९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

कोभिड १९ मा सामाजिक स्वास्थ्य

नेपालमा कोरोनाको दोस्रो लहर देखियो। समस्यासँग जुध्नका लागि फेरि अर्को बन्दाबन्दी लागू गर्नुपर्ने हो कि भन्ने बहस हुँदै छ। मानिसको जीवनभन्दा महत्वको विषय अरु हुन नसक्ने भएकाले जनको ठूलो क्षतिबाट जोगाउन कुनै पनि निर्णय स्वीकार्य देखियो। भाइरस नियन्त्रणको प्रभावकारी उपाय खोप तथा मास्कको व्यवस्था गरिनुका अतिरिक्त समस्या समाधानका खातिर वैदेशिक नाकामा कडाइ गर्ने, आन्तरिक आवतजावतमा रोक लगाउने लगायत क्रियाकलापमार्फत देशलाई ‘स्ट्यान्ड स्टिल’ राख्नेसम्मको निर्णय स्वीकार्य देखियो। अन्य देशले अवलम्बन गरेका उल्लिखित कोरोना नियन्त्रणका उपाय हामीकहाँ समेत लागू गर्दा निर्णयको प्रतिरक्षा कठिन हुँदैन। तर, उल्लिखित पाबन्दीले के भाइरस नियन्त्रण होला ? कोरोना उन्मूलन हुन कति समय लाग्ला ? जीवन पूर्ववत अवस्थामा फर्कन सक्ला त ? लगायत प्रश्नको उत्तरका लागि संसार नै प्रतीक्षारत छ। प्रकाशित वैज्ञानिक अनुसन्धान तथा प्रक्षेपणका आधारमा कोभिड–१९ को भविष्यको आकलन यो लेखको उद्देश्य रह्यो।  

भाइरस संक्रमणको प्रारम्भिक दिनमै कोभिड– १९ को अध्ययनले द्रूत गति लियो। नतिजा सहजै संसारको पहँुचमा पुगोस् भन्नका खातिर भाइरसका सम्बन्धमा भएका अनुसन्धान समकक्षी (पियर रिभ्यु) जाँचबिनै प्रकाशित गर्ने निधो भयो। समकक्षी परीक्षणबिनै अन्वेषण छापिने भएपछि कोरोनासम्बन्धी धेरै जाली आलेख समेत प्रकाशित भए। नेपालबाट समेत कोरोनासँग सम्बन्धित कति आलेख प्रकाशित भए त्यसको लेखाजोखाले संसारभरबाट कोभिडसम्बन्धी कति आलेख छापिए भन्ने अन्दाज गर्न सकिन्छ। यसरी भाइरससम्बन्धी लेख दिनैपिच्छे सैयौँको संख्यामा छापिँदा कोरोनासम्बन्धी कुन सूचना सक्कली भनी पत्ता लगाउन कठिन भयो। प्रारम्भिक चरणमा संसारले सही सूचना पाउन सकेन, अन्योल बढ्यो।  

अहिलेसम्मको अध्ययनले फाइजर तथा मोडर्नाका खोप प्रारम्भिक दिनमा पाइएको कोरोनाका लागि अचुक मात्र देखिएनन्, बरु खोप लगाएको आठ महिनासम्म शरीरमा प्रतिरक्षा प्रणाली सशक्त अवस्थामा रहेको पाइयो। तर, तथ्यांकको अभावमा खोपले अझ कति समयसम्म हामीलाई कोभिड–१९ बाट जोगाउँछ भनी ठोस जवाफ दिन सक्ने अवस्था रहेन।

पछिल्लो समय वैज्ञानिकले अनुसन्धान प्रशोधन गर्ने अवसर पाए, भाइरससम्बन्धी चोटिला अध्ययन भए। कोरोनाको विकट स्वरूप थाह भयो। खोप बन्यो, भ्याक्सिनको प्रभावकारिता जानकारी भयो। भाइरसको प्रथम सूचनाको एक वर्षभित्रै झन्डै ९५ प्रतिशत प्रभावकारिता भएका भ्याक्सिनको आविष्कार गर्न वैज्ञानिक सफल भए। तर, संसारका झन्डै ८ अर्ब बासिन्दालाई खोप लगाउने काम धेरै हिसाबले चुनौतीपूर्ण रह्यो। यत्तिका मानिसलाई पुग्ने खोप बनाउन संसारका सबै उत्पादन केन्द्र परिचालन गरिए पनि महिनौँ लाग्ने देखियो।  

खोप उत्पादन हुनेबित्तिकै नागरिकको पाखुरामा रोपिने अवस्था आउँदैन। भण्डारणका लागि आवश्यक सिसाका ‘भाएल’ अनि अर्बौंको संख्यामा चाहिने ‘सिरिन्ज निडल’को उत्पादन गर्ने क्षमता अझ चुनौतीपूर्ण देखियो। उत्पादन स्थलबाट अति कम तापक्रममा भण्डारण गरी खोपलाई सुरक्षित रूपले संसारका विभिन्न भागमा पुर्‍याउने काम जटिल छ नै। यसरी उत्पादन, भण्डारण, ढुवानी र सुई हाल्ने संयन्त्र लगायत

प्रत्येक चरणमा ‘बोटलनेक’ देखिएको वर्तमान अवस्थामा संसारका सबै जनसंख्यालाई खोप दिन लामो समय लाग्ने निश्चित छ। चीनको रुबान नगरको एक व्यक्तिबाट सुरु भएको कोरोनाले एक वर्षमै संसारभर आफ्नो प्रभाव जमाएको देख्दा खोप र संक्रमणको रेसमा कसले जित्ला भन्ने प्रश्न महत्वपूर्ण हुन्छ नै।  

खोप अभियानमा इजरायल अग्रणी देखियो। आफ्नो लक्ष्य प्राप्तिका लागि दैनिक रूपले आफ्नो एक प्रतिशत नागरिकलाई भ्याक्सिन दिएको बताउँछन्, इजरायल इन्स्टिच्युट अफ् टेक्नोलोजीका वैज्ञानिक डभिर अरान। अहिलेसम्म आधाभन्दा अधिक इजरायलीले भ्याक्सिनको पूरा मात्रा लिएको देखिन्छ भने सामीप्यका इजिप्ट, जोर्डन, लेबनान, सिरिया लगायत देशले आफ्ना एक प्रतिशत नागरिकलाई पनि खोप लगाउन सकेका छैनन्।

यसरी खोपको पहुँच धनी देशमा मात्र रहेको अवस्थामा नेपाल लगायत संसारका गरिब मुलुकले कहिले आफ्ना नागरिकलाई खोप दिन भ्याउलान् ? त्यसको जवाफ विश्व स्वास्थ्य संगठनसँग समेत छैन। विश्वका सबै जनसंख्याले भ्याक्सिन पाउन अझै धेरै पर्खनुपर्ने देखियो। कोरोनाले देशको भौगोलिक सीमा सहजै पार गर्ने, भ्याक्सिन भने धनी देशको सरहदभित्रै रुमलिएको देख्दा गरिब देशमा कोभिडको संक्रमण लहरलाई स्वाभाविक मान्नुपर्ने भयो। धनी देशका अधिकांश नागरिकले खोप पाउने अनि गरिब देशका धेरै जनतालाई भाइरसले संक्रमण गर्दा ‘ग्लोबल प्यान्डेमिक’लाई के प्रभाव पार्ला त ?  

भाइरसका सम्बन्धमा ‘हर्ड इम्युनिटी’ बहुचर्चित शब्द हो। पैmलिने रफ्तार अधिक भएको भाइरसको ‘हर्ड इम्युनिटी’ संख्या अधिक हुन्छ। अहिलेको आकलनले कोभिडको ‘हर्ड इम्युनिटी’ ७० प्रतिशत देखायो। त्यसको मतलब खोप लिने अथवा विगतमा भाइरसले संक्रमण गरेका व्यक्तिको संख्या कुल बासिन्दाको ७० प्रतिशत पुगेमा भाइरसको प्रभावकारिता घट्ने हो, कोरोना फैलने रफ्तार कम हुने हो। भ्याक्सिन लिएका र पहिले नै कोभिड– १९ लागेका व्यक्तिमा भाइरसले संक्रमण गर्न सक्दैन भन्ने मान्यताले ‘हर्ड इम्युनिटी’लाई निर्देशित गर्छ। यसरी भाइरस आक्रामक रूपले एक व्यक्तिबाट अर्को मानिसमा सर्ने अवस्थाको अन्त्यलाई हर्ड इम्युनिटीका रूपमा लिन सकिन्छ।

अहिलेसम्म स्वीकृत भएका खोप बच्चालाई दिन नमिल्ने अनि तथ्यांकले विश्वका ३० प्रतिशत भन्दा अधिक नागरिक १८ वर्ष भन्दा कम उमेर समूहमा पर्ने भएकाले ‘भ्याक्सिनेसन’ विधिमार्फत हर्ड इम्युनिटीको ७० प्रतिशतका प्राप्ति असम्भव भयो। तसर्थ, त्यस्तो अवस्थामा खोप तथा भाइरस संक्रमणमार्फत ‘हर्ड इम्युनिटी’मा पुग्ने हो। तर, पछिल्ला चरणका अध्ययनले ‘हर्ड इम्युनिटी’को लक्ष्यलाई जटिल बनायो। 

संसारका विभिन्न स्थानबाट संकलित कोरोना भाइरसको अणुवांशिक जाँचले विश्वका विभिन्न भागमा देखिएका भाइरस एक–अर्काका ठ्याक्कै ‘कपी’ नभएका बरु तिनीहरूले बिस्तारै आफ्नो स्वरूपमा परिवर्तन गर्दै लगेको देखियो, अझ विकटरूप लिएको पाइयो। यसरी यउटै पुर्खा तर फरक स्वरूप भएका भाइरसलाई वैज्ञानिक भाषामा ‘भेरियन्ट’ भनिन्छ। अहिलेसम्म प्रकाशित डाटाले कोभिडका ‘भेरियन्ट’ मात्र देखाएन, बरु उक्त संख्या दिनानुदिन बढ्दै जाने देखियो।  

भ्याक्सिन लिँदा अथवा भाइरसलाई परास्त गरेको अवस्थामा हाम्रो शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम)ले उक्त कोरोनालाई जित्न सक्ने क्षमता भएको ‘एन्टी बडी’ बनाउँछ। ताल्चा–साँचोको ढाँचामा रहेको भाइरस र एन्टिबडीको जोडा विशेष प्रकृतिको हुने भएकाले भाइरसको बनोटमा आउने सामान्य परिवर्तनले एन्टिबडीको प्रभावकारितामा निकै ह्रास ल्याउँछ। भाइरसको बाह्य शारीरिक बनोटलाई मात्र चिन्ने भएकाले फरक आकृति भएको नवीन ‘भेरियन्ट’सँग अघिल्लो पुस्ताको एन्टिबडीले प्रभावकारी युद्ध लड्न सक्दैन।  

अहिलेसम्मको अध्ययनले फाइजर तथा मोडर्नाका खोप प्रारम्भिक दिनमा पाइएको कोरोनाका लागि अचुक मात्र देखिएनन्, बरु खोप लगाएको आठ महिनासम्म शरीरमा प्रतिरक्षा प्रणाली सशक्त अवस्थामा रहेको पाइयो। तर, तथ्यांकको अभावमा खोपले अझ कति समयसम्म हामीलाई कोभिड–१९ बाट जोगाउँछ भनी ठोस जवाफ दिन सक्ने अवस्था रहेन।  

ब्राजिल कोरोना भाइरसले नराम्रोसँग सताएको मुलुक हो। झन्डै चार लाख मानिस मरिसकेका छन् त्यहाँ। त्यहाँका विभिन्न सहरमा कोरोनाको दोस्रो, तेस्रो लहर समेत देखिए। कारक अध्ययन गरे साओ पोलो विश्वविद्यालयका प्राध्यापक लेबिस बस लगायत अनुसन्धाकर्ताहरूले। अनि, परिणामलाई यो वर्षको जनवरीमा जर्नल ‘साइन्स’ मा छापे। नेपालमा कोरोनाको दोस्रो लहर देखिएको परिस्थितिमा ब्राजिलको चर्चा सान्दर्भिक देखियो।

ब्राजिलको मनाउस सहरमा गत मे र अक्टोबरको बीचमा धेरै मानिस कोभिड संक्रमणमा परे, धेरै मारिए। त्यसपछि भाइरस उक्त सहरमा सुषुप्त बन्यो। सहरका दैनिक क्रियाकलाप सामान्य बन्यो। अनि झन्डै चार महिनापछि उक्त सहरमा कोभिडको दास्रो लहर आयो। धेरै मानिस भाइरसको दोस्रो संक्रमणमा परे। एकपटक भाइरसले संक्रमण गरेपछि फेरि रोग लाग्दैन भन्ने मान्यता भत्कियो। 

यसरी विगतमा कोभिडका कारण अस्पताल बसेका मानिसमा फेरि भाइरस देखिएपछि कोरोनाको अणुवांशिक अध्ययन भयो। उक्त परीक्षणले पछिल्लोपटक संक्रमण गर्ने कोभिड–१९ र पछिल्लोपटक आक्रमण गर्ने भाइरस फरक–फरक भेरियन्ट भएको पत्ता लाग्यो। प्राध्यापक बसको अनुसन्धानले विगतमा खोप लिएको अथवा पहिले नै भाइरस लागिसकेको मानिसलाई फरक भेरियन्टले सजिलै अस्पताल पुर्‍याउन सक्ने देखियो।

यसरी फरक भेरियन्टलाई लक्षित गरी बनाइएको खोप लगाएका व्यक्तिलाई अर्को बनोटको कोभिड–१९ ले संक्रमण गरेको पाइयो। त्यस्तै, नवीन भेरियन्टले विगतमा संक्रमणमा परिसकेको व्यक्तिलाई सजिलै अस्पताल पुर्‍याउन सक्ने देखायो, ब्राजिलको अनुसन्धानले। तसर्थ, अहिलेको अध्ययन अनुसन्धानलाई नियाल्दा कोरोना सजिलै नियन्त्रणमा आउन कठिन देखियो। सही तरिकाबाट मास्क लगाउने हो भने कोरोना भाइरसको संक्रमणबाट सहजै जोगिन सकिने अध्ययनले देखाएको हुँदा गरिब मुलुकले मास्क प्रयोगलाई अभियानको रूप दिन आवश्यक भयो।

प्रकाशित: ३१ चैत्र २०७७ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App