७ वैशाख २०७८ मंगलबार
विचार

एमाले–माओवादी एकताको मूल्य!

प्रचण्ड नेतृत्वको माओवादीसँग ०७४ को निर्वाचनताका आफ्नो पार्टी नेकपा–एमालेलाई एकीकरण गरेपछि ओली–गुट इतरका एमाले नेता तथा कार्यकर्तामा भएको चिसो पसेको सम्झिँदा हिजै भएजस्तो लाग्छ। म राम्रैसँग सम्झिरहेको छु, ‘माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनपछि बेइमानी गरेर एमालेलाई धोका दिँदै कांग्रेससँग गठबन्धन गरे भने के गर्ने ?’ माधवकुमार नेपाल र झलनाथ खनालका गुटभित्र यस्तै आशंकाको चर्चा चलेको सुनिएकै हो। कम्युनिस्ट गठबन्धन आजको जमानामा दुनियाँको कुनै मुलुकमा हुन नसकेको हास्यास्पद गतिविधि भए पनि नेपालमा यस्ता गतिविधि लाजै नमानी हुने गर्छन्। माधव नेपाल र झलनाथको त्यस बेलाको आशंका हिजोआज अर्कै प्रकारले लाखे बनेर भैरवनाच नाचिरहेको छ। नारायणहिटी दरबारमा परिवर्तन आयो, तर सिंहदरबारको प्रवृत्तिमा परिवर्तन नै देखापरेन। यही हो, वर्तमानको सबभन्दा ठूलो राजनीतिक विडम्बना।  

ओली र प्रचण्डमा त्यस्तो के भष्मासुर अनिष्ट छ, यिनीहरू जहाँ हुन्छन्, त्यहाँ कुनै न कुनै अनिष्ट भएको हुन्छ। केपी ओलीले धरहरा चढ्ने रहर गरे, नयाँ वर्ष ०७२ को अवसरमा उनले धरहरा चढेर त्यहीँबाट एउटा वक्तव्य जारी गरेका पनि थिए। तर, त्यसको १२ दिनपछि भूकम्प आएर धरहरा नै गल्र्याम्म ढल्यो। सगरमाथा बेसक्याम्प जाने रहर के जाहेर गरेका थिए, तत्कालै हिमपहिरो र आँधी आएर पर्वतारोहीका सहयोगी, १४ जना शेर्पाको एकै चिहान भयो। अर्कातिर प्रचण्ड पहिलोपटक प्रधानमन्त्री भएकै दिन २०६५ भदौ २ गते कोसीको बाँध फुट्यो। प्रधानमन्त्री हुँदा सेनापति, पशुपति र राष्ट्रपति तीनै ‘पति’सँग उनको ग्रह मिलेन। यिनकै पालामा पशुपतिको पूजा कैयौँ दिनसम्म ठप्प भयो।

एमालेका नेताहरू अहिलेसम्म भनिरहेका छन्– पार्टी एकीकरण, त्यो पनि माओवादीसँग गर्ने काम, मध्य बडादशैँमा सारा जनता चाड मनाउन लागिरहेको मौका छोपेर अपारदर्शी र बेइमानीपूूर्वक भयो। षड्यन्त्रका सबै तयारी सकिएपछि मात्र माथिल्लो तहका नेतालाई थाहा दिइयो। यस्तो अपारदर्शी र अलोकतान्त्रिक चरित्रका साथ पार्टी एकीकरण र चुनावमा सिटको भागबन्डा समेतको टुंगो लगाउने कामको पछाडि आफू एकछत्र अधिनायकवादी शासन चलाउने ओलीको नियतबाहेक केही थिएन। २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री भएर चाँडै हट्नुपर्दा उनलाई अफिमचीको चिलिम बीचैमा खोसिदिएजस्तै औडाहा र व्यग्रता भएको थियो। पार्टी महाधिवेशनबाट निर्णय लिनुपर्ने एकीकरणको प्रक्रियालाई दशैँको मौका छोपेर एक–दुई नेताको लहडमा गरिएको ‘एकीकरण’ महँगो परेको वास्तविकता अहिलेको चित्र र चरित्र हो।

सत्ताको कलहले ल्याएको यो दुष्परिणामबाट मूल घरमा बस्नेको पनि कल्याण हुनेछैन भन्ने पाठ नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पार्टीबाट हट्न बाध्य बनाएपछि आफू सर्वेसर्वा हुने सपना देख्दा त्यसको परिणामस्वरूप कांग्रेसमा आजको स्थिति आयो। गिरिजाप्रसाद कोइरालाले भने ओलीको जस्तो संविधान नै ध्वस्त हुने काम गरेका थिएनन्।

दुई मुख्य कम्युनिस्ट पार्टीको एकीकरण भएकै थियो। जनताले करिब दुईतिहाइ बहुमत सहितका मतादेश दिएकै थिए। नेपाली कांग्रेस लगायत सबै पार्टीले पाँच वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शासन–सत्ता चलाउने भयो भन्ने मनस्थिति बनाइसकेका थिए। तर आफूभित्रकै कारणले कम्युनिस्ट नेतृत्वको सरकार डुब्न लागेको जहाज जसरी लर्खराइरहेको छ। दुईतिहाइको सरकार यति कमजोर र निरीह हुनुपर्ने कारण के हो?

गणतन्त्ररूपी ऐँजेरु लागेको लोकतन्त्र विदेशी हस्तक्षेप र अराजकताको पर्याय बन्न पुग्यो। गणतन्त्रको जेठो दाजु राष्ट्रियता विरुद्धको षड्यन्त्र हो। आँट गर्नेले जे गरे पनि हुन्छ भन्ने आपराधिक मान्यता– समाजमा व्यापारीको भेषमा, उद्योगीको अवतारमा, ब्युरोक्रेटको झाँकीमा, नेताको बहुरंगी चेहरा र चरित्रमा, रक्षकले भक्षक भएको यथार्थमा र शिक्षकले विद्यार्थी बर्बाद गरेको रूपमा प्रकट भइरहेको छ। देश सत्ता–स्वार्थले अन्धो र मनोरोगी बनाएका खेलाडीबीचको मुठभेडतिर धकेलिँदै छ। यी खेलाडी आफ्नो टिम (पार्टी) भित्र मिल्न सक्दैनन्, अर्को टिमको खेलाडीसँग मिल्न मरिहत्ते गर्छन्। उनीहरूले पुरानो युरोपका विद्वान् भोल्तेयरको भनाइलाई आफ्नो प्रार्थना बनाउनुपर्ने स्थिति छ, ‘हे ईश्वर, मलाई मेरै मित्रहरूबाट बचाऊ, विरोधीसँग त मैले बच्न जानेकै छु।’  

प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालसँग भद्र एकताका लागि तयार देखिएनन्, तर अपराधबापत जेलमा भएका सांसद रेशम चौधरीलाई रिहा गरेर वा जनता समाजवादी पार्टी (जसपा) का जस्तासुकै माग पूरा गर्न सहमति गरेर भए पनि जसपाको समर्थनमा आफ्नो सरकार टिकाइरहने दाउपेच र प्रपञ्चमा छन्। ‘शत्रुको शत्रु मेरो साथी’ भन्ने चिनियाँ उखानको विकृतरूप ‘कमरेडको शत्रु मेरो साथी’ भएर चरितार्थ हुँदै गएको देखिन्छ।

मूलधारको राजनीतिमा सक्रिय रहेका र सत्ताको हालिमुहाली लिएका कांग्रेस र कम्युनिस्टका गतिविधिबाट आजको वास्तविकता सबै छर्लंग भइसक्यो। जेसुकै ठानियोस्, परम्परागत शक्तिप्रतिको नेपाली जनमत अहिले पनि प्रबल रूपमा कायम छ। तर त्यो शक्तिसँग मिलेर जाने राजनीतिक संस्कार कांग्रेस र कम्युनिस्टसँग नहुनु नै उनीहरूको दुर्दशाको कारण हो।

संविधानसभा चुनावभन्दा अगाडि एक अमेरिकी संस्थाले गोप्य रूपमा स्थलगत सर्वेक्षण गरेको थियो, जसलाई अमेरिकी जासुस संस्था सिआइएको परिचालन र लगानीमा भएको भनी उसैबेला बताइन्थ्यो। नेपालमा मतदाता संख्या करिब डेढ करोड हुँदा कुल ४२.६३ प्रतिशत कम्युनिस्ट जनमत थियो भने ३८.८८ प्रतिशत लोकतन्त्रवादी मत थियो। अझ रोचक कुरा, त्यो सर्वेक्षणले लोकतन्त्रवादीभित्र समेत गरी राजतन्त्रका समर्थक ६० प्रतिशतभन्दा माथि नै देखाएको थियो। १८.४९ प्रतिशत भोट राजनीतिक दलबाट अप्रभावित, सकारात्मक अर्थमा ‘तटस्थ’ र नकारात्मक अर्थमा ‘अवसरवादी’ छ भन्ने तथ्यांक पनि दिइयो। साम्प्रदायिक, क्षेत्रीय, धार्मिक र निराशाको मतलाई पनि १८ प्रतिशतभित्रै राखिएको थियो। यसको अर्थ सबै कम्युनिस्ट घटक मिले भने स्पष्ट बहुमत लिन सक्छन्। तर दुई दर्जन चुला–चौका हालेर बसेका कमरेडहरू एउटै घर र एउटै भान्सामा आउने हो भने के होला भन्ने प्रश्नको उत्तर दुई मुख्य कम्युनिस्ट पार्टीको एकताको वर्तमान परिणामले दिइरहेकै छ।

एमालेको माधव–झलनाथ समूहका लागि अब ऐतिहासिक र कठोर निर्णयको घडी आइसकेको छ। पार्टीमा ४०औँ वर्ष बिताएर नेतृत्व चलाइसकेका र केश फुलाइसकेका समकालीन कमरेडलाई सिद्धान्तहीन र सत्ताको स्वार्थले अन्धो  भएर एक–एक गरी पार्टीबाट निलम्बन गर्दा दुनियाँले कसरी अर्थ लगाउलान् भन्ने चिन्ता वा हेक्का प्रधानमन्त्री ओलीलाई भएन। अब माधव–झलनाथ पक्षले आफ्नो अस्तित्व र भविष्यको टुंगो आफ्नै प्रयासले लगाउनुपर्ने देखिन्छ। सत्ताको कलहले ल्याएको यो दुष्परिणामबाट मूल घरमा बस्नेको पनि कल्याण हुनेछैन भन्ने पाठ नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पार्टीबाट हट्न बाध्य बनाएपछि आफू सर्वेसर्वा हुने सपना देख्दा त्यसको परिणामस्वरूप कांग्रेसमा आजको स्थिति आयो। गिरिजाप्रसाद कोइरालाले भने ओलीको जस्तो संविधान नै ध्वस्त हुने काम गरेका थिएनन्। ओलीका वर्तमान हर्कतले आज माधव–झलनाथ गुट पीडित भएर सुरु भएको परपीडा भोलि सर्वत्र पुग्ने अवश्यम्भावी छ।  

यो लथालिंग अवस्थालाई हेरेर खुच्चिङ बजाउनु जिम्मेवारी र दायित्वको द्योतक हुनेछैन। ‘गणतन्त्र’ लादिएपछिका १२ वर्षको अवधिको कसीमा पार्टीहरू असफल र नाराहरू निष्ठाविहीन रटान साबित भइसके। काम–मामका लागि विदेशले बोलाएर होइन, पार्टीहरूका यस्तै राजनीति र सत्ताका चर्तिकलाले धकेलेर लखेटिन विवश भएका नेपाली कामको सिलसिलामै मरिरहेका छन्। त्यस्ता मृतक नेपालीमध्ये करिब दुई सय जनाको अलपत्र परेका पार्थिव शरीर स्वदेश भित्र्याउने समेत योग्यता र वास्ता यी पार्टीले राख्दैनन्। परायाले लादेको थेग्नै नसक्ने परिवर्तन हामीलाई अभिशाप र व्यर्थको कुरा हुन पुग्यो भने विदेशी तत्वलाई यहाँ आफ्ना पञ्जा मजबुत बनाएर राख्ने मौकाको रूपमा भयो। चाहिएको थियो इमानदारीले सुसज्जित बृहत राष्ट्रिय सहमति र मेलमिलापको वातावरण दिने राजनीतिक व्यवस्था, तर भयो सत्ताकलह, अस्थिरता, अन्योल र शत्रुताको व्यवस्था। यो परिस्थितिको जसरी पनि अन्त्य गर्नुपर्छ, देशभित्रैबाट गर्नुपर्छ। त्यसैले वर्तमान मुख्य दलहरूले साँच्चै एकता चाहेका हुन् भने यिनीहरूले ढिलोचाँडो उपेक्षित परम्परागत राष्ट्रिय शक्तिसँग एकता र मेलमिलापको हात नबढाई सुखै छैन। नेपालमा वामपन्थी आन्दोलनलाई ओलीले ध्वस्त बनाइहाले, लोकतान्त्रिक आन्दोलनलाई धराशयी बनाउन कांग्रेसभित्र ओलीकै दौँतरी लागिपरेका छन्। लोकतान्त्रिक र वामआन्दोलनको समाप्ति एकसाथ हुने जोखिम देखापरिसकेको छ। 

प्रकाशित: २६ चैत्र २०७७ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?