७ वैशाख २०८१ शुक्रबार
विचार

हाँडीगाउँ गहना खोज्ने पोखरीको जात्रा

कवि शिरोमणि लेखनाथ पौड्यालले वसन्त ऋतुको बखान गर्दै लेखेका छन्– हिमालमा गयो जाडो, लोक सानन्द देखियो। उदायो रसिलो राम्रो, ऋतुराज वसन्त यो।उनले भने जस्तै काठमाडौँ उपत्यकामा वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यका जात्रामय बनेको छ। यसै क्रममा काठमाडौँको मध्यक्षेत्रमा रहेको हाँडीगाउँमा वैशाख कृष्ण प्रतिपदा तद्नुसार आउँदो वैशाख १५ गते अपराह्न गहनापोखरीको जात्रा हुँदैछ।

गहनापोखरी किराँतकालबाटै चल्दै आएको गहना खोज्ने जात्राको केन्द्र हो। खटमा टुँडालदेवी (जसलाई वैष्णवीदेवी पनि भनिन्छ) राखेर यही पोखरीमा तीनपटक घुमाइन्छ। यो जात्राको सञ्चालन नेवार समुदायका ज्यापूले गर्छन्। नेपालभाषामा यस जात्राको बखान यसरी गरिन्छ– नरः (हाँडीगाउँ) मा तिसाः मालिगु जात्रा ( गहना खोज्ने जात्रा) हुँदैछ। त्वरंः अजिमा (वैष्णवी टुँडालदेवी) को मूर्तिलाई खटमा राखेर तिसाः मालिगु पुखु (गहना पोखरी) मा भित्र डुबाएर परिक्रमा गराइन्छ। ल्हुती पुन्हीका दिन टुँडालदेवीको जात्रा सुरु हुन्छ। त्यसदिन मपता अजिमा (भाटभटेनी) को मूर्तिलाई पनि टुँडालदेवी ल्याउने गरिन्छ। त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ।

हरेक जात्राका पछाडि केही न केही किंवदन्ती जोडिएका हुन्छन्। आमा टुँडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले एक पोडेसँग आफ्नी आमाको अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन्। त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरू उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्पराअन्तर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको बताइन्छ। अर्को किंवदन्ती र शीलालेख उल्लेख गर्दै पुरातत्वविद्हरू यसो भन्छन्– किराँत–लिच्छविकालमा काठमाडौँको राजधानी हाँडीगाउँ थियो। कैलाशकुट दरबारबाट सातौँ शताब्दीमा जारी गरिएको शीलालेखमा ‘अन्डिपीजात्रायाम’ भनेर लेखिएको छ। 

उक्त शीलालेखमा यो जात्रालाई दरबारले वार्षिक एक हजार पण (तत्कालीन समयको मुद्रा), २२ घडा, बिजोर गहना र लत्ताकपडा दिनुपर्ने उल्लेख छ। सन् १९८८ मा इटालियन पुरातत्वविद्ले हाँडीगाउँको सत्यनारायणमा उत्खनन गरे। ढुंगेधाराको टुटीमा ‘ओम अन्डिग्रामे..’ लेखेको भेटियो। यसबाट त्यो ठाउँको मौलिक नाम अन्डिग्राम भएको प्रस्ट हुन्छ। किराँतकालमा चाहिँ अन्डिप्रिङ थियो। लिच्छवि आएपछि ठाउँको नाम परिवर्तन गरेर ग्राम र नगर बनाइयो। कारण, उनीहरू संस्कृत प्रयोग गर्थे। अन्डी पछि अपभ्रंश हुँदै हाँडी बन्यो, ग्रामचाहिँ गाउँ।

किराँतकालमा हरेक ठाउँमा फरक देवता हुन्थे। सोहीअनुसार जात्रा हुन्थे। कैलाशकुटको शीलालेखबाट यहाँ पहिलेबाटै जात्रा चलिरहेको प्रष्ट हुन्छ। अहिलेको गहना खोज्ने जात्रा त्यही ‘अन्डिप्रिङ’ भएको तर्क गरिन्छ। अर्को एक प्रसंगमा पुरातत्वविद्हरू भन्छन्– सातौँ शताब्दीमा चिनियाँ राजदूत वाङ हुयन चे नेपाल आएका थिए। नरेन्द्रदेवले हाँडीगाउँबाट राज्य सञ्चालन गरिरहेको समय थियो त्यो। नरेन्द्रदेवको मानमनितोबाट वाङ खुब प्रभावित भए। उनले स्वदेश फर्केर यात्रावृत्तान्तमा लेखे– ‘नरेन्द्रदेवले राजकीय र विशिष्ट पाहुनालाई कैलाशकुट दरबारको कौसीमा लगेर पोखरी देखाउँथे। पोखरीमा बेलाबेला अवलोकितेश्वर भगवानको श्रीपेच आउँछ।

फलाम हाल्दियो भने सुन निस्कन्छ आदि भनेर बखान गर्थे रे। भनिएतापनि हालसम्म यसको कुनै वैज्ञानिक पुष्टि हुनभने सकेको छैन। टुँडालदेवीको रथलाई हाँडीगाउँस्थित गहनापोखरीमा तीनपटक परिक्रममा गराइ टुँडालदेवीको जात्रा मनाइन्छ। किम्बदन्तीअनुसार टुँडालदेवी, गहना खोज्न पोखरीमा गएकाले उक्त पोखरीको नाम गहनापोखरी रहन गएको हो। त्यसैले टुँडालदेवीको गहना खोज्न रथलाई पोखरीभित्र लैजाने र महालक्ष्मीको रथ पोखरीबाहिर राखेर यो जात्रा मनाउने गरिन्छ।

कुनै वैज्ञानिक आधार नभएतापनि हाम्रा चाडपर्व, जात्राआदि हाम्रो संस्कृतिका अभिन्न अंगहुन्। यसमा कुनै शंका छैन। यसको उचित संरक्षण संवर्धन हुन सकेन भने हाम्रा यी चाडपर्व लोपहुँदै जानेछन्। तसर्थ यसको संरक्षणगर्नु आवश्यक छ।  

प्रधामन्त्रीनिवासको दुईकिलोमिटरको परिधिभित्र रहेको र अख्तियारसँग लगभग जोडिएको गहनापोखरीपनि विभिन्न किसिमको अतिक्रमणमा परेको छ। भन्नलाई भनिन्छ– हाँडीगाउँ नेपालको सबभन्दा प्राचीन संस्कृति बोकेको ठाउँ हो। तर यहाँ विभिन्न बहानामा सरकारी जग्गा हडप्ने कार्य जारी छ। गहनापोखरीकै कुरा गर्दा त्यसको मौलिकता र ऐतिहासिकतालाई मासेर राम्रो बनाउने नाममा सिमेन्ट र कंक्रिटले घेरिएको छ। 

छेउमा लहरै बत्ती छन्, बीचमा सेतो रंगको फाउन्टेन। त्यसको बाहिर सिमेन्ट कंक्रिटको बेन्च। बाहिर फलामे रेलिङले घेरिएको छ। त्यसबाहिर पनि फेरि फलामे रेलिङले घेरिएको छ। यस्तो कार्यले कसरी गहनापोखरीको प्राचीनतालाई झल्काउँछ ? गहनापोखरीको वरिपरिको क्षेत्रफल खुम्चिँदै गएको छ। पश्चिमतर्फ प्रहरीद्वारा अतिक्रमित भएको छ। पूर्वतर्फ निजीगुठी,पाटीका नाममा अतिक्रमित भएको छ। दक्षिणतर्फ विभिन्न व्यक्तिले अतिक्रमण गरेका छन्। यस अतिक्रमणको विरोधमा स्थानीयले अख्तियारमा ऊजुरीसमेत हालेका थिए तर हालसम्म अख्तियारबाट कुनै कारबाही भएको छैन। यस्तै क्रम जारी रह्योभने कुनैदिन गहनापोखरीको जात्रा इतिहासमा सीमित हुनेछ। यसले स्थानीय सम्पदाप्रेमी मर्माहत भएका छन्। २०७२ सालमा भूकम्पबाट जोगिन यस क्षेत्रका बासिन्दाले यही पोखरी वरिपरि आश्रय लिएका थिए।

हाँडीगाउँको जात्राको प्रसङ्ग आउनेबित्तिकै ‘कहीं नभएको जात्रा, हाँडीगाउँको’ भनेर मानिसले सम्झने÷बुझ्ने गर्छन्। वास्तवमा अहिले वैशाख १५ गते हुनलागेको गहनापोखरीको जात्रा यो होइन। ‘कहीँ नभएको जात्रा, हाँडीगाउँको’दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइन्छ। यसको किंबदन्ती यसप्रकार छ–लिच्छविकालीन समयमा विशालनगर विद्यापुर नामको सहर थियो। 

जुन सहर उत्तर शिवपुरी पहाडको फेदमा बूढानीलकण्ठ नारायण र दक्षिणमा पाटनको शंखमूल र पूर्वमा देवपत्तन, पश्चिममा नारायण चौर विष्णुमतीसम्म फैलिएको देखिन्छ। सोही समयमा राजपरिवारका दिदी–बहिनीबीच प्रसूतिसम्बन्धमा दैवी शक्ति आवश्यक पर्छ भन्ने विषयमा दिदीको भनाइ बहिनीले इन्कार गरी आफ्नै बल शक्तिले बच्चा जन्माउन सकिन्छ, ईश्वर (नारायण) को शक्ति आवश्यक छैन भन्ने धारणा राखिन्।

बहिनीको अहं भावले १२ वर्षसम्म पनि बच्चा नजन्मेर साह्रै कष्ट भोग्नुपरेको हुँदा ज्योतिषिलाई देखाउँदा नारायणलाई हेलाँ गरी आफ्नै शक्तिले बच्चा जन्माउन सकिन्छ भनेका कारण नारायण रिसाएर हिमालमा गएर बसेको हुँदा कहीँ नभएको तरिकाले जात्रा गरी फकाएर ल्याएमात्रै बच्चा जन्मिन्छ भनेको हुँदा यो जात्रा चलाएको भन्ने किंवदन्ती छ।यो जात्रामा तीनवटा खट या रथ हुन्छन् जुन रथ कहीँ नभएको हिसाबले गजुरमुनि र रथमाथि देवता (ईश्वर नारायण) राखिएको हुन्छ। अरू जात्रा गर्ने खटमा माथि गजुर त्यसपछि छाना या शिखर शैलीको रथ अथवा प्यागोडा शैली हुन्छ। त्यसमुनि देवता राखिन्छ। यहाँ त्यसो नगरी गजुरमुनि राखिन्छ। यो कहीँ नभएको विशेषता हो। त्यसैले यसलाई ‘कहीँ नभएको जात्रा हाँडी गाउँको’ भनेर प्रख्यात भएको हो।

अहिले मुलुक फेरि कोभिड–१९ को दोस्रोलहरले आक्रान्त भएको छ। सरकारले यसबाट जोगिनका लागी विद्यालय बन्द गर्ने जस्ता कठोर निर्णय गरी नै सकेको छ। गएको वर्षपनि कोरोनाले गर्दा गहनापोखरीको जात्रा हुन सकेन। यसले आफ्नो परम्परा नै नासिने हो कि भनेर स्थानीय जनता चिन्तित भएका छन्। त्यसैले यस वर्ष स्थानीय सम्पदाप्रेमी जनता कोरोना कहरका बीच पनि जसरी भए निजात्रा चलाएरै छाड्ने अठोटका साथ अघि बढेका छन्। (लेखक गहनापोखरीका बासिन्दा हुन्।)

प्रकाशित: १० वैशाख २०७८ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App