७ वैशाख २०७८ मंगलबार
विचार

के त्यस्तो पनि दिन थियो ?

कुनै यस्तो पनि दिन थियो जब नेपाली भारतीय भन्दा धेरै स्वावलम्बी र उच्च सम्मानका थिए । त्यसको मुख्य कारण नेपाल एक स्वतन्त्र देश थियो तर भारत २०० वर्षसम्म अंग्रेजको अधीनमा रह्यो । नेपाल, नेपाली शासक र नेपालीले स्वतन्त्र निर्णय गर्न पाउँथे । तर भारत र भारतीयहरूको बारेमा बेलायत, बेलायती सरकार र भारतमा रहेको बेलायती सरकारले निर्णय गथ्र्याे ।  

यस्तै एउटा समयको कुरा हो दास प्रथा । यसको उन्मूलन । यस सम्बन्धमा पाइएका ऐतिहासिक तथ्यले के बताउँछन् भने कुनै यस्तो बखत थियो जुनबेला नेपालीले भारतीयलाई दास राख्थे तर यो व्यवस्था जतिसक्दो चाँडो समाप्त गर्नुपर्छ भन्ने भावना पनि नेपाली शासकहरूमा परेको थियो । त्यो कालान्तरमा भयो पनि तर आजको सन्दर्भमा यसको ठीक उल्टो परिस्थिति देखिएको छ र नेपाल विदेशी दलालीमा परेको छ ।

आजको दिनमा धेरैले विश्वास गर्छन् नेपाल र नेपालीबारे गैरनेपालीले निर्णय गर्ने गर्छन् । यस्तो स्थितिलाई विदेशी दलालीको संज्ञा दिइएको छ । यसको माने नेपाली शासकहरूले विदेशीको सल्लाह र आदेश मान्ने गर्छन् ।

सन् १९४७ मा भारत स्वतन्त्र भयो तर अंग्रेजले जसरी आफू भन्दा कमजोर देशलाई उपनिवेश बनाउन कोसिस गथ्र्याे उसरी नै भारतले पनि आफू भन्दा कमजोर छिमेकी देशहरूमाथि आफ्नो निर्णय थोपर्ने परम्परा कायम राख्यो । जुनबेला यस्ता देशहरूको सरकार कमजोर हुन्छ त्यसैबेला केही न केही सम्झौता गर्न लगाएर अत्यधिक लाभ उठाउने परम्परा देखियो । फलस्वरूप भारत स्वतन्त्र भएदेखि नेपालमा पनि भारतको प्रभाव बढ्दै गयो । त्यो क्रम नेपालमा सन् १९५० मा प्रजातन्त्र पद्धतिको सुरुआत भएदेखि झन् बढ्दै गएको पनि देखियो ।

आजको दिनमा धेरैले विश्वास गर्छन् नेपाल र नेपालीबारे गैरनेपालीले निर्णय गर्ने गर्छन् । यस्तो स्थितिलाई विदेशी दलालीको संज्ञा दिइएको छ । यसको माने नेपाली शासकहरूले विदेशीको सल्लाह र आदेश मान्ने गर्छन् । यसबाट हामी आजको परिस्थितिमा कत्तिको स्वतन्त्र छौँ भन्ने प्रश्न उठ्छ । यसतो पल्टाबाजी हुनु नेपाल र भारत दुवै देशका लागि राम्रो होइन । दुवै स्वतन्त्र मुलुकको नाताले यस्तो अन्तर्राष्ट्रिय दलाली रहिरहनु दुवै मुलुकको हितमा छैन ।

यो १९२४ सालको कुरा हो जब उत्तर भारतमा ठूलो भोकमरी भयो । यस सिलसिलामा सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ मा लेखेका छन्– नेपाल तराईका बासिन्दालाई अनिकालबाट बचाउन जिल्लैपिच्छे दुई लाखदेखि पचास हजार रुपियाँको अनाज श्री ३ महाराज जङ्गबहादुरले वितरण गरेको कारण ठूलो मात्रामा भारतीयहरू प्राण बचाउन नेपालभित्र पसे । त्यसरी पस्ने कैयन् भोका भारतीय दास पल्टेका कारण करियाको संख्या १९२४ सालमा नेपाल अधिराज्यमा तीस हजार पुगेको हो ।  

उनले अगाडि लेखेका छन्– भारतीयहरू नेपालमा करिया बनाउने प्रथा रोकियोस् भनी तिरहुतका अङ्ग्रेजी कमिसनरहरूले नेपाल पठाएका स्मरणपत्र यत्रतत्र पाइन्छन् । १९२४ सालअघि भारतको भन्दा नेपालको प्रशासन बढी जनमुखी र आर्थिक परिस्थिति राम्रो जस्तो रहेछ कि भन्ने तथ्य तत्कालीन नेपाल सरकारले आफ्ना प्रजालाई अनिकालबाट बचाउन गरेको त्यो व्यवस्था र भारतीयहरू प्राण बचाउन नेपालभित्र दास बन्न आएका उपर्युक्त दुई दृष्टान्तबाट झल्किन्छ ।

अरू राष्ट्रमा धेरै कालतक ठूलो दङ्गा, फसाद, होहल्ला र मारामारी गर्दा पनि टुट्न नसक्ने सामाजिक कुरीतिहरू नेपालमा निर्विघ्नपूर्वक छिटो सम्पन्न भएका अनेक दृष्टान्त हाम्रो लामो इतिहासमा प्रशस्त पाइन्छन् ।  

प्रायः बिहार र उत्तर पश्चिम प्रान्तका गरिब जनता करिया बन्थे । भारतमा तिनीहरूलाई चार पाँच रुपियाँमा किनी, नेपालमा तीस चालीस रुपियाँमा बेचिन्थ्यो । सन् १८६६–६७ सालमा १८ महिनासम्म भारतबाट दासको ओइरो नेपालमा लाग्यो ।  

अनिकालले नेपाल तराईका धेरै मानिस मरेका छन् भन्ने खबर जङ्गबहादुर राणाले पाएछन् । उनले जनही एक सेर अन्न वितरणलाई दुई अढाइ लाख रुपियाँ जिल्लैपिच्छे निकासा गरे । यो खबर सुनेर भारतीय जनता नेपालमा थुप्रिए । तिनीहरूलाई जनही दुई मुठी सिदा दिइयो । त्यसपछि तिनीहरूले आफ्ना छोराछोरी बेच्न थाले । भारतीय नागरिकको त्यसबेला नेपालमा बढी खरिद हुनुको यही कारण हो भनी बताइएको छ ।  

सरदार भीमबहादुर पाँडेका अनुसार ‘दासत्व घटाउन जङ्गबहादुर राणाले निम्न कदम उठाए : १. हालै खरिद भएका भारतीय दासलाई तुरुन्तै उन्मूलन गर्नू । २. दासको खरिद बिक्री रोक्नू भन्ने नेपाल सिमानाका कर्मचारीलाई निर्देशन । ३. आफ्ना केटाकेटीलाई बिक्री नगर्नू भन्ने उर्दी । ४.मोरङ र नयाँ मुलुकमा भागी गएका दासलाई फेरि दास नबनाउनू भन्ने अर्डर । त्यो बेलामा जनही चार रुपियाँ चार आना तिरी दासहरूलाई भारतको कोर्ट हाउसमा रजिस्टर गर्ने चलन थियो । त्यसरी रजिस्टर भएका दासी निर्यात हुन्थे ।  

उनले भनेका छन्– घरमा मालिकको टोकसो खपिनसक्नु भएपछि कति नेपाली दासहरू१८७३ सालपछि भारतमा जमेको गोर्खा पल्टनमा भर्ती हुने उद्देश्यले परदेसिन्थे । यसरी लाहोरतिर बाटो तताएका कति नेपाली दासहरू बत्तिएर लङ्का, मोरिसस, जञ्जीवार, फिजी पनि पुगे । अङ्ग्रेज उपनिवेशमा चिया, कफी, उखु खेती विकास गर्न उनीहरूलाई लगिन्थ्यो । आवश्यक कुल्लीको खोजीमा खटिएका साम्राज्यवादीहरूका भारतीय दलालहरूको जालमा उनीहरू पर्थे । मालिकको पीरले भागेका विचरा नेपाली कति करियाले साम्राज्यवादीका ती उपनिवेशमा झन् ठूलो दुःख सहनुपथ्र्याे ।  

नेपालमा करिया पाल्ने चलन उन्मूलन हुनुपर्छ भन्ने कुरा नौलो होइन भनेर पनि उनले भनेका छन् । १८९६ सालमा श्री ५ राजेन्द्र महाराजाधिराज र काजी रणजङ्ग पाँडे प्रधानमन्त्री छँदा चार वर्ण छत्तीस जातले करिया राख्न पाइन्न भन्ने कुराको लालमोहर भएको थियो । नेपालको राजनीतिक अस्थिरता कारणवश त्यसबेलाको निर्णय कामयाबी हुन सकेन । श्री ३ महाराज देवशमशेरको करिया मोचन गर्ने प्रयास र श्री ३ महाराज चन्द्रशमशेरको १९७८ सालमा पनि प्रयास भएको थियो ।  

त्यसबेला मालिकको घरबाट दश वर्ष गायव भएका करिया स्वतः अमलेख भएका सम्झिने औ तीन वर्षतक मालिकको घरबाट बेपत्ता भएका करियाले थैली बुझाएमा पार पाउने छन् भन्ने ऐन नाकाम साबित भएपछि आखिर १९८१ सालमा अधिराज्यमा दासत्व अवैध गर्ने विचारले भएको घोषणा वि.सं. १९८२ मा कार्यान्वयन भयो ।

सरदार पाँडेका अनुसार राणा सरकारले परम्परालाई एकाएक तोड्न खोज्नु पनि उति सजिलो थिएन । त्यसमाथि पनि सामन्ती जमानामा ठूला÷साना सामन्तहरूका आडमा उभिएको जहाँनिया राणा शासन र निरङ्कुश शासकले अरू धेरै कुराको विचार गर्नुपथ्र्याे । आफू बसेको हाँगामा आफैँले बन्चरो चलाउनुअघि । यस्ता गम्भीर कारणका बाबजुद पनि नेपालमा सती प्रथाको निषेध र करिया मोचन जस्ता जक्खु सामाजिक सुधारले श्री ३ चन्द्रको प्रतिष्ठा बेस्कनै बढायो । खालि आत्मबल भएको शासक मात्र जक्खुखाले सामाजिक सुधार गर्न हच्कन्नन् ।

अरू राष्ट्रमा धेरै कालतक ठूलो दङ्गा, फसाद, होहल्ला र मारामारी गर्दा पनि टुट्न नसक्ने सामाजिक कुरीतिहरू नेपालमा निर्विघ्नपूर्वक छिटो सम्पन्न भएका अनेक दृष्टान्त हाम्रो लामो इतिहासमा प्रशस्त पाइन्छन् । यसैलाई नै नेपालको परम्परादेखि चल्दै आएको शान्तिपूर्ण सहअस्तित्व र सहिष्णुताको द्योतक मानिएको छ । १९८२ सालको दासत्व मोचन पनि त्यही सहिष्णुताको फल हो– सरदार पाँडे भन्छन् ।

प्रकाशित: २७ माघ २०७७ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?