१ कार्तिक २०७८ सोमबार
विचार

समृद्धि अभियानमा युवा परिचालन

नेपालमा धेरै राजनीतिक क्रान्ति भए । पटकपटक राजनीतिक शासन प्रणाली पनि परिवर्तन भए । पछिल्लोपटक हामीले समृद्धिअनुकूलको राजनीतिक उपलब्धि हासिल गरेका छौँ– संघीय लोकतान्त्रिक गणतन्त्र । यसैअन्तर्गत जनभावनाअनुरूपको नयाँ संविधान पनि पाइसकेका छौँ– नेपालको संविधान २०७२ । सँगसँगै संघीय शासन प्रणाली पनि । संघीय लोकतान्त्रिक गणतन्त्र, नयाँ संविधान र संघीय शासन प्रणालीलाई समृद्धिको आधार मानिएको छ । यसैअनुसार अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने समयसीमालाई ध्यानमा राख्दै सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय र सन् २०४३ सम्ममा उच्च आय भएको समुन्नत राष्ट्र बन्ने लक्ष्यसहित् ‘समृद्ध नेपाल सुखी नेपाली’ को मूल नारा लिएर देश समृद्धिको अभियानमा अघि बढेको सरकारको दाबी छ । 

युवाको सन्दर्भमा पहिचानको सवाल भन्दा समृद्धि, अवसरको उपलब्धता, अवसरको न्यायोचित वितरण र प्रतिस्पर्धात्मक वातावरणको प्रत्याभूति बढी महत्वपूर्ण हुन्छ ।

देशको शान्ति सुरक्षाको अवस्था, बजार पहुँच र विस्तार, बसोबास, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजी, प्राकृतिक वातावरण, लगानीमैत्री वातावरण, उद्यमशीलता, शिक्षा तथा स्वास्थ्यको अवस्था आदि समृद्धिका मापक हुन् । यसका अतिरिक्त देशको कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, देशको विद्यमान गरिबीको अवस्था, बेरोजगारी दर, असमानता, भ्रष्टाचारका अनुभूति सूचकाङ्क, समाज रहेको धनी र गरिबबीचको खाडल, मानव विकास सूचकाङ्क, कानुनी शासन सूचकाङ्क, लैङ्गिक अन्तराल सूचकाङ्क आदिलाई पनि समृद्धि मापनको आधार मानिएको छ । बेलायतस्थित लेगाटम इन्स्टिच्युटले सन् २०२० मा प्रकाशित गरेको विश्व समृद्धि सूचकाङ्कमा विश्वका १६७ देशमध्ये नेपाल ११४ औँ स्थानमा रहेको छ । सार्क राष्ट्रमा नेपाल श्रीलंका र भारतपछि तेस्रो स्थानमा रहेको छ । समृद्धिको अभियानमा हामी अझै अघि बढ्नुपर्ने खाँचो छ ।

युवा वर्गमा जोश र जाँगर अरूमा भन्दा बढी हुने भएकाले असल मार्गदर्शन पाए त्यस्ता युवाले राष्ट्रलाई अतुलनीय योगदान गर्न सक्छन् । समृद्धि अभियानमा तिनै युवा वर्गको महत्व र तिनले निर्वाह गर्ने भूमिकालाई उच्च मूल्याङ्कन गर्ने गरिएको छ । देशको शक्ति जाँच्ने कसी पनि युवा वर्ग नै हुन् । त्यसैले तमाम् युवा वर्गको जोश, जाँगर, उत्साह र उनीहरूको निरन्तर क्रियाशीलताले मात्रै देश समृद्धशाली बन्न सक्छ ।

नेपालको इतिहास बहादुरी, स्वतन्त्रता र गौरवले भरिएको छ । निसन्देह त्यसमा युवाको नाउँ अग्रपङ्तिमा आउँछ । युद्ध होस् वा राजनीतिक क्रान्ति, सबैमा युवा नै अग्रपङ्तिमा उभिएका थिए । अबको आर्थिक क्रान्तिमा पनि युवा वर्ग अग्रपङ्तिमा उभिने हो भने देश समृद्धिको शिखरमा पुग्नेछ ।

युवा वर्गलाई राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका संवाहक पनि भनिन्छ । हामीले प्राप्त गरेको राजनीतिक परिवर्तन पनि तिनै युवा वर्गको संघर्ष र बलिदानको परिणाम हो । युवा वर्ग संघर्ष र बलिदानका लागि तयार नभएको भए शायद यति ठूलो राजनीतिक क्रान्ति सफल हुने थिएन र यति ठूलो राजनीतिक परिवर्तन पनि सम्भव हुने थिएन । युवा वर्गले आर्थिक क्रान्तिमा पनि यस्तै जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने हो भने समृद्धिको अभियान अवश्य सफल हुनेछ ।  

राष्ट्रिय विकासमा युवा परिचालन र सहभागिताको महत्व र आवश्यकतालाई मनन गर्दै ‘राष्ट्रिय युवा नीति २०७२’ बनाइएको छ । राष्ट्रिय युवा नीतिले युवा शक्तिलाई राष्ट्रको अमूल्य सम्पत्ति मानेको छ । युवा वर्ग राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् । गुणात्मक र सङ्ख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरूदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरुरी हुन्छ । त्यसैले राज्यका नीति तथा योजनामा ऊर्जाशील युवाबाट जनसांख्यिक लाभ लिन सकिने अवधारणाअनुरूप युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई चिर्दै आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा युवा परिचालनको नीतिलाई प्राथमिकतामा राख्ने गरिएको छ ।

नेपालको संविधान २०७२ को धारा ५१ मा ‘राज्यका नीतिहरू’ अन्तर्गत राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति निर्देश गरिएको छ । यसैगरी चालु पन्ध्रौँ योजनाले पनि ‘युवाको सर्वाङ्गीण विकास राष्ट्र निर्माणको प्रमुख आधार’ भन्ने सोचसहित् स्वस्थ, सकारात्मक सोचयुक्त, उद्यमशील, सिर्जनशील, अधिकारप्रति सचेत र कर्तव्यप्रति प्रतिबद्ध युवा शक्तिको विकास र परिचालन गर्ने लक्ष्य लिएको छ ।

स्वदेशमा अवसर पाइएन भन्दै मनमा राज्यप्रति घोर निराशा बोकेर विदेशिने युवालाई यहीँ केही गर्ने र केही बन्ने अवसर प्रदान गर्दै समृद्धिको अभियानमा सहभागी गराउन सकियो भने देश समृद्ध बन्न धेरै समय लाग्दैन । युवाले सपनामात्रै देख्नुपर्छ । युवाको सपना साकार हुन्छ । किनभने हरेक युवामा सपना साकार पार्ने सामथ्र्य हुन्छ । त्यो सामथ्र्यलाई राज्यले पनि चिन्ने, बुझ्ने र त्यसलाई उपयोग गर्ने नीति अख्तियार गर्नुपर्छ । युवालाई आफ्नो दायित्व निर्वाह गर्न अभिप्रेरित गर्ने दायित्व राज्यको हो । युवा र राज्य दुवैले आआफ्नो दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्ने हो भने राष्ट्र अवश्य समृद्ध बन्छ ।

समृद्धिको अभियानमा देशका युवा वर्गको दायित्व हुन्छ, छ । यो तथ्यलाई स्वयं युवावर्गले पनि हृदयंगम गर्न सक्नुपर्छ । खाडीमा गएर पसिना बगाउँदा देशले समृद्धि हासिल गर्छ कि आफ्नै देशको खोरिया खन्दा ? यो विषयमा युवा वर्ग गम्भीर चिन्तनशील हुनुपर्छ । युवा वर्गको यस्तो चिन्तनले मात्रै समृद्धि हासिल हुन सक्छ भन्ने यथार्थलाई स्वयं युवा वर्गले मनन गर्नुपर्छ ।  

देशको खराब राजनीतिलाई दोष लगाउँदै लाखौँ सिर्जनशील एवम् ऊर्जावान युवा विदेशिएका छन् । तिनले त्यहाँ रगत–पसिना बगाएर धेरै–थोरै आर्जन गरी पठाएको विप्रेषणले देशको अर्थतन्त्र चलायमान त छ तर त्यसले दिगो विकास भने हासिल गर्न सकेको छैन । बरु आर्थिक परनिर्भरता बढेर देशको अर्थतन्त्र नै जोखिमतर्फ धकेलिएको छ । बढ्दो आर्थिक परनिर्भरताले अर्थतन्त्रमा जोखिमका साथै पराधीनता पनि बढेको छ । यसले हाम्रो स्वाभिमान र हाम्रो स्वावलम्बनमाथि नै प्रश्नचिह्न खडा भइरहेको छ । यस्तो अवस्थामा युवा वर्ग स्वयंले नै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई जोगाउँदै समृद्धि हासिल गर्न जिम्मेवारीपूर्ण दायित्व निर्वाह गर्न अग्रसर हुनुपर्छ ।  

यतिखेर बेरोजगारीको पीडाले रन्थनिएर होस् अथवा बाटो बिराएर, केही युवा राजनीतिक पार्टीको लम्पट कार्यकर्ता बनेका छन् । तिनै लम्पट कार्यकर्ता नै देशको प्रगतिका बाधक हुन् भन्ने विज्ञहरूको विश्लेषण छ । यसर्थ अब नेपाली युवाले राजनीतिक पार्टीको लम्पट कार्यकर्ता बन्न छोडेर विवेकशील नागरिक बन्नुपर्ने खाँचो छ । यो देशलाई पार्टीको लम्पट कार्यकर्ता होइन विवेकशील नागरिकको खाँचो छ । पार्टीको झण्डा बोक्ने झोले कार्यकर्ता होइन राष्ट्रिय झण्डा बोक्ने राष्ट्रवादी नागरिक चाहिएको छ । देश समृद्ध बनोस् र सबै नेपाली सुखी बनून् भन्ने नयाँ परिकल्पनासहित नयाँ नेपालको निर्माणमा युवा जुट्ने बेला हो यो । राजनीतिक कित्तामा बाँडिएर होइन एकतामा बाँधिएर युवा वर्गले अविचलित कदम चाल्ने बेला हो यो । यो राष्ट्रले युवावर्गबाट धेरै कुराको अपेक्षा गरेको छ । त्यो अपेक्षालाई पूरा गर्नु युवाको दायित्व हो ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App