७ वैशाख २०८१ शुक्रबार
विचार

कलंकित हुनबाट जोगाऔं कांग्रेसलाई

आधुनिक प्रविधिको उपयोग गर्दै एक मित्रसँग कुरा गर्दै थिएँ । उहाँले कांग्रेसको अहिलेको स्थितिप्रति असन्तुष्टिसूचक प्रश्न गर्नुभयो– कांग्रेसले यो के गरेको ? कस्तो राजनीति हो ? मैले फ्याट्ट भनिहालेँ– मित्र यो वैश्य युग हो । कांग्रेसले युगअनुसारको ‘बनियाँ राजनीति’ गर्दैछ । शब्द मेरो मुखबाट फुत्किसकेको थियो । फर्काउन मिलेन तर मलाई लाग्यो– मैले ‘बनियाँ’ शब्दमाथि ठूलै अन्याय गरेँ । बनियाको निश्चित धर्म हुन्छ जसलाई उनीहरूले इमानका साथ पालना गर्छन् । अहिले दलको नेतृत्वमा रहेका नेता भनिनेहरूले गर्ने कार्य जसलाई चल्तीको भाषामा राजनीति भन्छौँ, त्यसमा कुनै धर्म छैन, नीति, नियम केही छैन । मनपरि छ । त्यसैले नेपालका नेताहरूले गर्ने ’राजनीति’ मा बनियाँ विशेषण लगाइदिँदा बनियाँ शब्द नै अपमानित भएको महसुस गरेँ ।

२०४६ सालअघि पञ्च, प्रशासन, प्रहरीको नजरमा हामी ‘अराष्ट्रिय तत्व’ थियौँ । केही निहुँ पायो कि थुनिहाल्थे । मञ्चबाट भाषण गर्दा तथानाम भट्टाउँथे । तर व्यक्तिगत भेट्दा सम्मान गर्थे । हाम्रापछाडि पनि हाम्रा लागि सम्मानका शब्द व्यक्त गर्थे । जनमानसमा पनि कांग्रेसप्रति आदरभाव थियो । २०५१ सालपछि काग्रेस नेतृत्वको छविमा क्षयीकरण हुन थाल्यो । अहिले त २०४६ सालअघिका पञ्चहरूको अवस्थामा पुगेको आभाष हुन्छ । न नीति छ न त चरित्र । नेतृत्व र नीतिको अन्तरले पार्ने प्रभाव बुझ्न यति नै पर्याप्त छ ।

नेपाली कांग्रेस लोकतन्त्र स्थापनाका लागि र लोकतान्त्रिक प्रणाली बलियो बनाउन ७४ वर्षदेखि संघर्ष गरेको पार्टी हो । राष्ट्रियता र लोकतन्त्रमा अटुट आस्था र अविचलित इतिहास छ । 

पुस ५ पछि बसेको कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्यो । त्यसको विरोधमा जिल्ला, क्षेत्रीय, गाउँ, नगर, वडास्तरीय विरोध प्रदर्शन पनि गरिसक्यो । स्वाभाविक छ, विघटन असंवैधानिक भनेपछि संविधान विपरितको विघटनले उत्पन्न गर्ने परिणाम पनि असंवैधानिक नै हुन्छ तर मूल नेतृत्व निर्वाचनमा जाने कुरा गर्दैछ । विघटन असंवैधानिक मान्ने, विघटनले जन्माएको निर्वाचन ठीक भन्ने ? कहीँ नभएको जात्रा हाँडीगाउँमा यही होला । मेरा श्रीमती वा श्रीमान्ले अवैध सम्बन्ध राखे, अवैध सम्बन्ध राख्ने श्रीमान् वा श्रीमतीलाई स्वीकार गर्दिन भन्ने तर त्यही अवैध भनिएको सम्बन्धबाट जन्मिएको सन्तानको घाँटीमा हिरा, मोति, रत्न जडित मालाबाट लोभिएर त्यो सन्तान मेरो हो भन्नेलाई जनमानसले के भन्दा होलान् ? आधुनिक शिक्षित युवा पुस्तालाई राजनीतिबाट वितृष्णा आउने कारण यस्तै भएर होला ।

कांग्रेस विधान (नवौँ संशोधन) को प्रस्तावनाको छैटौँ अनुच्छेदमा लेखिएको छ– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक कीर्तिमानप्रति गर्व गर्दै...। सोही विधानको सातौँ अनुच्छेददमा लेखिएको छ– पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा स्थानीय, प्रदेश र संघीय तिनै तहको निर्वाचन गर्दै संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहासलाई संस्मरण गर्दै...। यी अनुच्छेदमा उल्लिखित शब्द वर्तमान सभापतिको अध्यक्षतामा २०७५ फागुनमा बसेको महासमिति बैठकले गरेको संशोधनबाट थप गरिएका हुन । कांग्रेसको विधान पालना गर्नु र पार्टीले गरेको ऐतिहासिक तथा गौरवमय कृतिको इतिहासलाई रक्षा गर्दै निरन्तरता दिनु कांग्रेसका सम्पूर्ण नेता÷कार्यकर्ताको दायित्व हो । यो जिम्मेवारी र दायित्व पार्टीको सर्वोपरि नेतृत्वमा सबै भन्दा बढी हुन्छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संविधान उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरे । यसलाई कांग्रेसले असंवैधानिक विघटन भनी संस्थागत निर्णय गरिसकेको छ । आफ्नै सभापतिको नेतृत्वमा संविधान निर्माण गरी जारी गरिएको तथा आफैंले कार्यान्वयन गरेको ऐतिहासिक, कीर्तिमानी तथा गौरवपूर्ण इतिहास समाप्त हुने गरी निर्वाचनमा जानु ओलीको संविधानमाथिको अक्षम्य अपराधको सहयोगी बन्नु पनि हो । इतिहासमा कांग्रेसमाथि कलंक लाग्ने कार्यमा यसका नेता/कार्यकर्ता प्रलोभित हुनु अत्यन्त दुःखदायी त छ नै रहस्यमय पनि छ ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा संकट उत्पन्न गराएका छन् । यो संकटबाट प्रणालीलाई सुरक्षित राख्ने कामको नेतृत्व गर्ने ऐतिहासिक अभिभारा नेपाली कांग्रेसको हो ।

२०१७ सालमा राजाले संसद् भंग गर्दा कम्युनिस्टले जितेको पाटनमा बत्ती बालियो । २०३६ सालको जनमत संग्रहमा निर्दललाई जिताउन तत्कालीन नेकपा (माले) सहयोगी बन्यो । हामी आजसम्म पनि कम्युनिस्टहरूको यो जनघाती कार्यको इतिहास संस्मरण गर्छौँ । २०४६ सालमा सर्वोच्च नेता गणेशमान सिंहले मालेसमेतका कम्युनिस्टलाई मिलाएर वाममोर्चा बनाइ कार्यगत एकता गरेका कारण उनीहरूले जनघातको पाप पखाल्ने अवसर पाए । अहिले कांग्रेसले असंवैधानिक विघटनका आधारमा हुने चुनावमा भाग लिन्छाैं भन्नु जनघातमा सम्मिलित हुन अग्रसर हुनु हो । कांग्रेसको नेतृत्वले सही निर्णय नलिँदा असंवैधानिक कदम जनतामाथि थोपरिने अवस्था आयो भने त्यो पाप अहिलेको पुस्ताले पखाल्न सक्ने छैन ।

भन्ने गरिएको छ– सबै भन्दा ठूलो अदालत जनता हो । जनतामा जान किन डराउने ? निश्चय नै सबै भन्दा महान् सार्वभौम जनता नै हुन तर जनताले निर्णय गर्ने पनि विधिअनुसार हो । हामीले अंगालेको प्रणालीले विधिसम्मत कार्यलाई मात्र स्वीकार गर्छ । प्रणालीलाई स्वस्थ राख्ने हो भने संविधानसम्मत हुनुपर्छ । ग्राउन्डमा फुटबल खेल्ने भन्दैमा जहाँ ठूलो चौर देखिन्छ त्यहीँ जथाभावी खेलिँदैन । ग्राउन्ड चिन्हित गरी नियम बनाएर खेलिन्छ । निर्वाचन पनि कोरा निर्वाचन मात्र होइन । यो सत्तालाई वैधानिकता दिने पद्धति हो । पद्धति नियमसंगत हुनुपर्छ । नियमसंगत, विधिअनुसार गर्न तयार नहुने वा विधि मान्दा मलाई फाइदा हुँदैन विधिबेगर नै खेल खेल्छु भन्ने हो भने त्यसको निर्णय पनि जनताले गर्नेछन् । २००७ सालमा कुनै विधिले क्रान्ति गरेको थिएन । विधिको अधीन नबस्ने राणाहरूलाई जनक्रान्तिले तह लगाएको थियो । विधिअनुसार नै होस् भनी जनमत संग्रहमा भाग लिँदा पञ्चायतले झेली गर्‍यो । झेली गर्ने पञ्चायतलाई २०४६ सालमा विधिअनुसार सार्वभौमले फ्याँकेका होइनन् । २०६२–६३ को उपलब्धि पनि सार्वभौमले सडकबाट नै हासिल गरेका हुन, विधि खोजेका होइनन् । कांग्रेस नेतृत्वले त्यस्तै निर्णयको अपेक्षा गरेको हो भने त्यस्तो अदालतको निर्णय विधि नमान्नेहरूलाई धेरै अप्रिय हुनेछ ।

भोक लाग्यो भनेर काँचै खाइँदैन । पकाएर खाइन्छ । रछानको फोहोर खाना खाइँदैन । सफा खाना खाइन्छ । सन् १९५९ देखि १९६१ सम्म चीनमा ठूलो अनिकाल पर्‍यो । करोडौँ मानिसको मृत्यु भयो । भनिन्छ, त्यस समयमा चिनियाँहरूले भोक सहन नसकेर नरमांस पनि भक्षण गरे । नेपाली कांग्रेसका कुनै नेताले भनेको सुनेँ– कांग्रेसको दुवै हातमा लड्डु छ । म विनम्रतापूर्वक भन्छु यो शुद्ध घीउमा बनाएको लड्डु होइन, शहीदहरूको रगत मिश्रित बोसोमा पकाएको लड्डु हो । के नेपाली कांग्रेसको नेतृत्व तीन वर्ष सत्ताबाहिर हुँदा यति धेरै भोकायो कि यो भक्षणयुक्त खाना हो कि अभक्ष भन्ने पनि छुट्टाउन नसक्ने भयो ?

कांग्रेस लोकतन्त्र स्थापनाका लागि र लोकतान्त्रिक प्रणाली बलियो बनाउन ७४ वर्षदेखि संघर्ष गरेको पार्टी हो । राष्ट्रियता र लोकतन्त्रमा अटुट आस्था र अविचलित इतिहास छ । नेपालका सम्पूर्ण लोकतान्त्रिक आन्दोलन र क्रान्तिको नेतृत्व कांग्रेसले गरेको इतिहास छ । हाम्रा हजारौँ शहीदले लोकतन्त्रका लागि बलिदानी दिएका छन् । अहिले प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा संकट उत्पन्न गराएका छन् । यो संकटबाट प्रणालीलाई सुरक्षित राख्ने कामको नेतृत्व गर्ने ऐतिहासिक अभिभारा कांग्रेसको हो । यस्तो अवस्थामा नेतृत्व गर्न पाउनु नेताका लागि राम्रो अवसर पनि हो । यस्तो अवसरलाई चिन्न नसकी सिंहदरबारको फोहोरी कुर्सीमा आँखा केन्द्रित गरेर केबल निर्वाचन मात्र भन्नु कांग्रेसको संस्कृति हुन सक्दैन ।

कांग्रेसमा योग्य तथा सक्षम ठूलो नेतृत्व पंक्ति छ । धेरै नेता लोकतान्त्रिक प्रणालीको पक्षमा बोलिरहनुभएको पनि छ तर यो पंक्तिमा कांग्रेसको महत्वपूर्ण पदमा रहनुभएका व्यक्तित्वहरूको आवाज कतै पनि सुनिँदैन । महामन्त्री, प्रमुख सचेतक, प्रवक्ता जस्तो महत्वपूर्ण पदमा आसीन तथा त्यो भन्दा पनि माथिल्लो जिम्मेवारी सम्हाल्न इच्छुक व्यक्तिहरू मौन रहनु रहस्यमय तथा शंकास्पद मानिन्छ । संविधानसभाको अध्यक्ष रहेका सुवास नेम्वाङको पहिले कुन इज्जत थियो र अहिले कहाँ पुग्यो, देख्नुभएकै होला । सानो पदीय स्वार्थले महत्वपूर्ण प्रश्नमा बोल्न नसक्नु आफ्नो उज्ज्वल भविष्य अन्धकार बनाउनु हो । समयमा धारणा व्यक्त नगर्दा पछि आउने प्रश्नको सामना गर्न मुस्किल हुनेछ ।

पार्टी संगठन निर्माणमा र नीति तथा नेतृत्वमा बिचलन आउँदा त्यसमा सुधार गर्न जिल्ला सभापतिहरूको महत्वपुर्ण योगदान रहेको छ । पार्टी बिधान समय सापेक्ष र जनमुखी बनाउन पार्टी सभापतिहरूले महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको हो । अहिले कांग्रेसलाइ,संविधान मिच्ने तथा लोकतान्त्रिक प्रणाली कमजोर गराउने कार्यमा संलग्न गराउने प्रयत्न भै रहेको छ । जिल्ला सभापतिहरू पार्टीका बलिया खम्बा हुनुहुन्छ । सतहत्तर जिल्लाका सभापति बोल्नु भनेको सिङ्गो नेपाली कांग्रेस बोल्नु हो । आ–आफ्नो जिल्लामा वहाँहरू बोल्नु भएकै होला । केन्द्रीय नेतृत्व तथा शक्ति केन्द्रहरूले सुनिने गरी सभापतिहरू बोलेमा नेपाली कांग्रेसलाई ऐतिहासिक गल्ती गर्नबाट रोक्न सकिने छ ।

मैले १८ वर्षको उमेरदेखि कांग्रेसमा आस्था राखी राजनीतिक गतिविधि गर्दै जाँदा अहिले ६८ वर्ष पुरा गरें । जीवनका महत्वपूर्ण ५० वर्ष कांग्रेससँग अबिच्छिन्न आवद्ध भएरै बिते । यी ५० वर्षमा मलाइ कांग्रेस भए बापत हिनता बोध भएन, गौरवान्वित नै भएको महसुस गरें । मेरो बाँकी जीवन पनि हिनता बोध नगरी इज्जत साथ कांग्रेसको सदस्य हुँ भन्न सकुं भन्ने भावना र देश सरलताका साथ सम्बिधानिक बिकासको बाटोमा जाओस भन्ने ध्येयले मात्र यी भावनालाइ अक्षरांकित गरेको हुँ । आगे यहाँहरूको मर्जी । जय नेपाल ।

प्रकाशित: ११ माघ २०७७ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App