२३ फाल्गुन २०७७ आइतबार
विचार

याज्ञवल्क्य, मैत्रेयी र प्रेम दिवस

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसका दिन प्रायः म वैदिककालीन प्रखर आत्माविश्वासी प्राज्ञ याज्ञवल्क्यलाई सम्झने गर्छु । वृहदारण्यक उपनिषद्मा रहेको उनको भनाइको सारतत्व र अर्थलाई बुझ्ने प्रयत्न गर्छु ।

मिथिला प्रदेशमा जन्मेका याज्ञवल्क्यका बाबु देवराज र आमा सुरुपा थिइन् भने गुरु वैशम्पायन थिए । गुरु भन्दा पनि बढी जान्ने भयो भनी उनका गुरुले श्राप दिन्छन् । आफूले दिएको शिक्षा सबै ओकल्न लगाउँछन् । त्यसपछि ज्ञानबाट शून्य भएका याज्ञवल्क्यले सूर्यको आराधना र स्वअध्ययनबाट ज्ञान प्राप्त गर्छन् । महर्षिको स्थान प्राप्त गर्छन् । एकदिन ज्ञानपिपासु विदेहराज जनकले ब्रह्मसभाको घोषणा गर्छन् । सभामा जसले अरूलाई ब्रह्मचर्चामा पराजित बनाएर विजयी बन्छ, त्यसलाई स्वर्णमुण्डित सिंह भएका १ हजार गाई पुरस्कार दिने भनिएको हुन्छ । प्रतिस्पर्धामा सहभागी हुनुअगाडि नै याज्ञवल्क्यले आफ्ना शिष्य सामश्रबालाई ती सबै गाई लिएर जानू भनी अराउँछन् । सबैलाई परास्त गर्छु, आफैँ विजयी बन्छु भन्नेमा उनी ढुक्क थिए । अन्ततः त्यसबेला ब्रह्मर्षि भनिएका आर्तमाग, भुज्यु, उषस्तु, (कहोल अष्टबक्रका बाबु) आरुणिक, शाकल्य तथा बह्मवादिनी गार्गी भएको सभाले कसैले पनि उनलाई हराउन सकेनन् । स्वर्णमुण्डित १ हजार गाईद्वारा पुरस्कृत बन्छन् । ब्रह्मवेत्ता र महर्षिको हैसियत प्राप्त गर्छन् ।

प्रेमको साम्राज्य विशाल छ । संकीर्ण छैन । म, मेरा, हामी, हाम्रा भावबाट जब प्रेम माथि उठ्छ त्यहाँ राग, द्वेष, प्रतिस्पर्धा, घृणा आदि केही बाँकी हुँदैन । यही तथ्यलाई आत्मसात गर्ने हो भने प्रेम दिवस अझ अर्थपूर्ण बन्छ ।

याज्ञवल्क्यका मैत्रेयी र कात्यायनी नामका क्रमशः जेठी र कान्छी पत्नी थिए । आफ्ना दुवै पत्नीलाई आफ्नो भएभरको श्री सम्पत्ति भागबन्डा लगाएर ज्ञान प्राप्तिका लागि वन प्रस्थान गर्ने विचार गर्छन् । संन्यासको चाहना राख्छन् । अंशवन्डाको कुराले विह्वल भएकी मैत्रेयीले त्यसपछि प्रश्न गर्छिन्– के प्राप्त हुने सम्पत्तिले मैले अमरतत्व प्राप्त गर्छु ? उनले जवाफ दिन्छन्– सक्दिनौ । त्यसपछि मैत्रेयी भन्छिन्– ‘जसको प्राप्तिबाट अमर हुन सक्दिन भने त्यो वस्तु किन लिनु ? अमरत्वको जुन साधन छ त्यो मलाई भन्नुहोस् ।’ त्यसपछि याज्ञवल्क्यले भन्छन्– ‘स होवाच न वा अरे प्रत्युः कमायः पतिः प्रियो भवत्चात्मनस्तु कामाय पति प्रियो भवति । न वा अरे जायायै कामाय जाया प्रिया भवत्यात्मनस्तु कामाया जाया प्रिया भवति......।’ लामो श्लोक छ । सबै यो सानो आलेखमा उल्लेख गर्न सम्भव छैन ।  

उल्लिखित श्लोकको भावार्थ हुन्छ– ‘मैत्रेयी यो निश्चित छ कि पतिको प्रयोजनका लागि पति प्रिय भएको हुँदैन । आफ्नो प्रयोजनका लागि पति प्रिय हुन्छ । त्यस्तै पत्नीको प्रयोजनका लागि पत्नी प्रिया भएकी होइन आफ्नो प्रयोजनका लागि पत्नी प्रिया भएकी हो ।’ लामो व्याख्या छ । यस्तै भावको उनको बृहददारण्यको उपनिषद्को चतुर्थ ब्राह्मणमा रहेको संवादको गुह्य तत्व बुझ्ने र व्याख्या गर्ने सामथ्र्य वेदान्तका जानकारहरूले मात्र राख्छन् । गृहस्थ त्यागेर संन्यास ग्रहण गर्ने वितरागीले भनेको भाव छिचोल्न नसके पनि प्रेम दिवसका दिनमा यसको स्मरण गर्नु वैदिक प्राज्ञप्रति सम्मान जनाउनका लागि हो । ‘याज्ञवल्क्य’ भन्ने मदनमणि दीक्षितको पुस्तक प्रकाशित छ भने सत्यमोहन जोशीले याज्ञवल्क्य नामक नाटक नै लेखेका छन् । जसमा कसैले पनि आफूलाई पहिला माया गर्छ भन्ने कुराको वार्दनी र उसको बच्चामाथि प्रयोग गरेर मैत्रेयीलाई बुझाएको उल्लेख छ ।

प्रेम दिवसको सन्दर्भ भन्नुपर्दा प्रेमविहीन संसार हुँदैन । त्यसैले विश्वका समस्त धार्मिक ग्रन्थ, साहित्य, भाषा आदि जहाँसुकै प्रेमको फैलावट र विस्तार भएको छ तर कुनै परिभाषाको सीमामा बाँधिएको पाइँदैन । यसको सीमा छैन, असिम छ । अनन्त छ । प्रेम भाव हो । प्रेम भावको कुनै रूप, रंग र आकार हुँदैन । जलीय प्रकृति जस्तो यसले आफ्नो आकार आफँै निर्माण गर्दै जान्छ । प्रेममा नै मानिसको जिजिविषा टिकेको हुन्छ । सृष्टि, सिर्जना र यसको निरन्तरता पनि यसैमा छ । भिन्न लिङ्गको पारस्परिक सम्बन्ध र आकर्षणमा मात्र यो शब्द सीमित छैन । त्यसैले कालजयी सन्त कविरले भनेका छन्– पोथी पढि पढि जुग मुआ पंडिता भया न कोय ढाइ अक्षर प्रेम को पढे सो पंडित होय ।

संसारमा धेरैले पोथी पढी पढीकन मरेर गए । तर कोही पण्डित भएनन् ढाइ अक्षरको प्रेम शब्द जसले पढ्छ त्यो पण्डित बन्छ भनेका छन् । त्यसैले होला भारतीय प्रसिद्ध सन्त अरविन्दले भनेका छन्– ‘मेरो जीवनको उद्देश्य धरतीमा दिव्य प्रेमको राज्य स्थापित गर्नु हो ।’ सन्तले भने जस्तो जहाँ दिव्य प्रेम हुन्छ त्यहाँ समर्पण हुन्छ । कुनै आग्रह र पूर्वाग्रहको गुञ्जायस हुँदैन । प्रेम दिव्यताको झलक केही सन्त र उनीहरूको शिष्यसँगको अन्तरंग सम्बन्धमा पाइन्छ । रामकृष्ण परमहंस र उनका शिष्य विवेकानन्द, विश्व प्रसिद्ध पुस्तक अटोबायोग्राफी अफ योगीका लेखक योगानन्द र उनका गुरु युक्तेश्वरको जीवनमा पाइन्छ । त्यस्तै ओशोका अनन्य शिष्य र भक्त बोधीसत्व, स्वामी आनन्द अरुणको अन्तर्यात्रा, सन्तगाथा र सन्तदर्शन कृतिले लौकिकता मात्र होइन, प्रेमको क्षेत्र अलौकिकतामा पनि छ भन्ने बुझाएको छ ।  

स्वामीको पछिल्लो कृति ‘ओशो अचम्म जो मैले देखेँ’ मा स्वामीले प्रारम्भमा नै ‘तपाईँको हातमा रहेको यो पुस्तक एक प्रेम कथा हो, जसको आरम्भ छ तर अन्त छैन’ भन्नुभएको छ । आशोप्रति स्वामीको अनन्य समर्पण भावलाई कैद गर्न सक्ने शब्द भएन । कुन समर्पण तत्वले एउटा हुनेखाने परिवारको इन्जिनियरिङ पढ्दै गरेको ठिटोलाई ओशोको सामीप्यता पु¥याउँछ । ‘प्रिय आत्मन’ भनेर आफ्नो प्रवचन सुरु गर्ने ओशोको ‘म मृत्यु सिकाउँछु’ भन्ने प्रवचन उसका लागि पहिलो हुन्छ । आश्रममा पुग्छ । भाँडा माझ्छ, सफाइको काम गर्छ, लुगा धुन्छ, एउटा पूर्णतया घरेलु कामदार जस्तो बेखर्ची छ । खानाका लागि समस्या, बसोबासको खासै ठेगान छैन तर पनि हतास बन्दैन । हार्दैन । गल्दैन । अन्ततः प्रेम, निष्ठा र समर्पणबाट गन्तव्य फेला पार्छन् । ओशो तपोवन जस्तो कलात्मक कृति सिर्जना हुन्छ । भारतको आगरामा रहेको ताजमहल, नेपालको पाल्पामा तेजमहल प्रेम स्मारक हुन् भने अरुण स्वामीको तपोवन आध्यात्मिक प्रेम स्मारक हो । यद्यपि यो पंक्तिकार त्यहाँ पुगेको छैन । टाढैबाट त्यसको अनुभूति गरेको मात्र हो ।

बंगालमा जन्मेर त्यहीँ शिक्षा लिएर वि.सं. २०२५ सालदेखि नेपालमा आध्यात्मिक साधना रहनुभएका बुढानीलकण्ठ आश्रमका संस्थापक स्वामी चन्द्रेशको शिष्य गुञ्जनको निष्ठा उच्च छ । विगत केही वर्षदेखि डाइलोसिसमा रहनुभएका स्वामीजीको हेरचाह, स्याहारसुसार, खर्चको जोहो, यावत् कुरामा गुञ्जनको मुख्य भूमिका छ जस्तो लाग्छ ।  विज्ञान विषयको विद्यार्थी कुन अन्तरचेतनाले स्वामीजीको सामीप्यमा पुग्यो थाहा छैन । आफ्नो घर परिवार, नाता सम्बन्ध र साइनो सबैलाई स्मृतिको एउटा कुनामा थन्काएर आफ्नो गुरुको सेवामा छ ऊ अहिले ।

सन्त अरविन्दले भनेको दिव्य प्रेमको राज्यमा हिंस्रक डरलाग्दो मानिएको जनावर पनि वशमा आउँछ । भारतको काश्मीरमा जन्मेर बेलायतमा चिकित्सा शिक्षा ग्रहण गरेर नेपालको खप्तड क्षेत्रमा साधनारत खप्तडबाबासँग बाघ पनि उपचारका लागि आउँथ्यो भनिन्छ । भारतको काशीमा रहेर आध्यात्मिक जीवन बिताउनुभएका प्रख्यात सन्त अवधुत भगवान रामको सर्वेश्वरी आश्रममा कुष्ट रोगी तथा समाजबाट अपहेलित महिलाको सेवाका साथै राहुल नामको बाघको डमरुले पनि उत्तिकै सेवा लिन्थ्यो । ऊ दूध खाँदै बस्थ्यो भनेर दुर्गा सुवेदीले आफ्नो ‘विमान विद्रोह’ नामक पुस्तकमा उल्लेख गर्नुभएको छ । त्यसैले प्रेमको साम्राज्य विशाल छ । संकीर्ण छैन । म, मेरा, हामी, हाम्रा भावबाट जब प्रेम माथि उठ्छ त्यहाँ राग, द्वेष, प्रतिस्पर्धा, घृणा आदि केही बाँकी हुँदैन । यही तथ्यलाई आत्मसात गर्ने हो भने प्रेम दिवस अझ अर्थपूर्ण बन्छ ।

प्रकाशित: २ फाल्गुन २०७७ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App