६ वैशाख २०७८ सोमबार
विचार

एक भौतिकवादी बौद्धको जीवन दर्शन

दृष्टिकोण

लगनखेलस्थित सैनिक ब्यारेकको खुला मैदानमा करिब ८० वर्षपछि आयोजित सम्यक् महादानपर्व (२ मार्च २०१५) मा सहभागी हुन लाइनमा बस्दै थिएँ। हुलमुल र उत्साहको कुरा नगरौँ, प्रवेशद्वारसम्म पुग्न पनि लाइन लामो थियो। लाइनमा उभिइरहँदा सँगैको परिचितसँग यताउताको कुरा हुने भइहाल्यो, मसँगै लाइनमा एक साहित्यकार थिए, उनी बुद्ध र बौद्ध धर्मसम्बन्धी प्रतीक तथा अन्य कुरा समावेश गरेर लेखिरहन्छन्। उनीसँग अनेकौँ कुरा भए।

बौद्ध धर्मसम्बन्धी कार्यक्रममा बौद्ध विषयवस्तुमै पनि स्वाभाविक रूपमा कुरा भए। तर उनीसँग भएको त्यो कुराकानी व्यक्तिगत स्तरको नभएर नेपाली बौद्ध समाजको एउटा चित्रण थियो, गम्भीर तथा संवेदनशील विषय पनि थियो। यो लेख त्यही कुराकानीको सेरोफेरोमा छ। उनी शाक्य समुदायसम्बद्ध भक्तपुर निवासी एक बौद्ध। यो समुदायमा बाल्यकालमै चूडाकर्म सम्पन्न गर्नुपर्छ। यसको अर्थ हो, बौद्ध धर्ममा प्रव्रजित हुनु अर्थात् बौद्ध भिक्षु हुनु।

चार दिनसम्म भिक्षु जीवन बिताएर गृहस्थ जीवनमा फर्कनुपर्छ। यस अर्थमा यिनीहरूलाई गृहस्थ भिक्षुको दर्जा प्राप्त हुन्छ। सोहीअनुसार दैनिक जीवन र समाजमा संस्कार संस्कृतिको सम्पादन गरिन्छ। यसरी नै यी शाक्यहरू आफूलाई गौतम बुद्धकै वंशज भनी परिचय दिन रुचाउँछन्। तर यस सम्बन्धमा मैले आफ्नो पुस्तक ‘बुद्ध एक भ्रम अनेक’ मा खण्डन गरेको छु।  

कुनै बेला शाक्य एउटा पारिवारिक नाम भए पनि पछि ‘शाक्य गणराज्य’ भनी राष्ट्रियताको नाम बन्न पुगेको थियो। यसअनुसार गैर शाक्यकुलका जनता पनि राष्ट्रियताका आधारमा शाक्यका रूपमा चिनिन पुगे। बुद्धका शिष्यहरू जोकोही पनि शाक्यपुत्र र शाक्यपुत्रीका रूपमा चिनिँदै अन्ततः शाक्य नै कहलिन पुगेको बारेमा पनि त्यस पुस्तकमा चर्चा गरिएको छ। जेहोस्, काठमाडौं उपत्यकामा आवाद रहेका शाक्य समुदाय आफूलाई विशुद्ध रूपमा बौद्ध नै मान्छन् र बौद्ध संस्कार संस्कृतिमा नै जीवन बिताउँछन्।  

ती परिचितले यस्ता कुरा पनि बोले, जुन बौद्ध धर्म र दर्शनका मूलभूल मान्यतासँग ठ्याम्मै मेल खाँदैन। राजनीतिक विचारधारामा कम्युनिजम्सँग आफूलाई सम्बद्ध गराउने उनी प्रगतिशील लेखकका रूपमा समाजमा परिचित छन्। यस अर्थमा आफूलाई विशुद्ध भौतिकवादी देखाउनु अनिवार्य नै भयो।

भौतिकवादीहरू पूूर्वजन्म र पुनर्जन्मका कुरालाई ठाडै अस्वीकार गर्छन् वा गिल्याएर हाँसोमा उडाउँछन्, जब कि यी कुरा बौद्ध धर्म र दर्शनको आधारभूत कुरा हुन्। बौद्ध जीवनमा अत्यन्तै महत्वको विषय मानिने कर्म विपाक तथा पुण्यफललाई पनि अन्धविश्वासका रूपमा लिन्छन्।  

भौतिकवादीको यस्तो बोलाई मेरा लागि कुनै नौलो कुरा होइन। बौद्ध धर्मको आधारभूत मूल्य–मान्यताका रूपमा रहेका यी कुरालाई यसरी उडाएर बोल्नु भौतिकवादीको धर्म नै हो भन्दा फरक पर्दैन। अनि मेरो ठाडो प्रश्न भयो, ‘उसो भए प्रतीत्यसमुत्पादका सम्बन्धमा के भन्नुहुन्छ त ?’

प्राणीको जन्म र मृत्युको चक्रलाई ‘द्वादशांग’मा विभाजन गरी ती एक अर्कोसँग कार्य–कारण रहेको दृष्टान्त नै प्रंतीत्यसमुत्पाद दर्शन हो। कारणलाई नै नष्ट गरेपछि उत्पन्न नहुने र दुःखबाट मुक्त हुने प्रतीत्यसमुत्पाद दर्शनको सार हो। र, दर्शनशास्त्रको दुनियाँमा गौतम बुद्धको यो मौलिक देन पनि हो।  

बुद्धकै शब्दमा भन्नुपर्दा जसले धर्म बुझ्छ, उसले प्रतीत्यसमुत्पाद दर्शन बुझ्छ, वा जसले प्रतीत्यसमुत्पाद दर्शन बुझ्छ, उसले धर्म बुझ्छ। प्रत्युत्तरमा यी कुरा आफ्नो ठाउँमा ठीक होला, तर आफूलाई कुनै सरोकार नभएको उनले प्रष्ट रूपमा भने। वास्तवमा म त्यति बेला किंकर्तव्यविमुढको अवस्थामा पुगिरहेको थिएँ। महायानी बौद्धहरूले अत्यन्तै महत्व दिई दैनिक रूपमा बिहान नित्य पाठ गर्ने ‘नामसंगीति’ उनी पनि पाठ गर्छन्।

सोधेँ, ‘तपाईं केका लागि नामसंगीति पाठ गर्नुहुन्छ र यहाँ यत्रो बेरसम्म लाइनमा बसेर के गर्न आउनुभएको हो ?’ उनले खुलस्त शब्दमै भने, ‘हेर्नुस्, म संस्कारले बौद्ध हुँ, मलाई बौद्ध समाजमा नै जिउनुपर्छ, तसर्थ यसलाई छाड्न सकिन्न। म प्रगतिशील विचारधारा राख्ने हुँ र बुद्धका विचार प्रगतिशील नै छन्। यसो भएकाले बुद्धलाई मन पराउँछु पनि।’  

बौद्ध धर्ममा भएका राम्रा कुरा भनेर प्रायःले उल्लेख गर्ने हत्याहिंसा नगर्ने, चोरी तथा लुटपाट एवं ठगी नगर्ने, झूटो नबोल्ने लगायत शीलसँग सम्बन्धित कुरा हुन्। वास्तवमा यी नैतिकताका कुरा बौद्धबाहेक अन्य धर्म सम्प्रदायमा पनि नपाइने होइन। बौद्ध धर्मले ईश्वरको अस्तित्व मान्दैन र यसैका आधारमा यसलाई क्रान्तिकारी मानेर बुद्धको प्रशंसा गर्ने भौतिकवादी नभएका होइनन्। तर आस्तिक दर्शनअन्तर्गत षड्दर्शनको सांख्यले पनि ईश्वरको अस्तित्व मान्दैन। बौद्ध दर्शनले आत्माको अस्तित्व नमानेको भन्नु नित्यताको अवधारणालाई मात्रै नमान्ने हो। 

यसरी नै बौद्ध धर्मले हिन्दू धर्मको वेदलाई नमानेको नभएर शब्द प्रमाणलाई नमान्नु हो, अर्थात् वेदलगायत कुनै पनि धर्मग्रन्थमा लेखिएकै आधारमा त्यसलाई सत्य मान्नु हुँदैन भन्नु हो। बुद्धले भनेको चार आर्यसत्य, अष्टांगिक मार्ग, त्रिलक्षण, प्रतीत्यसमुत्पाद लगायत कुरा भौतिकवादले चपाउन सक्ने कुरा होइन। भौतिक र अध्यात्म गरी दुई अतिवाद बुद्धलाई स्वीकार्य छैन र उनी मध्यममार्गी हुन्। उनले दिएका उपदेश मध्यमार्गी नै छन्। यस अवस्थामा भौतिकवाद र अध्यात्मवाद दुवैले आफू नजिक देख्नु स्वाभाविक हो, तसर्थ आफूजस्तै देख्नु नै गलत हो। हाम्रा भौतिकवादी यही कुरामा चुकिरहेको पाइन्छ। दुई–चारवटा नैतिक वा आदर्शका कुरालाई लिएर बौद्ध धर्मको प्रशंसा गर्नु वा बौद्ध धर्मलाई बुझेको स्वाङ पार्नु सतही अध्ययन वा चिन्तन मात्रै हो।  

इ.पू. ५२८ मा श्रमण गौतमले बुद्धत्व प्राप्त गरे र बुद्ध बने। त्यसको दुई महिनापछि सारनाथमा पाँच ब्राह्मणसमक्ष धर्म देशना गरे। सर्वप्रथम कौडिन्य नामका ५१ वर्षीय ब्राह्मणले बुद्धको दर्शनलाई बुझे र तत्क्षण नै बौद्ध धर्ममा दीक्षित भए। पछि अन्य चार ब्राह्मणले पनि बुद्धको दर्शन बुझे र दीक्षित भए।  

यस प्रकार बुद्धका प्रथम पाँच शिष्यको समूह बन्यो। यसको केही पछि नै यशकुमार नामका महाजनपुत्र र उनका ५० जना साथी धर्ममा दीक्षित हुन आए। यशकुमारका आमाबाबु र श्रीमती द्वैवाचिक उपासक बने। यसपछि बुद्धको दर्शन बुझेका र बुझ्न प्रयत्न गर्नेको संख्या दिन दुई गुणा र रात चौगुणाका रूपमा बढ्यो र भारतीय उपमहाद्वीपमा बुद्धकै समयमा यसको व्यापक रूप लियो।  

उनीहरू कोही पनि पारिवारिक संस्कार र संस्कृतिले बौद्ध बनेका होइनन्। बौद्ध दर्शन बुझेर र बुझ्ने प्रयत्नमा लागेर बौद्ध बनेका हुन्। दर्शनलाई जीवन पद्धतिमा ढालेपछि समाजमा शनैःशनैः विकास हुने जीवनशैली नै संस्कार र संस्कृति हो। संस्कार र संस्कृतिको विकास हुनु आफैँमा सकारात्मक हो, यसले जीवनदर्शनलाई सही रूपमा बुझ्न र बुझाउन मार्गनिर्देशन गर्छ। तर संस्कार र संस्कृतिका नाममा एउटा रीतिरिवाज वा कर्मकाण्डीय जीवन पद्धतिबाहेक जीवन दर्शनका कुनै पनि विषयले ठाउँ नपाएको अवस्था मृतदेहमा गरिएको शृंगारपटार र झकिझकाउका वेशभूषाले सजाइएजस्तो मात्रै हो। बौद्ध दर्शनप्रति उदासीन हुने तर बौद्ध हुँ भनी परिचय दिनु एउटा खोक्रो आडम्बर मात्रै हो।  

भौतिकवादी भएर पूर्ण रूपमा भौतिकवादी हुन नसक्नु वा गौतम बुद्धलाई आफूजस्तै एक भौतिकवादी दार्शनिक ठान्नु बौद्ध धर्मदर्शनको छेउछाउमा पनि पुग्न नसक्नु हो नै, साथसाथै यसले भौतिकवादले आफ्नो अस्तित्वका लागि कुनै लौरोको खोजी गरिरहेको पनि बुझाउँछ। समाजमा देखाउनकै लागि बौद्ध र आफ्ना साथीभाइको संगतका लागि भौतिकवादी हुने ती परिचितका लेख तथा कविता बेलाबेला प्रकाशित भइराख्छन् र तीमध्ये कतिपयमा बुद्ध वा बौद्ध विषयक कुरालाई प्रतीक तथा विम्बका रूपमा प्रयोग गरिरहेका हुन्छन्।

लेखकका नाताले समाजमा ठूलै जिम्मेवारी बोकेर पनि यति द्वैध मानसिकता बोकेर के नै पो बुझाउन सक्छन् र भनेर कहिलेकाहीँ ताज्जुब पनि हुन्छ। औपचारिक तथा अनौपचारिक रूपमा प्रायः सोधिने एउटा प्रश्न हो, वर्तमान विश्वमा बौद्ध धर्मको अवस्था कस्तो छ रु वास्तवमा सम्यक् महादानपर्वका सहभागी हुन आएका ती भौतिकवादी बौद्धको अनुहारमा झल्किन्छ, वर्तमान नेपाली समाजमा बौद्ध धर्मको स्थिति। अनि यसैमा झल्किन्छ, भविष्य पनि।

प्रकाशित: २१ चैत्र २०७७ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?