८ वैशाख २०८१ शनिबार
विचार

दक्षिण एसियामा भारत–पाकिस्तान सम्बन्ध

दक्षिण एसियाका दुई ठूला आणविक शक्ति सम्पन्न राष्ट्र भारत र पाकिस्तानको आपसी कटुताले सम्पूर्ण दक्षिण एसियाको विकास अवरुद्ध हुन पुगेको छ। यसले सार्कको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ। भारत र पाकिस्तान विभाजित भएदेखि नै कटुताको प्रारम्भ भएको थियो। पाकिस्तान इस्लामिक गणतन्त्र भयो भने गणतन्त्र भारत धर्मनिरपेक्ष राष्ट्र भयो। हालका दिनहरूमा बिजेपीको शासनकालमा भारतले पनि क्रमशः धर्मनिरपेक्षतालाई त्याग्दै हिन्दुत्ववादी विचारलाई आत्मसात गरेको देखिन्छ।

१४ फेब्रुअरी २०१९ पुलवामा घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त्य तनावपूर्ण बन्यो। जम्मु–कस्मिरको पुलवामा भएको आत्मघाती बम हमलामा भारतको केन्द्रीय सुरक्षा बलका ४० जवानको ज्यान गयो। भारतले उक्त घटनामा पाकिस्तानको हात रहेको बताएको छ। गत वर्ष भारतले जम्मु–कस्मिरको विशेषाधिकार खारेज गर्ने निर्णय गरेपछि पाकिस्तान भारतसँग थप चिढिन पुग्यो।

पुलवामा घटनापछि भारतले नोभेम्बर २०१९ मा पाकिस्तानमा हुने भनी तय भएको १९औँ सार्क सम्मेलनमा भाग नलिने घोषणा गर्‍यो। त्यसयता सार्क सम्मेलन कहिले हुने भन्ने टुंगो छैन। सार्कको १८औँ सम्मेलन नोभेम्बर २०१४ मा काठमाडौंमा भएको थियो। सार्कलाई सक्रिय बनाउनका लागि अध्यक्षका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समकक्षी मोदीलाई धेरैपटक आग्रह गरिसकेका छन्। तर, भारतले पाकिस्तानले सीमापार आतंकवादलाई नरोकेसम्म सार्क अगाडि बढ्ने सम्भावना नरहेको बताउँदै आएको छ। पछिल्लो समय भारतले पाकिस्तानसँगको सम्बन्धकै कारण सार्कलाई छाडेर बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) मा जोड दिएको छ।

पुलवामा घटनाभन्दा अघि दुई देशबीच केही मात्रामा भए पनि व्यापार सामान्य थियो। दुई मुलुकबीच लगभग चार अर्ब डलरको कारोबार हुन्थ्यो, जुन भारतको पक्षमा थियो। नयाँदिल्ली–लाहोर बस र सम्झौता एक्सप्रेस रेल चलिरहेको थियो। उक्त घटनाले दुई देशबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन। पहिले सञ्चालनमा रहेको काठमाडौं–इस्लामाबाद हवाई सेवा समेत बन्द भएको छ। दुई घन्टाभन्दा कम हवाई दूरीमा रहेको इस्लामाबाद पुग्न अहिले दुई दिन लाग्छ, त्यो पनि दुबई वा दोहाको लामो बाटो भएर। यसरी समान रहनसहन, संस्कृति भएका सार्क मुलुकबीचको सम्बन्ध प्रभावित भएको छ।  

बलिउडका सिनेमा पाकिस्तानमा अत्यन्त हेरिन्छन्। पाकिस्तानी गजललाई भारतमा उत्तिकै मन पराइन्छ। क्रिकेटको त भारत र पाकिस्तान दुवै विश्वविजेता नै हुन्। भनिन्छ, सबै कुरा बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिँदैन। भारत यस क्षेत्रको सबैभन्दा ठूलो राष्ट्र हो। अहिले ऊ विश्वशक्ति बन्ने दौडमा छ। यसका लागि सबै छिमेकीसँग सुमधुर सम्बन्ध हुन आवश्यक छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार संयुक्त राज्य अमेरिका र युनाइटेड अरब अमिरातको अग्रसरतामा भारत–पाकिस्तान सम्बन्ध सुधारतर्फ अघि बढेको संकेत देखापरेको छ। यसको परिणामस्वरूप २५ फेब्रुअरीमा दुवै देशका सैनिक अधिकारीले भारत–पाकिस्तान सीमामा संघर्ष विरामको घोषणा गरे। 

यस्तै, युएईका विदेशमन्त्री सेख अब्दुल्लाह बिन जायदको २६ फेब्रुअरीमा भएको नयाँदिल्ली भ्रमणका बेला भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको कुराकानीमा भारत र पाकिस्तानबीच शान्ति स्थापित गर्नेबारे छलफल भएको थियो। यसअघि भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र पाकिस्तानी सेनाप्रमुख जनरल कमर बाजवाबीच भित्री सम्पर्कबाट कुरा भएको बताइन्छ। यस्तै अजित डोभल र उनका पाकिस्तानी समकक्षी मोइद युसुफसँग पनि वार्ता भएको बताइन्छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको गणतन्त्र दिवस (२३ मार्च) या पाकिस्तान दिवसको अवसरमा आफ्ना समकक्षी इमरान खानलाई शुभकामना पत्र पठाउँदै भने– एक छिमेकी मुलुक भएको नाताले भारत, पाकिस्तानी जनतासँग सौहार्द्रपूर्ण सम्बन्ध राख्न चाहन्छ। यसलाई सम्भव तुल्याउन आतंकवाद र शत्रुतामुक्त तथा विश्वास र भरोसाले पूर्ण वातावरण बन्न जरुरी छ। यसै दिन सन् १९४० मा इस्लामिक गणतन्त्र पाकिस्तानको वीजारोपण भएको थियो।

अहिले प्रायः सबैजसो छिमेकीसँग भारतको राम्रो सम्बन्ध छैन। यस्तोमा छिमेकीसँग सानातिना कुरामा अल्झेर बस्नु स्वयं भारतको हितमा छैन, किनभने विश्वले भन्नेछ– उसले आफ्ना छिमेकीलाई त सन्तुष्ट पार्न सकेन, विश्वलाई कसरी डो¥याउँछ। यसले उसको विश्वशक्ति बन्ने चाहनामा बाधा पैदा हुनेछ। हालै भएको प्रधानमन्त्री मोदीको बंगलादेश भ्रमणका क्रममा भएको विरोध प्रदर्शनमा २०औँ जनाको ज्यान गएको छ भने ठूलो मात्रामा सरकारी र निजी सम्पत्तिमा क्षति पुगेको छ।

यस्तो विषम परिस्थितिमा भारत–पाकिस्तानले आफूहरूबीचको सम्बन्धमा रहेको चिसोपनालाई हटाउन जुन प्रयास प्रारम्भ गरेका छन्, यो निश्चय नै स्वागतयोग्य कदम हो। दक्षिण एसियामा रहेका या दुई ठूला मुलुकबीच सम्बन्ध राम्रो हुन सक्यो भने दक्षिण एसियाको समृद्धिको ढोका खुल्नेछ। विश्व बैंकले आफ्नो एक प्रतिवेदनमा भनेको छ– दक्षिण एसियाली देशहरूबीच जति व्यापारको सम्भावना छ, हाल त्योभन्दा अत्यन्त न्यूनस्तरमा भइरहेको छ।  

उसले यसको कारण उल्लेख गरेको छ– आपसी विश्वासको कमी, माल–वस्तुहरूको प्रवाहमा अनावश्यक झन्झट तथा विभिन्न किसिमका तगारा। हाल दक्षिण एसियाली देशहरूको व्यापार लगभग २५ अर्ब अमेरिकी डलरको छ, त्यसलाई सजिलै सय अर्ब डलर पुर्‍याउन सकिन्छ। यसले दक्षिण एसियाको समृद्धिको ढोका खुल्नेछ।

भारत–पाकिस्तानले सम्बन्ध सुधारको जुन थालनी गरेका छन्, त्यसलाई एक निश्चित बिन्दुमा पुर्‍याउन जुन विषयमा आपसी सहमति हुन सक्छ, ती विषयलाई अगाडि बढाइनुपर्छ। जस्तोः सांस्कृतिक आदान–प्रदान, व्यापार, वाणिज्य तथा क्रिकेट आदि। विवादित विषय (कस्मिर, सीमा समस्या आदि) लाई एकातर्फ पन्छाएर अगाडि बढ्नुपर्छ।

भारत–पाकिस्तान द्वन्द्वले गर्दा सार्क जसरी निष्क्रिय भएर रहेको थियो, त्यो अब सक्रिय हुने सम्भावना बढेको छ। सार्कको वर्तमान अध्यक्ष नेपाल भएकाले इस्लामाबादमा हुने भनेर रोकिएको सार्क शिखर सम्मेलन आयोजना गर्न अब नेपालको भूमिका बढेको छ। प्रधानमन्त्री केपी ओलीले इस्लामाबादमा हुने सार्क शिखर सम्मेलनको तिथिमिति तोक्नका लागि आफ्ना समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री इमरान खानसँग वार्ता अघि बढाउनुपर्छ।

प्रकाशित: २४ चैत्र २०७७ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App