२३ फाल्गुन २०७७ आइतबार
विचार

असल नायकको खोजी

कोतपर्वपछि जंगबहादुर राणा सर्वशक्तिमान भए । राणा शासन १०४ वर्षसम्म चलिरह्यो । तर जनताको अधिकार कुण्ठित भयो भन्दै राजा त्रिभुवनकै नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन सफल भएपछि २००७ साल फागुन ७ गते नेपालमा प्रजातान्त्रिक पद्धति सुरु भयो ।

राजा त्रिभुवनको स्वर्गवास भएपछि राजा महेन्द्रले मुलुकलाई नयाँ ढंगले हिँडाउन खोजे । उनकै पालामा पहिलोपल्ट संसद्का लागि निर्वाचन भयो । २०१६ सालमा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भए । त्यसबेला युवराज वीरेन्द्र इटन कलेजमा पढ्दै थिए । शिक्षामन्त्री परशुनारायण चौधरी ब्रिटेन जाँदा युवराजलाई भेट्न कलेजकै होस्टलमा पुगेछन् । सांगीतिक कार्यक्रमका लागि विद्यार्थीहरू कुर्सी मिलाउँदै थिए, ठूलो हलमा । माथिल्लो तलामा बाह्र फिट जति लामो र दश फिट जति चौडाइको सामान्य कोठामा बस्दारहेछन् १४ वर्षीय वीरेन्द्र । ‘सेतो तन्ना ओछ्याइएको सामान्य ओछ्यान, काठको मेच–टेबल र केही पुस्तक थिए त्यहाँ’– चौधरीले सुनाएका थिए ।

पैदलयात्रा, टेनिस, फोटोग्राफी, पेन्टिङ र पुस्तकका शौखिन वीरेन्द्रलाई २०१६ सालमा पहिलोपल्ट भेटेका परशुनारायण चोधरी नेपाली कांग्रेसका महामन्त्रीसमेत भएका पुराना नेता हुन । बानेश्वरस्थित निवासमा उनीसँगको कुराकानीमा धेरै कुरा उजागर भयो । ‘राजा वीरेन्द्रको हृदयमा छलकपट, अभिमान, निरंकुश प्रवृत्ति, परावलम्वी चिन्तन र कुनै विकार छैन भन्ने बुझेर नै मैले राजालाई आजीवन सहयोग गरेँ । म उनको विरोधी हुनै सकिनँ’– चौधरीले भनेका थिए ।

जनताले ससाना स्वार्थमा विभक्त भएर दलीय र क्षेत्रीय स्वार्थअनुसार नेतृत्व छानिरहे भने मुलुकले असल नायक पाउन सक्दैन ।

प्रजातन्त्रप्रति आस्थावान थिए राजा वीरेन्द्र । २०४८ असार १७ गते राजा वीरेन्द्रले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्वोधन गर्दै भनेका थिए– ‘आर्थिक विकासको प्रतिफल देशका अत्यन्त गरिब र निमुखा जनतासम्म पु¥याउन सकेमा मात्र देशमा प्रजातन्त्र दिगो र बलियो हुन सक्छ । यो निःसंकोच स्वीकार गर्नुपर्ने सत्य हो, देशका बहुसंख्यक जनता भोक, रोग र अशिक्षाको दुःखद पीडाले ग्रस्त छन् ।’ बहुसंख्यक जनता सुखी र समृद्ध छन् भन्ने दाबी गरेनन्, वीरेन्द्रले । धनकुटा, हेटौँडा, पोखरा, सुर्खेत र दीपायललाई क्षेत्रीय राजधानी बनाएर महिनौँसम्म कुनाकाप्चामा घुमेका राजाले धरातलीय यथार्थ बुझेका थिए । धनी र गरिबबीचको अन्तराल देखेका थिए ।  

कहिलेकाहीँ दिक्क लाग्दा हेलिकोप्टर उडाएर उनी विकट गाउँहरूमा पुग्थे । राजा वीरेन्द्रका निजी सचिव नारायणप्रसाद श्रेष्ठ सम्झन्छन्–‘लाङटाङ हिमालको फेदीमा पुगेपछि सरकार हेलिकोप्टरबाट बाहिर निस्केर भेडा गोठालाहरूसँग कुराकानी गरिबक्स्यो । सामान्य पोशाकमा राजालाई कसैले चिनेनन् । केही गोठाला आफैँ लुगा खोलेर जुम्रा खाँदै थिए । सरकारबाट सोधिबक्स्यो– ‘तिमीलाई जुम्रा मीठो लाग्छ ?’ गोठालाले हाँसेर जवाफ दिए– ‘अमिलो हुन्छ ।’ आफूसँग जानेहरूलाई सरकारबाट हुकुम भयो– ‘नेपाल भनेको सहर बजार मात्र बुझ्नुहुन्न । यी ‘इनोसेन्ट’ गरिब जनताको स्तर उकास्न सके मात्र नेपाल उन्नत हुन्छ ।’ सहरका अर्बपतिका मात्र होइन, जुम्रा चपाउनेका पनि राजा थिए उनी ।

अलेक्जान्डर द ग्रेटले भारतसम्म युद्ध गरेर धेरै राष्ट्रलाई आफ्नो अधीनमा राखे । दार्शनिक एरिस्टोटल उनका गुरु थिए । अलेक्जान्डरले भारतबाट फर्किँदा गुरुलाई सुँगा उपहार दिए । गुरुले सुँगाबारे प्रश्न गर्दा उनले उत्तर दिए– ‘जनता र सँुगा उस्तै हुन । पिँजरामा राखेर केही खान दिएपछि दुवैले जे सिकायो, त्यही बोल्छन् गुरु ।’ वास्तवमा बहुसंख्यक जनता सरल हुन्छन् । जाडोमा कसैले धुनी बाल्यो भने आगो ताप्न जानेहरूले कुन जातका दाउरा हुन र कुन जातको मान्छेले बाल्यो भनेर प्रश्न गर्दैनन् । गर्मीमा सित्तैमा सर्वत बाँडिदैछ भने जनताले सर्वत पिउँछन् र बाटो लाग्छन् । आगो र सर्वत दुई फरक विम्ब हुन्, जनसम्पर्कका । जो जनतासँग टाढिँदै जान्छ, ऊ जननायक वा राष्ट्रनायक हुँदैन । अझ त्यस्तो व्यक्ति छली, कपडी, षडयन्त्रकारी, लोभी र पाखण्डी छ भने जनताले रुचाउँदैनन् । उनीहरूलाई त दुःखमा आफूसँगै रुने र खुसीमा सँगसँगै नाच्ने सत्यवादी नायक चाहिन्छ । मिथ्यावादी त जताततै भेटिन्छन् ।

कुनै पनि राष्ट्रमा प्राकृतिक स्रोत साधन मात्र भएर वा जनता मात्र सक्षम भएर पनि राष्ट्र सक्षम हुन सक्दैन । राष्ट्रलाई बलियो बनाउन असल राजनेताले नेतृत्व लिनुपर्ने हुन्छ । 

असल नेताले सत्य स्वीकार गर्छ । म जे भन्छु, त्यो मात्र ठीक भन्ने हठ गर्दैन । २०२१ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री छँदा गृहमन्त्री भएका वेदानन्द झाले एकदिन राजा वीरेन्द्रलाई विन्ति गरे– सरकार, पञ्चहरूमा ध्रुवीकरण, चरम गुटबन्दी, लोभ र घात/प्रतिघात बढ्दैछ । पञ्चभेला र जुलुसमा भाडाका मान्छे ओसारेर शक्ति प्रदर्शन गर्न थालेका छन् । यसरी कहिलेसम्म चल्छ पञ्चायती व्यवस्था ?

राजासँग समुधुर सम्वन्ध भएका झा प्रष्ट वक्ता थिए । मन्त्री भइसकेका झालाई राजाले राजदूत बनाउने इच्छा गर्दा उनले हाँसेर जवाफ दिएछन्– ‘तराईमा जन्मेको मान्छे, पान, सुपारी र जर्दा मन पर्छ । जहाँ पान खान पाइन्छ, त्यहाँ राजदूत बनाएर पठाइबक्स्यो भने सेवक खुसी हुने थियो ।’ राजाले झाको मनसाय बुझेर भारतका लागि राजदूत बनाए ।

स्पेनका हुआँ कार्लोस, थाइल्यान्डका भूमिबल अदुल्यादेज (अतुल्यतेज), नर्वेका हेराल्ड, हल्यान्ड (द नेदरल्यान्डस) की बेट्रिक्स, लक्जेमवर्गका हेनरी, जापानका हिरोहितो, बेल्जियमका अल्बर्ट, कम्बोडियाका नरोदम सिंहानुक (नरोत्तम), कुवेतका जाविर अल अहमद अल सवाह आदि राष्ट्रनायकहरूलाई जनताले धेरै सम्झने गरेको पाइन्छ ।  

पृथ्वीनारायण शाह, राजा महेन्द्र तथा राजा वीरेन्द्र नेपालीका हृदयमा बसेका नायक हुन । सिंगापुरका राष्ट्रपता लि–क्वान–यु, भारतका महात्मा गान्धी, जवाहरलाल नेहरू तथा मलेसियाका महाथिर महमद तथा दक्षिण अफ्रिकाका नेल्सन मन्डेला जनताले धेरै रुचाएका नायक हुन । जापान, भुटान, थाइल्यान्ड र कम्बोडिया जस्ता बौद्ध धर्मावलम्वीको बाहुल्य भएका राष्ट्र हुन् वा सन् १९८४ मा ब्रिटेनबाट स्वतन्त्र भएको ब्रुनाइ, सबैले राष्ट्रिय स्वाभिमानलाई शिरोधार्य गरेका छन् र आआफ्ना राष्ट्रनायकको उत्तिकै सम्मान गर्छन् ।  

ब्रिटेनका कमान्डर जेम्स ब्रुकले सन् १८४१ मा कुचिङ र सरावाकमा भएको विद्रोह दबाएर आफैँलाई त्यहाँको राजा घोषणा गरे । ब्रिटेनसँग सुरक्षा र आर्थिक सन्धि गरेर ब्रुनाइले आत्मरक्षाको मार्ग लियो । तर शोषण मात्र गरे ब्रिटिसले । आफैँले शासन गर्न नसकेर अरूको भरोसा गर्दा सन् १९०६ मा ब्रुनाइ ब्रिटेनको संरक्षित राज्य (प्रोटेक्टोरेट) हुन पुग्यो । घरमूली गतिलो भएन भने घरको उन्नति हुँदैन भन्ने यो एउटा उदाहरण हो ।

सर टासी नामग्यालद्वारा सन् १९०७ मा भुटानमा राजतन्त्र स्थापना गरिएको थियो । सोही वंशका पाँचौँ राजा हुन् हालका भुटानी राष्ट्रनायक । शान्ति, स्थायित्व, प्रगतिका हिसाबले भुटानलाई दक्षिण एसियाको भाग्यमानी राष्ट्र मानेको छ संयुक्त राष्ट्र संघले ।

एकपल्ट खप्तडको ठूलो चौरमा हेलिकोप्टर अवतरण भयो । सैनिक पोशाकमा थिए राजा वीरेन्द्र । सुर्खेत सवारी शिविरबाट लगिएको खानेकुरा त्यहाँ बसेर खाए राजा र उनका सहयोगीहरूले । टाढाबाट केही मानिस हेलिकोप्टर नजिकै आए । एक जना किसानले हात जोड्दै भने– ‘सिपाही दाइ, हामीलाई यहाँबाट लखेट्ने भन्दैछन् । साठी घर हटाउने भन्दैछन् । जालीझेलीहरूले मुद्दा लगाए । तपाईँहरूले राजालाई गएर भनिदिनुहोला । हाम्रो पुकार राजाले त सुन्लान् नि ।’ राजासँगै त्यहाँ पुगेका निजी सचिव रेवतीरमण खनालले २०३४ सालको घटना सुनाए ।

‘जुत्ता–चप्पलसमेत नलाएका ती किसानको पीडा सुनेपछि राजाका आँखा रसाए । उनले किसानलाई हेलिकोप्टरमा राखेर सिलगढी (दीपायल) लगे । न्यायाधीशहरूले सोही दिन मुद्दा फैसला गरे । हेलिकोप्टरमा आफूलाई ल्याउने मान्छे नेपालका राजा रहेछन् भन्ने चाल पाएपछि किसान छक्क परे । न्याय र औषधोपचार तत्काल भएन भने झन् समस्या बढ्छ भन्ने राजा वीरेन्द्रको धारणा थियो’– खनालले सुनाए ।

चुनाव जित्दैमा जनताको मन जितिँदैन । मतले मात्र जित्नेमध्ये कति जना उन्मत्त भएका छन् । राजाको परिकल्पना वेदले गरेको हो । ध्रुवं ते राजा वरुणो ध्रुवं देवो वृहस्पति : । ध्रुवं ते इन्द्रश्चाग्निश्च राष्ट्रं धारयतां ध्रुवम् । (अथर्ववेद, ६/८८/२२) ज्येष्ठता, श्रेष्ठता, उत्कृष्ठता आदि गुण प्राप्त होस् भनेर राजा वरुणको स्तुति गर्नु, ज्ञानका लागि वृहस्पतिको, अभेद्य शक्तिका लागि देवराज इन्द्रको र समर्थवान हुनका लागि अग्निको उपासना गर्नू भनिएको छ । केन्द्रको शक्तिशाली व्यक्ति प्रधानसेनापतिदेखि लिएर गाउँको प्रमुख (ग्रामणी) लगायतका एघार जनाले प्रतिनिधित्व गरेर राजाको शुभराज्याभिषेक गर्ने वैदिक परम्परा छ । रानी, युवराज, राजपुरोहित आदि सबैले अभिषेक गर्नुपर्छ भनिएको छ । राष्ट्र नायकमा आकाश जस्तो उदात्तभाव आओस्, पृथ्वी र पर्वत जस्तै अटल रहने शक्ति होस् भन्दै अभिषेक गर्नुपर्ने अथर्ववेदको मत छ । ध्रुवा धौ ध्रुवा पृथ्वी, ध्रुवासः पर्वता इमे, ध्रुवं विश्वमिदं जगत, ध्रुबो राजा विशामयम् । (अथर्ववेद, ६/८८/१)

असल नायक थोरै बोल्छन् र धेरै काम गर्छन् । २०१७ सालदेखि २०२८ सालसम्म झन्डै एघार वर्षमा राजा महेन्द्रले सयौँ महŒवपूर्ण काम गरे । उनका लिखित र मौखिक भाषण संग्रह गर्ने हो भने एक लाख शब्द जति होला । आजका कतिपय नेता एक हप्तामै चौधपल्ट भाषण गर्छन् । ती भाषणको सार हुन्छ– ‘म भन्दा योग्य कोही छैन ।’ ससाना केटाकेटीले ‘म राम्रो’ भने जस्तो सुनिन्छ, त्यस्तो भाषण ।  

सिंहदरवारबाट बिदा भएर घर नपुग्दै धेरै प्रधानमन्त्रीलाई बिर्र्सिएका छन् जनताले । सम्झिने काम गरेको भए, सम्झिरहन्थे होला । अर्बौंँ रुपियाँको बजेट दुरुपयोग गर्ने, सरकारी जग्गा हडप्ने, सानो घेरा बनाएर भजनमण्डलीलाई पनि अर्बपति बनाउने तर राष्ट्र र जनतालाई उपेक्षा गरिरहने प्रवृत्ति बढ्दै गयो । गणतन्त्र गाँडतन्त्र सिद्ध भयो नेपालमा । भाडामा ल्याइएका हजारौँ जनता सडकमा उफार्ने र आफूलाई योग्य प्रमाणित गर्न राज्यकोषबाट हरेक हप्ता करोडौँं रुपियाँ खर्च गर्नेहरूलाई इतिहासले कसरी मूल्यांकन गर्ला ? जनताले सम्झिने नायक कति जना आए गणतन्त्रपछि ? राष्ट्रिय अस्तित्वलाई पासो लगाउन डोरी बाटिरहेका छन् धेरैले । भ्रष्टाचार, अत्याचार, पापकर्म, शोषण र बेथितिले सीमा नाघेको छ तर कोही पनि राष्ट्र र जनताप्रति जिम्मेवार र गम्भीर देखिएनन् । कुनै बेला मुकुट, मुलुक र मुलुकी (जनता) जोगाउने कसम खाएर जागिरमा प्रवेश गरेकाहरूले मुलुक र मुलुकी कसरी बचाउलान्, त्यो हेर्न बाँकी छ ।  

खेतबारीमा भोगटे र थाङ्नाको भकुण्डो खेल्नेहरूलाई रंगशालामा फुटबल खेल्दा गाह्रो हुन्छ । जब राष्ट्रमा संकट पर्छ, त्यतिबेला जनताले असल, साहसी, इमानदार र स्वाभिमानी नायक खोज्न थाल्छन् । तसर्थ, इतिहास निर्माण गर्न चाहने कोही सपुत जन्मेका रहेछन् भने अहिलेको संकट उनका लागि ऐतिहासिक अवसर सावित हुन सक्छ । नायकहरू अझै पनि धानको भुसलाई त्रिफला भनेर ठग्न खोज्दैछन् । डेमोक्रेसीको त्रिफला, हर्रो, बर्रो, अमला होइन, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा आधारित शक्ति पृथकीकरणको सिद्धान्त हो । त्यसैले अमेरिका जस्ता राष्ट्रले कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्व नहोस् भनेर संसद् बाहिरबाट विज्ञहरूलाई मन्त्री बनाउने गरेका पाइन्छ ।  

कुनै पनि राष्ट्रमा प्राकृतिक स्रोत साधन मात्र भएर वा जनता मात्र सक्षम भएर पनि राष्ट्र सक्षम हुन सक्दैन । राष्ट्रलाई बलियो बनाउन असल राजनेताले नेतृत्व लिनुपर्ने हुन्छ । तसर्थ त्यस्तो परीक्षा लिने काम जनताकै हो । उनीहरूले ससाना स्वार्थमा विभक्त भएर दलीय र क्षेत्रीय स्वार्थअनुसार नेतृत्व छानिरहे भने मुलुकले असल नायक पाउन सक्दैन । 

प्रकाशित: ७ फाल्गुन २०७७ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App