२३ फाल्गुन २०७७ आइतबार
विचार

पाको उमेरमा दिमागी तागत

विश्व स्वास्थ्य संगठनको आवधिक तथ्यांकअनुसार संसारमा ६० वर्षमाथिका झण्डै १५ प्रतिशत नागरिक मानसिक रोगीछन् । विश्वका जुनसुकै खण्डका पाका मानिसमा व्याकुलता, उदासीनता (डिप्रेसन), डिमेन्सिया, अल्साइमर्स डिजिज, सिजोफर्नियालगायतका विभिन्न दिमागी रोगले सताएको देखिन्छ । उमेरको बढोत्तरीसगै दिमागी कोस (न्युरोन सेल) शिथिल बन्दै जानुका अतिरिक्त ‘ब्रेन सेल’ को संख्यासमेत घट्दै जाने भएकाले मस्तिष्क शक्ति कमजोर हुनुलाई सामान्य ठानिन्छ । मस्तिष्क कोसहरू निस्तेज भएपछि मानसिक रोगले सताउनु अन्यथा हुँदैन । यसरी उमेर ढल्कँदै गएपछि मानसिक रोगलाग्नुलाई स्वाभाविक ठानिएको अवस्थामा वैज्ञानिकहरूले मानिसले जीवनभरमा दिमागको कुल तागतको २० प्रतिशत क्षमता पनि उपयोग गर्न नसकेको तथ्य सार्वजनिक भएको छ । २० प्रतिशत न्युरोन सेलहरूले नै पूरा काम नपाएको अवस्थामा बुढेसकालमा केही दिमागी कोस रुग्ण भएकै कारणवरिष्ठ नागरिकमा बिर्सने रोग लाग्नुलाई अनौठो ठानिएको छ । पाका मानिसको विश्लेषण तथा स्मरण क्षमतालाई नजिकबाट नियाल्दा कोही मानिस ९० वर्षको उमेरमा पनि दिमागीरूपले निकै सशक्त देखिएका छन् । अझ, केही बूढाबूढीको हकमा त उमेरको बढोत्तरीसँगै उनीहरूको दिमाग अझ चलायमान भएको देखियो । अनि, के गर्दा पाको अवस्थामा समेत दिमागलाई चुस्त र दुरुस्त बनाउन सकिएला त भनी उत्खनन भएको हो ।

बुढेसकालमा मानसिक समस्या पाल्नु भन्दा आफ्नो आदतमा सामान्य हेरफेर गर्दा फाइदा हुन्छ भन्ने कुरा सबैले हेक्का राख्न आवश्यक छ ।

मस्तिष्क अन्य अंग भन्दा सदैव फरक छ । शरीरको २ प्रतिशत तौल भएको दिमागलाई रक्त सञ्चारको कुल हिस्साको २० प्रतिशत आपूर्ति आवश्यक हुन्छ । आखिर मस्तिष्कलाई त्यति धेरै अक्सिजन तथा खान्की किन चाहिन्छ त ?

‘भाइटल अर्गेन’ मुटु, कलेजो, फोक्सो तथा किड्नीको स्वास्थ्य अवस्था क्लिनिकल तथा बायोलोजिकल परीक्षणबाट सजिलै गर्न सकिन्छ । तीअंगमा समस्या आए के/कस्तो उपचार र परहेज गर्ने भन्ने सम्बन्धमा ‘मेडिकल प्रोटोकल’ स्थापित भइसकेकाले उपचारमा संसारभर एकरूपता छ । तर, प्रष्ट देखिने गरी स्वभाव फेरिएको अवस्था नआइकन उपकरणको सहाराले मानिसको दिमागी स्वास्थ्य ठीक छैन भनी एकीनका साथ भन्न सक्ने अवस्था अझैं छैन ।त्यसैले दिमागी रोगको इलाज कठिन भयो । अनि, के गर्दा ब्रेनलाई वृद्धावस्थामा समेत क्रियाशील राख्न सकिएला त भन्ने सम्बन्धमा वैज्ञानिकहरू सहमत हुन नसकेको अवस्थाछ । यस्तो परिस्थितिमा ब्रेनका क्षेत्रमा भएका अध्ययन/अनुसन्धान, वैज्ञानिक आकलन तथा तथ्यांकको जानकारी गराउने उद्देश्य यहाँ राखिएको छ ।  

‘अल्साइमर्स डिजिज’ वृद्धावस्थामा लाग्ने मानसिक बिरामीहो । यो रोगलागेको बिरामीले आफ्नो स्मरण क्षमता गुमाउँछ, आफ्नै परिवारका सदस्यसमेत चिन्न नसक्ने अवस्थामा पुग्छ । प्रोटिनका रुग्ण हिस्सा ‘प्लेक्स’ का रूपमा ब्रेन कोसमा जम्दा न्युरोन सेलहरूले काम गर्न सक्दैनन्, अनि मानिसलाई अल्साइमर्स लाग्ने हो । जटिल प्रकृतिको दिमागी रोग भएकाले सबै सतर्क हुनु अस्वाभाविक भएन । जीवनको पूर्वावस्थामै रोग लाग्ने संभाव्यता ठम्याउन सके आफ्नो वृद्धावस्था व्यवस्थित गराउन सकिने भएकाले ‘सिटी तथा एमआरआइ स्क्यान’ मार्फत दिमागमा प्लेक्स जमे/नजमेको जाँच गर्ने क्रम सुरु भयो । चिकित्सकहरूले ब्रेनको स्क्यान गराउन सिफारिस गर्न थाले । जम्मा भएका लाखौँ दिमागी ‘स्क्यान’ तथ्यांक विश्लेषण गर्दा अनौठो परिणाम देखियो । तुलनात्मकरूपले निकै सानो मात्रामा प्लेक्स जमेको मानिस छोराछोरी नै चिन्न नसक्ने गरी इन्तुनचिन्तु भएको देखियो भने स्क्यानको आधारमा बेहाल हुनुपर्ने बिरामीमा स्मरण शक्ति ह्रासको कुनै लक्षण देखिएन । मेडिकल साइन्समा डाइग्नोस्टिक टेस्ट र रोगीको अवस्थाबीच प्रत्यक्ष अन्तरसम्बन्ध स्थापना गर्न कहिलेकाहीँ कठिन हुने भएकाले प्रारम्भमा चिकित्सकहरूले अस्वाभाविक नतिजाप्रति खासै चासो राखेनन् । तर दिमागमा देखिएको प्लेक्सको साइज र अल्साइमर्सको लक्षणबीच अस्वाभाविक अन्तरसम्बन्धसहितका हजारौँ तथ्यांक संकलनपछि समस्या आयो । उक्त अनौठो नतिजालाई साइन्सका सिद्धान्तले व्याख्या गर्न सकेन । त्यस्तो अवस्थामा वैज्ञानिक आकलन अपरिहार्य बन्छ । 

समष्टिगतरूपमा जीवनको उत्तरार्धमा मानसिक रोगबाट मुक्ति पाउन स्वस्थ खान्की, कसरतको आदत, नयाँ ज्ञान सिक्ने कौतुहलता, सामाजिक कार्यमा सहभागी रहने बानी आवश्यक देखियो । 

झण्डै एक खरब मस्तिष्क कोस (न्युरोन)ले बनेको स्नायु प्रणाली (न्युरोलोजिकल सिस्टम) शरीरको सबैभन्दा जटिल संरचना मानिन्छ । भिन्न भिन्न प्रकृतिका न्युरोनले एकापसमा स्थापना गर्ने सम्बन्धले स्नायु प्रणाली निर्माण हुने भएकाले न्युरोलोजिकल सिस्टमको अध्ययन क्लिस्ट बनेको हो । जटिल संरचना र नेटवर्कका कारण मानिसको दिमागमा विकास हुने सोच, आवेग तथा बानिबेहोराको भेउ पाउन झण्डै असम्भव बन्न पुग्यो । ब्रेनमा रहेको सन्देश शरीरको विभिन्न भागमा पुगेपछि मात्र शारीरिक क्रियाकलाप सुचारु हुन्छ । न्युरोलोजिकल नेटवर्कमार्पmत मस्तिष्कका सन्देश शरीरका विभिन्न भागमा पुग्छन् र उक्त खबर पुर्‍याउन रासायनिक पदार्थ ‘न्युरो ट्रान्समिटर’ ले महत्वपूर्ण भूमिका खेल्छ ।  

विषयलाई प्रष्ट पार्न एक उदाहरण प्रस्तुत गरेँ । हामीले बनाएको फाइल कम्प्युटरको ‘हार्डडिस्क’ को निश्चित स्थानमा गएर ‘सेभ’ भएझैं जीवनको विभिन्न चरणमा हासिल गरेका ज्ञान दिमागको कुनै भागमा ‘स्टोर’ हुन्छ । कम्प्युटरमा सेभ गरिने फाइल कुन ‘ड्राइभ’ मा राख्ने हाम्रो तागतको विषय भए पनि हामीले हासिल गरेको ज्ञान दिमागको कुन भागमा सेभ गर्ने भन्ने हाम्रो काबुभन्दा बाहिरको विषय हो । हार्डड्राइभको फाइल सेभ गरिएको भागमा कुनै क्षति भए अथवा उक्त ‘फाइल पाथ’ मा कुनै खराबी आए हामीले बनाएको फाइल खोल्न सकिन्न । त्यस्तै दिमागको कुनै स्मरण ‘सेभ’ भएको भागमा कुनै कैफियत देखिए अथवा न्युरोलोजिकल पाथमा कुनै खराबी आए विगतमा हासिल भएको ज्ञान प्रयोगमा ल्याउन सकिन्न, आर्जित सिप निष्कामको बन्छ । त्यस्ता समस्या नआओस्भनेर कुनै पनि फाइल कम्प्युटरको विभिन्न ‘ड्राइभ’ मा सेभ गरेझैं हामीले हासिल गरेको ज्ञान दिमागको भिन्न भिन्न स्थानमा राख्न सके कुनै कारणले ब्रेनको एक भागमा कैफियत देखिए सैद्धान्तिकतवरले मस्तिष्कको अर्को स्थानबाट सिप पुनरावृत्तिमा ल्याउन सकिन्थ्यो । तर हामीले हासिल गरेको ज्ञान के दिमागको दुई भागमा राख्न संभव छ त ?

कर्नेल विश्वविद्यालयमान्युरोलोजीका प्राध्यापक एवं दिमागी स्वास्थ्यका विविध बिदामा कलम चलाउने डा. रिचर्ड आइज्याकसनको विचारमा मस्तिष्कको विभिन्न भागलाई चलायमान राख्न सके बुढेसकालमा दिमागी तागत घट्नुको बदला बढाउने अवस्थामा पुर्‍याउन सकिन्छ । स्वस्थ खान्की तथा दिमागी कसरतमार्फत ब्रेनको विभिन्न भागलाई क्रियाशील तुल्याउन सकिने ठान्छन् डा. आइज्याकसन । डा. आइज्याकसनको अवधारणामा धेरै विचलित नहुने गरी गत महिना इमोरी विश्वविद्यालयका न्युरोसर्जरीका प्राध्यापक एवं सिएनएन टेलिभिजनका प्रमुख मेडिकल संवाददाता डा. सञ्जय गुप्ताले दिमागलाई कसरी आजन्म चुस्त र दुरुस्त राख्ने संबन्धमा ‘किप सार्प’ भन्ने पुस्तक प्रकाशित गरे ।  दिमागलाई कसरी जीवनभरस्वस्थ राख्ने भन्ने संबन्धमा दुई न्युरोसर्जनको धारणा सारांशका रूपमा पेस गरियो ।  

ब्रेनलाई जीवनको उत्तरार्धसम्म निरन्तर सक्रिय राख्न दिमागको सबै भाग परिचालित हुन आवश्यक पर्छ । तरहामीले हासिल गरेका एक किसिमका ज्ञान दिमागको एउटा निश्चित भागमा गएर बस्छन् । विज्ञानको क्षेत्रमा आर्जित ज्ञान, अर्थशास्त्रको शिक्षा र कलाको सिप दिमागको भिन्न भिन्न भागमा स्टोर हुने भएकाले साइन्समात्र पढ्ने व्यक्ति भन्दा तीनवटै क्षेत्रमा ज्ञान हासिल गरेको व्यक्तिको ब्रेनको धेरै हिस्सा परिचालित हुन्छन् । त्यसैले एकै किसिमको विधामा पारंगत मानिस भन्दा विभिन्न विषयको उत्खनन गर्ने व्यक्तिको दिमाग बढी चलायमान हुन्छ । त्यस्तो अवस्थामा व्यक्तिले हासिल गरेको एउटै ज्ञान सुरक्षाका लागि कम्प्युटरको दुई फरक फरक स्थानमा एउटै फाइल राखेझैँ ब्रेनको भिन्न भिन्न स्थानमा ‘सेभ’ हुन सक्ने ठान्छन् विज्ञहरू । एउटै ज्ञान दिमागको दुई स्थानमा सेभ भएको अवस्थामा दिमागको एक स्थान र न्युरोलोजिकल पाथमा खराबी आए पनि व्यक्तिको दिमागी तागतमा कमी नआउने हुन्छ । दिमागको एक स्थानमा ‘प्लेक्स’ जमे पनि अर्को स्थानमा सेभ भएको फाइलले काम गरेको ठान्छन् उनीहरू । त्यतिमात्र होइन, दाहिने हातले मात्र खाने बानी भएको व्यक्ति भन्दा दुवै हातले खाने आदत भएको व्यक्तिको ब्रेन बढी दुरुस्त हुने सोच्छन् उनीहरू । एउटै खेल खेल्नु भन्दा ब्रेनको स्वास्थ्यका लागि धेरै किसिमका गेम सिक्नु लाभदायक देखियो । त्यसैले राम्रो गर्न नसके पनि निवृत्त मानिसलाई केही नगरी अथवा एउटा काम गरेर मात्र जीवन व्यतित गर्नु भन्दा विभिन्न किसिमको काम तथा ज्ञान हासिल गर्न दिमागका लागि लाभदायक हुने देखिन्छ ।  

न्युरोसाइन्टिस्टद्वयको विचारमा जीवनको उत्तरार्धमा ब्रेनको शक्ति क्षीण हुन नदिन शारीरिक व्यायाम, सामाजिक सद्भाव कायम गर्ने स्वभाव तथा ज्ञान आर्जनको कौतुहलता आवश्यक देखियो । सुतेको अवस्थामा दिमागले आफ्ना विकार साफ गर्ने भएकाले निद्राको महत्व रह्यो । स्वस्थ मुटुका लागि पालन गरिने आहार–बिहार मस्तिष्कका लागि पनि लाभप्रद् हुन्छ भन्ने ठान्छन् उनीहरू 

समष्टिगतरूपमा जीवनको उत्तरार्धमा मानसिक रोगबाट मुक्ति पाउन स्वस्थ खान्की, कसरतको आदत, नयाँ ज्ञान सिक्ने कौतुहलता, सामाजिक कार्यमा सहभागी रहने बानी आवश्यक देखियो । बुढेसकालमा मानसिक समस्या पाल्नु भन्दा आफ्नो आदतमा सामान्य हेरफेर गर्दा फाइदा हुन्छ भन्ने कुरा सबैले हेक्का राख्न आवश्यक छ ।

प्रकाशित: ४ फाल्गुन २०७७ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App