७ वैशाख २०७८ मंगलबार
विचार

योग, प्रेम र जीवन

सुन्दर तरिकाले जिउन, स्वस्थ र आनन्दित रहन सक्नु नै मानव जीवनको लक्ष्य हो। यसकै प्राप्तिका लागि शिक्षा, रोजगारी, आयआर्जन, व्यवसाय, राजनीति, समाजसेवा अनेक माध्यमबाट जीवनयापन सहज बनाउने प्रयास गरिरहेका हामीले सारांशमा योग र प्रेम भए जीवन सुन्दर तरिकाले चल्छ भन्ने बुझौँ। प्रेम के हो कसैलाई व्याख्या गरिरहनु जरुरत देखिँदैन। योग गर्ने प्रचलन यति बढिरहेको छ कि यसको बारेमा पनि सबैले बताउने गर्छन्।  

सबैको सपना हुन्छ, आफूले चाहेको जसरी जीवन बितोस्। सपना फरक हुन सक्छन् तर उद्देश्य एकै छ, जीवन प्रेमपूर्ण र सफल बनोस्। यति बुझिसकेपछि जीवनका बहुआयामलाई जीवनोपयोगी बनाएका छौँ कि छैनौँ त? योग, प्रेम र जीवन कसरी एक अर्कामा सम्बन्धित भए? यसको वास्तविक मर्म र अर्थ व्यवहारमा नउतारी सुखै छैन। त्यसो त नेपाल आफैँमा प्राचीनकालदेखि योगभूमिको रूपमा प्रख्यात छ। भगवान शिवको भूमि भन्नासाथ योग र अध्यात्म जोडिएर आउँछ। योगको परिणाम शरीर, मन र मस्तिष्कलाई एकाकार गर्नु हो। व्यक्तिगत चेतना वा आत्मालाई सार्वभौमिक चेतनातर्फ रूपान्तरण गर्नु हो। तर, यसले मानव शरीर र जीवनसँग कसरी सम्बन्ध राख्छ गहिराइबाट जान्न जरुरी छ।

सपना तर फरक

जाडो महिनाको पारिलो घाम, रुखमाथि एउटा बिरालो घामको न्यानोमा निदाइरहेको थियो। रुखको तल कुकुर पनि निदाइरहेको थियो। कुकुर कहिले ब्युँझिने कहिले निदाउने गरेको थियो, बिरालाले सोध्यो– के गरिराछौ?  

कुकुरले आँखा खोल्यो र भन्यो– मैले त गज्जबको सपना देखेँ। सपनामा एकदम ठूलो वर्षात् भयो अनि त्यो वर्षात्मा पानी होइन हड्डी नै हड्डी पो झरिरहेको थियो। यो त कुकुरको सपना थियो, त्यसैले बिरालाले भन्यो कस्तो कुरा गरेको रु यस्तो मैले कहिल्यै सुनेको छैन र शास्त्रमा कतै लेखेको छैन। बरु, शास्त्रमा यस्तो लेखेको छ कि कहिलेकाहीँ वर्षात्मा पानीको सट्टा मुसाहरू झर्छन्। यो हड्डी झरेको त कहिल्यै सुनेको छैन। कुकुरले भन्यो म पनि बुद्धि भएकै कुकुर हुँ, शास्त्रमा हड्डीको वर्णन छ, मुसाको छैन। यो पढेर हामीलाई हाँसो लाग्यो, किनकि हामी कुकुर र बिरालो त होइनौँ, मानिस हौँ। हाम्रो शास्त्रमा फेरि अरू नै विषय, अरु नै मान्यता लेखिएका छन्। यी कुकुर बिरालाले हामीलाई सोधे भने हामी बताउन सक्छौँ कि हाम्रो सपना कस्तो हुन्छ! हाम्रा समग्र सपनालाई पूरा गर्न हाम्रो जीवनशैली कस्तो हुनुपर्छ त्यो महत्वपूर्ण छ।

शरीरका सात चक्र र योग

योग स्वस्थ शरीर र स्फूर्त दिमागका लागि हो। यो शारीरिक अभ्यास मात्र नभएर शारीरिक, मानसिक, सामाजिक, भावनात्मक र आध्यात्मिक रूपबाट सन्तुलनमा रहने माध्यम हो। शरीरका सबै क्रियाकलाप र जीवनशैलीले यसमा सिधै प्रभाव पार्छन्। आधुनिक व्यायाम बाहिरी स्थुल शरीरमा मात्र केन्द्रित हुन्छ। उमेर, तागत अनि निरोगीले मात्र एउटा अवधिसम्म गर्न सक्छ। योगाभ्यास सबै अवस्था परिस्थितिमा बच्चा, युवायुवती, उमेर पुगेका मात्र होइन, बिरामीले पनि गर्न सक्छन्। पतञ्जलि योगदर्शनमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी योगलाई आठ प्रकारमा विभाजन गरिएको छ।

 महर्षि पातञ्जलि भन्नुहुन्छ– सबैभन्दा सर्वश्रेष्ठ र सर्वप्रथम नियम अनुशासनको कर्तव्यको पालना गर्नुपर्छ। शरीर मात्र स्वस्थ, निरोगी, सुन्दर भएर हुँदैन, मन पनि स्वस्थ हुनुपर्छ। योगमा मनको सर्वोच्चताको मापन, धारणा, ध्यान, समाधिद्वारा गरिन्छ। शरीरको मापन व्यायाम, प्राणायामद्वारा गरिन्छ। मौलिक रूपमा योगका सात आयाम छन् भने शरीरका पनि सात चक्र छन्। कर्मयोग मूलाधार चक्रसँग सम्बन्धित छ। तन्त्रयोग स्वाधिष्ठान चक्रसँग सन्बन्धित छ। हठयोग मणिपुर चक्रसँग सम्बन्ध राख्छ। भक्तियोग अनाहत चक्रसँग सम्बन्धित छ। ज्ञानयोग विशुद्धि चक्रसँग सम्बन्धित छ। ध्यानयोग आज्ञा चक्रसँग सम्बन्ध राख्छ र सांख्ययोग सहस्रारसँग सम्बन्धित छ। हाम्रो कर्म, भावना, विचार, सम्बन्ध, सुरक्षा, प्रेमाकांक्षा, सम्मान र स्व–बोध योग र शारीरिक क्रियाकलापसँगै जोडिएर आउने भएकाले समग्रतालाई बुझ्नुपर्ने हुन्छ। हाम्रो जीवनशैली र क्रियाशीलता जस्तो विचार र भावसँग जोडिन्छ, कर्मको परिणाम त्यस्तै आउँछ। सफलता या असफलता, विपद या सुख, शान्ति या वैराग्य सबै हाम्रा कर्मका परिणाम हुन्। यसमा हाम्रो धारणा र शारीरिक जीवनशैलीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। मलाई जीवनमा किन यस्तो भयो अर्थात् देशमा किन यस्तो अवस्था छ भन्नुपूर्व कर्म र विचारले के प्रभाव पार्‍यो, त्यसमा ध्यान दिनुपर्ने हुन्छ।

प्रेम र भक्ति

प्रेमविनाको जीवन निरस र अपूर्ण हुन्छ तर भक्तिविनाको प्रेम स्वार्थी पनि हुन्छ। म प्रेम गर्छु तर केही पाउन भने त्यो स्वार्थसँग जोडिएको लोभ र लालसा बन्न सक्छ। प्रेमसँग भक्ति जोडिनुपर्छ, किनकि प्रेम भक्तियोगको आयाम हो। भक्ति प्रेमको आधार हो। संसार होस् या अध्यात्म प्रेम जरुरी छ नै। संसारमा प्रेम दिन नजान्नेले आध्यात्मिक यात्रामा फड्को मार्न सक्दैन। हामीसँग प्रेम मात्र भएको भए त्यो स्वतः भक्तिको स्थानमा रहन सक्दथ्यो, अनि जताततै प्रेमको फूल फक्रन्थ्यो। जताततै अराजकता, अपूर्णता र अस्थिरता कायम छ भने हाम्रो प्रेम कहाँ खेर गयो होला? हाम्रो प्रेमले हाम्रो चेतनाको स्तरलाई कहाँ पुर्‍यायो होला ? के हामी लौकिक प्रेममै सीमित भएनौँ ?  हाम्रो प्रेम माथि उठेर चेतनागत स्थितिमा पुगेको छ भने हाम्रो जीवनशैली गुनासोबाट अहोभावमा पुगेको हुनुपर्छ। धन्यवादको भाव विकसित भएको हुनुपर्छ। जसप्रति प्रेम हुन्छ, उसप्रति गहन धन्यवाद, अहोभावको भाव विकास भएको हुनुपर्छ। लौकिक प्रेमबाट थोरै माथि गौणी भक्तिमा प्रवेश गर्‍यौँ भने आफ्नो परम्परा र संस्कृतिप्रति प्रेम जाग्छ। 

पूजाआजा, स्तुतिमा लाग्छौँ। यतिमा मात्र सीमित हुँदैनौँ, अब हाम्रो यात्रा अहंकारबाट अहोभावमा रूपान्तरण हुनैपर्छ, शान्ति, प्रेम र आनन्दका साथ जीवन बाँच्ने हो भने। हाम्रो प्रेम अब श्रद्धामा रूपान्तरण हुन्छ। श्रद्धाप्रति होइन, जहाँ श्रद्धा जागृत भयो, शिर झुक्यो, अहंकार तिरोहित भयो, अब हाम्रो प्रेम उच्चतम् चेतनाको तलमा विकास भयो। यसको विस्तारित रूप प्रेमको आत्मिक अनुभवबाट सुमिरन अर्थात् स्मरण, जागरणमा प्रवेश गर्न सक्ने स्थितिमा पुग्छौँ। पारलौकिक प्रेमको अनुभूतिबाट गुज्रिन थाल्छौँ। जीवन सिरियसनेसबाट ननसिरियसनेसमा यात्रा गर्न थाल्छ। परम चैतन्यको बोध हुन थाल्छ। बुद्धुबाट बुद्धत्वको यात्राको मर्म पनि यही हो। परम शिखरको यात्रा, जसरी सगरमाथा आरोहण गर्ने इच्छा हुन्छ, त्यस्तै प्रेमको शिखरको अनुभूतिमा रूपान्तरण देखिन थाल्छ।

वासनारहित प्रेम

यो जीवन त्यतिन्जेल आनन्दित, सुखदायक र पूर्ण लाग्छ, जतिन्जेल आफ्नो भन्ने कोही हुन्छ। कसैको साथ र प्रेमविना जीवन बाँच्नुको अर्थ पनि छैन तर त्यो साथ कस्तो र कसको छ, कुन मार्गमा लैजाने खालको छ, त्यो थाहा पाउनु जरुरी छ। त्यो प्रेम जसले भित्र–बाहिर सदानन्दमा सिञ्चन गरोस्। आत्मस्मरणमा रहन सघाउ पुर्‍याओस्। विस्मृति र विकारबाट मुक्ति दिलाओस्। वासनारहित, स्वार्थरहित र लालसारहित बन्न सकोस्। निष्कपट भावनाको विकास हुन सकोस्। राम र काम दुवैको अनुभूति ग्रहण गर्न सक्ने मनुष्य काममा मात्र नअल्झियोस्। उल्झन, अविश्वास, अनादर, असत्य र अनुशासनहीनताबाट मुक्ति पाउने साधनाको विकास नै वासनारहित प्रेमको परिणाम हो। सतही, देखावटी, बाहिरी समृद्धिको खोल ओढेर स्वयंको आत्मविश्वास डगमगाउने जीवनशैलीले जीवनको उत्तराद्र्धमा पश्चातापमा लैजानुअगाडि एकपटक जीवनबारे सोचौँ, प्रेमको मूल्य चिनौँ, जिउनुको मर्म बुझौँ। स्वतन्त्रता, प्रफुल्लता, प्रशन्नता, पूर्णताको गुणवत्ता लिएर आएको व्यक्ति आज हरेक बहानामा बाँधिएको छ। जकडिएको छ, साँघुरिएको छ, लोभ लालसामा फसेको छ। अब धेरै ढिला नगरी वासनारहित सर्वोच्च प्रेमको अनुभूतिलाई आफ्नो जीवनशैली बनाउने कि?

प्रकाशित: २६ चैत्र २०७७ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?