८ वैशाख २०७८ बुधबार
विचार

नवीन्द्र दाइप्रति श्रद्धाञ्जली

नेपाली काँग्रेसका युवा नेता नवीन्द्रराज जोशी आज हामीबीच हुनुहुन्न। सिङ्गो पार्टी र राष्ट्रले बेहोरेको अपुरणीय क्षतिको सामना गर्नुपरिरहेको सन्दर्भमा उहाँले यो मुलुकलाई पुर्‍याउनुभएको योगदानको प्रशंसा जति गरे पनि अपुग हुन्छ। नवीन्द्र दाइसँग मेरो पहिलो भेट २०४६ सालपछि विद्यालयमा नेविसंघ गठन भएपश्चात संघले गरेको कार्यक्रममा संस्कृत मा.वि. रानीपोखरीमा उहाँ आउँदा भएको थियो। उहाँले त्यसबेलामा हामी विद्यार्थीलाई संघ के हो र यो गठन किन जरुरी छ? 

आज पार्टीको नर्सरीको रूपमा रहेको ने.वि. संघको सदस्यता लिएपछि भोलिका दिनमा नेपाली काँग्रेस पार्टीमा रहेर देश समाज र राष्ट्रलाई के/कस्तो योगदान पुर्‍याउन सकिन्छ? भन्नेबारेमा हाम्रो बाल मस्तिष्कमा राम्ररी बोध गराउन सक्ने खुबी उहाँमा थियो। समयक्रमसँगै उहाँले हामीलाई दिनुभएको मार्गदर्शनबाट विचलित नभई अध्ययनको साथसाथै विद्यार्थी राजनीतिमा समेत लागियो। फलस्वरूप वाल्मीकि क्याम्पस एकाइको सदस्य भएर काम गर्ने मौका मिल्यो। झन त्यसपछि दाइसँगको सामीप्यता अझ नजिक हुन पुग्यो। तीनधारा पाठशालामा रहेका सम्पूर्ण विद्यार्थीले ने.वि.संघको सदस्यता लिएका थिए। एक दुई जना अखिलका भए पनि ती बाहिर आउने हिम्मत गर्देनथे। वाल्मीकि क्याम्पसमा त अखिलको उम्मेद्वार पाउनै हम्मेहम्मे पर्ने अवस्था थियो। 

त्यतिबेला दाइ तीनधारा पाठशालामा बरोबर आउजाउ गर्नुहुन्थ्यो। दाइलाई भेटेपछि हाम्रो समय गएको नै पत्तो हुँदैनथ्यो। उहाँले विद्यार्थी साथीहरूले पहिलो कर्म अध्ययनलाई नै सर्वोपरि ठान्नुपर्छ भनेर हामीलाई अध्ययनतर्फ बढी पे्ररित गर्नुहुन्थ्यो। त्यसबेलाका अग्रज दाजुहरू बद्री पाण्डे, धनेश्वर नेपाल, शान्तिकृष्ण अधिकारी आदिले मलाई गर्नुभएको स्नेह र नवीन्द्र दाइले देखाउनुभएको मार्गदर्शनले गर्दा नै र सम्पूर्ण साथीको सहयोग र अझ भन्नुपर्दा पार्टीको १३ औँ महाधिवेशनमा नवीन्द्र दाइको सल्लाहबाट जिल्ला सदस्यमा उठ्ने र निर्वाचित हुने सौभाग्य मलाई प्राप्त भयो।

मेरो अन्तिम भेट भनेको उहाँ मृत्युसँग लडिरहँदा पुष्कर पाण्डे दाजुले आउन त दाइलाई हेर्न भनेर माथि दाइ सुतिरहनुभएको आइसियुमा लग्नुभयो। त्यतिबेला दाइ भेन्टिलेटरको सहायताले श्वास प्रश्वास गरिरहनुभएको थियो। मलाई लागेको थियो– दाइले पक्कै पनि मृत्युलाई जितेर फर्कनुहुन्छ र मलाई के छ अमिन भनेर बोलाउनुहुन्छ। तर मेरो सोचाइ एकाएक गलत सावित भयो। शुक्रबारको कालो रात ८ः२४ मा दाइलाई सदाका लागि हामीबाट चुँडेर लग्यो। दाइले समाजसेवा र राजनीतिलाई एकसाथ अघि बढाउनुभयो। आज देशका आमकार्यकर्ता मात्र नभई विपक्षी साथीहरूले समेत दाइको यो अकल्पनीय दुःखद निधनप्रति समवेदना प्रकट गरेका छन्। देश विदेशमा रहेका हजारौँ शुभचिन्तक मर्माहत भएका छन्। अब यो दाइको अभाव पार्टीमा त झनै खड्किने निश्चित छ किनकि भ्रष्टाचारलाई शून्य सहनशीलताको सिद्धान्त लागु गर्नुपर्छ र देशको आमूल परिवर्तनको संवाहक भनेको युवाहरू नै हो भनेर उहाँले प्रतिपादन गर्नुभएको सिद्धान्त विचारमा प्रष्टता र राजनीतिमा इमान्दारिता भन्ने जुन नारा बनाउनुभयो आज समग्र काँगे्रसीजनले यही विचारलाई आफ्नो मार्गदर्शक बनाउनुपर्छ।  

काठमाडौँ नगरपालिकालाई देशको पहिलो महानगर बनाउन उहाँले पुर्‍याउनुभएको योगदान सदा अविश्मरणीय छ। २७ वर्षको युवा उमेरमा काठमाडोैँ नगरपालिकाको उपप्रमुख भएर नगरबासीलाई कसरी सेवा/सुविधा दिन सकिन्छ भनेर धेरै योजना लागु गर्न सफल हुनुभयो। अझ निम्न व्यापारीलाई व्यापार गर्ने थलो भृकुटीमण्डपको स्थान उपलब्ध गराएर आज ती सम्पूर्ण निम्न व्यापारीले उहाँको गुणगान अझै गाइरहेका छन्। ती अलावा कैयन् कार्य उहाँले गर्नुभएको थियो। २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को आन्दोलनमा आफ्नो ज्यानको बाजी थापेर देश र राष्ट्रको मुहार फेर्न उहाँ कटिबद्ध रहनुभयो। गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई आफ्नो राजनीतिक गुरु मान्ने दाइले गणेशमान सिंहको नाममा गणेशमान सिंह अध्ययन प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी सम्हाली दीनदुःखीहरूको सेवामा र राष्ट्रलाई योगदान गर्ने कार्यमा सधैँ दत्तचित्त भएर लागिपर्नुभयो।

प्रथम संविधानसभा र दोस्रो संविधानसभामा काठमाडौँ निर्वाचन क्षेत्र नं. ८ बाट भारी मतले विजयी हुनुभएका नवीन्द्र दाइले नेपालको संविधान २०७२ निर्माणमा बहुलवादको अवधारणा संविधानमा अक्षरशः समावेश गराउन सफल हुनुभयो। यो मात्र नभई लोकतन्त्र कसरी मजबुत हुन सक्छ भन्ने सन्दर्भमा संविधान लेख्ने बेलामा तल्लो जनतासम्म आएर जनताका राय परामर्श लिएर संविधानमा लिपिबद्ध गराउन सफल हुनुभयो। उद्योगमन्त्री हुँदाको समयमा देशका कैयन् रुग्ण उद्योगलाई पुनर्जीवन दिने र नेपाल औषधि उद्योग लिमिटेडलगायत उदयपुर, हेटौँडा सिमेन्ट कारखाना र अन्य धराशायी भएका र घाटामा गएका उद्योगलाई नाफा दिलाउन सफल हुनुभयो। 

उहाँको निर्वाचन क्षेत्रमा ऐतिहासिक र पुराताित्त्वक महत्वका सम्पदा रहेको हुँदा वसन्तपुरदेखि स्वयम्भुसम्मको मार्गलाई सम्पदा मार्गका रूपमा विकास गर्नुभयो र नेपाल संस्कृतिको जगेर्ना गर्न बाजागाजाको व्यवस्था गरी यहाँको संस्कृति धर्म परम्पराका लागि अहोरात्र खट्नुभयो। विशेषगरी नेवार समुदायको गुठीलाई तत्कालीन सरकारले मास्ने अभिप्रायले ल्याइएको गुठी विधेयकको उहाँले डटेर विरोध गर्नुभयो। यसका बाबजुद सरकार पछि हट्न बाध्य भयो। पछिल्लो निर्वाचनमा झिनो मतले हार बेहोर्नुपरे पनि उहाँले आफ्नो निर्वाचन क्षेत्रका जनताको पीरमर्का र सुखदुःखमा सधैँ साथ दिँदै आउनुभयो। प्रत्येक मतदाता मेरा आफ्ना परिवार जस्तै हुन् भनी कोभिड–१९ को समयमा समेत उहाँले रोगको परबाह नगरी कोभिड घरदैलो सूचना अभियान प्रारम्भ गरी टेलिडक्टर, मास्क, सिटामोल आदि आफ्नो निर्वाचन क्षेत्रमा व्यापक वितरण गर्नुभयो। यसबाट के बुझ्न जरुरी छ भने सरकारको मात्र मुख ताक्नुभन्दा पनि आफूले पनि समाजका लागि केही कर्तव्य गरेर देखाउनुपर्छ भन्ने बोध गराउनुभयो। आज नवीन्द्र दाइले गरेका यावत कर्म यहाँ संक्षेपमा मात्र प्रस्तुत गरेको छु। सिंगो पार्टीलगायत सम्पूर्ण शुभचिन्तकले दाइको अधुरा सपना पूरा गर्न सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। 

प्रकाशित: २२ चैत्र २०७७ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?