१ जेष्ठ २०७८ शनिबार
विचार

एकादेशका अपदस्त राजाको शाही सत्कार

सरकारी जागिरबाट अवकाश प्राप्त, घरमा केटाकेटी छैनन्, घरधन्धाको झंन्झट छैन। केही वर्षअघिसम्म विभिन्न घरायसी र सामाजिक कर्तव्य र जिम्मेवारीमा बाँधिएकाले गर्दा समयले मलाई हाँक्थ्यो। अब म समयलाई हाँक्छु।  दिनको सुरुवात एक कप चियासँगै नेपाल टेलिभिजनबाट प्र्रसारण हुने समाचारबाट हुन्छ। समाचार, समसामयिक विषयमा विभिन्न क्षेत्रका विद्वान्का बहस तथा यदाकदा केही विशेष प्रस्तुति, यिनै हुन् प्रायः मैले हेर्ने कार्यक्रमहरू।  यस्ता विशेष प्रस्तुति कहिले रमाइला त कहिले मन छुने हुन्छन्। यही चैत ३१ गते एभिन्युज टेलिभिजनको एउटा प्रस्तुतिमा जे देखेँ त्यो दृश्यले मलाई सोच्न बाध्य गरायो।  

त्यो दृश्यले सर्वसाधारण जनतालाई खुसी बनाउला भन्ने लाग्यो।  तर त्यो दृश्यले नेपालका विभिन्न राजनीतिक दलका नेतालाई भने झस्काउला कि भन्ने लाग्यो। त्यो दृश्य देख्दा कसैको दिन फिरेजस्तो लाग्यो। त्यो दृश्य देख्दा कुनै व्यक्तिले नगरेको पापको सजाय भोगाइको अन्त्य हुन लागेजस्तो लाग्यो। त्यो दृश्य देख्दा कुनै व्यक्ति तिरस्कृत अवस्थाबाट पुनः सम्मानित बन्दै गरेजस्तो पनि लाग्यो।    

त्यो दृश्य भारतको हरिद्वारमा सम्पन्न महाकुम्भमा नेपालका पूर्वराजा ज्ञानेन्द्रको भारतीय साधुसन्त, केन्द्रीय मन्त्री र जनताबाट भइरहेको सम्मान तथा स्वागतको थियो। स्वागतमा नेपालमा ‘भूत’ भइसकेका पूर्वराजालाई भारतले ‘भूत’ मन्छाइ पन्छाइ ‘नेपाल नरेश’ सम्बोधन गर्‍यो। विज्ञहरूको विश्लेषणमा यो भारत सरकारको राजनीति वा रणनीति थियो। जुनसुकै मनसायले होस् गरिएको स्वागत स्वागतै हुन्छ। दिइएको सम्मान सम्मानै हुन्छ। सम्मानस्वरूप पूर्वराजा ज्ञानेन्द्रको रथयात्रा गरी महाकुम्भ घाट पुर्‍याए। हेलिकप्टरबाट पुष्पवृष्टि, गेरु वस्त्रमा साधुसन्तको लस्कर, शंख घण्ट ध्वनि, चारैतिरको जय/जयकारले, सम्मपूर्ण महाकुम्भ भूमि साक्षात् देवभूमि प्रतीत भयो।  

भारतका कटट्र बह्म पीठाधीशको उपस्थितिमा सयौँ साधुसन्तले पूर्वराजालाई शाही स्नान गराए। पूजापाठ गराए।  पूर्वराजाले यी सबै विधिविधान अत्यन्तै उल्लाससाथ सम्पन्न गरे।  धेरै वर्षदेखि पूर्वराजा ज्ञानेन्द्रलाई देख्दै आएकी छु।  उनका विभिन्न रूप देखेकी छु– अलमस्त फिरंगीदेखि शक्तिशाली राजासम्म। आज जुनरूपमा उनलाई देखेँ, उनको त्यो रूप पहिले कहिल्यै देखेकी थिइन। आज उनलाई जति प्रफुल्ल देख्दैछु त्यति प्रफुल्ल पहिले कहिल्यै देखेकी थिइन। हुन पनि किन नहुन्। यो कुनै साधारण सम्मान थिएन, जोकोहीले सजिलै पाउने। भारतका कट्टर बह्म पीठाधीशले आफ्नै राष्ट्राध्यक्षलाई समेत यस प्रकारको सम्मानको अधिकारी मान्दैनन्। उनीहरूको व्याख्यामा यस्तो सम्मानको अधिकार सनातन हिन्दु राजालाई मात्र हुन्छ।

यो सम्मान व्यक्ति ज्ञानेन्द्रको सम्मान थिएन। यो सम्मान पूर्वराजाको सम्मान पनि थिएन। यो सम्मान थियो सिंगो सार्वभौम संपन्न नेपाल राष्ट्रकोे।  यो सम्मान थियो त नेपाल राष्ट्रको सनातन इतिहासको। नेपालका पूर्वराजा ज्ञानेन्द्रलाई भारतका आचार्य महामंडलेश्वरको महाकुम्भका लागि अति विशिष्ट अतिथि विश्व हिन्दु सम्राट श्री ५ बडामहाराजाधिराज हिन्दु सम्राटको हैसियतमा निमन्त्रणा प्राप्त हुनुले नै नेपालको राजसंस्थाको गरिमा र त्यसप्रति उनीहरूको आस्था पुष्टि गर्छ।

नेपालको राजसंंस्थाको इतिहास गौरवमय छ।  नेपालको इतिहासमा राजा र राजसंस्थाको प्रथा मल्ल राजा एरी मल्लबाट १२०१ तिर सुरु भएको हो। प्रायः सबै मल्ल राजाले राजसंस्थाको गरिमा बढाएकै हुन्। उनीहरूको कार्यकालमा कला संस्कृतिको विकाश हुनुका साथै जनकल्याणका प्रशस्तै काम भए। उनीहरू जनताको पिर मर्का आफैँ सुन्थे।  जयस्थिति मल्ल राजा सबै जनताको धुरीबाट धुवाँ नआएसम्म खाना खाँदैनथे रे। यदाकदा कुनै शाहवंशी राजा सनकी फेला परे पनि धेरै जस्ता राजाले राजसंस्थाको संरक्षण र संवद्र्धन नै गरे।  रजा पृथ्वीनारायण शाहले छरिएको बाइसे चौबीसे राज्यको एकीकरण गरी सिंगो नेपाल राष्ट्र निर्माण गरे। राजा महेन्द्रले विश्वमा नेपालको अस्तित्व स्थापित गरे। राजा वीरेन्द्रले जनतालाई लोकतन्त्र नै दिलाए।  आफूलाई संवैधानिक राजाको हैसियतमा समेत सजिलै स्वीकारे।  

नेपालका पूर्वराजा ज्ञानेन्द्रलाई भारतका आचार्य महामंडलेश्वरको महाकुम्भका लागि अति विशिष्ट अतिथि विश्व हिन्दु सम्राट श्री ५ बडामहाराजाधिराज हिन्दु सम्राटको हैसियतमा निमन्त्रणा प्राप्त हुनुले नै नेपालको राजसंस्थाको गरिमा र त्यसप्रति उनीहरूको आस्था पुष्टि गर्छ।  

२०५८ जेठ १९ गते दरवार हत्या काण्डमा राजा वीरेन्द्रको वंश नाशपछि राज्यरोहण गरेका शाहवशंका अन्तिम राजा ज्ञानेन्द्रमा भने राजकाजको सुरुवाती दिनबाटै सत्ताको महत्वकांक्षा देखियो।  २०६१ माघ १७ गते उनले चालेको कदमले त उनको प्रत्यक्ष शासन गर्ने उद्देश्यको भण्डाफोर नै गर्‍यो। उनको यो कदम प्रजातान्त्रिक शासन व्यवस्था सिध्याउने ठहर गरी यसका विरुद्ध एक भएका अन्य राजनीतिक दलहरू आन्दोलनमा उत्रिए। अन्ततः यही आरोपमा राजा ज्ञानेन्द्रलाई नेपालको तत्कालीन संविधानसभाले २०६५ जेठ १५ गते अपदस्त गरिदियो।  

राजा ज्ञानेन्द्र कुनै बल प्रयोग नगरी प्रेस विज्ञप्तिमार्फत ‘जनताको नासो जनतालाई नै सुम्पेको’ भनी एउटा सामान्य नागरिकको जीवन बिताउने वाचा गर्दै राजदरवारबाट खुरुक्कै बाहिरिए। यतिका वर्ष भइसक्यो, आजका दिनसम्म ज्ञानेन्द्रले आफ्नो वाचा तोडेका छैनन्।  राजा ज्ञानेन्द्रको बिदाइसँगै विश्वको हिन्दु राजा र हिन्दु राजतन्त्र अन्त्य भयो।  

यद्यपि राजनीतिक दलका नेताहरूले पूर्वराजा ज्ञानेन्द्रको चियोचर्चा गर्न छोडेका छैनन्। उनले टेक्ने प्रत्येक पाइलाको लेखाजोखा गरिरहन्छन्। बाह्य शक्तिको सहायतामा राजसंस्था पुनःस्थापित हुन्छ कि भन्ने शंका पनि गरिरहन्छन्।  यस्तोमा पूर्वराजा ज्ञानेन्द्रलाई भारत सरकारले हरिद्वारको महाकुम्भ मेलामा नेपालका राजाकै हैसियतमा निमन्त्रणा दिनुले नेपालका राजनीतिक दलका नेताको त्यो शंका बढाउँछ नै। जुन प्रकारको सम्मान पूर्वराजाले प्राप्त गरे, त्यसको त्यत्तिकै गरिमा राख्न उनी सफल पनि भए। हिन्दु सनातन धर्म परम्परामाथि बाह्य अतिक्रमणको डटेर सामना गर्ने र संकृतिको संरक्षण गर्ने जस्ता विषयमा डटेर आफ्ना धारणा राखे।    

पूर्वराजा ज्ञानेन्द्र हुन् वा अन्य राजा, म राजालाई एउटा व्यक्तिका रूपमा नभई राजसंस्थाको सेवकका रूपमा देख्छु।  नेपालको इतिहासमा त्यस्ता सेवकहरू वंशानुगत राजपरिवारको ज्येष्ठ पुत्र हुने गर्थे। भाग्यले भनुँ वा दुर्भाग्यले, पूर्वराजा ज्ञानेन्द्र ज्येष्ठ पुत्र नभए पनि केही समयका लागि राजसंस्थाको सेवक बने।  

जतिबेला ज्ञानेन्द्रले सत्ता सम्हाले, त्यतिबेलाको परिस्थिति सामान्य थिएन। तत्कालीन ने.क.पा. माओवादीले जनयुद्धका नाममा साम्यवादी अधिनायकवाद बहाली गर्न खोजिरहेथ्यो। नेपाली कांग्रेस, नेकपा एमालेलगायत अरू राजनीतिक दलले यस परिस्थितिको समाधान गर्न नसकेको आरोप लगाइ राजा ज्ञानेन्द्रले २०५९, जेठ ९ गते जननिर्वाचित सरकार भंग र त्यसै वर्ष मंसिर महिनामा मध्यावधि चुनाव घोषणा गर्दै सम्पूर्ण कार्यकारी अधिकार आफूमा निहित राखे। यसरी नै हालका झण्डै दुईतिहाइका प्रधानमन्त्रीले २०७७, माघ ५ गते प्रतिनिधिसभा भंग गरी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरे। 

मैले लोकतन्त्रको पक्षमा मतदान गर्ने गरेकी छु।  बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको अनुयायी हुँ। म पेसाले एक चिकित्सक हुँ। राजनीतिलाई पेसाका रूपमा नअपनाए पनि राजनीतिक परिवर्तनलाई चासोका साथ पछ्याउँछु।  लोकतान्त्रिक विधिबाट हुने मतदानबाट निर्वाचित सरकारले पूरा समय काम गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छु।  संघीय गणतन्त्रात्मक लोकतन्त्रको पक्षमा मत खसाले पनि मेरो बुझाइमा राजतन्त्र आफैँमा अनुदार राज्य व्यवस्था होइन। रामको रामराज्य र युधिष्टरको धर्मराज्य आदर्श राजतन्त्रका स्वरूप हुन्। नेपालको राजतन्त्रको इतिहास पनि कम गौरवमय छैन। 

राजतन्त्रमा राजा एक मात्र सर्वशक्ति सम्पन्न राष्ट्राध्यक्ष हुन्छ।  संवैधानिक राजा सर्वशक्ति सम्पन्न नभई सांस्कृतिक र समन्वयकारी राष्ट्राध्यक्ष हुन्छ। राजा राजनीतिक दलको नभई वंशानुगत हुने हुँदा संवैधानिक नै हुँदा पनि कसैको कठपुतली बन्दैन। नेपालको वर्तमान संघीय गणतन्त्रात्मक लोकतान्त्रिक संविधानले राष्ट्रपतिलाई सर्वशक्ति सम्पन्न राष्ट्राध्यक्ष बनाएको छैन। यस व्यवस्थाले राष्ट्रपतिलाई एकातिर समन्वयकारी भूमिकामा राखेको छ भने अर्कोतिर राष्ट्रपति सत्ता साझेदारी दलको भागबन्डामा पर्ने हुँदा यस प्रकारको भूमिका निर्वाहमा कठिनाइ पनि सिर्जना गरेको छ।  यसको प्रत्यक्ष असर राज्य व्यवस्थामा पर्छ। 

प्रधानमन्त्रीका विवादास्पद निर्णय रोक्ने अधिकार संविधानले राष्ट्रपतिलाई नदिए पनि फरक मत राख्ने अधिकार हुन्छ।  छलफलका लागि केही समय रोक्ने, पुनः छलफलका लागि पठाउने अधिकार हुन्छ। तर दलगत भागबन्डाका राष्ट्रपतिको यी सबै अधिकार दलले सुरक्षित राख्छ। फलस्वरूप प्रधानमन्त्री स्वेच्छाचारी हुने खतरा बढ्छ। अन्ततः राज्यव्यवस्था नै खतरामा पर्न सक्छ। यस्तै परिस्थितिमा राष्ट्रपतिको परीक्षा हुन्छ।  राष्ट्रपति दलमाथि उठ्छन् वा दलगत राजनीतिमै अल्झन्छन्।

राष्ट्राध्यक्ष र राज्यव्यवस्था एकअर्काका परिपूरक हुन्। राष्ट्राध्यक्षको आचरण र व्यक्तित्वले राज्यव्यवस्थाको गरिमा बढाउँछ। राज्यव्यवस्थाको गरिमाले राष्ट्राध्यक्षको ओज बढाउँछ। छोटो समयमै नेपाली जनताले तीन प्रकारका  राज्यव्यव्स्था र राष्ट्राध्यक्ष भोगे– राजतन्त्रका राजा, संवैधानिक राजतन्त्रका संवैधानिक राजा र संवैधानिक गणतन्त्रात्मक लोकतन्त्रका राष्ट्रपति। कुन राज्यव्यवस्थाले कुन राष्ट्राध्यक्षको अथवा कुन राष्ट्राध्यक्षले कुन राज्यव्यवस्थाको गरिमा बढाए वा घटाए, नेपाली जनताले यसको समीक्षा गर्ने नै छन्।

प्रकाशित: ९ वैशाख २०७८ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?