coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

पाहाँचःह्रे र विभिन्न देवताका जात्रा

नेवारले धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परा अनुसार मान्दै आइरहेको पाहाँचःह्रे चाडको विशेष महत्व छ। नेवारहरू संस्कृति र संस्कारमा धनी छन्, त्यसमा पनि आफ्नैपनको संस्कार अनुसार पहिला अरूलाई खुवाएर मात्र आफूले खाने गर्छन्, यही विशेषता पाहाँचःह्रे चाडले बोकेको छ। नेवारहरूले आफ्ना पितृलाई मान्ने अनि आफन्त, साथीभाइ, पाहुनालाई बोलाई भोज खुवाएर चाड मान्ने गर्छन्। नेवारहरूको पाहाँचःह्रे वा अन्य कुनै पनि चाडबाडमा कोही नचिनेका मानिस आए पनि भोज खुवाएर पठाउने परम्परा छ। यस्तो चलन भएकैले पाहाँचःह्रे चाड भनिएको हो– पाहाँ भनेको पाहुना हो भने चःह्रे भनेको चतुर्दशी। अर्थात् पाहुना मात्र बोलाएर खुवाउने भएकैले पाहाँचःह्रे चाड भनिएको हो।

हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाँचःह्रे चाड विभिन्न किसिमले मनाइन्छ। यो समय भनेको जाडो याम सकेर गर्मी सुरु हुने समय भएकाले हुरीबतास आउने, पानी पर्ने र विभिन्न रोग पनि लाग्ने भएकाले त्यसलाई छेक्न अर्थात् रोगव्याधिबाट बच्न धार्मिक उपाय अनुसार पाहाचःह्रे चाड मनाउँदै आइएको भन्ने मान्यता छ। यसरी विभिन्न किसिमका समस्याबाट बच्न विभिन्न देवतालाई राँगा, हाँस, कुखुरा, बोका बलि दिएर तान्त्रिक विधिबाट पूजा गरिँदै आइएको छ। पाहाँचःह्रेका दिन फोहोरको डंगुरमा गाडेर राखिएको लुकुमहाद्यः (लुकेका महादेव) लाई पनि तान्त्रिक विधिबाट समय्बजि, छ्वयला, जाँड–रक्सी चढाइ पूजा गरिन्छ।  

पाहाँचःह्रेका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ। लुकुमहाद्यःको विषयमा सुनिएको किंवदन्ती अनुसार, महादेवलाई पनि साढे सातको शनि दशा लागेकाले उनी शनिले छुन आउला भनी फोहोर भएको ठाउँमा लुकेर बसेका रहेछन्। यसरी महादेव लुकेर बसेका बेला नेवारहरूले पाहाचःह्रे चाड मानेर देवताहरूको जात्रा गरिरहेको थाहा पाई महादेवले मानिसको रूप लिएर नेवारहरूको भोजमा सरिक भई भोज खान थालेछन्। त्यसबेला सडकमै नेवारले भोज खुवाउने गर्थे। सबैका स–साना घर, त्यसमा पनि आमन्त्रित पाहुना पासा धेरै आउने भएकाले सडकमै भोज गर्नुपथ्र्यो।

 महादेवले यसरी वर्षौंवर्ष नेवारको भोज खाइरहे। एकपटक स्थानीय युवाले यो मान्छे जहिले पनि हाम्रो भोज खान आउँछ, यो मान्छे को होला, चियो गर्नुपर्‍यो भनी पछिपछि लागेर जाँदा महादेव फोहोरको डंगुरमा पुगेपछि अलप भएछन्। ती युवाले त्यस फोहोरको डंगुरमा सफा गरी हेर्दा शिवलिंग देख्नेबित्तिकै त्यो मान्छे त महादेव पो रहेछ, यहीँ सिद्ध भएर बसेछन् भनी समय्बजि, जाँड–रक्सी चढाएर पूजा गरेछन्। संयोगवश उक्त समय महादेव त्यहाँ लुकेर बसेको सात वर्ष ६ महिना पूरा भएको रहेछ। महादेवको साढे साती शनि दशा सकिएकाले त्यहीँ सिद्ध भएर बसेका रहेछन्। यही दिन पाहाँचःह्रे पनि परेकाले यही परम्परा कायम राख्दै आजसम्म पाहाँचःह्रेका दिन नेवारले लुकुमहाद्यःको पूजा गर्ने चलन रहेको भनिन्छ। महादेवजस्ता देवतालाई त साढेसाती शनि दशा लागेर पिशाचजस्तै भएर यो फोहोरमा लुकेर बस्नु पर्दो रहेछ भन्ने यो घटनाले दर्शाउँछ।

पाहाँचःह्रेमा पूजा गर्दै खटजात्रा गरिँदै आएका अष्टमातृका देवीहरूको विषयमा पनि एउटा किंवदन्ती छ। पाहाँचःह्रेको भोज खान अष्टमातृका दिदीबहिनी माइतीमा गएका रहेछन्। अष्टमातृका दिदीबहिनी सबैले राम्राराम्रा पोसाक र झपक्क गहना लगाएर गएका रहेछन्। तर जेठी दिदी लुती अजिमा (इन्द्रायणी) भने अत्यन्तै गरिब, त्यसमा पनि १२ जना बच्चा भएकी, दुब्ली र थोत्रो पुरानो लुगा लगाएर एउटी माग्नेजस्ती भई भोज खान गएकी रहिछिन्। यस्तो अवस्थामा आएकी लुती अजिमालाई बहिनीहरूले बस्नु पनि नभनी वास्ता गरेनछन्। केटाकेटीहरूले भोक लाग्यो भनेर कराउँदा पनि कसैले वास्ता नगरेकाले अत्यन्तै चित्त दुःखाएर लुती अजिमा आफ्ना बच्चा साथै लिई घरमा फर्किछन्। त्यही बेला फसिकेब (फर्सीको बारी) मा पुग्दा एउटा फर्सी भेट्टाइन् र बच्चालाई यही फर्सी उसिनेर खुवाउनुपर्ला भनी घरमा लगिन्। तर घर पुगेपछि बच्चाहरू थाकेकाले निदाए। 

भोलिपल्ट बिहान उठेर हेर्दा त फर्सी सुन बनेको थियो। लुती अजिमा पनि धनी भइन्। अर्को वर्ष पाहाँचःह्रेमा लुती अजिमा झपक्क गहना लगाएर बच्चाहरूलाई पनि राम्राराम्रा लुगा लगाइदिएर भोज जाँदा उही बहिनीहरूले धेरै नै सम्मान गरी भोज खुवाउन ल्याए। यस्तो व्यवहार देखेर लुती अजिमाले पहिला आफूलाई र बच्चाहरूलाई गरेको अपमान सम्झेर भोज भागमा रहेको खानेकुरा आफ्ना लुगा र गहनामा लगाइदिन्छिन्। यस्तो दृश्य देखेर अष्टमातृका बहिनीहरूले ‘यो के गरेको’ भनी सोधे। लुती अजिमाले ‘हिजो यही पोसाक र गहना नभएकाले मलाई र मेरा बच्चालाई भोकै फर्काएका थियौ। अहिले यो भोज यही गहना र लुगा देखेर दियौ। त्यसैले लुगामा लगाएको हुँ’ भनी जवाफ दिन्छिन्। अनि तुरुन्तै फर्केर जान्छिन्। यही बेलादेखि लुती अजिमा (इन्द्रायणी) ले पाहाँचःह्रे चाड बहिष्कार गरी बालाचःह्रे (बाला चतुर्दशी) का दिन छुट्टै जात्रा चलाएको हो भनिन्छ।

पाहाँचःह्रेको भोलिपल्ट टोल टोलमा ‘मरःजा’ खुवाउने चलन छ। व्रतबन्ध नगरेका र बेल विवाह नगरेका नेवारका बच्चालाई ‘मरःजा’ खुवाउँछन्। ‘मरःजा’ भनी खुवाउँदा उसिनेको भात, दाल, तोरीको तरकारी र मासु राखेर खुवाउने गरिन्छ। ‘मरःजा’ खुवाउन टोलटोलमै गुठी स्थापना गरिएको हुन्छ। श्रद्धा भएका व्यक्तिले यसबेला बालबालिकालाई पैसा, चकलेट, बिस्कुट, रोटी आदि बाँडिदिन्छन्। अजिमाको प्रसादको रूपमा खुवाइने मरःजा खुवाए बच्चालाई भूतप्रेतले नछुने र विभिन्न रोग पनि नलाग्ने जनविश्वास छ। पाहाँचःह्रेको भोलिपल्ट घोडेजात्रा भनी टुँडिखेलमा घोडा कुदाइन्छ। ललितपुरको भोलाख्यः टोलमा भने रक्सी खुवाएका एउटा मात्र घोडा कुदाउने गरिन्छ।

पाहाँचःह्रेको रात्रिमा टुँडिखेलमा टेबहालका लुमधि अजिमा (भद्रकाली), वटुका नीलकाली अजिमा, कंगका कंग अजिमा (कंकेश्वरी) देवीका खट जुधाइने गरिन्छ। पाहाँचःह्रेको पर्सिपल्ट असनमा देवीका खट जुधाउने भनी टेबहाल र वटुका अजिमाको खटबाट कंग अजिमाको खटसँगै बलिरहेको मसाल साटफेर गर्दै तीनपटक खट घुमाइन्छ। यसरी देवीका खट जुधाउने गरेकोलाई तीन दिदीबहिनी देवीहरूको भेटघाट गराइएको हो भनिन्छ।

पाहाँचःह्रेमा धर्मस्थली लाछी टोलमा इन्द्रको ३२ हात लामो प्रतिमासहित स्तम्भ ठड्याएर सुरु गरिने धर्मस्थलीको जात्रामा महाकाल, पिंगला र तीनवटा गणेशका पाँचवटा खटको जात्रा गरिन्छ। पाहाँचःह्रेदेखि पाँच दिनसम्म मनाइने धर्मस्थलीको जात्रामा आफन्त, चेलीबेटी, साथीभाइ र पाहुना बोलाइ भोज खाने चलन छ। त्यस्तै, पाहाँचःह्रेमा इचंगुमा महालक्ष्मीको जात्रा गरिन्छ। हल्चोकको  इचंगु महालक्ष्मीको खटजात्रा घोडेजात्राका दिन गरिन्छ। पाहाँचःह्रेका दिन देवघरबाट महालक्ष्मीको खट निकालेर गणेशको खटसहित इचंगु नारायणको दक्षिणतर्फ पीठमा राख्न ल्याइन्छ। 

यो दिन दशा फाल्ने भनेर मन्दिरमा आगो बालेर रातभर जाग्राम बस्ने चलन छ। भोलिपल्ट महालक्ष्मीलाई हाँस, राँगा, बोका, कुखुरा बली दिएर सिन्दुर जात्रा गरिन्छ। महालक्ष्मी र गणेशको खट बोक्नेले जुत्ता लगाउन हुँदैन भन्ने चलन अनुसार नांगो खुट्टाले दाफा बाजाको तालमा खटजात्रा गरेर हल्चोकको आकाश भैरव, चिसापानी, रामकोट, भीमढुंगा र टाकिफलसम्म पूजा थाप्न जाने चलन छ। पाहाँचःह्रको दिनमै बुंगमतिमा कार्यविनायक गणेशको जात्रा गरिन्छ। पाहाँचःह्रेको रात्रिमा गणेशको खट जात्रा गर्दै करुणामय रातो मच्छिन्द्रनाथको मन्दिरमा पुर्‍याएर तीनपटक परिक्रमा गराई फर्काएर ल्याइन्छ। भोलिपल्ट बिहान गणेशको मूर्तिलाई पुजारीले दुवै हातले बोकी करुणामय मन्दिर लगी तीनपटक परिक्रमा गराएर फिर्ता ल्याएपछि जात्रा सकाइन्छ।

प्रकाशित: २८ चैत्र २०७७ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App