२३ फाल्गुन २०७७ आइतबार
विचार

ओलीको बोली

विगत तीन वर्षदेखि, सरकारमा बसेका व्यक्तिहरूबाट भएका दुस्साहसी कार्य र सुन्नेले लज्जित हुनुपर्ने दिनहुँका निम्नकोटिको अभिव्यक्ति धाराप्रवाहरूपमा वर्षिने कार्य पञ्चायतकालमा समेत भएको थिएन । मुलुकको सर्वेसर्वा प्रधानमन्त्रीका क्रियाकलाप तथा बोली–वचन यति क्रूर ठट्टाजन्य, हिंसात्मक र विध्वंशक भएको पनि यसअघि कहिल्यै अनुभव भएको थिएन । ‘यो सरकारले दुनियालाई आश्चर्यचकित बनाउनेखालका कामहरू गर्नेछ’– सत्ता सम्हाल्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको वाक्य अहिले पनि धेरैका कानमा गुञ्जिरहेको हुन सक्छ । ठीकै हो, उदेकलाग्दा हर्कत त भइरहेकै छन् ।  

मलाई पूर्वाग्रही विचार प्रकट गरेको नठानियोस्, प्रधानमन्त्री ओलीजीसँग मेरो कुनै व्यक्तिगत माग, गुनासो, स्वार्थ, अघिपछिको राग–द्वेष, खुच्चिङ बजाउने मनोवृत्ति आदि आग्रह छैन । यतिमात्र हो, म उहाँको निःस्वार्थी शुभेच्छुक थिएँ तर त्यो अवस्थाको विसर्जन उहाँ स्वयंंबाट हुन पुगेको छ ।

ओली राजमा उहाँबाहेक सबैको भविष्य अन्धकारमा धकेलिँदै गएको अब पनि प्रष्ट हुन बाँकी छ र ?

विगत तीन वर्षमा सत्ता र सत्तारुढ पार्टीबाट कुनै कुराको विकास भएको छ भने आफ्नो पक्षको अस्वाभाविक वा भ्रामक ढाकछोप, बढाइचढाइ, मिथ्याङ्कलाई तथ्याङ्कको रूप दिने मनोवृत्ति, निर्लज्ज स्वार्थ, अर्को पक्षलाई तल्लो स्तरका असभ्य लाञ्छना र होच्याउने प्रवृत्तिले सीमा नाघेको छ । दुःखका साथ भन्नुपर्छ, यस कार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई उछिन्नुभएको छ । हुन त कम्युनिस्ट गुटबीच हरेक विषयमा स्वार्थको चश्माले एकअर्कालाई हेर्ने र परिभाषित गर्ने काम चलिरहन्छ । उनीहरूको स्वार्थ नमिलेर रीस उठ्यो भने एकले अर्कालाई गद्दार, सिआइडी, प्रतिक्रियावादीको एजेन्ट जस्ता शब्दावलीले गालीगलौज गर्न थालिहाल्छन् । स्वार्थ मिल्यो भने सबै गाली बिर्सेर गला मिलाउन पनि लाज मान्दैनन् । कुनै बेलाका खड्गप्रसाद ओलीले छलछामका लागि आफ्नो नकाबी वा फरार नाम ‘केपी शर्मा’ राख्नुभएको थियो । छलछामको प्रतीक नामले आज पनि उहाँका नियत र क्रियाकलापलाई प्रतिविम्बित गरिरहेको देखिन्छ ।

चौध वर्ष जेल बसेको निर्विवाद बहानामा उहाँलाई तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यमा महासचिव मदन भण्डारीले ल्याउनुपरेको भित्री कारण, बैठकमा सदैव नयाँ नयाँ चिन्तनशील कुरा ल्याउने, महासचिव भण्डारीलाई चुनौती दिने सिपी मैनालीलाई गालीगलौजको शैलीमा क्षुद्र र ओठे जवाफ दिनका लागि थियो । त्यो बेला ओलीको काम गाउँघरका उखान, टुक्का, मुहावरा, गालीका बान्की खोजीखोजी ल्याएर सिपीको मेख मार्नु हुन्थ्यो । आज मुलुकको गरिमामय पदमा विराजमान भएर पनि उहाँ त्यही काम गरिरहनुभएको छ । हुँदाहुँदा उहाँको अभद्र बोली–वचनको तारो ९४ वर्षका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीदेखि ‘लुट्न सके लुट कान्छा....’ चर्चित गीतका गायक पशुपति शर्मासम्म भएका छन् । उहाँको अपमानजनक र अभद्र व्यवहारको भुक्तभोगी आफ्नै पार्टीका शीर्ष नेतादेखि संस्कृत विश्वविद्यालयका उपकुलपतिसमेत हुन पुगेका छन् ।    

कुनै पनि सभ्य राज्य र लोकतान्त्रिक सरकारको पहिलो अनिवार्य कर्तव्य जनताको जिउ–धनको सुरक्षा गर्नु हो । यसमा कुनै ‘यदि’ ‘किन्तु’ ‘परन्तु’ का शब्द वा तर्क वा बहानाको औचित्य हुँदैन । जनतालाई शान्ति–सुरक्षा र अमन चैन दिन नसक्ने सरकारले गर्ने तर्क वा आफ्नो योग्यताको गुलाबी चित्रणको कुनै महत्व हुँदैन, बकवास र गोठालो जाँदा हालिने उखान मात्र ठहर्छ । साढे दुई वर्षअघि महाकाली अञ्चलको कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याका अपराधी पत्ता लगाउन सरकार पूरै असफल रह्यो । महाकालीकै बैतडीमा हाल त्यस्तै किशोरीको दोहोरिएको बलात्कार र हत्याले सरकारसँग अपराधीहरू डराएका छैनन्, बरु आँट तथा अभयदान पाएको सुरक्षित र हौसिएको मानसिकतामा छन् भन्ने पुष्टि हुन्छ । जब सरकारदेखि अपराधीहरू डराउन छोड्छन्, समाज अशान्ति र असुरक्षाको खतरामा फस्छ । हाल नेपाली समाज यस्तै मनोदशामा पुगेको छ ।  

प्रधानमन्त्री ओलीजीको तीन वर्षको कार्यकालमा महिला हिंसा र असुरक्षाको हालत कस्तो भयो भन्ने सवालका लागि प्रहरीको तथ्याङ्कबाटै प्रष्ट होऔँ । उहाँको तीन वर्षको शासनकालमा देशभरि ६ हजार ८४४ जना महिलामाथि बलात्कार भएको प्रहरी तथ्याङ्क छ । यीमध्ये बलात्कारमा परेका बालिकाको संख्या नै ३ हजार ३ सय देखिन्छ । १७ जना महिलाको बलात्कारपछि हत्या भएको छ । १० साउन २०७५ मा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएदेखि २१ माघ २०७७ मा बैतडीकी भागारथीसम्म आइपुग्दा देशमा ३ हजार ३४७ बालिका बलात्कृत भएका छन् । २०७६/७७ मा मात्र करिब १९०० व्यक्तिले आत्महत्या गरेको पाइयो । ३ वर्षयता महिला तथा बालिका बलात्कार र हत्याको संख्या बर्सेनि आकाशिएर यो वर्ष त दोब्बर भएको छ । अपराधी पत्ता लगाउने प्रसंगमा गृहमन्त्री नै भन्छन्– ‘निर्मला पन्तमाथिको जस्तो बलात्कार र हत्या हिजो भएका थिए, आज पनि हुन्छन् र भोलि पनि हुनेछन्...।’ उनको यो भनाइ आज अपराधीलाई प्रहरीसमक्ष बयानका लागि गुरूमन्त्र भएको छ जसलाई उद्धृत गरेर उनीहरू सुरक्षित उन्मुक्ति खोज्दैछन् ।

अन्य अपराधको संख्या विगत ३ वर्षमा यसै अनुपातमा बढेको छ । समाचार आउँछ, प्रधानमन्त्री ओलीजी आफ्नो बहुमत बनाउन समाज विरोधी अपराधी वा डनका रूपमा कुख्यात चरित्रलाई खोजीखोजी आफ्नो पक्षमा ससम्मान गृह प्रवेश गराउन प्रयत्नरत हुनुहुन्छ । उहाँका सार्वजनिक अभिव्यक्तिलाई सतहीरूपमा बुझ्नेले उखान, ठट्टा, व्यंग्य वा प्रहसन बुझ्ला तर जिम्मेवारी र गम्भीरताका साथ सुन्नेले क्रूर ठट्टा, असहमत पक्षप्रति हिंसात्मक र ध्वंशात्मक मानमर्दन, मैमत्तापन, निर्लज्जता, दम्भ, अहंकार, असभ्यता र कुसंस्कारबाट ग्रसित अभिव्यक्ति बुझ्न सक्छ भने अपराधी वा समाज विरोधी तत्वले आफूअनुकूल ढाडस मिल्ने अभिव्यक्ति ! ओलीजीका वर्तमान गतिविधिले, २०६८ जेठ १७ गतेको तत्कालीन एमाले बैठकमा सुरेन्द्र पाण्डेले उहाँका विरुद्ध ११ वटा गम्भीर आरोप लगाउनुभएको सम्झाउँछ । यस्तो मनोवैज्ञानिक र धरातलीय वातावरण बनाएका प्रधानमन्त्रीको राजमा सामान्य जनताले कसरी शान्ति, सुरक्षा र अमनचैन पाउन सक्छन् ? उहाँको कार्यकालको तीन वर्षमा सिंगो मुलुक र सारा जनतालाई दुःख र यातनाको पिंँधैसम्म पु¥याइसकिएको छ ।      

ओलीजीलाई प्रधानमन्त्रीको कुर्सी कुनै हालतमा नछोड्न ताकेता गर्ने कारक तत्व, मुलुकको वस्तुगत आवश्यकता, जनताका चाहना वा बाह्य यथार्थ होइन, उहाँले आफ्नो कार्यकालमा आर्जन गरेको विवाद र बदनामीले गर्दा पदबाहिर बस्न वा बाँच्न सक्ने आँटको अभावले हो । त्यसका अतिरिक्त उहाँकै रुग्ण स्वास्थ्यका लागि सत्ताको लालन–पालन र सुविधाका लागि हो । जनताका काम गर्ने, मुलुकको सेवा गर्ने र इतिहास तथा भावी पुस्ताका लागि अविष्मरणीय योगदान गर्ने कर्मठ प्रधानमन्त्री देशले खोजेको हो, दिनहुँ निर्लज्ज कुर्लिहिँड्ने, कार्यालयमा गएर काम नगर्ने, असहमत पक्षको मानमर्दन गर्ने असभ्य प्रधानमन्त्री मुलुकको रोजाइ होइन ।    

प्रधानमन्त्री ओलीजीलाई जसले समर्थन दियो, उही बाधक भए । संसद्को करिब दुईतिहाइ बहुमतबाट सरकार चलाउन पाउनुभएका उहाँलाई आखिर संसद् नै बाधक बनेको ठानेर मध्य असारमा संसद्का अधिवेशन टुङ्ग्याइदिनुभयो, गत पुस ५ मा त हत्या नै गरिदिनुभयो । अर्कातिर जथाभावी अध्यादेश ल्याएर राज्यका अंग र निकायलाई शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको जनउत्तरदायी तथा लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नुपर्नेमा सर्वत्र आफ्ना हात हालेर बलियो हुने गलत चेष्टा गर्दा आज आफ्नै हुर्मत गइसकेको अवस्थामा उहाँ पुग्नुभयो । ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने उहाँका अभिव्यक्तिको ठीक विपरीत आफ्नै संरक्षकत्वमा अर्बौँका भ्रष्टाचारबाट जगत् नै हल्लियो । एयरबसको वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार, ३३ किलो सुन गायब र त्यसको मुल नाइके सरकारी संरक्षणमै फरार भएको, मेलम्ची आयोजनामा मन्त्रीकै कारण अझै अनिश्चित भविष्य, चिकित्सा शिक्षाका क्षेत्रमा ऐन बनाएरै माफियाको पृष्ठपोषण गर्ने सरकारी धृष्टता भयो । खानेपानी नपाएर महाकष्ट भोगिरहेका जनतालाई पानी जहाज किनेर चलाउने योजना, भ्यु टावर र धरहराको निर्माणका क्रूर खेलवाडजन्य योजना र बजेटमा शासन केन्द्रित गरियो  । ‘आफूमाथि उठेका प्रश्नहरूउपर छानबिन होस् भनेर राजीनामा दिएका’ मन्त्री गोकुल बास्कोटाउपर ८ महिनासम्म कुनै छानबिन नगरी प्रधानमन्त्रीकै निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ भदौ २०७७ मा सफाइ दियो । महँगी र बेरोजगारी राज्यको काबुभन्दा बाहिर जाने हदसम्म बढेको भन्दै राष्ट्र बैंकले हालैमात्र चेतावनी दिइसक्यो ।  

देशलाई अराजकता, दण्डहीनता, हैकमी कुशासन र भ्रष्टाचारको पराकाष्ठामा पु¥याउने कामलाई प्रधानमन्त्री ओलीजीले ‘आश्चर्यजनक काम गरेर देखाउने’ भन्नुभएको हो भने योभन्दा आश्चर्यजनक गतिविधि केही हुन सक्दैन । राज्यव्यवस्था, राजनीतिक व्यवस्था, आर्थिक व्यवस्था, सामाजिक पद्धति सबैलाई तिलाञ्जली दिएर चलाइएको दुस्साहसवादी शासनबाट ओलीजीको नियत र अभीष्ट प्रष्ट भइसकेको छ । ओलीजी आफ्नो स्वार्थपूर्तिका लागि जस्तोसुकै खु“खार तानाशाह हुन् अथवा धोकेबाज शब्द र ओठेभक्तिले जतिसुकै अब्बल कम्युनिस्ट वा आदर्शवादी देखिने लोकतन्त्रको जामा पहिरिएर आफ्नो अभीष्ट जारी राख्न कम्मर कसेर लाग्नुभएको रहेछ । यस्तै गतिले हो भने आगामी वैशाख १७ गते संसद्को पहिलो चरणको संसदीय निर्वाचन हुने होइन, द्वन्द्व, रक्तपात, संकट र तनावचाहिँ अवश्यम्भावी देखिन्छ । ओलीको राजमा उहाँबाहेक सबैको भविष्य अन्धकारमा धकेलिँदै गएको अब पनि प्रष्ट हुन बाँकी छ र ?

प्रकाशित: ४ फाल्गुन २०७७ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App