२३ फाल्गुन २०७७ आइतबार
विचार

शुक्रकीट दानले आनुवांशिक दोषको खतरा

एउटै व्यक्ति सयौँ बालबालिकाको पिता

सन् २०१५ मा नेदरल्यान्डकी सिकर्मी भेनेसा भान इअजिकले आमा बन्न चाहिन् । ३४ वर्षकी उनी एकल महिला थिइन् । उनले शुक्रकीट दान गर्ने दाता खोजिन् । उनले निःसन्तान केन्द्रमार्फत गर्भवती हुन चाहे पनि त्यसो गर्न अत्यधिक महँगो पर्ने भयो । अनि उनले ‘डिजायर फर अ चाइल्ड’ नामक वेबसाइटमा सही दाता भेटिन् । अनलाइन शुक्रकीट बजारमा दाता र शुक्रकीट ग्रहण गर्ने महिलाको प्रत्यक्ष सम्पर्क बढ्दो क्रममा छ । यही बजारमा भेनेसाले ३० वर्षका संगीतकार ज्याकोब मैजरलाई भेटिन् ।

मैजर रूपवान् थिए, निलो आँखा र घुम्रिएको कपालसहितका । उनलाई भेनेसाले मन पराइन् । ‘मैले ऊसँग फोनमा कुरा गरेँ । ऊ भद्र, दयालु र राम्रो आनीबानीको थियो’, उनले भनिन्– उसलाई संगीत मन पथ्र्याे । उसले जीवनका बारेमा आफ्नो विचार भन्न रुचाउँथ्यो । ऊ छिमेकी केटो जस्तो थियो ।

एक महिनाको तयारीपछि रेलवेको एक स्टेसनमा उनीहरूको भेट भयो । ज्याकोबले १ सय ६५ युरोमा भेनेसालाई आफ्नो शुक्रकीट उपलब्ध गराए । त्यसपछि भेनेसाले छोरी जन्माइन् । उनको यो पहिलो बच्चा थियो । दाता ज्याकोबले यो उनको आठौँ सन्तान रहेको बताएका थिए । न्युयोर्क टाइम्सले ज्याकोबसँग इमेल अन्तर्वार्ता लिन खोज्दा उनले मानेनन् । उनले आफ्नो नाम प्रकाशित गर्न अनुमति नदिने बताए ।

१ करोड ७० लाख जनसंख्या रहेको नेदरल्यान्डमा एउटै बाबुबाट जन्मेका सन्तान भविष्यमा भेट भएर बच्चा जन्माउन सक्ने सम्भावना अत्यधिक देखिएको छ जसका कारण आनुवांशिक दोष भएका बालबालिका जन्मन सक्ने खतरा बढेको छ ।

सन् २०१७ मा भेनेसाले फेरि अर्काेपटक आमा बन्न चाहिन् र ज्याकोबलाई सम्पर्क गरिन् । यसपटक उनले छोरो जन्माइन् । त्यसअघि नै उनले चिन्ताजनक समाचार सुनेकी थिइन् । उनले फेसबुकमा अर्की एक महिलालाई भेटेकी थिइन्– जसले ज्याकोबको शुक्रकीट प्रयोग गरेकी थिइन् । नेदरल्यान्डको स्वास्थ्य, समाज कल्याण तथा खेलकुद मन्त्रालयले विभिन्न निःसन्तात केन्द्रमार्फत ज्याकोब १०२ बालबच्चाको पिता भएको पत्ता लगाएको थियो । यो तथ्यांकमा वेबसाइटमार्फत दान गरिएको शुक्रकीटको हिसाब समावेश थिएन ।

भेनेसाले आफ्ना सन्तान साँच्चै नै दिदीभाइ बनून् भन्ने चाहनाले ज्याकोबको शुक्रकीट चाहेकी थिइन् । तर ज्याकोब सयौँ केटाकेटीको पिता रहेको थाहा पाएपछि उनी चिन्तित भइन् । कुल १ करोड ७० लाख जनसंख्या रहेको नेदरल्यान्डमा यी नातेदार केटाकेटीको भविष्यमा एकआपसमा भेट भएर बच्चा जन्माउन सक्ने सम्भावना अत्यधिक देखिएको छ जसका कारण आनुवांशिक दोष भएका बालबालिका जन्मन सक्ने सम्भावना रहन्छ । भेनेसा धेरै क्रोधित भइन् र ज्याकोबसँग झगडा नै गरिन् । ज्याकोबले कम्तीमा १ सय ७५ जनाको पिता भइसकेको र अझै धेरैको भएको हुन सक्ने स्वीकार गरे ।

विश्वमा भिट्रो फर्टिलाइजेसनमार्फत सन १९७८ मा पहिलोपटक बच्चा जन्मेको थियो । त्यसपछि शुक्रकीट बैंक, निःसन्तान केन्द्र तथा निजी दाताहरूमार्फत शुक्रकीटको बजार विश्वव्यापी बनेको थियो । उद्योगको हिसाबमा यसको नियमन कमजोर छ । आनुवांशिकरूपमा समस्या नहोस् भनेर बनाइएका विभिन्न कानुनमा कसले, कहाँ र कसरी शुक्रकीट दान गर्न सक्छ भन्ने विषय उल्लेख त छ तर प्रभावकारी कार्यान्वयन छैन । जर्मनीमा एक शुक्राणु दाताले १५ भन्दा बढी बालबालिका जन्माउन पाउँदैन भने बेलायतमा जति धेरै बच्चा जन्माए पनि एक दाताले १० परिवारलाई मात्र दान गर्न सक्छ । नेदरल्यान्डमा क्लिनिकमा गएर शुक्राणु दान गर्नेले २५ भन्दा बढी बच्चा जन्माउन पाउँदैन । अमेरिकामा कानुनी सीमा छैन तर अमेरिकन सोसाइटी फर रिप्रोडकीटभ मेडिसिनको निर्देशिकामा प्रतिदाता २५ बालबच्चा जन्माउन सक्ने प्रावधान उल्लेख छ ।

त्यसो त, यो विषयमा विश्वव्यापीरूपमा नियमनको अभाव छ । शुक्रकीट दातालाई क्लिनिकमा गएर शुक्रकीट दान गर्न चाहँदा रोक्न सक्ने व्यवस्था छैन । डेनमार्कमा रहेको विश्वको सबैभन्दा ठूलो शुक्रकीट क्लिनिकले सयभन्दा बढी देशमा शुक्रकीट निर्यात गर्छ । ‘अमेरिका र अन्यत्र एउटा दाताले एकभन्दा बढी क्लिनिकमा गएर दान गर्न चाहेमा रोक्न सक्ने अवस्था छैन,’ अमेरिकामा रहेको डोनर सिब्लिङ रजिस्ट्री नामक संस्थाका कार्यकारी निर्देशक तथा सहसंस्थापक विन्डी क्र्यामरले भने । अनलाइनमार्फत दान गर्न चाहनेलाई रोक्न सक्ने व्यवस्था झन् कमजोर छ । यही रिक्तताका कारण दाताले दर्जनौँ बालबालिका जन्माउन सक्छन् र एउटै पिताका दर्जनौं सन्तान जन्मन सक्छन् ।

सन् २०१९ मा नेदरल्यान्डमा रहेका दाताबाट शुक्रकीट लिएर जन्मेका बालबालिकाका परिवारलाई सहयोग गर्न स्थापना गरिएको डोनर चाइल्ड फाउन्डेसन नामक संस्थाका अनुसार प्रजननविज्ञ डा. जान कारवाट गोप्यरूपमा ६८ बालबालिकाका पिता बनेका थिए । कारवाटको सन् २०१७ मा मृत्यु भएको थियो । नेदरल्यान्डकै लुइस नामका दाता २ सयभन्दा बढी बालबालिकाका पिता बनेका थिए । ती सबैलाई एकापसको नाता थाहा थिएन । ३६ वर्षका सूचना प्रविधि विज्ञ इभो भान हालेनले तीमध्ये आफू पनि एक रहेको ६ वर्षपहिले थाहा पाएका थिए । त्यसपछि उनले अरू ४२ दाजुभाइ तथा दिदीबहिनीसँग सम्पर्क गरेका थिए । ‘४२ जना दाजुभाइ दिदीबहिनीलाई कसरी एकीकृत गर्ने भन्ने विषय सजिलो छैन’, उनी भन्छन्– यो विषयमा कुनै किताब छैनन् । एउटै नातेदारीका समूहमा हामी अहिले ७० जना पुगेका छौँ र हरेक महिना यो संख्या थपिँदो छ ।

यसरी आपसमा नाता भएका केटाकेटी डेटिङ एप ‘टिन्डर’ मा पटक–पटक भेट हुन थालेका छन् । हेगका जोर्डी विलेकेन्स एउटै पिताका अन्य ४ छोरीसँग अनलाइनमा जोडिए । ‘एउटी बहिनीसँग मेरो भेट भयो तर हामी दुवै एकअर्काबाट तक्र्याैँ’– बिलेकेन्स भन्छन् । यस्तो डेटिङ एपमा जानुअघि कतिपयले सम्भावित नातेदारको सूची बनाएका हुन्छन् । विलेकेन्स अहिले एक महिला साथीसँग सम्बन्धमा छन् । सम्बन्धमा हुनुअघि राम्रोसँग अध्ययन गरेर मात्र आफू अगाडि बढेको उनी बताउँछन् ।

जन्मने बालबालिकाका लागि खतरा

डा. जान कारवाट जस्ता दाताले गैरकानुनी र गोप्यरूपमा शुक्रकीट दान गरेर जन्मेका धेरै केटाकेटीले कैयन् वर्षपछि मात्र एकआपसमा आफ्नो नाता थाहा पाउँछन् र त्यतिबेला उनीहरू आश्चर्यचकित हुन्छन् । त्यसो त, कतिपय दाता खुला हिसाबमै अनौठो चरित्रका हुन्छन् । गणितको प्राध्यापकसमेत रहेका न्युयोर्कका एरी नागेलले अनलाइनमार्फत मात्रै शुक्रकीट दान गर्छन् । सार्वजनिक स्थानमा शुक्रकीट लिने महिलालाई भेटने गरेका उनलाई ‘टारजेट डोनर’ को रूपमा चिनिन्छ । उनले आफू ७६ बालबालिकाको पिता भएको बताए । बेलायतका सिमोन वाटसन नाम गरेका एक दाताले विश्वभर आफ्ना ८ सयभन्दा बढी सन्तान भएको सन् २०१६ मा बिबिसीलाई बताएका थिए । उनले आफ्ना केटाकेटीको फोटो फेसबुकमा राख्दै आएका थिए । शुक्रकीट दाता ज्याकोबले आफ्नो नाम अत्याधिक क्लिनिकमा सूचीकृत गरेका छन् भने निजीतवरले पनि दान गर्दै आएका छन् ।

सन् २०१७ मा ज्याकोबका बारेमा भेनिसाले जानकारी संकलन गरेपछि नेदरल्यान्डको डोनर चाइल्ड फाउन्डेसनलाई त्यो सूचना दिएकी थिइन् । उनले ज्याकोबका धेरै सन्तान रहेका र उनले धेरै क्लिनिकमा शुक्रकीट दान गरेको गुनासो गरेकी थिइन् । डोनर चाइल्ड फाउन्डेसनसँग अरू महिलाले पनि यस्तै गुनासो गरिसकेका थिए । फाउन्डेसनले ज्याकोब ८० बालबालिकाको पिता बनेको पत्ता लगाएको थियो जबकि स्वास्थ्य, समाज कल्याण तथा खेलकुद मन्त्रालयको तथ्यांकमा उनी १०२ जनाका पिता रहेका छन् । त्यसपछि नेदरल्यान्ड सरकारले सबै क्लिनिकलाई ज्याकोबको शुक्रकीट प्रयोग नगर्न निर्देशन दिएको थियो । नेदरल्यान्डको गोपनियतासम्बन्धी कानुनका कारण ज्याकोबको नाम सरकारले सार्वजनिक गरेको छैन तर मन्त्रालयका एक प्रवक्ताले न्युयोर्क टाइम्सलाई उनको पहिचान पुष्टि गरेका छन् ।

‘दाताले अन्य क्लिनिकमा शुक्रकीट दान गर्दिन भनेर सम्बन्धित क्लिनिकसँग सम्झौता गर्नुपर्छ । तपाईँले इंगित गरेका दाताले पनि यस्तो सम्झौतामा हस्ताक्षर गरेका छन् तर गैरकानुनीतवरले धेरै क्लिनिकमा दान गरेका कारण उनी १०२ जनाको पिता बनेका छन्’– मन्त्रालयका प्रवक्ता जेरिट जान क्लेनजाले न्युयोर्क टाइम्सलाई इमेलमा भने ।

भेनेसा यस्ता गलत काम रोक्न चाहन्छिन् । ‘यो खतरापूर्ण छ, नाता थाहा नहुँदा दाजुबहिनी, दिदीभाइबीच प्रेम हुन सक्छ’– उनी भन्छिन् । नेदरल्यान्डका वकिल टिम बुटर यस्ता कार्य रोक्न सख्त कानुनको अभाव रहेको बताउँछन् । ‘समाजमा यस्तो भैरहेको भन्ने थाहा पाउँदा उदेक लागेको छ । यसले बालबालिका पीडित बनेका छन् । यो रोक्न केही गर्नुपर्छ । अहिले त जुन महिलाले दान लिएकी छन्, उनले सार्वजनिकरूपमा घोषणा गरेर उक्त मानिसको शुक्रकीट नलिन भन्नुपर्ने अवस्था छ’– उनी भन्छन् ।

डोनर चाइल्ड फाउन्डेसनको अध्ययनअनुसार सन् २००७ देखि ज्याकोबले युरोप, स्क्यान्डेनेभिया र युक्रेनमा शुक्रकीट दान गरेको देखिन्छ । त्यसो त कैयन् अन्तर्राष्ट्रिय शुक्रकीट बैंकले दाताको पहिचान नक्कली नाम अथवा नम्बरमा राख्छन् । यसैगरी बालबच्चाको जन्म भए÷नभएको जानकारी दिन ग्राहक बाध्य हुँदैनन् । अन्तर्राष्ट्रियरूपमा दर्ता नहुने भएकाले दाताले कहाँ र कतिपटक शुक्रकीट दान गरेको छ भन्ने जानकारी हुँदैन ।

कानुनी छेकबार आवश्यक

एउटै व्यक्तिलाई पटक–पटक शुक्रकीट दान गर्नबाट रोक्न नेदरल्यान्डले दाताको केन्द्रीय रजिस्ट्री स्थापना गरेको छ, जसका कारण एकै व्यक्तिले फरक फरक क्लिनिकमा शुक्रकीट दान गर्न सक्दैन । यसबारे अध्ययन गर्न गठन गरिएको ‘ग्यामेट डोनेसन स्पेसल इन्ट्रेस्ट ग्रुप’ का प्रमुख डा. मोनिक एच मोक्तारका अनुसार नेदरल्यान्डमा एक दाताले १२ महिलालाई मात्र दान गर्न सक्ने नियम बनाइँदैछ । तर अन्तर्राष्ट्रियरूपमा यो त्यति सजिलो छैन ।

‘अन्तर्राष्ट्रियरूपमा नियामक निकाय नहुँदा प्रजनन उद्योगमा संलग्नले मनोमानी गर्दै आएका छन् । त्यसैले यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कानुन आवश्यक छ’– नेदरल्यान्डको डोनर चाइल्ड फाउन्डेसनका भनान डेर भिर भन्छन् । यसरी एउटै व्यक्तिले नियमितरूपमा शुक्रकीट दान गर्ने उदाहरण युरोपका अन्य राष्ट्रमा पनि देखिएको छ । बर्लिनकी वकिल क्रिस्टिना मोटेजका अनुसार यस्ता दाता धेरै बालबालिकाको पिता हुने रहरमा युरोपभर यात्रा गरिरहेका हुन्छन् ।

‘यो डरलाग्दो कुरा हो । यी मानिस आफूलाई अरूभन्दा फरक र महान् ठान्छन्’– उनी भन्छिन् । सन् २०१३ मा एक जर्नलमा छापिएको अनुसन्धात्मक लेखका अनुसार यस्ता दाताले पैसा कमाउन र आफ्नो डिएन अत्यधिक प्रसारण भएको देख्न चाहन्छन् ।  

(न्युयोर्क टाइम्स)

प्रकाशित: ५ फाल्गुन २०७७ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App