ। 

(पूर्वकेन्द्रीय सदस्य, नेका)

प्रकाशित: २१ वैशाख २०७८ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App