१ जेष्ठ २०७८ शनिबार
विचार

अस्तित्व रक्षाको जिजीविषा

पण्डित तिलमाधवले घरमा गएर पढाउँथे, नाति बाबुसाहेबलाई। धीरशमशेरका सत्र जना छोरामध्येका एक डम्बरशमशेरका छोरा समरका माहिला छोरा बालकृष्ण शमशेर (बालकृष्ण सम) लाई ‘माहिला नाति बाबुसाहेब’ भनिन्थ्यो। समको कृतिमा ऊबेलाको रोचक वर्णन छ। सरल, सरस र हृदयस्पर्शी त छँदैछ, निष्कपट छ उनको कलम।

कुनै पनि इतिहास बुझ्न जरासम्म पुग्नुपर्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाका पिता तिलमाधवले बालकृष्णका पिता समरशमशेर र दाजु पुष्करलाई पनि पढाएको हुँदा राणा परिवारमा उनको ठूलो इज्जत थियो। नेपाली र संस्कृत भाषाका विद्वान् थिए, तिलमाधव। उनका कविताबाट प्रेरणा लिएर समरले पनि कविता लेखे। मोतीराम भट्टको शैलीमा आद्यात्मिक चिन्तनले ओतप्रोत ती कविता सुन्दर छन्। बालकृष्णले आफू सेक्सपियरबाट प्रभावित भएको लेखेका छन्। उनको साहित्यमा जीवनप्रतिको मोह छ र अस्तित्व रक्षाका लागि देखिएको जिजीविषा पनि छ।

आफू सानै छँदा राजा त्रिभुवनका पिता पृथ्वीवीरविक्रम शाह आफ्नो घरमा नाचगान हेर्न आएको कुरा पनि सम्झेका छन्, बालकृष्णले। उनको संस्मरण छ– पृथ्वीवीरविक्रम सुन्दर थिए। नाटक हेर्न छाडेर किन मलाई हेरेको भनेर राजाले सोद्धा उनले बालसुलभ जवाफ दिएछन्– राम्रो लागेर हेरेको।

बितेका सय वर्षको कालखण्ड मात्र हेर्ने हो भने उच्चस्तरको जीवनशैली बिताउने सुखभोगी पनि सरल थिए। तडकभडक गर्ने थोरै थिए। दार्जिलिङ, दिल्ली र देहरादूनका राम्रा स्कुलमा पढेका केही शिक्षित तथा सम्भ्रान्तसँग भेट्दा उनीहरूले विश्व साहित्य, इतिहास, सभ्यता र संस्कृतिको चर्चा गर्थे। जीवनका बारेमा उनीहरूको छुट्टै दृष्टिकोण थियो। उनीहरू भन्ने गर्थे, धेरै धनले मात्र मानिस सुखी हुँदैन। खुसीले मात्र जीवन अर्थपूर्ण हुँदैन। त्यही खुसीले मानिसलाई बाँच्न सिकाउँछ।

२०३८ सालमा राजधानी आएपछि मैले झण्डै पाँच वर्ष संसद्मा रिपोर्टिङ गरेँ, जुन रेडियो नेपालबाट प्रसारण हुन्थ्यो। धेरैजसो सांसद (राष्ट्रिय पञ्चायत सदस्य) शिष्ट र विनयी थिए। सदाचार, अनुशासन र मर्यादाको लक्ष्मणरेखा नाघेर जथाभावी गर्नेको राजनीतिक भविष्य समाप्त हुने डर भएकाले उनीहरूमा आत्मअनुशासन पनि थियो।

हप्तामा एकपल्ट समय मिलाएर पुराना मानिससँग भेट्दा राजनीतिबाहेक विविध विषयमा पनि सिक्न सकिन्थ्यो। विद्वान्हरू भन्छन्– ज्ञान प्राप्त गर्ने पहिलो चरण श्रवण (सुनाइ) हो। सुनेर, बोलेर, पढेर अनि लेखेर चार चरणबाट शिक्षा पाउन सकिन्छ। ज्ञानीजनका कुरा सुन्ने आदतले धेरै सिक्न सकिन्छ।

त्यही क्रममा सिद्धिचरण श्रेष्ठ, बालकृष्ण समलगायतका मूर्धन्य साहित्यकारदेखि टंकप्रसाद आचार्यलगायतका राजनेताहरूसँग सिक्ने अवसर मिल्यो। २००७ देखि पत्रकारितामा सक्रिय मणिराज उपाध्याय, श्यामदास वैष्णव र बालमुकुन्ददेव पाण्डेलगायतका विचार सुन्दा सरल जीवन प्रलोभनरहित, सहज र स्वाभिमानपूर्ण हुँदोरहेछ भन्ने थाहा भयो। लोभी, कपटी, स्वार्थी र अहंकारीहरू काँतर हुन्छन्। दुरासय नभएका मानिस इमानदार हुन्छन्। इमानदार मात्रै साहसी हुन्छन्।

नेपालका पुराना राजनीतिज्ञ, प्रशासक, साहित्यकार, खेलाडी, संगीतकार, कूटनीतिज्ञ आदिको जीवनगाथा सरल थियो। दिल्लीमा २००८ सालमा भएको प्रथम एसियाली खेलकुदमा नेपाली प्रतिनिधिमण्डलका नेता कृष्णबहादुर बर्माले एउटा अन्तर्वार्तामा पंक्तिकारलाई भनेको सम्झिन्छु– सबैको भलो चिताऊ भन्ने पुर्खाले सिकाए। सबै सुखी र निरोगी रहनू भन्ने चिताए। सनातन धर्मले ‘तेरो–मेरो’ भनेकै छैन। विश्वका सबै नागरिक एकै हुन् भनेको छ। जात, धर्म, सम्प्रदायको पर्खाल लगाएर मानिस चार किल्लाभित्र कैदी हुन चाहन्छ किन ? मैले बुझेको छैन।

नोबेल पुरस्कार पाउने भिएस नयपाल (नेपाल) ले आफ्नो मूलथलो नेपाल नै हो भनेका छन्। सन् १८७२ मा भारतबारे ब्रिटिसहरूले प्रकाशित गरेको अभिलेखमा नेपालबाट वनारसमा गएर बसेका नेपाली ब्राह्मणको थरको चर्चा गरिएको छ। त्यसैलाई आधार मानेर भिएसले आफू नेपाली मूलको बाहुन रहेछु भन्ने कुरा चाल पाएको प्रवचनका क्रममा बोलेका छन्। मातृभूमि वा पुर्खाको थलो सबैलाई प्रिय लाग्छ तर धन, शक्ति र स्वार्थका लागि राष्ट्रलाई आघात पुर्‍याउनेहरूको पंचमाङ्गी (फिफ्थ कलम्निस्ट) प्रवृत्ति सदैव त्याज्य, उपेक्षित र घृणित हुन्छ।

पिता श्रीप्रसाद नेपाल भारतको वनारसबाट कामको खोजीमा ट्रिनिडाड पुगेका गरिब व्यक्तिका छोरा थिए। श्रीप्रसाद राम्रोसँग पढेर पत्रकार भए। बाबु पत्रकार भएकाले उनको सरल जीवनबाट प्रेरित भए विद्याधर सुरजप्रसाद नेपाल। जगजाहेर छ, नेपाललाई ब्रिटिसहरू नयपाल भन्छन्। स्कुलमा ब्रिटिस शिक्षकहरूले नेपालको सट्टा ‘नयपाल’ बनाए भिएसलाई।

साङ, झाओ (चाओ) चीन, हान, ताङ आदि राजवंशले हजारौँ वर्ष जोगाएको प्राचीन सभ्यता कसरी बचाउने भन्ने चिन्ताले ‘ईश्वर नमान्ने’ त्यहाँका कम्युनिस्ट शासकहरूलाई सताउन थालेको पाइन्छ। पुर्खाले बनाएका गुम्बा, बिहार र मठ भत्काउँदै सांस्कृतिक क्रान्तिका नाममा भएका उत्ताउला कर्मले कम्युनिस्टहरू बदनाम भए। केही वर्षयता प्राचीन धरोहर जोगाउने अभियानमा छ, चीन सरकार। जीवनलाई सरल, सहज र शान्त बनाउन मनलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने बुझे कम्युनिस्टहरूले। त्यही नै अस्तित्व रक्षाको जिजीविषा ठहरियो।  

ईश्वरका नाममा पदको सपथ ग्रहण नगर्ने नेपालका कम्युनिस्टहरू देवीवताको दर्शन गर्न थालेका छन्। हरहर महादेव, रामराम, जयश्रीकृष्ण र दुर्गा भवानी शरणम् भन्न थालेका छन्। सत्यनारायणको पूजा गरेर अपुंगो र पञ्चामृत खान थालेका छन्। लाग्छ, अब बल्ल उनीहरूको बुद्धिबंगारा पलाउँदैछ।

भागवत्गीता, महाभारत, त्रिपिटक, वेद, उपनिषद्, ताओ शिन्तो, शिख आदि धर्मले जसरी एसियालाई जागृत गरायो, त्यसरी ज्ञानको अनन्द स्रोत पाएनन् सबैले। युरोपमा सयौँ वर्ष शक्तिका लागि धर्मको दुरुपयोग भयो। राजा र चर्चहरूले आ–आफ्ना फौज बनाएर युद्ध गरे। सत्य युगबाट त्रेता र द्वापर युगमा एसियामा थुप्रै देवीदेवताका अवतार पैदा भए। क्रिस्चियन धर्मका प्रवर्तक जिसस क्राइस्ट एसियामै पैदा भए। युरोप अमेरिकाले कुनै भगवान जन्माएनन्।  

सुमेरियन सभ्यताले धर्म (कर्तव्य) सिकायो। सहर, नहर, प्रगतिमार्ग र मानवकेन्द्रित भौतिक विकास सिकायो। सत्तरी वर्षअघिसम्म ब्रिटेनको मुद्रा चलाउने भारतमा आज पनि उच्च वर्ग आफूलाई ‘इन्डियन’ भन्छ र युरोपियनको नक्कल गर्छ। हिन्दुस्तानी वा भारतीयहरू हिन्दी वा स्थानीय भाषा बोल्छन्। हुनेखानेहरू बाँसका टुसा जस्तो ठाडो हुँदै तनक्क तन्केर हिँड्छन्। श्रमजीवी दरिद्र किसान–मजदूर घामले लत्रेको पालुंगो जस्ता देखिन्छन्। नेपालीमा दासत्वभाव देखिँदैन। प्रायः सबैको मुहारमा स्वाभिमान छ किनभने हामी परतन्त्रको सिकार भएनौँ।

माल्टाको ‘मेगालिथिक’ मन्दिर हजारौँ साल पुरानो हो। स्कटल्यान्डको न्याप अफ हवार, इजिप्टको पिरामिड, मोहेन–जोदारो, साइरसको समाधि (इरान), भारतको अजन्ता गुफा आदि पुर्खाको कीर्ति मानेर विश्व सम्पदाका रूपमा जोगाइएको छ। अफ्रिका, एसिया, युरोप सबैतिर सभ्यताचेत पाइन्छ। नवीन पुस्तालाई जीवनको अर्थ सिकाउन सभ्यता बिर्सन हुँदैन भन्ने चेतना विकसित हुँदै गएको छ।

काठमाडौँ (कान्तिपुर) सहर बसाउने राजा गुणकामदेवको शासनकाल १०४३ सालबाट सुरु भएको मानिन्छ। इतिहासलाई ‘वाहियात’ मान्नेहरूले उनी जस्ता योग्य शासकका बारेमा अध्ययन गर्न चाहेनन्। ठमेलबाट मरुहिटीसम्म विस्तीर्ण कान्तिपुर सहर तन्त्र विधिबाट बनेको हो। यो आद्यात्मिक सहर नै हो। ‘यहाँ ढुुंगाढुंगामा देवताको बास छ’ भनेझैँ हाम्रा प्राचीन सम्पदा कुनै पनि ठाउँमा अर्थहीन ठहरिँदैनन्। 

हजारौँ वर्ष पुरानो सभ्यतालाई ‘कालो कालखण्ड’ मान्ने भूल गरेर राजनीतिक अगुवाहरूले स्कुल–कलेजमा इतिहास सिकाउनै चाहेनन्। ‘जहाँ म उभिन्छु, पंक्ति त्यहीँबाट सुरु हुन्छ’ भन्ने भ्रममा छन् उनीहरू। त्यसैले पाँच हजार वर्ष भन्दा लामो कालखण्डमा नेपालका राष्ट्रनायक बनेका १९२ जना राजाका बारेमा उनीहरूमध्ये धेरैजसो अनभिज्ञ छन्। जुन वृक्षमा चढेर मच्चिएका छन्, त्यो रुखको बारेमा ज्ञान छैन। उनीहरू आफैँलाई राजा ठान्छन् र २०६३ सालपछि ‘प्राप्त उपलब्धि (?)’ जोगाउन इतिहासलाई खरानी बनाइरहेका छन्।

इसापूर्व ३२० मा स्थापित सान मारिनोलाई ‘पुरानो देश’ भन्छन् उनीहरू। चानचुन एक हजार वर्षपहिले ‘राष्ट्र’ बनेको पोर्चुगल भूमि भनेर गर्व गर्छन् पोर्चुगिजहरू। बरु इशापूर्व ६ हजार वर्षपहिलेको इजिप्ट धेरै जेठो हो। इथियोपिया अफ्रिकाको सर्वाधिक पुरानो राष्ट्र हो। विदेशीहरूले कम्युनिस्टलाई प्रयोग गरेर सन् १९७० को दशकदेखि गृहयुद्ध चलाए। ‘जहाँ कम्युनिस्ट त्यहाँ कचिंगल’ भन्थे मेरा एक जना प्रोफेसर। 

कम्बोडिया, कंगो, रुवान्डा, अफगानिस्तान, श्रीलंका, कोलम्बिया, लाओस, सोमालिया, स्पेन, बंगलादेश, मलेसिया, म्यान्मार, मेक्सिको, पेरु, निकारागुवा, नेपाल, भारत, यमन, साल्भाडोरलगातका पचासौँ राष्ट्रमा कम्युनिस्टले राजनीतिक कोरोना, करप्सन (भ्रष्टाचार) र क्लिप्टोक्रेसी (चोरतन्त्र) मात्र चलाएनन्, धनी ‘कमरेड’ मिलेर दरिद्र कम्युनिस्टको घोर शोषण गरे। नेपालमा कम्युनिस्टले ‘कमरेड’ (साथी) बुझाउन ‘क.’ लेख्छन्। ती दुई वर्गमा विभक्त छन्, क. माने करोडपति, क. माने कंगाल। एउटा ब्रिटेन, अर्को बंगाल।

रसियाको साम्यवादबारे एउटा जोक प्रसिद्ध छ। कम्युनिस्ट नेताको नातिले स्कुलमा गएर शिक्षकलाई सुनाएछ– ‘सर मेरो घरमा बिरालोका सातवटा छाउरा जन्मिएका छन्। ती सबै कम्युनिस्ट हुन्।’ ‘वाह, कमरेडका घरमा चारखुट्टे पनि कम्युनिस्ट ? कति राम्रो ?’ शिक्षक बोले। अर्को हप्ता शिक्षकले ती छाउराका बारेमा सोध्दा बालक बोल्यो– ती छाउरा अस्तिसम्म कम्युनिस्ट थिए, अहिले पुँजीवादी भइगए।

शिक्षकले ‘कसरी’ भन्नासाथ बालक बोल्यो– सबै छाउराले आँखा खोले। सभ्यता, देवता, धर्म, संस्कृति, परम्परा, मूल्य/मान्यता केही नमान्ने नेपाली कम्युनिस्टहरू पनि ‘मीठो लाग्छ मलाई त प्रिय कथा, प्राचीन संसारको’ भन्दै सत्य स्वीकार्न र आँखा उघार्न थालेका छन्। रामनाम जप्न र टीका थाप्न थालेका छन्। ‘जब जागा तब सबेरा’ भनेको यही हो, शायद।

प्रकाशित: १० वैशाख २०७८ १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?