१ जेष्ठ २०७८ शनिबार
विचार

औषधिको बदलिँदो आयाम

परम्परागत ओखतीले क्यान्सर ‘अटोइम्युन डिजिज’ लगायतका शारीरिक समस्या समाधान गर्न असफल भएपछि जटिल रोगको इलाजका लागि नवीन उपचार ढाँचा आवश्यक देखियो। ल्याब निर्मित रासायनिक पदार्थले धेरै रोगको उपचार गरे पनि अर्बुद रोग जस्ता महारोग निको पार्न नसकेपछि प्राकृतिकरूपले उपलब्ध ‘बायोलोजिकल सिस्टम’ लाई उपयोग गरेर बिरामी निको पार्न सकिन्छ कि भन्ने सोच बन्यो। अध्ययन/अनुसन्धान गरियो। बायोलोजिकल सिस्टमलाई प्रयोग गरी मानिसलाई निरोगी–दीर्घजीवी राख्ने प्रक्रियामा गरिएका अनुसन्धानलाई प्रस्तुत गर्नु यो आलेखको लक्ष्य हो।

संयुक्त राज्य अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक टोमस र्‍यान्डो नेतृत्वको अनुसन्धान समूहले वृद्धलाई वयस्क बनाउन सकिन्छ कि भनी धेरै प्रकृतिको अध्ययन गरे। अनुसन्धानका क्रममा प्रयोगात्मक जनावर ‘मुसा’ मा गरिएको एउटा अनुसन्धानले संसारलाई हलचल पार्‍यो। अन्वेषणको क्रममा वृद्ध र युवा मुसाको रक्तसञ्चार प्रणालीलाई ‘सर्जरी’ मार्फत एकै धारमा समाहित गरियो। दुई मुसाको रक्त सञ्चार प्रणाली एउटै बन्यो। यसरी वृद्धको रगत युवामा अनि वयस्कको ‘ब्लड’ पाको मुसामा सञ्चार भएपछि केही हप्ताको अन्तरालमै बूढो जनावरको शारीरिक बनोट र तन्तुहरूमा चमत्कारी परिवर्तन देखियो। जीवनको उत्तरार्धमा पुगेको पाको जनावर भर्खरको हुँदै आयो। वृद्ध मुसालाई ऊर्जावान बनाउन सफल भएको उक्त अनुसन्धान सन् २००५ मा जर्नल ‘नेचर’ मा छापियो। उक्त परिणाम ‘एन्टी एजिङ’ को क्षेत्रमा उत्खनन गर्ने अनुसन्धानकर्ताका लागि धेरै लापप्रद् देखियो।  

उमेर ढल्कँदै गएपछि शारीरिक तन्तु तथा अस्तिपञ्जर प्रणालीका कोस (सेल)हरू पुनर्उत्पादन हुन नसक्ने अवस्थामा पुग्छन्। परिणामस्वरूप मांसपेसीहरू झोलिन्छन्, मेरुदण्ड शिथिल हुँदा शरीर कुप्रो हुन्छ। तर डा. र्‍यान्डोको उल्लिखित अनुसन्धानले शरीरका अंग साटासाट नगरी केबल रक्तसञ्चार प्रणालीलाई मात्र एउटै घारमा ल्याउँदासमेत उमेरको बढोत्तरीलाई विपरित धारमा पुर्‍याउन सफल होइन्छ भन्ने देखायो। युवाको ‘ब्लड’ मा भएको कुन ‘मोलिकुल्स’ ले पाको मांसपेसीलाई चुस्तदुरुस्त बनाउँछ भनी एकीन गर्न सके ‘एन्टी एजिङ’ को क्षेत्रमा ठूलो योगदान हुन्छ नै।  

ब्याक्टेरिया, भाइरसलगायतका विभिन्न जीवाणुले हामीलाई अनवरतरूपले संक्रमण गरिरहन्छ। शरीरमा पसेका जीवाणुलाई नाश गर्न ‘इम्युन सिस्टम’ (प्रतिरक्षा प्रणाली) का कोसहरू निरन्तर खटिरहन्छन्। प्रतिरक्षा प्रणालीका कोसहरूले समयमै जीवाणुलाई परास्त गरे हामी स्वस्थ हुन्छौँ तर प्रतिरक्षा कोसहरू अभियानमा असफल भए रोग लाग्छ, मृत्यु हुन सक्छ। महामारीका रूपमा रहेको कोरोना भाइरसले संक्रमण गर्दा प्रतिरक्षा कोसले भाइरसलाई सहजै परास्त गर्न सकेको अवस्थामा व्यक्ति रोग मुक्त हुन्छ। प्रतिरक्षा प्रणालीका कोसले भाइरसलाई परास्त गर्न नसक्दा व्यक्ति मर्छ।

प्रतिरक्षा प्रणालीका कोसहरू अति नै जटिल हुन्छन्। आवश्यकताअनुसार आफूलाई परिमार्जन गर्दै विभिन्न चरित्रका कोस निर्माण गर्न सक्छन् उनीहरूले। ‘इम्युन सिस्टम’ ले बाह्य संक्रमणबाट मात्र होइन, शरीरमा बायोलोजिकल सन्तुलन कायम गर्ने क्रममा उत्पादन हुने घातकताबाट समेत जोगाउँछ। कोस विभाजनका क्रममा विकृति आउँदा क्यान्सरजन्य कोसको उत्पत्ति हुन्छ। विक्षिप्त प्रकृतिका कोस उत्पादन हुने रफ्तार मानव शरीरमा निकै उच्च छ। अनि ती अस्वाभाविक ‘सेल’ लाई समयमै नियन्त्रण गर्न नसके अर्बुद रोगको कारक हुन सक्ने देखियो।

तर असामान्य चरित्रको कोस बन्नेबित्तिकै प्रतिरक्षा प्रणालीको क्यान्सर भेदन क्षमता भएको विशिष्ट चरित्रको ‘टि सेल’ ले उक्त विक्षिप्त प्रकृतिको कोसलाई मार्छ। असामान्य कोस उत्पादन हुने अनि प्रतिरक्षा प्रणालीका ‘टि सेल’ ले उक्त कोसलाई मार्ने क्रम दैनिकरूपले दर्जनाैंपटक भइरहन्छ। युवा अवस्थामा अत्यधिक क्रियाशील हुने भएकाले पैदा भएका अर्बुद कोसिकालाई ‘टि सेल’ ले सहजै नास गर्छ। तर उमेर पाको भएपछि प्रतिरक्षा प्रणाली शिथिल हुने भएकाले शरीरमा उत्पादन हुने ‘क्यान्सरस सेल’ लाई विनाश गर्न ‘टि सेल’ असफल हुन्छ। वृद्धावस्थामा असामान्य चरित्रको कोस मार्न शिथिल इम्युन सिस्टम असफल हुन सक्ने भएकाले पाको उमेर समूहमा क्यान्सर अत्यधिक देखिनु अस्वाभाविक भएन।

प्रतिरक्षा प्रणालीअन्तर्गतको ‘क्यान्सरस सेल’ मार्ने हैसियत राख्ने ‘टि सेल’ क्रियाशील भएको अवस्थामा अर्बुद रोग नलाग्ने देखिएपछि प्रकृतिको उक्त छनोट विधिलाई उपयोग गरी ओखती बनाउन फर्मा कम्पनीहरू सक्रिय भए। ल्याबमा ‘टि सेल’ उत्पादन गरी क्यान्सरका बिरामीलाई ‘इन्जेक्ट’ गरी अर्बुद रोगका कोसहरू मार्ने रणनीतिमा लागे ओखती निर्माताहरू। परिणामस्वरूप गिलियाड, नोर्भाटिस तथा ब्रिस्टल मायर्सका ‘टि सेल’ विधिमा आधारित क्यान्सरका ओखती विभिन्न नामले हाल बजारमा उपलब्ध छन्। आवधिक तथ्यांक हेर्दा क्यान्सरको संभाव्य ओखती हुने आशामा झण्डै ५०० किसिमका ‘टि सेल’ क्लिनिकल ट्रायलमा रहेको देखियो। सफल भएका ‘टि सेल’ मा आधारित क्यान्सरका ओखतीहरू छिट्टै बजारमा आउने देखियो।

कुनै पनि जीवलाई दुरुस्त राख्न अणुवांशिक पदार्थ ‘जिन’ को बनोट त्रुटिरहित हुनुपर्छ। मानव शरीरमा झण्डै ३० हजार किसिमका जिन हुन्छन्। यद्यपि ती सबै उत्तिकै महत्वपूर्ण भने हुँदैन। कुनैमा खराबी आए मानिस मृत्युको मुखमा पुग्छ भने कुनै जिनको कैफियत चिकित्सकको जानकारीमासमेत आउँदैन। खराब जिनका कारण लाग्ने रोगलाई ‘जेनेटिक डिजिज’ भनिन्छ।  

स्वास प्रस्वासका क्रममा वातावरणीय अक्सिजनलाई शरीरमा पुर्‍याउने काममा रातो रक्त कणिका (रेड ब्लड सेल)को महत्वपूर्ण भूमिका रहन्छ। रातो रक्त कणिकाको आयु ४ महिना अनि आकृति गोलाकार हुन्छ। तर ‘सिकल सेल एनिमिया’ का बिरामीको ‘रेड ब्लड सेल’ हँसिया आकारको हुन्छ अनि कोसको आयु करिब १० दिन मात्र हुन्छ। यसरी खराब प्रकृतिको रातो रक्त कणिकाका कारण बिरामीले पर्याप्त अक्सिजन पाउन सक्दैनन्, अनि विविध किसिमका शारीरिक समस्या देखिन्छ।

एउटा जिनमा आउने खराबीका कारण ‘सिकल सेल एनिमिया’ रोग लाग्छ। बिरामी निको पार्न जिनको कैफियत भागलाई सकुशल खण्डले प्रतिस्थापन गर्न आवश्यक हुन्छ। नोबल पुरस्कार प्राप्त वैज्ञानिक जेनिफर डोडनालगायतका वैज्ञानिक समूहले विकास गरेको ‘क्रिस्पर’ विधिमार्फत जिनको खराब भागलाई सहजै काटेर दुरुस्त अणुवांशिक पदार्थ बनाउन सकिने भएकाले सिकल सेल एनिमियालगायत विभिन्न किसिमका ‘जेनेटिक डिजिज’ को उपचार सहजै गर्न सकिने देखिएको छ। जिनमा देखिएको समस्या स्थायीरूपले समाधान गर्ने विधिलाई ‘जिन थेरापी’ भनिन्छ।

केही रोग केबल एउटा जिनमा आएका खराबीका कारण लाग्छ। त्यस्तो अवस्थामा केवल एक जिनमा देखिएको खराबीलाई सुधार्न सके बिरामी निको पार्न सकिन्छ। तर उच्च रक्तचाप, मुटुका रोग, मधुमेह तथा अल्साइमर्स जस्ता शारीरिक समस्या केबल एउटा जिनमा आउने खराबीका कारण नभएर धेरै जिनमा एक्कासि आउने त्रुटिका कारण लाग्ने भएकाले त्यस्ता रोग निको पार्न धेरै जिनका समस्या समाधान गर्न आवश्यक छ। यसरी एउटा रोग निको पार्न धेरैवटा जिनका बनोट सुधार गर्नुपर्ने भएपछि शारीरिक समस्याको निराकरण जटिल बन्छ।

आनुवांशिक पदार्थको बनोटको सूक्ष्म अध्ययनले मानिसमा लाग्ने धेरै किसिमका रोगको कारक जिनमा आउने खराबी देखिएको छ। जिनका कैफियत सुधार्न सके रोग स्वतः निको पार्न सकिने भएकाले धेरै फर्मास्युटिकल कम्पनीको प्राथमिकता परम्परागत ओखती बनाउने भन्दा जिन थेरापीमा परेका छ। आवधिक तथ्यांकले ४०० भन्दा अधिक जिन थेरापी विधिहरू क्लिनिकल ट्रायलका विभिन्न चरणमा पुगेको देखिए। क्लिनिकल ट्रायलले सफलता पाएको खण्डमा आजन्म ओखती खानुपर्ने संहितामा परेका मधुमेह तथा ब्लडप्रेसरको उपचार जिन थेरापी विधिमार्फत सहजै गर्न सकिने छ। वैज्ञानिक अनुसन्धान तथा क्लिनिकल ट्रायलमा रहेका उपचार विधिको सफलता हेर्दा ‘सेल थेरापी तथा जिन थेरापी’ पद्धतिमार्फत ब्लड प्रेसर, डायबेटिज जस्ता चिरकालीन रोग मात्र होइन, बरु धेरै किसिमका क्यान्सरको उपचारसमेत निकट क्षितिजमा देखिन्छ।

प्रकाशित: १४ वैशाख २०७८ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?