७ वैशाख २०८१ शुक्रबार
विचार

सन्त्रस्त भिभिआइपी

आफ्नै ज्यान सुरक्षित छैन भनेर ऐलान गर्ने राष्ट्रनायक, सरकारनायक वा कुनै अति विशिष्ट व्यक्तिको कथनलाई कसरी लिने ? असुरक्षाको भावले विशिष्ट व्यक्तिहरू नै भयाक्रान्त, भयातुर, भावुक र भीरु बनेपछि निम्छरा जनताले कसरी आफूलाई सुरक्षित ठान्ने ? एकपल्ट होइन, पटक–पटक प्रधानमन्त्री केपी ओलीले आफ्नो ज्यान जोखिममा परेको ‘पीडा’ सुनाएका छन् ।  

सेना, प्रहरी, गुप्तचर, सशस्त्र प्रहरी आदिका गुप्त रिपोर्ट पढेर प्रधानमन्त्री बोलेका होलान् । सपनामा भैँसीले लखेट्यो भने मानिसको मृत्यु टाढा छैन भन्छन् बूढाबूढी । प्रधानमन्त्रीको अभिव्यक्तिमा दुःस्वप्न होइन, राज्यसंयन्त्रकै सूचनाको सन्त्रासमय मनोविज्ञान झल्कन्छ । तसर्थ यसबारे सूक्ष्म विश्लेषण हुनुपर्छ ।

पर्याप्त सुरक्षाको घेरामा अमेरिकी राष्ट्रपतिहरू अब्राहम लिंकन र जोन एफ केनेडी मारिए । भारतका प्रधानमन्त्री इन्दिरा गान्धी र उनका पुत्र राजीव गान्धी मारिए । झन्डै चार हजार सैनिकको सुरक्षा लिएर बसेका राजा वीरेन्द्र मारिए । चीनका प्राध्यापक वाङचुङले ‘नेपालको सुरक्षात्मक रणनीति’ पुस्तकमा भारत र अमेरिकाको डिजाइनमा वीरेन्द्रको हत्या भयो भनेका छन् । चीनमा छु राजतन्त्रका बेला प्रधानमन्त्री छुन्सेन मारिए, इशापूर्व २३८ मा । सुइ वंशका सम्राट याङ मारिए । भुटानका प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जे मारिए, सन्् १९६४ को अप्रिल ६ तारिखमा । हिन्दुराष्ट्र पत्रिकाका सम्पादक नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरे, भारतलाई विभाजित गराएको आरोपमा । अमेरिकामा ‘गोराहरूले काला जातिलाई दमन गरे’ भन्दै आवाज उठाउने किङ मार्टिन लुथर मारिए । अस्ट्रियाका राजकुमार फ्रान्ज फर्डिनान्डको हत्या प्रथम महायुद्धको कारक तŒव बन्न पुग्यो । अमेरिकाका पच्चीसौँ राष्ट्रपति विलियम म्याकिन्लीको हत्याको प्रमुख कारण मानिन्छ, स्पेनसँगको युद्धको तयारी । अमेरिकाका बीसौँ राष्ट्रपति जेम्स गारफिल्डलाई गोली हान्ने वकिल र पत्रकार चाल्र्स जे. गिटिउलाई कतिपय लेखकले ‘विक्षिप्त बौद्धिक’ भनेका छन् । थियोडर रुजवेल्ट गोली लागेर पनि बाँचे । फिडेल क्यास्त्रो धेरैपल्ट हमला छलेर बाँचे । सन् १९१७ को अक्टोबरमा रसियामा कम्युनिस्टले राजतन्त्र मासेर शासन सुरु गर्ने क्रममा जार (राजा) सहित उनका परिवारको हत्या गरे ।

श्रीलंकामा ललित अथुलाथमुदाली, डिएम दशानायके, गामिनी दिशानायके, रञ्जन विजयरत्ने, ले.ज. नलिन आगमन, एडमिरल क्लान्सी फर्नान्डो, मे.ज. पर्सि फर्नान्डो, राष्ट्रपति रणसिंघे प्रेमदासालगायत धेरैको हत्या भयो । त्यहाँका सुरक्षा प्रमुखहरू हाम्रा सबै भिभिआइपी र भिआइपीहरू सुरक्षित छन् भन्दै थिए । ‘सबै सुरक्षित छन्’ भनेर आश्वस्त पार्न खोज्नु उनीहरूको बाध्यता हो तर कैयन् मुलुकमा उच्च सुरक्षा अधिकारीहरू आफ्नै अंगरक्षकबाट मारिएका छन् । ‘इन्डियन इन्टरभेन्सन इन श्रीलंका’ पुस्तकमा प्राध्यापक रोहण गुणरत्नेले भारतीय गुप्तचर संस्थाले श्रीलंकामा रक्तपात मच्चाएको, पृथकतावादी आन्दोलन चलाएको र कैयन् नेताको हत्या गराएको सप्रमाण व्याख्या गरेका छन् ।

दाजु देवशमशेरलाई पाता कसेर चन्द्रशमशेरले श्री ३ को मुकुट लगाए । राजा रणबहादुर शाहलाई उनकै भाइ शेरबहादुरले मारे । भान्जा वीरनरसिंह कुँवरलाई ‘जंगबहादुर’ नाम राखिदिने माथवरसिंह थापालाई आफ्नै भान्जाका हातबाट मर्नुपर्ला भन्ने लागेको थिएन होला । कैयन् घर–घरमा पतिले पत्नीलाई र पत्नीले पतिलाई मारेका खबर आइरहन्छन् । तसर्थ, कसलाई सुरक्षित मान्ने ? शायद त्यसैले होला, क्यानडाकी नायिका निया भर्डालस भन्छिन्– हामी असुरक्षित संसारमा बाँचेका छौँ ।

हालै कावुल–जलालावाद राजमार्गमा राष्ट्र संघका पाँच जना कर्मचारी मारिए । ‘हमला हुँदैछ’ भन्ने पूर्वसूचना पाएनन् उनीहरूले । तर हमला भएमा कसरी सामना गर्ने तयारी मात्र थियो । समयमा सूचना पाउँदा लाक्षागृहमा जल्नबाट बचेका थिए, पाण्डवहरू । समयमा प्राप्त गरिने सूचना, त्यसको विश्लेषण र मीमांसा गर्न ‘बौद्धिक फौज’ चाहिन्छ, हुल्याहाको बथानले सुरक्षा गर्दैन । बाह्य खतरा, आन्तरिक खतरा, प्रायोजित वा सुनियोजित खतरा वा भवितव्य वा आवेशजन्य खतराका चरित्र फरक हुन्छन् । कोतपर्व पूर्वयोजनाको मञ्चन थियो । त्यहाँ कैयन् ‘भिआइपी’ मारिए । भण्डारखालपर्वका बारेमा राजगुरु विजयराज पाण्डेले जंगबहादुरलाई समयमै गुप्त सूचना दिएकाले रक्तपात हुन पाएन । जंगबहादुरको ज्यान जोगियो ।

मार्टिन केली लेख्छन्– अमेरिकामा सत्तामा बसेका बेला चार जना राष्ट्रपति मारिए । अब्राहम लिंकन, जेम्स गारफिल्ड, विलियम म्याकिन्ली र जोन एफ. केनेडी जस्ता राष्ट्रपतिको हत्या सामान्य घटना थिएन । केनेडीका पालामा टेलिभिजन घरघरमा भएकाले त्यसले धेरै चर्चा पायो ।

जंगबहादुरको मृत्युपछि उनका भाइ रणोद्दीप प्रधानमन्त्री भए । उनलाई भतिजाहरूले मारे । रणोद्दीपका भाइ धीरशमशेरका सत्र जना छोरा थिए । तीमध्येका एक वीरशमशेरले काकालाई मारे । वीरशमशेर प्रधानमन्त्री भएको खबर सहरमा फैलियो । उज्यालो नहुँदै ‘वीरशमशेर महाराजकी जय’ भन्दै काठमाडौँका जनताले वीरशमशेरको दरवारमा पुगेर भजन गाउन थालेको इतिहासकारहरूले लेखेका छन् । ऊबेला आत्मरक्षाका लागि प्रधानमन्त्री रणोद्दीपले आफूसँग राखेको ‘विजुली गारत’ नयाँ सत्ताका पक्षमा उभियो । चन्द्रशमशेरलगायतका धीरका छोराहरूलाई सैनिक तालिम दिएका बाग्लुङ निवासी कर्णेल चक्रपाणी सापकोटाले रणोद्दीपको हत्या भएकै ठाउँमा पुगेर प्रतिरोध गर्न खोज्दा वीरशमशेरहरूले बाध्यताले काकाको बध गरेको तर आफूहरूले राष्ट्र र प्रजाको अहितमा कुनै काम नगर्ने वचन दिएपछि चक्रपाणी र उनको कमान्डमा रहेका सैनिकहरू घटनास्थलबाट फर्केको किम्वदन्ती आफूले बाल्यकालमा सुनेको चक्रपाणीका वंशज बलराम हमाल ठकुरी बताउँछन् ।

वि.सं. १९४२ को सो घटनालाई इतिहासमा ‘बयालीस सालको पर्व’ भनिन्छ । यसअघि १९३८ सालमा प्रधानमन्त्री रणोद्दीप सिंह सिकारका लागि चितवन जाँदा प्रधानमन्त्रीसहित प्रधानसेनापति धीरशमशेरलगायतको हत्या गर्ने योजना बनाइएको थियो । राजा त्रिभुवनका पिता पृथ्वीवीरविक्रम शाहलाई हटाएर नरेन्द्रविक्रम शाहलाई राजा बनाउने षडयन्त्रको पोल खुलेपछि नरेन्द्रविक्रम शाह, जगतजंग राणा, वमबीरसिंह राणा आदिलाई प्रयाग (इलाहावाद) नजिक चुनारगढमा कैद गरियो । षडयन्त्रमा मद्दत गर्ने सुब्बा होमनाथ खतिवडा, केदारनाथ खतिवडालगायत दश जना ब्राह्मणलाई जातिच्युत गरियो । भिआइपी र भिभिआइपीमाथि सुरक्षा खतराको वृत्तान्त खोज्दै जाँदा बेलाबखत दुर्दमनीय, कल्पनातीत र अप्रत्याशित दुर्घटना भएका धेरै उदाहरण भेटिन्छन् । इतिहासकार बाबुराम आचार्यले ‘अब यस्तो कहिले नहोस्’ पुस्तकमा यस्ता राजनीतिक घटनाका बारेमा सविस्तार वर्णन गरेका छन् ।

जंगबहादुरकी माहिली छोरी तथा युवराज त्रैलोक्यकी पत्नी (पृथ्वीवीरविक्रम शाहकी आमा) ललित राजेश्वरी राजलक्ष्मीदेवी नै शमशेर खलकसँग मिलेको तर सहोदर दाजुहरूलाई धोका दिएकाले जंग खलकको पतन गराउन उनको हात रहेको देखिन्छ ।

जेडप्लस, एक्स, वाइ आदि दर्जाको सुरक्षा लिए पनि कतै भालाले घोचेर, कतै फूलमालामा बम लुकाएर भिभिआइपीका प्राण हरण गरेका उदाहरण छन् । चालक नभिजे पनि गाडी नदीमा डुबेको र भिआइपीहरू ‘मारिएको’ घटनाले तत्कालीन एमाले नै भयाक्रान्त देखियो । सो दलबाट प्रधानमन्त्री भएका एक जना नेताले मिडियामै लाचारी व्यक्त गरे– राष्ट्रवादी हुने इच्छा त हाम्लाई पनि छ तर के गर्नु र मदन भण्डारी जस्तो बनाउँछन् ।

पत्रकार केपी ढुंगाना लेख्छन्– राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षामा २८५ जना सुरक्षकर्मी खटाइएका छन् । त्यस निम्ति महिनामा आठ करोड बीस लाख रुपियाँ खर्च हुन्छ । प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि ३०५ जना छन् । त्यसका लागि प्रत्येक महिना सात करोड असी लाख रुपियाँ खर्च भइरहेको छ । (जुलाइ १४, २०१७ माइ रिपब्लिका अंग्रेजी दैनिक)

निश्चय पनि आज त्यो खर्च बढेको छ । महिनामा एक दिन पनि बाहिर निस्किनु नपर्ने उपराष्ट्रपति पदमा बस्नेलाई दिइएको सुरक्षा ‘चार आनाका मुर्गी, बाह्र आनाका मसला’ जस्तो सुनिन्छ । राष्ट्रका लागि कुनै योगदान, भूमिका र खासै महŒव नभएका पदहरू आलंकारिक मात्र भएका छन् । श्राद्ध गरिरहेका बेला बाजेले चकचके बिरालो बाँधेको देखेपछि नातिले पनि उमेर पुगेपछि गाउँबाट बिरालो खोजेर ल्यायो । ‘बिरालो बाँधेर श्राद्ध गर्नुपर्छ’ भन्ने बुझ्यो । हिजोसम्म सडकमा लखरलखर हिँड्नेहरूलाई राज्यले दिएको यथेष्ट सुरक्षा ‘ढाकाको टोपीमा गुयेँलाको फूल’ बनेको छ ।

झण्डै ९ वर्षपहिले गृह मन्त्रालयले भिभिआइपी सुरक्षाको नयाँ व्यवस्था ल्यायो । सेना र प्रहरीको ठूलो संख्या तैनाथ गराएर ‘अति विशिष्ट’ महानुभावलाई प्रशन्न तुल्याइयो । विगतमा जघन्य अपराध गरेका कारण भयभीत भएकाले आफ्नै छायाँसँग डराउनेहरूले पनि कहिले नचिताएको पद, सुख र सुविधा पाए । जनमुक्तिको भाषण गर्नेहरूले पेटभरि खान पाए । विश्वका ‘अत्याधुनिक’ सुविधा भोग गर्न पाए । महँगा होटलमा गएर सपरिवारले पचासौँ हजार रुपियाँको भोजन गर्न थाले । युरोप–अमेरिका र भारतका महँगा स्कुल–कलेजमा छोराछोरी पढाउन थाले । हिजोसम्म ‘सर्वहारा’ भनिने वर्गका नेतागण ल्यारी एलिसन, बिल गेट्स, मुकेस अम्बानी, जेफ बेजस आदि जस्तो अर्बौँ डलरको मालिक बन्ने सपना देखिरहेका छन् ।

सत्तामा बस्नेहरू हुन् वा प्रतिपक्षी भएर ससाना छाउपडीमा बस्नेहरू, सबैलाई अर्बपति हुने अदम्य इच्छा जागेको छ । राज्यले दिएको सुखसुविधा, सुरक्षा र सम्मानको दुरुपयोग गरेर तस्कर, जाली र भ्रष्टसँग साँठगाँठ गर्नेहरूलाई कठोर कारावासमा राख्न सक्ने देशभक्त, इमानदार र साहसी राज्यसत्ता बनेको भए फलामका पर्खालभित्र धेरै कपुत सुरक्षित हुने थिए । जुन राष्ट्रमा बहुसंख्यक सज्जनलाई दुर्जनले शासन गर्छन्, त्यहाँका जनता असुरक्षित र नेतागण सुरक्षित हुन्छन् । हिन्दी चलचित्रमा हिरोको ‘डमी’ बनाएर बीस तल्ला माथिबाट लात हानिन्छ । दर्शकले हिरो खसेको देख्छन् । जुरुक्क उठेर उसैले खलनायकलाई गोद्न थाल्छ । ‘मरिसके’ भनिएका कैयन् नेता त्यसरी नै बौरिएका छन् नेपालमा । उनीहरूले राष्ट्र र जनताको उद्दार गर्ने निर्विकल्प नायक आफूलाई ठान्ने गर्छन् । पछिपछि दगुर्ने ‘नेता वाहिनी’ फौज मासुभात खाएर नारा लाउँछ । राष्ट्र र जनता निष्प्राण भए पनि उसलाई मतलब छैन । ऊ नेताको जय÷जयकार गर्छ ।

अमेरिकी लेखक चाल्र्स पिकरिङको कथन छ– ‘प्रजातन्त्र शिष्ट, सफल, सार्थक र सुसंस्कृत हुनका लागि जनता पनि त्यस्तै हुनुपर्छ ।’ मिठाइ बनाउन चाहिने घ्यु, चिनी, पिठो, मसला आदि सडे÷गलेको छ भने मिठाइ कस्तो होला ? असल र खराब छुट्याउन नसक्ने नेता र जनताले डेमोक्रेसीका नाममा जे गरे, जे गर्दैछन्, त्यो जगजाहेर छ । यति हुँदाहुँदै पनि व्यक्तिगत स्वार्थले लाखौँ कार्यकर्तालाई सम्मोहित तुल्याएको छ । भ्रष्ट, अकर्मण्य, राष्ट्रघाती र निकृष्टहरू मरे भने राष्ट्र संकटमा पर्छ भनेर सोच्नेहरू पनि छन् । सुगन्ध र दुर्गन्ध चाल पाउने गुप्तचर हो, नाक । नाक नै सड्यो भने के हुन्छ ? सुन्दर र कुरूप छुट्याउने आँखामै दृष्टिदोष छ भने के होला ?  

आज नेपाली राष्ट्रियता असुरक्षित छ । राष्ट्रिय एकता असुरक्षित छ । राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय स्वार्थ असुरक्षित छ । नेपालको सिमाना असुरक्षित छ । जनता असुरक्षित छन् । मुलुक र मुलुकी (जनता)  बचाउन सपथ लिएका सबैले व्यक्ति होइन, राष्ट्रको रक्षा गरुन् । त्यति गर्ने हो भने राष्ट्रका सबै व्यक्ति र शक्ति सुरक्षित रहन्छन् । धर्म–संस्कृति सुरक्षित रहन्छ । इतिहास सुरक्षित रहन्छ । खेतबारी नै अरूले कब्जा गर्न लागेका बेला टर्रटर्र कराइरहने भ्यागुताहरूको रक्षाका लागि सरोकारवालाहरूले टाउको दुखाउनै पर्दैन ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App