११ कार्तिक २०७८ बिहीबार
विचार

सेनाले नपढेको किताब

नेपाली सेनाले पशुपतिनाथ (महादेव) लाई राष्ट्रदेव मान्छ । यो उसको अठोट पनि हो । त्रिशूल र डमरु सेनाको प्रतीक चिह्न हो । महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँछ, सेनाले । यसको अर्थ स्पष्ट छ– परम्परा, धर्म, संस्कृति र मौलिक चरित्र बिर्सेको छैन सेनाले । निजी फाइदाका लागि विगतमा केही जर्नेलले राजनीतिक दल र सत्तासीनको प्यारो हुने कोसिस गर्दा आधारभूत चरित्र (बेसिक क्यारेक्टर) त्यागिदिए । ऊ बेला सेना ऐनमौकामा बोल्न सकेन । अनिर्णय र विलम्बले समस्या जन्माउँछ भन्ने विद्वान्हरूको मत छ । नेपाली सेनाको मानमर्दन गर्दै विभिन्न दल र नागरिक समाजका कथित अगुवाहरूले सेनाको औचित्य, आवश्यकता र भूमिकाबारे प्रश्न उठाउन थाले । यसमा त्यसबेलाको सैनिक नेतृत्वको कमीकमजोरी देखियो ।  

२०६२/६३ सालपछि सेनालाई ‘सिनो’ बनाउन खोजियो । माओवादी लडाकुहरूसँग तुलना गर्न थालियो । नेपालमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनका नाममा कार्यालय खोलेर बसेको अनमिनले समेत सेनाको मानमर्दन गर्‍यो । तर निर्भीक, इमानदार, वस्तुपरक भएर ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने मान्यतामा अडिग रहेका कारण सेनाले पछिल्ला वर्षहरूमा आफ्नो अस्तित्व सुरक्षित राखेको देखिन्छ । आगामी दिनहरूमा खुट्टा टेक्न सकेन भने अरूतिर फैलिएको प्रदूषण, महामारी, विभाजन र विकारको सिकार बनेर सेना कमजोर हुन सक्छ । 

सेनाले सरकारको आदेश लुरुक्क र खुरुक्क मान्नुपर्छ भन्ने आजको ‘डेमोक्रेसी’ भन्दा फरक थियो प्राचीन सेनाको सोच । 

सेनाका पदिकदेखि महारथिसम्मले क्षमता, रुचि र आवश्यकताअनुसार विभिन्न पुस्तक पढ्छन् । कसैले आत्मप्रशंसाले भरिएका कथित आत्मकथा पढ्लान् त कतिले जीवनमा काम लाग्ने महत्वपूर्ण ग्रन्थहरू । पढ्नुपर्छ भन्ने धेरैलाई थाहा छ तर के पढ्ने भन्ने कुरा थोरैले बुझेको पाइन्छ । सेनामा मात्र होइन, अन्य बौद्धिक समुदायमा समेत यो समस्या देखिन्छ ।

इसापूर्व पाँचाँै शताब्दीमा चीनका प्रसिद्ध विद्वान् सुन जुले लेखेको ‘द आर्ट अफ वार’ सेनाका धेरैले पढ्नैपर्छ, पढेका होलान् । कार्लोस आल्भारेजद्वारा लिखित ‘आर्मी रेन्जर : बुटस् अन द ग्राउन्ड’, टिआर फर्हेनबक लिखित ‘दिज काइन्ड अफ वार’, जोन प्लास्टरको सिक्रेट ‘कमान्डो’, डेभिड स्टोनको ‘द मिसन आर्मी इन द ग्रेट वार’, स्टिभन जेफार्टको ‘हिस्ट्री अफ आर्मी’, गोर्डन बोरिगनको ‘द सेकेन्ड वल्र्ड वार, मिलिटरी हिस्ट्री’, एलेन अलपोटको ‘ब्रिटेन एट बे’ आदि धेरै पुस्तक पढेका अध्ययनशील अधिकृतहरू नेपाली सेनामा पाइन्छन् ।

अमेरिका स्वतन्त्र हुनुभन्दा ८ वर्षपहिले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गोर्खाली सेनाबाट अतुल्य सहयोग पाएको हाम्रो इतिहास छ । महाभारत, शुक्राचार्य नीतिलगायतका प्राचीन ग्रन्थहरूको मद्दतले सेनाले नीति बनायो । तेह्रवटा ब्रिटिस उपनिवेश मिलेर अमेरिकालाई ब्रिटेनबाट स्वतन्त्र गराउँदा जर्ज वासिङ्टनलाई प्रधानसेनापति बनाइयो । सन् १७७५ को जुन १४ तारिखमा ब्रिटेनविरुद्ध गठन भएको थियो, त्यो सेना ।  

किराँती राजाकै पालामा महाभारत युद्धमा नेपालका युवकहरूले कुरुक्षेत्र पुगेर पाण्डवको सेनालाई मद्दत गरेको, अर्जुन र किराँतको सैन्य कूटनीति अद्वितीय रहेको कुरा संस्कृतका महाकवि भारविको किराँतार्जुनीय ग्रन्थमा उल्लेख छ । त्यसमा किराँतको भेषमा आएका महादेवले अर्जुनको युद्धकलाको परीक्षा लिएको उल्लेख छ । सातौँ शताब्दीको वीररसप्रधान सो ग्रन्थमा सेनाको कूटनीति, धर्मनीति, समाजनीति, परराष्ट्रनीति, राजनीति र युद्धनीति सबै उल्लेख छ । सेनाले सरकारको आदेश लुरुक्क र खुरुक्क मान्नुपर्छ भन्ने आजको ‘डेमोक्रेसी’ भन्दा फरक थियो प्राचीन सेनाको सोच । राष्ट्रघात गरेको ठहर भएमा आफ्नै बाबुको पनि वध गर्नुपर्छ भन्ने तालिममा हुर्किएका उनीहरूले सत्य–असत्य छुट्याएर असत्यको दमन गरे ।

सेनाले गोलीबारुद मात्र बुझेर पुग्दैन, समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, कूटनीति र समाजका विभिन्न आयामको गहिरो अध्ययन गर्नुपर्ने हुन्छ ।

इन्डियन मिलिटरी एकेडेमी देहरादून (भारत) को मूलद्वारमा ब्रिटिस सेनाका फिल्डमार्सल जनरल चेटउडको कथन अंकित छ– ‘राष्ट्रको सुरक्षा, कल्याण र इज्जत पहिले आउँछ । त्यसपछि कमान्डरको मातहतमा रहनेहरूको सुरक्षा, इज्जत र शुभ हुने कर्म गर्नुपर्छ । अनि मात्र सैनिक नेतृत्वले आफ्नो सुविधा, सुरक्षा र हित हेर्नुपर्छ ।’

शान्तिको बेला सेनाले क्षमता, सिप, ज्ञान र तालिममा आफूलाई केन्द्रित गर्नुपर्ने मान्यता छ । असहज, विषम, असमान्य र अत्यन्त जटिल परिस्थितिमा पनि धैर्य, साहस, इमान, जोगाउँछ असल सेनाले । सैनिक नेतृत्व र मातहतका उच्चपदस्थ अधिकृतहरूको मुहार ऐनामा होइन, सिपाहीमा देखिन्छ ।  

इजरायलको होस् वा चीनको, नेपालको होस् वा ब्रिटेनको, बहुसंख्यक सैनिक इमानदार, सबल र एकताबद्ध छन् भने सेनाको नेतृत्व सही छ भन्ने अर्थ लाग्छ । युएस आर्मी वार कलेजको डिजिटल पत्रिकामा सैनिक अधिकृत एलिजावेथ मोयरले विविध संस्कृतिको अध्ययन सेनाका लागि महत्वपूर्ण भएको टिप्पणी गरेकी छिन् । उनको तर्क छ, ‘अन्तरसांस्कृतिक सम्बन्ध र समाजको प्रचलित मूल्य/मान्यता बुझ्न सकिएन भने समस्या आउँछ ।’ यसबाट स्पष्ट हुन्छ, सेनाले गोलीवारुद मात्र बुझेर पुग्दैन, समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, कूटनीति र समाजका विभिन्न आयामको गहिरो अध्ययन गर्नुपर्ने हुन्छ ।

सेनाको टोली लिएर सत्चितशमशेर राणा खम्पा विद्रोह दमन गर्न मुस्ताङ पुगेका थिए । उनी तन्नेरी अधिकृत थिए । साँझपख एउटा युवकले युवतीलाई घिस्याएको देखेछन् । केटी ‘जान्न–जान्न’ भन्ने तर केटाले तानिरहेका थिए । राणाले ‘युवतीमाथि अत्याचार भएको’ ठानेर केटालाई नाथ्री फुट्ने गरी दुई÷चार मुक्का हानेपछि गाउँलेहरूले सम्झाएछन्– ‘यसरी केटाले केटी घिस्याउनु यहाँको संस्कृति हो हजुर, नकुट्नु होला ।’ नेपालका कतिपय समुदायमा आमाबाबुको आँखा छलेर त्यसरी केटी भगाउने चलन छँदैछ । यो एउटा उदाहरण मात्र हो तर समाजका विभिन्न पक्षको अध्ययन गर्दा विभिन्न जातजातिका सम्वेदनशील परम्परा, धर्मसंस्कृति एवं मूल्यमान्यताको पनि अध्ययन गर्नुपर्ने हुन्छ ।

झापाका धिमाल, सन्थाल, राजवंशी, पाँचथरका लिम्बू, मकवानपुरका चेपाङ, पूर्वदेखि पश्चिमसम्म फैलिएका थारू, रसुवाका तामाङ, जिरीका जिरेल, रोल्पाका मगर, कर्णालीका ठकुरी, काठमाडौँका नेवार र जनसंख्याको चानचुन सत्र प्रतिशत ओगट्ने क्षत्रीका आफ्नै संस्कृति छन् । यस्तै दश वर्ष पुरानो तथ्यांकमा ३२ लाख २६ हजार भन्दा धेरै बाहुन छन् । तीलगायत सयौँ भाषाभाषी र जातजातिको साझा फूलबारी हो नेपाल ।  

राष्ट्रिय एकतालाई उच्च महत्व दिएर राष्ट्र सर्वोच्च हुन्छ, अर्थात ‘नेसन फस्ट’ भनिरहेको छ सेनाले । नेपालको एकीकरणमा विशष्टि योगदान छ नेपाली सेनाको । तसर्थ उसलाई नेपालको बढी माया लाग्नु स्वाभाविक पनि हो । राष्ट्रनिर्माता पृथ्वीनारायणलाई सेनाले राष्ट्र बचाउन सिकाउने सक्षम नायक मानेको छ । सोही कारणले सैनिक मुख्यालयमा पृथ्वीनारायण शाहको सालिक सजाइएको छ । सेनाले उनैलाई मालिक मानेको छ ।  

राष्ट्र टुक्र्याउने मिसनमा काम गरिहेका केही व्यक्तिले नेपाली सेनालाई बदनाम गर्ने जिम्मा लिएर दुष्प्रचार गरिरहे पनि सेना विचलित भएको देखिँदैन । जुन दिन सेनाभित्र राजनीतिक प्रदूषण, ध्रुवीकरण र घात÷प्रतिघात सुरु हुन्छ, त्यसपछि राष्ट्रको वास्तविक दुर्भाग्य पनि सुरु हुन्छ । तर त्यस्तो नहोस् भनेर कामना गर्नेहरू धेरै छन् ।  

समयमै सेनाले आफ्ना मित्र (फ्रेन्डस अफ आर्मी) चिन्न सकेन भने संकट गहिरिँदै जाँदा सेनाविरुद्ध घेराबन्दी पनि हुन सक्छ । घटना भइसकेपछि थाहा पाउनेलाई ‘दोयम बुद्धिको नागरिक’ मानिन्छ । भावी दिनहरूका बारेमा गम्भीर समीक्षा, आकलन, विचेचना, विश्लेषण गरेर सम्भावित खतराको सामना गर्न सक्यो भने सेना अब्बल ठहरिने छ । तर राजनीतिक दबाब र प्रभावमा परेर राष्ट्रहित बिर्सँदै गएको खण्डमा सेनाले जनविश्वास गुमाउने सम्भावना पनि त्यत्तिकै छ ।  

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच शक्ति पृथकीकरणको सिद्धान्तविरुद्ध घात÷प्रतिघात बढिरहेको देखिन्छ । अस्थिरता बढ्ने सम्भावना निश्चित बन्दै गएको छ । त्यस्तो अवस्थामा नेपालमा हुने गतिविधिले चीन र भारतलाई पनि बेचैन बनाउने सम्भावना रहन्छ । ‘पश्चिमी वायुको प्रभाव’ जताततै समस्या बनिरहेको छ । त्यस्तो रहस्यमय वातावरणले कूटनीतिक तुँवालो अरू बढ्ने देखिन्छ । सेनाले केही कालसम्म कृत्रिम वर्षा गराएर तुवाँलो हटाउन अघि सर्नुपर्छ भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब आउन सक्छ । त्योबेला सेनाले अहिलेसम्म पढ्दै नपढेका किताब पढ्नुपर्ने अवस्था पनि आउनेछ । त्यो भनेको विषम परिस्थितिको सामना गर्न सेनाले कस्तो मार्गचित्र बनाउँछ भन्ने उत्सुकता पनि हो ।

नेपालको संविधानको भाग २८ मा राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था छ । प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव, अर्थसचिव र प्रधानसेनापति त्यसमा रहन्छन् । सोही भागको ६ मा भनिएको छ– ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ ।’ यस्तै संविधानको भाग ३०, धारा २७३ मा संकटकालीन व्यवस्थाको व्याख्या गर्दै जटिल परिस्थिति आएमा संकटकालीन अवस्थाको घोषणा गर्न सकिने उल्लेख छ । कतिपय कानुनविद्, संविधानविद् र राजनीतिक विश्लेषकहरूले आउँदा दिनहरूमा नेपाली सेनाको भूमिका पहिलेको भन्दा फरक हुने विश्लेषण गरिरहेका छन् । त्यस्तो अवस्था आएमा सेनाले जीवनमा कहिल्यै पनि नपल्टाएका पुस्तक पनि पल्टाउनुपर्ने हुन्छ ।

२०५ वर्षअघिको सुगौली सन्धिपछि आज नेपालले सबैभन्दा ठूलो संकट, चुनौती र अस्थिर अवस्था भोग्नु परिरहेको विद्वान्हरूको मत छ । तसर्थ, युद्धका बारेमा लेखिएका धेरै किताब पढेका सैनिक र ४६० वर्ष भन्दा पुरानो नेपाली सेनाले राष्ट्रका बहुसंख्यक जनताको मन–मस्तिष्क पनि पढ्नुपर्ने बेला भएको छ । राष्ट्रका वास्तविक मालिक भनेका जनता नै हुन् । स्वदेश र विदेशका केही खेलाडीले तरल राजनीतिक अवस्थाको फाइदा उठाएर परिस्थितिलाई विकराल बनाउँदै गए भने त्यस्तो बेलामा नेपाली सेनाले माथिको आदेश मात्र पर्खेर बस्ने अवस्था हुँदैन । आगो निभाउन कसैको आदेश चाहिँदैन । ऊ आफैँ अघि सरेर राष्ट्रको रक्षा गर्नुपर्ने अवस्था आउँछ । जनताले तिरेको करबाट पालिएका सुरक्षाकर्मीहरूले जनभावना बुझेनन् भने त्यस्तो बेलामा राष्ट्रिय सुरक्षाका सरोकारवालामाथि प्रश्नचिह्न लाग्न सक्छ ।  राष्ट्र र जनताको रक्षा गर्ने प्रतिज्ञा गरेको सेनाले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर कुनै निर्णय गर्छ भने त्यसबारे अतिरञ्जित दुष्प्रचार गर्नेहरूसमेत मौन बस्ने स्थिति आउन सक्छ । जनता राष्ट्रका स्थायी शक्ति भएकाले सेनाका लागि राष्ट्र र जनता भन्दा ठूलो अरू केही पनि हुन सक्दैन । राजनीतिक दलहरू र सरकार त आउँछन्, जान्छन् । स्थायी भनेको त राष्ट्र नै हो ।

प्रकाशित: २८ फाल्गुन २०७७ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App