२३ फाल्गुन २०७७ आइतबार
विचार

अस्थिरता र पराधीनताका मानक

अस्थिरता चाहे मनको होस्, चाहे बोलीको । सजीव होस् वा निर्जीव होस्, व्यक्ति वा वस्तुलाई स्वतः विसर्जन गर्ने तयारी हो ।  अस्थिरताले आफ्नो गन्तव्य कदापि निक्र्यौल गर्न सक्दैन । आफ्नो क्षमताको विकास गर्न सक्दैन, त्यसैले अस्थिर व्यक्ति, वस्तु वा प्रणाली अनायास पतनतर्फ उन्मुख हुन्छ । मनोविज्ञान डेभिड रिको भन्छन्– ‘हाम्रा शरीरका महत्वपूर्ण र राम्रा अङ्गहरूबाटै घाउको सुरुवात हुन्छ ।’ अस्थिरता र पराधीनतालाई राम्रो खेल मैदान बनाउन महत्वपूर्ण अङ्गहरूलाई अपाङ्ग बनाउनु र त्यसमा सघाउनु हाम्रो देशका लागि घातक हुने नै छ । पराधीनता अरू कसैको भर पर्ने अवस्था हो । स्वतन्त्रता मानव जीवनको मूल्यवान प्राप्ति हो भने पराधीनता दासतालाई स्वीकार्नु हो । तसर्थ अस्थिरता र पराधीनता मनोवैज्ञानिक विषयवस्तु बन्नु स्वाभाविक ठहरिन्छ ।  

समाजमा अस्थिरता विभिन्न किसिमले प्रकट हुने गर्छन् । बन्द, हड्ताल, प्रदर्शनलगायत अन्य धेरैथरीका माध्यम जसले सुव्यवस्था र सुशासनलाई अवज्ञा गर्छ । स्वनियन्त्रण बाहिर जाने, उत्तेजनात्मक व्यवहार देखाउने, विचार र भावना बदल्ने तथा चरम आवेगको प्रदर्शन पनि अस्थिरताले निम्त्याउने दुर्गुण हुन् । यस आलेखमा अस्थिरता र पराधीनताका कारणहरूबारे सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

हाम्रो देशमा विगत ७० वर्षदेखि बनेका सरकारहरू लगभग सबै अस्थिर थिए र यही अस्थिरता नै तमाम उन्नति र प्रगतिको बाधक हो ।

कुनै पनि समाज वा देश अस्थिर हुनका विभिन्न प्रत्यक्ष तथा अप्रत्यक्ष कारण निहित हुन्छन् । जति धेरै कारणको थुप्रो बढ्दै जान्छ उति धेरै अस्थिर बन्नु सामान्य विषय हो । सबैभन्दा पहिलो स्थिरताको केन्द्र भनेको त्यस देशको सरकार नै हो । सरकारको स्थायित्वले मात्र अन्य धेरै राज्य प्रणालीहरू नियन्त्रित हुन सक्छन् । हामीले भोगेको अन्योल र जटिलताको प्रमुख कारक पनि अस्थिर सरकार नै हो । हाम्रो देशमा विगत ७० वर्षदेखि बनेका सरकारहरू लगभग सबै अस्थिर थिए र यही अस्थिरता नै तमाम उन्नति र प्रगतिको बाधक हो ।  

अर्को महत्वपूर्ण पक्ष भनेको कुनै पनि देशको सामाजिक तथा आर्थिक अवस्था हो । सामाजिक तथा आर्थिक असमानताले धनी र गरिबबीचको खाडल फराकिलो बनाउँछ । जसले गर्दा गृहयुद्ध वा आन्तरिक संघर्षकोे स्थिति पैदा हुन्छ । दश वर्षे माओवादी युद्धले देशभित्र आन्तरिक युद्ध भयो जसको प्रत्यक्ष असर सामाजिक र आर्थिक क्षेत्रमा प्रकट भयो । धेरै मानिस घरबारविहीन बने भने अरू धेरै विस्थापित भए । ठूलो भौतिक पूर्वाधारहरूको क्षति देशले बेहोरेपछि विकास तथा लगानीका अवसरहरू झण्डै शून्य भए । युवा शक्ति पलायन भए भने केही व्यक्ति तथा नेताहरू उच्च आर्थिक हैसियतमा उदयमान भए । गरिब, किसान तथा मजदूर श्रमजीवीहरूको आर्थिक विकास नहुँदा देश अस्थिरताको चङ्गुलमा फस्यो ।

भ्रष्टाचार र कर्मचारीतन्त्रको गतिहीनताले पनि कुनै देशमा अस्थिरता निम्त्याउँछ । देश व्यक्तिगत तथा नीतिगत भ्रष्टाचारले थिलो थिलो भएपछि यसलाई क्रमशः घटाउने प्रणालीहरू पनि ज्यादै कमजोर देखिए । राजनीतिक संरक्षणले गर्दा भ्रष्टाचारी सहज उम्कने अवस्था आएपछि निष्पक्ष र स्वतन्त्र कर्मचारीतन्त्र असंभव प्राय हुने गर्छ । भ्रष्टाचारविरुद्धको अभियान सशक्त र प्रभावकारी बनाइ कसुर हेरी कडा सजायको व्यवस्था गर्न नसक्नुले पनि देशमा अस्थिरता रहिरहन्छ ।  

देश अस्थिर हुनुमा विदेशी हस्तक्षेप पनि प्रमुख कारण हो । प्रत्यक्षरूपमा बेलाबखतका आर्थिक नाकाबन्दीबाहेक अप्रत्यक्षरूपमा निहित स्वार्थ राखेर प्रत्यक्ष राजनीतिमा गरिने हस्तक्षेप भने नेपालले बारम्बार भोगिरहेको छ । देश अस्थिर भए विदेशी स्वार्थअनुकूल काम गर्ने सीमित तत्वलाई फाइदा हुने गर्छ । अस्थिर देशमा स्वदेशी वा विदेशी लगानीका अवसरहरू स्वतः समाप्त हुँदै जान्छन् । तसर्थ विकास र समृद्धिका सपना पूरा हुन सक्दैनन् ।

हुन त देशलाई अस्थिर बनाउने अन्य तत्वअन्तर्गत राजनीतिमा सेनाको प्रवेश, धार्मिक युद्ध तथा जनजातिबीचको लडाइँ पनि पर्छन् । हालसम्म हाम्रो देशमा सेना तटस्थ देखिएको छ र तत्काल राजनीतिमा प्रवेश गर्ने वातावरण बनिसकेको छैन । त्यसैगरी धार्मिक युद्ध र जनजातिबीचको झगडा छिटफुट कुनै कालखण्डमा देखिए पनि यस्तो सम्भावना न्यून नै देखिन्छ । त्यसैले सेना धर्म तथा जनजाति जस्ता विषयले अस्थिरता ल्याउने अवस्था नेपालमा आउन अन्य धेरै कारण सतहमा आउनुपर्ने अनुमान लगाउन सकिन्छ ।

अस्थिरतालाई निकै मलजल गर्ने काम नियम/कानुनको पालना नगरिनु र प्रजातान्त्रिक अभ्यासका कमी/कमजोरीले प्रमुख भूमिका खेल्छन् । शक्ति र पहुँचका आधारमा नियम र कानुनको उल्लंघन तथा निमुखा र कमजोरलाई मात्र सजायको भागिदार बनाएर खडा गरिने शासन प्रणालीले प्रजातन्त्र वा गणतन्त्रको जग बलियो हुन सक्दैन । २००७ सालपछिको प्रजातान्त्रिक अभ्यासले ल्याएका विकृति अस्थिरताका मूल कारण हुन् किनकि धेरैजसो प्रजातन्त्रवादी र गणतन्त्रवादी राजनेता आमसरोकारको चासोभन्दा निहित व्यक्तिगत स्वार्थ र क्षणिक फाइदामा लागेर पटक–पटक अस्थिर राज्य प्रणालीका भागिदार बनेका भने पक्कै हुन् । देश कुनै पनि प्रकारको अस्थिरताको चक्रब्यूहमा फस्ने धेरै कारणमध्ये माथि उल्लिखित केही कारणको पर्याप्त वातावरण नेपालमा बनिसकेको छ भन्नु अतिरञ्जना होइन । यस्तो अस्थिरताले पराधीनतालाई सहजै स्वीकार गर्छ ।  

पराधीन भन्नु सोझो अर्थमा अरू कसैको अधीनमा रहने अवस्था हो । पराधीनताले देश र जनताको स्वाभिमानमा ठेस लाग्नु, अन्य कसैको भर पर्नु तथा सधैँ कमजोर शासित र केन्द्रबाहिर पर्नुपर्ने अवस्थाको सिर्जना गर्छ । मूलतः पराधीनता आर्थिक, राजनीतिक र सांस्कृतिक दासता हो जसबाट सहजै छुटकारा पाउन कुनै पनि मुलुकलाई लामो समय लाग्छ । देशलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा अस्थिर र पराधीन बनाउने मुख्य तत्व भनेको आर्थिक क्रियाकलाप नै हो ।  

नाकाबन्दी गर्ने, देशबाट बाहिर जाने सामान वा वस्तुहरूको उच्च भन्सार वृद्धि गर्ने, बहुराष्ट्रिय कम्पनीहरूको प्रवेश गराइ स्वदेशी उत्पादनलाई प्रस्तिस्पर्धाबाट उठ्न नसक्ने बनाउनु जस्ता निर्णय गरेर हामी सबैलाई पराधीन बनाएको इतिहास जगजाहेरै छ । यसभन्दा पनि उल्लेख्य मात्रामा अन्तर्राष्ट्रिय बजार र वस्तुहरूको सहज बजारीकरण गरिँदा हाम्रा देशका पुँजीपतिहरू दलाल नोकरशाही बन्नुपरेको बाध्यता हाम्रोसामु छँदैछ । त्यसमाथि जतिसुकै ऋण भए पनि वैदेशिक सहायता र ऋण स्वीकार्ने अनि वर्षौंसम्म ठूला आयोजना सम्पन्न नहुँदा देश आर्थिकरूपले टाट पल्टने सम्भावना उत्तिकै रहन्छ । बहुराष्ट्रिय कम्पनीहरूले बिछ्याएको जालमा सामान्यदेखि उच्च वर्गका मानिस परिसकेपछि राष्ट्रियता, स्वाभिमान र पहिचान घुमिल प्रायः भएको छ ।

राजनीतिक पराधीनता सबै जनताको ज्ञान भन्दा बाहिर हुन्छ । प्रत्यक्षरूपमा अन्य देशले आफ्ना स्वार्थअनुकूल अभिव्यक्त गर्ने धारणाबाहेक भित्रीरूपले चलखेल प्रत्येक घटना र परिघटनापछि पटाक्षेप भएकै छ । सामान्य कूटनीतिक मर्यादालाई समेत बिर्सेर अन्य देशलाई गुहार्ने वा विदेशी दूतावासमा बारम्बार परामर्श लिने अवस्था हाम्रा राजनेतालाई सुहाउने कुरा पटक्कै होइन । तर पनि जब शासक र शासित, केन्द्र र बाहिर, धनी र गरिब, शक्तिशाली र कमजोर जस्ता परस्पर विपरीत मानिसकतामा राज्य प्रणाली रुमलिन्छ तब स्वाधीनता, राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रता भन्ने कुरा आत्मसन्तुष्टि, नारा, शक्ति, प्राप्त गर्ने माध्यम तथा दासता स्वीकार गर्ने अघोषित रणनीति बन्न पुग्छ ।

पराधीनताको अर्काे पक्ष भनेको संस्कृति हो । भाषा, कला, धर्म तथा भेषभूषा कुनै पनि देशका मौलिक पहिचान र गौरवका विषय हुन् । यस्ता गौरव र पहिचान गर्ने विषयलाई मन्द विष प्रयोग गरी भाषा, धर्म तथा संस्कारलाई विस्तारै अतिक्रमण गरी क्षतविक्षत पारिनु पनि परनिर्भरता बनाउने काइदाअन्तर्गत पर्छन् । अङ्ग्रेजी र हिन्दी भाषाको अति मोह, धर्म परिवर्तनको चर्काे प्रभाव खानपान तथा रहनसहनमा आएका नक्कली रूपहरूले आजका सबै युवा पुस्तालाई आकर्षित गरिहेको छ । यसरी संस्कृतिरूपले पराधीनता स्वीकार्नु आफ्नो पहिचान गुमाउनु हो ।

प्रसिद्ध मनोविज्ञ कार्ल गुस्टाभ योङ्गका विचारमा मानिसको मस्तिष्कको बुर्जा चेतन र अचेतन अवस्थाको बीचमा हल्लिरहेको हुन्छ, ठीक वा बेठीक भन्ने विचारमा होइन । स्वभावैले मानिस कुनै घटना, विचार तथा व्यवहारमा ठीक वा बेठीक छुट्याउने तर्क भन्दा आफ्नो चेतन र अचेतन मनले निर्देशन गरेको संवेगबाट स्वचालित हुन्छ । जसका कारण ऊ स्वयम् अस्थिर र पराधीन हुने गर्छ । अस्थिरता र पराधीनता एकअर्काका परिपुरक अवस्था हुन् । अहिलेको अवस्था तरल अवस्था हो । पराधीनता र अस्थिरताले एउटा अजङ्गको आकार ग्रहण गरिसकेको छ जसलाई हाम्रो वशमा ल्याउन असम्भवप्रायः देखिएको छ । हामी सबैको भाग्य र दुर्भाग्य यस्तै लामो समयको अस्थिर र पराधीन राज्य व्यवस्थाको मनोवैज्ञानिक रोगबाट छुटकारा पाउने उचित अवसरले निर्धारण गर्नेछ ।  

(प्राध्यापक, पृथ्वीनारायण क्याम्पस, पोखरा)

प्रकाशित: ९ फाल्गुन २०७७ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App