७ वैशाख २०८१ शुक्रबार
विचार

गुप्तचरका किल्ला

फ्रेडरिक एङ्गेल्स जस्तो साथी पाएका कारण कार्ल माक्र्सले आफ्नो राजनीतिक दर्शन फैलाउने अवसर पाए । आर्थिकरूपले एङ्गेल्स बलियो भएकाले खर्चबर्चको धेरै चिन्ता भएन । द इस्टर्न क्वेस्चन (सन् १८९७) प्रकाशित हुनुभन्दा अघि (सन् १८४८) मा प्रकाशित ‘कम्युनिस्ट मेनिफेस्टो’ पुस्तकले माक्र्सलाई युरोपको बौद्धिक समुदायमा चिनाइसकेको थियो । अर्थ–राजनीति माक्र्स र एङ्गेल्सको रुचिको विषय थियो । ऊबेला साम्यवादभित्र धेरै छलकपट थिएन ।

धेरै धनी र दरिद्रबीच मध्यम वर्ग हुन्छ, जहाँ पनि । त्यस्तो वर्गमा पैदा भएका बुद्धिजीवी अवसरवादी चरित्रका हुन्छन् भन्ने माक्र्सको विश्लेषण छ । टाठाबाठामा गणना हुने वकिल, डाक्टर, प्राध्यापक, पत्रकारलगायत अनेक पेसामा व्यस्त देखिए पनि राजनीतिमा गहिरो रुचि राख्छ मध्यम वर्गले । गगनचुम्वी भवन र झुप्राहरूमा बस्नेहरू भन्दा फरक चरित्र हुन्छ, मध्यम वर्गका मानिसको । आदिकवि भानुभक्त, कवि शिरोमणि लेखनाथ, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका स्रष्टाहरू मध्यम वर्गमा पैदा भए पनि उनीहरूको सोच सर्वसाधारण (कमनर) भन्दा अलग थियो । कुलीन परिवारका साहित्यकार रवीन्द्रनाथ, बालकृष्ण सम वा ‘धनाढ्य साहित्यकार’ भनेर चिनिएकाहरूले राजनीतिलाई कहिल्यै पनि महत्व दिएनन् । 

भूराजनीतिक चेपुवामा परेको नेपालको घाँटीमा ‘एमसिसी’ र ‘बिआरआइ’ नामका हड्डी अड्किएको छ । दलहरूले त्यसलाई थुक्न वा निल्न सक्ने अवस्था देखिँदैन ।   

राष्ट्रलाई साहित्य, कला, संगीत आदिका माध्यमबाट माथि उठाउन चाहने युरोप र एसियाका धेरै महामानवलाई सभ्य समाजले सम्झिरहेकै छ । पृथ्वी मेरै वरिपरि घुम्दैछ भन्ने भ्रमले ग्रस्त कैयन् व्यक्ति नेपाली राजनीतिमा सक्रिय छन् । उनीहरू समाजलाई आफैँ जस्तो हठी, दम्भी मुढाग्रही, अवसरवादी र विवेकहीन बनाउन खोज्दैछन् । खराब व्यक्तिका असल चेलाचेली यदाकदा मात्र पाइन्छन् । नेपाली राजनीतिमा युवा पुस्ताले पनि नेता मात्र पछ्याए, नीति अनुशरण गरेनन् । यसले गर्दा ‘जसोजसो बराजु उसोउसो नाति’ चरितार्थ भइरहेको छ, राजनीतिमा ।  

अस्ट्रियाविरुद्ध युद्धमा परास्त भएपछि राजा चाल्र्स अल्बर्टको नीति असफल भयो । इटलीका जनता क्रुद्ध भए । जनतामा असन्तुष्टि बढेपछि सन् १८४९ मा राजगद्दी त्यागे उनले । त्यसपछि उनका छोरा इमान्युअल राजगद्दीमा बसे । धर्माधिकारी (पोप) र राजाबीच तनाव भएपछि पोप भागेर फान्स पुगे । त्यहाँ उनले धर्म बचाउन इटलीमा फ्रान्सले सैनिक हस्तक्षेप गरोस् भन्ने प्रस्ताव राखे ।

फ्रान्सका शासक नेपोलियन (तृतीय) इटलीविरुद्ध युद्ध गर्ने अवसरको खोजीमा थिए । इटलीका राष्ट्रवादीलाई दवाउन फ्रान्सले सेना पठायो । घरभित्रका शत्रु पोपले नै इटलीका राजा र राष्ट्रवादीलाई दबाउने नीति लिएका कारण फ्रान्सले विभाजनबाट फाइदा लियो । तर फ्रान्स र अस्ट्रियाले विरोध गरे पनि जनता र सेना राष्ट्रिय एकताका पक्षमा भएकाले राष्ट्रवाद कमजोर भएन ।  

इटलीको प्रमुख सहर ‘भ्याटिकन सिटी’ स्वतन्त्र धार्मिक क्षेत्र भएकाले पोपको राज्य भनियो । तर इटलीको राष्ट्रिय एकता कमजोर बनाएको भन्दै फ्रान्स संरक्षित पोप–राज्यमा इटलीले हमला गर्दा इटलीका जनताले पोपले गलत गरेको भन्दै विरोध जनाए । रोमको छुट्टै अस्तित्व अस्वीकार गरियो । रोम इटलीको अभिन्न अंग भयो । राष्ट्रलाई कमजोर पार्ने विदेशीको किल्ला बनेको पोपको प्रभाव क्षेत्र इटलीको सेनाले कब्जामा लियो । विदेशीका दृश्य/अदृश्य किल्लाबारे सेनाले समयमै सूचना लिएकाले राष्ट्र ध्वस्त हुन पाएन ।

कुखुरा चोर्नेलाई दण्ड दिने, राष्ट्र फोर्नेहरूलाई सलाम गर्ने परम्परा यथावत रहेमा नेपाल झन् कमजोर हुँदै गएर धराशायी बन्ने सम्भावना बढेको छ ।  

आज त्यस्तो किल्लाको रूप बदलिएको छ । एनजिओ/आइएनजिओ, मिडिया, अधिकारकर्मी, राजनीतिक दललगायतका किल्लाभित्र विदेशीका एजेन्टहरू सक्रिय रहन्छन् भन्ने पुष्टि भइसकेको छ । कुखुरा चोर्नेलाई दण्ड दिने, राष्ट्र फोर्नेहरूलाई सलाम गर्ने परम्परा यथावत रहेमा नेपाल झन् कमजोर हुँदै गएर धराशायी बन्ने सम्भावना बढेको छ । राष्ट्रघात गर्नेहरूलाई पनि मानमनितो गर्ने हो भने राष्ट्रद्रोही (ट्रेटर) र राष्ट्रका मेन्टर (गुरु) कसको आशन उच्च हुन्छ ? यति त राष्ट्रिय सुरक्षाका सरोकारवालाहरूले बुझेका होलान् । ट्रेटरहरू मौसमअनुसारको राजनीतिक ट्युनिक लगाउँछन् । तसर्थ, वचन सुनेर होइन, उनीहरूको व्यवहार हेरेर मूल्यांकन गर्नुपर्छ । ‘एक टुक्रा राज्य अंश देऊ’ भन्ने आफ्नै भाइहरूलाई चेतावनी दिँदै पृथ्वीनारायण शाहले भनेका थिए– राष्ट्र टुक्र्याउने कुरा गर्छौ भने म गर्धन छिनाइदिन्छु ।

अमेरिकाले सन् १९१७ जुन १५ तारिखमा गुप्तचर ऐन पारित गरेको थियो । सय वर्षमा त्यो धेरैपल्ट परिमार्जन भएको पाइन्छ । राष्ट्रपति पदका उम्मेदवारसमेत सो कानुनअनुसार दण्डित भएका उदाहरण छन् । सन् २०१३ मा जुडीय मार्सलले क्यानडाको नागरिक समाजमा विदेशीका गुप्तचरहरू सक्रिय भएको आरोप लगाउँदै सरकारले निगरानी बढाएको उल्लेख गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले कतिपय सरकारले सदैव नागरिक समाजलाई शंकाको दृष्टिले हेर्ने गरेको विश्लेषण गरेको छ । सन् २०२० को जुन १२ मा प्रकाशित प्रतिवेदनअनुसार पत्रकार र नागरिक समाज वक्रदृष्टिको सिकार बनेका छन् । संस्थाका प्रमुख डेलिया फेरेरा रुबियोको भनाइ छ– नागरिक अधिकार हनन भयो भन्न पाइन्छ कि पाइँदैन ?

गुप्त सूचना कहाँ हुन्छ ? प्रधानमन्त्री र राष्ट्राध्यक्षको कार्यालय र निवास, सेनाको मुख्यालय, सुरक्षा अंगका प्रमुखहरू र राष्ट्रका लागि गोप्य सूचना संकलन एवं विश्लेषण गर्ने अंगहरूमा धेरै सूचना हुन्छन् भन्ने पत्रकारितामा धेरै वर्ष अनुभव हासिल गरेकाहरू स्वीकार्छन् ।

हर्कबहादुर थापा, रामप्रसाद श्रेष्ठ, चाँदबहादुर राई, लेखबहादुर पाण्डे, विष्णुराज पन्त, हरिबाबु चौधरी, देवीराम शर्मा, धनसिंह कार्की, अशोकदेव भट्ट, मोती गुरुङ आदिले प्रमुख बनेर गुप्तचर विभाग (हालको राष्ट्रिय अनुसन्धान विभाग) चलाए । पुराना गुप्तचर अधिकृतमध्ये कोही भारतमा निर्वासित नेताका ‘नोकर’  बनेर काम गर्थे भने कोही दलाइ लामाको महलमा सेवा गर्थे । कुनै दलको पक्ष र विपक्षमा बाँडिने बाध्यता नभएकाले सेना, प्रहरी, गुप्तचर विभाग सबै क्षेत्रका गोप्य सूचना प्रायः परिपक्व हुने कुरा ऊबेलाका गुप्तचरहरू बताउँछन् । अहिले जस्तो टोल/टोलमा विदेशीका किल्ला बनेको अवस्था थिएन ।

अर्जेन्टिनाले राष्ट्रपति कार्यालयअन्तर्गत गुप्तचर राखेको छ । बंगलादेशको नेसनल सेक्युरिटी इन्टेलिजेन्सका गुप्तचरले माओवादीका गतिविधि अध्ययन गर्न झापाको भद्रपुरमा केही महिना तरकारी बेचेर सूचना संकलन गरेको राष्ट्रिय अनुसन्धान विभागका एक पूर्व एसपीले बताएका थिए । राजा महेन्द्रले इन्दिरा गान्धी प्रधानमन्त्री छँदा भारतका केही मन्त्रीलाई नगद र उपहार दिएर गुप्त सूचना संकलन गर्ने गरेको पुराना राजनीतिज्ञ रणधीर सुब्बाको भनाइ थियो । राष्ट्रका उच्च आसनमा बसेर विदेशीका लागि जासुसी गर्नेहरूले विभिन्न राष्ट्रमा कठोर दण्ड पाएका छन् । नेपालमा त्यस्तै अपराध गर्नेहरूले उच्च पद र सरकारी सुख÷सुविधा पाउँछन् । यो अवस्था रहुन्जेल सुरक्षा अंगहरू मात्र ‘क्लिन’ भएर पुग्दैन ।

इजरायलको सैनिक गुप्तचर विभाग जगत्प्रसिद्ध छ । अरब राष्ट्रहरूबाट धेरै वर्ष हेपिएको सानो स्वाधीन राष्ट्र इजरायलले राष्ट्रघातीलाई कहिले पनि सम्मान गरेन । प्रधानमन्त्री डेभिड बेन गुरियनले स्थापना गरेको सैनिक गुप्तचरलाई ‘राष्ट्रका बलिया सिंहहरू’ भनिन्छ । ‘मोसाद’ भनिने गुप्तचर संस्था उच्चकोटिको मानिन्छ । राष्ट्र स्वतन्त्र भएकै अर्को साल सन् १९४९ मा स्थापना गरिएको सो संस्थामा प्राज्ञिक क्षेत्र, पूर्वसैनिक अधिकृत, उच्च तहका व्यापारी, कलाकार, लेखकलगायत हरेक तह र तप्काका बौद्धिकहरू रहेको बताइन्छ ।  

गुप्तचरका बारेमा रोचक ठट्टा छ– ‘जसलाई ऊ खाल्डो खनेर गाड्छ, उसकै लासमाथि छाती पिट्दै रुन सक्छ भने ऊ गुप्तचर हो ।’ मोसादले विदेशीका किल्ला भत्काउँदा धेरैलाई सिध्यायो । यहुदी धर्मलाई राष्ट्र धर्म मानेको हुँदा धार्मिक संस्कारका योशी कोयेनलाई मोसादको प्रमुख बनाइएको छ । राजनीतिक दल वा प्रणाली परिवर्तन भए पनि ठूलो फरक पर्दैन तर परम्परागत धर्म–संस्कृतिमाथि हमला भएमा राष्ट्र खण्डित हुन सक्छ । सबै जनता सैनिक र सबै सैनिक जनता हुने मानसिकताले इजरायलीहरू जसले थाहा पाए पनि विदेशीका किल्ला भत्काउन अघि सर्छन् । नेपालका कैयन् बुद्धिजीवी स्वदेशी किल्ला भत्काएर ‘झिलिमिली झिल्ला, तातो रोटी मिल्ला’ भन्ने आशामा बस्ने गरेको पाइन्छ ।

इथियोपियाको टिग्रेमा विदेशमन्त्री सेयम मेस्फिनको हत्या हुँदा कतिपय सञ्चारमाध्यमले इरिट्रियाको सेनाले मारेको आरोप लगाए । इथियोपियाका प्रधानमन्त्री आबी अहमद अली पनि त्यसैलाई पुष्टि गर्दै थिए । ४४ वर्षका प्रधानमन्त्री अली पनि ‘समृद्ध’ शब्दले जनता अल्मल्याउन ‘माहिर’ छन् । त्यसैले उनले पार्टीको नाम ‘प्रस्परिटी पार्टी’ (समृद्धि पार्टी) राखेका छन् । सेनाको लेफ्टिनेन्ट कर्णेलसम्म भएका अलीले पश्चिमी राष्ट्रका कुरा मान्ने भएकाले नोबेल पुरस्कार पनि पाए ।

इसाई धर्मावलम्बी भएकाले पश्चिमाहरूले उनलाई रुचाए । उनी युरोप–अमेरिकासँग नजिक त छन् तर उनका आलोचकहरू भन्छन्– नेतृत्वमा पुग्न र टिक्न विदेशीको प्रिय बन्ने होडबाजी छ, अफ्रिकामा ।’ कोरियालाई कुन शक्तिले दुई फ्याक बनायो ? सुडान कसले टुक्रयायो ? इन्डोनेसिया फुटाउने गोरा हातहरू कहाँका थिए ? लेन्डुप दोर्जेलाई दास बनाएर सिक्किमलाई भारतमा गाभ्ने गुप्तचरहरूले बितेका चौध पन्ध्र वर्षयता नेपालमा के–के गरे ? के गरिरहेका छन् ? यी सबै कुरा अध्ययन गर्दा भूराजनीतिक चेपुवामा परेको नेपालको घाँटीमा ‘एमसिसी’ र ‘बिआरआइ’ नामका हड्डी अड्किएको छ । दलहरूले त्यसलाई थुक्न वा निल्न सक्ने अवस्था देखिँदैन ।  

सन् १६५२ मा हल्यान्डका क्रिस्चियनहरूले अफ्रिकाका प्रकृति पूजक र दैवीशक्तिका उपासकहरूलाई क्रिस्चियन बनाए । अघाउन्जेल खान नपाएका मानिसलाई केही महिना साँझ/बिहान खुवाएर क्रिस्चियन बनाएपछि रोग, भोक, अभाव र अशिक्षा स्वतः समाप्त हुन्छ भन्ने पाठ पढाए । बिस्तारै विदेशीले त्यहाँका मुखिया, शिक्षक, टाठाबाठा आदिलाई जासुस बनाए । ठाउँठाउँमा स्कुल/कलेज विश्वविद्यालय, अस्पताल र परोपकारी संस्थालाई गुप्तचरको किल्ला बनाइयो । नेपालमा आइएनजिओहरूले त्यही गरिरहेका सञ्चारमाध्यमहरूको विश्लेषण छ ।  

स्वतन्त्रताका लागि आन्दोलन हुन थालेपछि साम्राज्यवादी र विस्तारवादीले अफ्रिकी क्रिस्चियनहरूलाई मिलेर बस्न नदिने जुक्ति निकाले । त्यसपछि धेरै देशमा जातीय दंगाफसाद हुन थाल्यो । रुआन्डा, कंगो, इथियोपिया, अंगोला, सियरालिओन, सुडानलगायतका राष्ट्रमा बढेको जातीय संघर्षमा लाखौँ मानिसको हत्या भएको तथ्यांक छ ।

नेपालमा सनातन धर्म र बुद्धका अनुयायीबीच ठूलो मतभेद छैन । दुवैका मन्दिर, बिहार, गुम्बामा महादेव, गौतम बुद्ध, कृष्ण, राम आदि पुजिन्छन् । नेपालको जनसंख्यामा नब्बे प्रतिशतभन्दा धेरै सनातनी र बौद्ध धर्मावलम्बी छन् । तसर्थ, धार्मिक कलह शून्य बराबर छ । परम्परागत धर्म–संस्कृतिका अनुयायीले सयौँ वर्षअघिदेखि नेपालमा बसोबास गर्ने मुसलमान धर्मलाई पनि घृणा गर्दैनन् । त्यसैले धार्मिक सहिष्णुता अनुपम देखिन्छ ।  

क्रिस्चियनको जनसंख्या विश्वमा एकतीस प्रतिशतको हाराहारीमा छ । सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको जनसंख्या जोड्दा बाइस प्रतिशत भन्दा धेरै छ । मुसलमान झन्डै पच्चीस प्रतिशत छन् । नेपाल, भारत, मरिसस, इन्डोनेसिया, म्यान्मार र भुटानमा मात्र होइन, युरोप–अमेरिकामा पनि सनातन धर्मावलम्बी (हिन्दु) फैलिएका छन् । एक अर्ब दश करोड भन्दा बढी जनसंख्या भएको यो ठूलो धार्मिक समुदाय जात, भाषा, राजनीति आदिले टुक्राटुक्रा भएको छ । हजारौँ वर्ष पुरानो र विश्वकै प्राचीन धर्म संस्कृति जरैसँग मास्न नेपाललाई विदेशी डिजाइनमा ‘धर्म–निरपेक्ष’ घोषणा गरिएको कुरा युवा पुस्ताले बुझ्न थालेका छन् । नेपाली सेनाले भने महाशिवरात्रि पर्वलाई सैनिक दिवसका रूपमा मनाउँदै आएको छ । सन्देश स्पष्ट छ– सेनाले धर्म त्याग्दैन । त्यस्तै, पुस २७ गते राष्ट्रिय एकता र पृथ्वीजयन्ती धुमधामसँग मनायो सेनाले । उसको आशय र भावार्थ राष्ट्र विभाजन र विखण्डन गर्न खोज्नेहरू सेनाका मित्र होइनन् भन्ने नै हो ।  

‘इनसाइड नेपाल’ पुस्तकमा भारतीय गुप्तचर अमरभूषणले नेपालका माओवादी, एमाले, कांग्रेस आदिले होइन, भारतीय गुप्चतर संस्था रअले नेपालमा राजतन्त्रको जरो मासेको उल्लेख गरेका छन् । दिल्लीमा गएर राष्ट्रघाती दस्तावेजमा हस्ताक्षर गर्नेहरू कसैले पनि त्यसको खण्डन गरेनन् । प्रोफेसर एसडी मुनीले माओवादीहरू भारतका खेताला हुन् भनेका छन् । ‘माओइस्ट इन्सरर्जेन्सी इन नेपाल’ लगायतका ग्रन्थमा उनले नेपालका माओवादी भारतका गोटी भएको पुष्टि गरेका छन् । यी सबै तथ्य, प्रमाण र उदाहरणले नेपाललाई धेरै कुरा सिकाउँछ । विदेशी किल्ला भत्काइएन भने राष्ट्र सुरक्षित रहँदैन भन्ने कुरा सबैले बुझेका छन् । तसर्थ कुन व्यक्ति वा दलले जित्छ भन्ने कुरा चिन्ताको विषय होइन । राष्ट्र पराधीन भएन भने सबैको विजय हुन्छ । नत्र हामी मासिने छौँ ।

प्रकाशित: २३ माघ २०७७ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App