१५ आश्विन २०७७ बिहीबार
विचार

परिश्रमीले नेपालमै गरेको पौरख

जेठको तेस्रो साता दिगो कृषिका केही अभ्यास हेर्ने र किसानका अनुभव सुन्ने अवसर मिल्यो। पहिलो गन्तव्य थियो– धादिङ बैरेनीको कुमाई गाउँ। साना किसान कृषि सहकारी संघ धादिङकी संयोजक सीता खनाललाई पछ्याउँदै लागियो उकालो गल्छीबाट।
भुजेल टोलको कोही पनि नभएको घरमा पुगेर सुधारिएको गोठ हेरियो। सफा गोठमा सुकिला पशु देखिए। पशु र मानवको पिसाव ट्याङ्कीमा जम्मा गरेर घर तलको खेतमा पाइपमार्फत प्रयोग गर्ने गरिएको रहेछ। शौचालय पनि पिसाव एकापट्टि र दिशा अर्कोपट्टि जाने गरी मिलाइएको। यसलाई उनीहरु 'इको फ्रेण्डली शौचालय' भन्दा रहेछन्। केहीबेरमा माथ्ला घरका शङ्कर भुजेल कोही नभएको घरमा केको हल्ला हँ? भन्दै ओर्लिए।
केही समयपछि हामी उनकै घर उक्लियौं। उनले के के न देखाउलान् भनेको त? फेरि उही पिसावको ट्याङ्की हेर्नुपर्ने विवशता आइलाग्यो। भने– यो पशुको, अर्को मान्छेको। थपे– ५ वर्ष भयो, कुनै देशी (रासायनिक) मल किनेको छैन। उत्पादन पनि पहिलेभन्दा घटेको छैन। घरकै मलले पुगेको छ। गोठे मलको छाप्रो र गड्यांैला खेती पनि छँदैछ। रासायनिक मल र विषादी किन्न नपरेकाले वर्षको १५ हजार रुपियाँ त्यत्तिकै जोगाएका रहेछन्। क्या बाठा!
उनले अचम्मको कुरा पनि सुनाए– अर्गानिक खान थालेपछि ग्यास्टिक नै हरायो रे। पेट भोको परेर मात्र हैन, रासायनिक र विषादि भएको खानेकुरा खाएर पनि ग्यास्टिक हुँदोरहेछ। पहिले सधैंजसो टाउको दुख्थ्यो। अहिले परिवारबाटै त्यो समस्या टाप कस्यो रे। अर्गानिक खाएका भुजेल परिवार अलि फूर्तिलै लागे। रासायनिक भन्दा अर्गानिक खेती गर्ने अलि मेहनती पनि हुने नै भए। सोध्दै थिए– अर्गानिक बन्दा खानुभएको छ कहिल्यै? खाद्य, कृषि र जल अधिकार सञ्जालले आयोजना गरेको सिकाई भ्रमण दलका सातै सदस्यसँग यसको उत्तर थिएन।  
उनीसँग गफिएर फर्किंदै थियौं– अलि तलका एक बाहुन परिवारमा पानी पिउन बसियो। उनले भने न सुधारिएको गोठ बनाएका न त मूत्रकै प्रयोग गरेका। सोध्यौं– किन तपाईंलाई जाँगर चलेन? 'माथिका भुजेल केटाहरुले गरेका छन्। खै धेरै हुँदोरहेनछ। दुःख बढी'– जवाफ थियो। अघिल्लो वर्ष कुनै भारतीय कम्पनीले पोके मल बेचेको रहेछ। तर नक्कली परेछ। अनि झुक्यायो हामीलाई भनेर गुनासो पनि पोखे। अनि हामीले पनि थपिदियौं– तपाईंलाई यस पटक पनि झुक्याउँछ। आफ्नो मल बनाएका भुजेल दाइलाई कुनै कम्पनीले झुक्याउन सक्छ? उनले 'मौनम् स्वीकृति लक्षणम्' पाराले टाउकोचाहिँ हल्लाए।
मार्न पाइने, पाल्न नपाइने
चितवनको फूलबारीमा दिगो कृषिका अभ्यासकर्ता/अगुवा चन्द्रप्रसाद अधिकारीको खेतीपाती हेर्न गइयो। आँगनको छेउमा १०, १५ जना बस्न मिल्ने गोलो घर बनाएका रहेछन्। काठ र खरले बनाइएको घरको छानामा लसुन, खुर्सानी र प्याजका स–साना झुप्पा गोलो बनाएर आकर्षक पाराले झुण्ड्याएका रहेछन्। कस्तो काइदा भण्डारण? घरलाई गहना लगाइदिएको जस्तो। हेर्दै आर्कषक पनि।
उनी एक्ललै ६० भन्दा बढी जातका धानका बीउ सङ्कलन गरेका छन्। उनको एउटा घर त कृषि सङ्ग्रहालय जस्तै। भन्छन्– हरेक समस्यालाई अवसरमा परिवर्तन गर्न सकिन्छ। गरेका पनि छन्। नजिकैको रामपुर कृषि कलेजका विद्यार्थी उनको सानो फार्म हेर्न जाँदारहेछन्। उनले एउटा सर्प पनि पालेका थिए। त्यो पनि ५ हजार रुपियाँ कर तिरेर।  पछि निकुञ्ज प्रशासनले सर्प पाल्न दिएन। नियमले मिल्दैन भनेर। मार्न जति पनि पाइने। पाल्नचाहिँ नपाइने। गजवको कानुन! विद्यार्थीलाई देखाउन पनि हुने। कुन जातका सर्पले टोक्दा कस्तो विष लाग्छ र यसले इको सिस्टममा कस्तो असर पर्छ भनेर बुझाउन पनि सकिने सर्प पाल्न किन नपाइने? यो प्रश्नको उत्तर नपाउँदा उनी दुःखी भेटिए।  
मलका लागि गड्यौंला पालेका रहेछन्। गड्यौंलालाई कमिला र मुसाले नटोकोस्, नखाओस् भनेर गड्यौंला पालेको ठाउँ वरिपरि पानी जमाई माछा पनि पालेका रहेछन्। त्यो पनि समस्यालाई अवसरमा बदल्ने काइदाअन्तर्गत पर्दोरहेछ।  
गिठ्ठाको चिप्स
चितवनको लोथरमा चेपाङहरुले सहकारी चलाएका छन्। वार्षिक दश टन चिउरीको मह बेच्दा रहेछन्। मह प्रशोधन गर्न उच्च प्रविधि अपनाइएको छ। तिनका मह दक्षिण कोरियासम्म पुग्छ। मह बेच्दै आएको जनचेतना साना किसान सहकारी संस्थाले गिठ्ठाको चिप्स, पाउडर र बिस्कुट पनि उत्पादन सुरु गरेको छ। गिठ्टामा एन्टी अक्सिडेन्ट हुने भएकाले यो क्यान्सरका रोगीलाई पनि लाभदायक हुन्छ भन्दैथिए उनीहरु। मह जस्तै गिठ्ठाको उत्पादन पनि निर्यात गर्ने तिनको योजना सुनेर हामी दङ्गै पर्‍यौं। पहिले गिठ्ठा खानेको जिन्दगी कष्टकर लाग्थ्यो तर अहिले चेपाङहरु आफ्नो कम उब्जाउ र बढी भिरालो जमिनमा गिठ्ठा खेती गर्न थालेका रहेछन्। सिस्नो, फापर जस्तै अब गिठ्ठाको पनि दिन फिर्ने  भए। खुसी नै लाग्यो एकप्रकारले।    
लखपति सुकुम्बासी
मकवानपुरका डम्बर मोक्तान डाँडामा रहेको घर पहिरोमा परेपछि सुकुम्बासी भए। उनलाई लाग्यो– सधैंको पहिरोको डरमा बसिरहनुभन्दा बरु बेंसीमा ओर्लन्छु। आखिर बगाएर लैजाने पनि उहीँ हो। ओर्लेरमात्र भएन। बाँच्न केही गर्नैपर्‍यो। रमनटार डिपाट खोला किनाराको ५ कठ्ठा जमिन जोतखन गर्न थाले। सिसिडिएन नामक संस्थाले सहयोग गरेपछि उनले बङ्गुर पाले। माछा पाले र बचेको जमिनमा धान खेती पनि गरे। माछा पालिएको पोखरीको पानी उपयोग गर्दा धान बढी फल्यो। भन्छन्– पहिले २८ पाथी फल्थ्यो, अहिले १४ मुरी। कुखुरा पनि पालेका छन् तर त्यति फस्टाएको छैन। वार्षिक आम्दानी ४ लाख रुपियाँको हाराहारीमा। आम्दानीबाट छोराछोरीलाई हेटौंडाको नामी बोर्डिङमा पढाएका छन्। र, यसपाली त घर पनि चिटिक्कको बनाउन भ्याएछन्। बाँझै रहेको जमिनमा अरु सयौं सुकुम्बासी बसेका छन्। उनीहरुले गरेको धान खेती यति राम्रो छ कि त्यहाँ जाने जो कोहीको मनै कल्पिन्छ। विनाप्रयोजनको खोलाको बगरमा श्रम गरेर कमाए त के बिग्रियो? ओहो सुकुम्बासी बस्ती पनि यस्तो, यात्राका सदस्य केहीलाई पचेन उनीहरुको प्रगति। मलाई भने असाध्यै खुसी लाग्यो। किनकि सुकुम्बासीका पनि राम्रा घर हुन्। उनीहरुले पनि छोराछोरी पढाउन्। टिभी हेरुन्। हामी सबैको चाहना नै यति न हो।
इको फ्रेन्ड्ली घरमा युवाहरु
स्थानीय प्रविधिद्वारा बनाइएका इँटाले निर्मित मकवानपुरस्थित रमनटारको इको फ्रेण्ड्ली घरमा युवा सूचना केन्द्र पनि रहेछ। जहाँ पुग्दा दुई युवती कम्प्युटर चलाइरहेका भेटिए। ढोकामा टाँसिएको थियो– 'यस गाउँका कुनै पनि युवाले जाँडरक्सी खाई हल्ला गरेमा, झगडा वा कुटपिट गरेमा तिनलाई निगरानीमा राखिनेछ र सम्झाउँदा पनि सुधार नभएमा कालो सूचीमा राखिनेछ।' सयौं घर भएको बस्तीलाई पायक पर्नेगरी राखिएको युवा सूचना केन्द्रमा इन्टरनेट सुविधा पनि छ। युवालाई पालैपालो कम्प्युटर सिकाइँदो रहेछ। युवा अनलाइनबाटै पत्रिका पढ्छन् र आफूसँग सम्बन्धित विषय फेला परे छलफल पनि गर्छन्। यस कार्यमा सघाउँदै आएका सामाजिक अगुवा महेन्द्र मगर भन्छन्– हरेक विकास कार्यमा युवा समेट्नुपर्छ। बाख्रा पालन गरौं वा बाटो बनाऔं। अब युवा नै परिचालन गर्नुपर्छ। सानो प्रयासले पनि गरिब बस्तीका युवालाई संसारसँग जोड्दोरहेछ। युवा मिलेर युवाकै लागि गरेको यो प्रयास सराहनीय थियो।  
हमरे जमिन चाहिए
महोत्तरीस्थित लक्ष्मिनियाँ–३ का २९ परिवार मुसहरले २ वर्षदेखि बगर संरक्षण गरेर तरकारी खेती गर्न थालेका रहेछन्। केहीले मकै पनि लगाएका थिए। असाध्यै सप्रिएको। प्रत्येकले गाविससमेतको सहमतिमा ५ कठ्ठामा खेती गरिरहेका। यसबाट प्रत्येक परिवारलाई ६ महिना खान पुग्ने बताउनेहरु चिन्तामा परेका रहेछन्। भएछ के भने यस वर्ष जेठमै खोला बढेर केहीको जमिन कटानमा परेछ। गएको एकै सिजनमा तरकारी बेचेर ५० हजार कमाएकी एक मुसहर महिला भन्दै थिइन्– केही हुने देखेर पञ्जाव गएका श्रीमान् पनि फर्किए। तर जमिन बगायो। उनी पटकपटक एउटै कुरा दोहोर्‍याउँथिन्– हमरे जमिन चाहिए। यस्ता विपन्न वर्गलाई खेर गइरहेका जमिनमा राम्रो तटबन्ध गरेर जमिन उपलव्ध गराउन सके धेरै गरिबको अनुहारमा चमक ल्याउन सकिन्थ्यो।
तर अहिलेसम्म भूमि विकासमा राज्यले सुको लगानी गरेको छैन। उनीहरुलाई बगर खेती गर्न उत्प्रेरित गर्ने स्थानीय राजेन्द्र महतो सोही जग्गामा तटबन्ध निर्माणका लागि जनकपुरको जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय गएका थिए। उनलाई गेट पालेले अन्तर्वार्ता लियो– किन आयौं तिमी? जाली चाहियो। तिमी भित्र जानै पर्दैन– गेट पालेले भन्यो। किन? सोध्न नपाउँदै उसले थप्यो– तिमीसँग के छ र जाली माग्न आउँछौं? यहाँ त कार चढेर आउनुपर्छ। त्यति छैन, मोटरसाइकलमा आउनुपर्छ। हाकिमलाई रेष्टुरेन्टमा लगेर खुवाउनुपर्छ। कति पैसा छ तिमीसँग? तिमी खुवाउन सक्छौ? एउटा खटारो साइकल चढेर गएका महतो गेटैबाट फर्किए। गरिबको कुरो कसैले नसुनेकामा राजेन्द्र ज्यादै दुःखी भेटिए। मुसहरको जिन्दगी फेर्न सकिँदैन भन्नेहरुले एक पटक त्यहाँ गएर हेर्दा हुन्छ।
सानो जमिनको संयुक्त पूर्जा
महोत्तरीकै किसाननगर पुग्दा एउटा पराले टहरोमा झण्डै सय जना स्थानीय जम्मा भएका रहेछन्। जान पाएको थिएन, हातमा फूल दिए र निधारमा टाँसिदिए टीका। त्यसपछि पालैपालो उनीहरुले त्यहाँको सङ्घर्ष सुनाए। विभिन्न कारणले भूमिहीन बन्न पुगेकाहरुको बस्ती रहेछ त्यो। पछि सङ्गठित भएर बस्ती सुन्दर बनाएका। उनीहरुले भने– पहिले जग्गाको स्वामित्व थिएन। अनेक गरेर पूर्जा लियौं। अर्की महिला जुरुक्क उठिन् र पूर्जा देखाउँदै थपिन्– यी हाम्रो पूर्जा त श्रीमान् र मेरो संयुक्त नाममा बनाएका छौं। १ कठ्ठा छ। जग्ग्ााबिहीनहरु सङ्गठित भएर आफू बसेको जग्गाको स्वामित्व लिएका र त्यसमा पनि श्रीमान्–श्रीमती दुुवैको पूर्जा बनाएर उदाहरणै बनेका देख्दा कम्ता मन रमाएन।
धनी मुसहर
जिन्दगीमा धेरै मुसहर बस्ती देखेको छु। यस पटक उदयपुरको खैजनापुरमा डेढ विगाह जग्गा भएका मुसहर परिवार भेट्दा ज्यादै खुसी लाग्यो। जग्गा खोलाको छेउमा भए पनि उब्जनीले परिवारलाई खान पुग्दोरहेछ। अरुका घर खरले छाए पनि उनको घर टिनले छाएका थिए र चर्पी पनि थियो। शायद अलि धनी भएपछि कङ्ग्रेस हुनुपर्छ भनेर होला, उनी पनि कङ््ग्रेस बनेका रहेछन्। अरुको भने समस्या उस्तै। जस्तो अन्तका मुसहरले भोगिरहेका छन्।
अधिकांश मुसहर कि काम गरिरहेका हुन्छन् कि त काम खोजिरहेका हुन्छन्। ओरेकको सहयोगमा २ वर्षदेखि भाडामा खेती गर्न थालेका रहेछन्। त्यसमध्ये एक महिला र एक पुरुष खेतीमा असाध्यै चाखले लागेको पाइयो। तर के गर्ने? प्रतिकठ्ठा वार्षिक ८ सयका दरले ५ वर्षलाई लिएको जग्गा २ वर्षपछि १५ सय तिर्ने भए तिर, नत्र आफैँ खेती गर्छु भनेर जग्ग्ााधनीले थर्काउन थालेछन्। अहिले खेती गर्न हौसिएकाहरु यही कारण विचल्लीमा परेका छन्। जग्गा कमाउन दिने र लिनेसम्बन्धी स्पष्ट कानुन र स्थानीय निकायले त्यसको अनुगमन गर्ने व्यवस्था मिलाइएको भने धेरै गरिबका पेट भोकै रहने थिएन्। 'मलजल गरियो, खेती राम्रो हुन थालेपछि जग्गाधनीले आँखा लगायो? अब के गरौं हजुर?', उनी सोध्दै थिए। तर जवाफ हामीसँग पनि के नै थियो र?

प्रकाशित: १७ असार २०७० ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App