७ वैशाख २०८१ शुक्रबार
विचार

बुद्धको नजरमा मृत्युदण्डको सजाय

क्याप्शन

मानव भएर जन्मेको नाताले स्वतः पाउने अधिकार नै मानवअधिकार भएको परिभाषा दिँदै गर्दा यसलाई जस्तोसुकै अवस्थामा पनि मानिसलाई जिउन पाउने अधिकारको प्रत्याभूति भन्नैपर्छ। सात वर्षदेखि म ‘बुद्धिस्ट एप्रोच टु ह्युमन राइट’ विषयमा प्राध्यापन गर्दै आइरहेको छु र यसै विषयमा ‘बुद्ध र मानवअधिकार’ शीर्षकमा एउटा पुस्तक पनि प्रकाशित छ। कक्षा कोठामा मात्रै नभएर बाहिर अन्य सन्दर्भमा पनि मानवअधिकारका सवालमा आफूलाई मसिहा मान्ने अमेरिका लगायतका देशमा मृत्युदण्डको प्रावधान भए पनि नेपालमा त्यस्तो प्रावधान नभएको हुँदा नेपाल मानवअधिकारका सवालमा उल्लेख्य देश हो भन्छु। तर अचेल नेपालमा पनि मृत्युदण्डको प्रावधान राखिनुपर्छ भन्ने माग र बहसले ठाउँ पाउन थालेको छ। यस विषयलाई अनेक दृष्टिकोणबाट पर्गेल्न सकिन्छ र यस लेखमा बौद्ध दृष्टिकोणबाट छलफल गर्ने जमर्को गरेको छु।  

नेपालमा मृत्युदण्डको माग विशेषतः बलात्कारका घटनासँग सम्बन्धित छ। चीन, अमेरिकालगायत देशमा आर्थिक भ्रष्टाचार लगायत घटनामा प्रत्येक वर्ष भनेजस्तो मृत्युदण्ड दिइँदै आएको पाइन्छ। राजनीतिक लगायत अन्य विषयवस्तुमा पनि मृत्युदण्ड दिइएका समाचार विभिन्न मुलुकबाट आइरहेको पाइन्छ। तर नेपालमा अन्य विषयवस्तुमा नभएर बलात्कारसम्बन्धी घटनामा मात्रै मृत्युदण्डको माग भएको हो। नेपाल प्रहरीका तर्फबाट केहीअघि प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा पेस गरिएको तथ्यांकअनुसार दैनिक नौवटा जति जबर्जस्ती करणीसम्बन्धी उजुरी दर्ता हुने गरेको छ। दर्ता नै नहुने घटना समेतलाई जोड्ने हो भने यसले भयावह स्थितिको चित्रण गर्दछ। यस अवस्थामा बलात्कार सम्बन्धमा कठोर कानुनी प्रावधान बनाउनुपर्ने आवश्यकतामा सहमत त हुनैपर्छ। बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने प्रावधानको बहस समाज र सडकबाट संसद्मा पनि प्रवेश पाइसकेको छ। संघीय संसद्का कतिपय महिला सांसदले विशेष साथ दिँदै अनौपचारिक समूह नै गठन गरेर पनि यस सम्बन्धमा दृष्टिकोण राख्दै आएको पाइन्छ। तर, वर्तमान नेपालको संविधान, कानुन, नेपाल पक्ष रहेका कतिपय अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिले मृत्युदण्ड स्वीकार गर्दैन। मृत्युदण्डको विकल्पमा मुलुकी फौजदारी संहितामा आजीवन कारावासको व्यवस्था गरिएको छ।  

बौद्ध धर्म–दर्शनको एउटा अनिवार्य सर्त हो– कुनै पनि प्रकारको हिंसाबाट विमुख हुनु। अन्यत्र हिंसा भनेर हत्याहिंसा तथा कुटपिटको अर्थमा मात्र लिएको हुन्छ भने गौतम बुद्धले हिंसा काय, वाक् र चित्तको माध्यमबाट हुन सक्ने र सबैलाई हिंसा नै भनिने भाष्य गरेका छन्। यसअनुसार काय र वाक्बाट मात्र नभएर कसैले मनमनै अरू व्यक्ति वा प्राणीको अहितमा सोच्नु पनि हिंसा नै हुन्छ। यसअनुसार बौद्धजनले दैनिक पालना गर्नुपर्ने भनी निर्दिष्ट गरिएको पञ्चशीलको पहिलो ‘पाणातिपाता वेरमणि सिक्खापदं समाधियामि’ अर्थात् ‘प्राणीहरूको हत्याहिंसा गर्दिनँ’ भन्ने शीललाई अझ व्यापक रूपमा अर्थ ग्रहण गर्नुपर्ने हुन्छ। मृत्युदण्ड पनि हिंसा नै हो।  

बौद्ध धर्म–दर्शनले मानव जातिलाई एक विशिष्ट वर्गका रूपमा लिएको पाइन्छ। प्राणीहरू विभिन्न योनिमा जन्म लिएका हुन्छन्, यो पाप र पुण्यका आधारमा स्वतः निर्धारण हुने बताइन्छ। षड्योनि भनेर यसमा मानव लगायत पशुपक्षी, प्रेत तथा देवता पनि पर्छन्। राम्रो काम गरेर पुण्य सञ्चय गरेको बलले कोही देवयोनिमा जन्म लिन जान्छन् भने कोही प्रेत योनिमा। यसरी जन्म लिन जानेहरू सधैँ एकै योनिमा रहँदैन, अर्थात्, सञ्चित पुण्यको क्षयसँगै त्यसबाट च्युत हुन्छन्। षड्योनि अन्तर्गत अनेकौँ जन्मजन्मान्तर हुन्छ, एकपछि अर्कोमा गएर कर्मफल अनिवार्य रूपमा भोग्नैपर्ने हुन्छ। देवयोनिमा जन्म लिएर देवता बनेकाहरू सामान्यतः प्रतिष्ठित मानिन्छन्। तर तिनीहरू राम्रा कामको फल भोग्ने मात्रै हुन्, त्यहाँ बसेर पुण्य कमाउन सक्ने हुँदैनन्। मानव योनिमा जन्मेर मानव बनेकाहरू मात्रै बढी विवेकशील हुने हुन्। राम्रो काम गर्न यो जतिको उपयुक्त अन्य योनि नै नहुने भनिन्छ। बुद्धका अनुसार देवयोनिमा जन्मेका देवता तथा ब्रह्मा दीर्घजीवी हुन्छन्, तर दीर्घजीवी भएकै कारण धर्मकर्ममा कम मात्रै ध्यान जाने हो। मानव योनि निकै छोटो समयको हो। मानव भएर बल्लबल्ल जन्म लिन पाउने हुन्। तसर्थ मनुष्य जन्मलाई दुर्लभ पनि मानिन्छ। यस्तो दुर्लभ जन्म पाएर पनि यत्तिकै खेर फाल्नुलाई ठूलो मौका गुमाउने अर्थमा लिइन्छ, समय खेर नफाल्न बुद्ध जोड दिन्छन्।  

बुद्धको शाब्दिक अर्थ बोधि (ज्ञान) प्राप्त भएर मुक्त भइसकेका सत्व हुन्। ठूलो साधनापछि मात्रै यो सम्भव हुन्छ। यसलाई अझ सरल भाषामा भन्नुपर्दा वास्तविक कुरालाई सही रूपमा बुझिसकेको वा आत्मसात गरिसकेको भनेर पनि अर्थ लगाउन सकिन्छ। बुद्ध जो कोही पनि बन्न सक्छन्। यो कुनै व्यक्ति विशेषको पेवा होइन। सबै प्राणीमा बुद्ध हुने सम्भावना वा बीज निहित रहेको हुन्छ। बुद्धकै पर्यायवाची अर्को शब्द छ, तथागत। बौद्ध साहित्यमा ‘तथागतगर्भ’ शब्दको प्रयोग प्रायः हुन्छ, यसले पनि सबै प्राणीमा बुद्ध बन्ने बीज रहेको नै अर्थ दिन्छ। बौद्ध शिक्षाको ग्रहण, चिन्तन मनन तथा साधनाबाट प्रज्ञाको उदय भई बुद्धत्वको त्यो बीज स्वतः प्रस्फुटन भई बुद्ध बनिने हो।  

अहिंस्रक नामका एक युवक थिए, तर षड्यन्त्रको जालोमा परेर ठूलै हत्यारा बन्न पुगे। बौद्ध साहित्यमा उनी अंगुलीमालका नामले प्रसिद्ध छन्। उनी बस्ने जंगलमा स्वयं गौतम बुद्ध गएर धर्म उपदेश दिई हृदय परिवर्तन गरिदिएका थिए। कुनै बेलाका सज्जन युवा विद्यार्थी कारणवश डाँका वा हत्यारा बन्न पुगे। बुद्धको सान्निध्यमा हृदय परिवर्तन भई भिक्षु बन्न पुगे। डाँकुलाई कारबाही गर्न भनी हिँडेका राजाले उही डाँकु रूपान्तरित भई शील सदाचारले युक्त भिक्षु बनिरहेको दृश्य पो देख्न पुगे। स्वयं राजा ती भिक्षुलाई वन्दना गरी फर्के। अंगुलीमाल पछि अर्हत् बने। श्रावक बुद्ध, प्रत्येकबुद्ध र सम्यक्सम्बुद्ध गरी तीन प्रकारका बुद्ध हुन्छन्। अर्हत् हुनु भनेको अर्को शब्दमा श्रावक बुद्ध हुनु हो। अर्हत् हुनु चानचुने कुरा होइन।  

बलात्कारजस्तो यौनहिंसामा संलग्न हुनु अशुद्ध चित्तको परिणाम हो। बलात्कारीलाई मृत्युदण्ड दिइयो भने मृत्युदण्डको भयले अन्य व्यक्ति यस्तो कुकर्ममा संलग्न हुँदैन, वा यसमा कमी आउँछ भन्ने पनि चिन्तन पाइन्छ। तर यही एउटा मात्रै उपाय होइन। बलात्कारीलाई मृत्युदण्ड दिने कानुन भएकै देशहरूमा पनि बलात्कारका घटना निर्मूल भएका छैनन्। आर्थिक भ्रष्टाचारीमा दोषी पाएलगत्तै मृत्युदण्ड दिने चीनमा पनि आर्थिक भ्रष्टाचार हुँदै गर्छ र कुनै समयका विशिष्ट व्यक्ति पनि मृत्युदण्डको भागिदारी हुन्छन्। बेलायती प्राध्यापक कोर्टनी स्ट्यानहोप केनीलिखित पुस्तक ‘केनिस आउटलाइनस् अफ क्रिमिनल ल’मा लन्डनमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको दृश्य हेर्न भेला भएको ठाउँमा पनि पकेट मार्ने घटना भयो, जबकि पकेट मारेकै प्रसंगमा त्यहाँ कसैलाई मृत्युदण्ड दिइँदै थियो। कानुनी कारबाहीले मात्रै परिवर्तन ल्याउन सक्दैन भन्ने कुराको यो घटना गतिलो उदाहरण हो। यसको अर्थ मृत्युदण्ड नै अन्तिम विकल्प वा उपाय होइन भन्ने स्पष्ट भयो।  

मान्छे आन्तरिक रूपमा रूपान्तरण हुनु ठूलो फड्को मार्नु हो। ऐन–कानुनले मान्छेलाई केही गर्न वा नगर्न बाध्य पार्न त सक्ला, बोध गराउँछ भन्न सकिन्न। यसलाई बाह्य परिवर्तन पनि भन्न सकिन्छ, त्यसमा दिगो नहुने वा त्यसले बेग्लै खालको विकृत रूप लिन सक्ने खतरा पनि छ। आन्तरिक रूपमै रूपान्तरण गर्नसक्दा त्यो दिगो हुन्छ। बौद्ध धर्म दर्शनले मान्छेलाई आन्तरिक रूपान्तरणमा जोड दिन्छ। पहिले सिक्नुपर्‍यो, सिकेर चिन्तनमनन तथा प्रयोग गर्नुपर्‍यो, अनि त्यसपछि मात्रै प्रज्ञाको उदय हुन्छ। प्रज्ञाको उदयपछि जीवनले सार्थकता पाउँछ। यी तीनवटा चरण एक अर्कासँग सम्बन्धित छ, अर्थात् आन्तरिक रूपमा रूपान्तरण हुँदै सिक्ने प्रक्रिया अघि बढ्छ। जानकारी हासिल गर्नु र सिक्नु फरक कुरा हो। कानुनका बारेमा जानकारी भएकाहरू नै गैरकानुनी क्रियाकलापमा लागिरहने घटना यसको राम्रो उदाहरण हो। बौद्ध धर्म दर्शनको जानकारीले मात्रै मान्छेमा खासै परिवर्तन आउँदैन भन्नेमा यसका मनिषीहरू एकमत छन् र त्यही भएर बौद्ध धर्म दर्शनलाई व्यावहारिक प्रयोगमा जोड दिन्छन्।  

बलात्कार मात्रै नभएर अन्य यौनहिंसा पनि विकृत मानसिकताको उपज हुन्। बौद्ध धर्म दर्शनको प्रमुख अभ्यास नै चित्त शुद्धि हो, चित्त शुद्धिको प्रक्रियाले मानिसलाई नैतिकवान् बनाउनुका साथै मानसिक रूपमा पनि सबल र सक्षम बनाउँदै लाने हुन्छ। भौतिक उन्नतिले मात्रै यो सम्भव हुन्न। चित्तशुद्धिले जस्तोसुकै विकृत मानसिकतालाई पनि नदीको धार परिवर्तन गरेजस्तै परिवर्तन गर्नसक्छ। यो मौका सबैलाई दिनुपर्छ। मृत्युदण्डको भागिदार हत्यारा अंगुलीमाल परिवर्तन हुनु यसको राम्रो उदाहरण हो। यसले व्यक्तिको मात्रै नभएर समाज र समस्त जगत्कै पनि हित गर्छ। तसर्थ बलात्कार लगायत आपराधिक कर्मलाई न्यूनीकरण गर्न कारबाही वा मृत्युदण्डको प्रावधानी राखी मान्छेलाई भयभीत पार्नुभन्दा शील सदाचारले युक्त बनाउनुपर्छ। शील सदाचारले व्यक्तिलाई मात्र नभएर घरपरिवार तथा समाजलाई नै मैत्रीपूर्ण बनाइदिन्छ, यस्तो वातावरणमा बलात्कार भन्ने कुरा हुँदैन।

प्रकाशित: ४ वैशाख २०७८ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App