२३ फाल्गुन २०७७ आइतबार
विचार

माहिला सरकारको मुस्कान

नेपाली राजनीति तरल मात्र छैन, तरंगितसमेत भइरहेको अवस्था छ । भोलि के हुन्छ भन्ने अनिश्चित हुँदै गएको छ । पुराना जान्नेसुन्नेहरू भन्छन्, ‘जे पनि हुन सक्छ ।’ तसर्थ प्रतिनिधिसभा पुनर्बहाली भए पनि नभए पनि राजनीतिक स्थिरताको सम्भावना देखिँदैन । यस्तो स्थितिमा अन्तर्राष्ट्रिय कूटनीतिसमेत नेपालका लागि चिन्ताको विषय बन्न सक्ने देखिएको छ ।

अमेरिका, चीन, भारत, युरोपेली युनियनलगायतका शक्तिले आफूअनुकूल सरकार बनाएर नेपाली भूमिमा आआफ्ना स्वार्थ लाद्न खोजेको जगजाहेर छ । तसर्थ नेपाललाई अरू अशान्त र अन्योलग्रस्त तुल्याएर दक्षिण एसियाको ‘हेडक्वार्टर’ स्थापना गर्न खोजेको देखिँदैन ।

हरेक राष्ट्रले विदेशीसँग आत्मसमर्पण नगर्ने नायक खोजेका छन् । जनतालाई विभक्त गर्ने होइन, एकै थलोमा जुटाउन सक्ने व्यक्तित्व खोजेका छन् ।

राजनीतिमा सन्तुलन नहुँदा अमेरिकामा समेत जातीय घृणाका घटना बढ्न थालेको एफबिआइको रिपोर्टमा उल्लेख छ । सन् २०१७ मा १७ प्रतिशत घृणा अपराध (हेटक्राइम) भेटिएको तथ्यांक बोल्छ । अर्थात, कालो–गोरो र विदेशी मूलको भन्ने जस्ता विवाद बढ्दैछ । पढेर मात्र मानिस सभ्य र प्रजातान्त्रिक हुँदैन, व्यवहारमा देखिनुपर्छ भन्ने सन्देश दिन्छ, अमेरिकाको घटनाले ।

ब्रिटेनले इयु त्यागेपछि युरोपको उद्योगमा ह्रास आउँछ भन्न शंका बढेको छ । प्रथम र द्वितीय विश्वयुद्धपछि युरोपमा देखिएको एकता धर्म र संस्कृतिको धरातलमा पुष्पित–पल्लवित भयो । आर्थिक स्वार्थले जर्मनी, फ्रान्स र ब्रिटेनलगायतलाई एउटै चौतारोमा बसेर दुःखसुखका गफ गर्ने साथी बनायो । आर्थिक स्वार्थ नमिल्दा युरोपयन युनियनबाट टाढियो, ब्रिटेन । मन भएका मनबहादुर र मनमायाहरू र धनलाई मात्र सबैथोक ठान्ने धनबहादुर र धनमायाको व्यवहार हाम्रै समाजमा स्पष्ट देखिन्छ । महँगो कार चढेर ससुराली पुगेका ज्वाइँ, थोत्रो भटभटे चढ्ने र साइकलमा जाने ज्वाइँको सत्कार बेग्लाबेग्लै हुन्छ । त्यहाँ सम्पत्ति नै मान्छेको मापदण्ड भयो । अर्थात पुँजीवादको चश्माले साम्यवादी–समाजवादी सबैलाई दृष्टिभ्रम गराइरहेको छ ।  

आज राष्ट्रिय सुरक्षा र अर्थतन्त्र अन्योन्याश्रित हुँदै गएका छन् । साम्राज्यवाद, उपनिवेशवाद र सैन्यवाद प्रबल भएका बेला प्रथम महायुद्ध (सन् १९१४–१८) भयो । दुई करोडभन्दा धेरैले प्राण गुमाए, प्रथम महायुद्धमा । यस्तै, आर्थिक मन्दी, जापान र जर्मनी जस्ता नवोदित सैन्य शक्तिको उदय, लिग अफ नेसन्सको असफलता आदि कारणले सन् १९३९ देखि १९४४ सम्म द्वितीय विश्वयुद्ध भयो । अमेरिका र सोभियत संघ जस्ता महाशक्तिको उदय गरायो, महायुद्धले । पहिलो र द्वितीय महायुद्धमा हजारौँ नेपालीले ब्रिटेनका पक्षमा युद्ध गरे । सैन्य कूटनीतिको आवरणमा ब्रिटेनले नेपालीको रगत–पसिना दोहन गर्‍यो ।

हिजोसम्म विरोध र आलोचना गर्नेहरू भन्न थालेका छन्– असल, योग्य, सक्षम, राष्ट्रवादी र निष्कलंक मानिस छानेर राष्ट्र र जनताको हित गर्ने मार्गचित्र लिएर आए भने ‘माहिला सरकार’ तेस्रोपल्ट राजगद्दीमा बस्न सक्छन् ।

आज पनि पचास लाखभन्दा धेरै नेपाली युवा विदेशमा रगत–पसिना बगाइरहेका छन् । आफ्नो र परिवारको मात्र होइन, हजारौँ नेता र बेरोजगार राजनीतिकर्मी पाल्न अर्बौँ रुपियाँको ‘रेमिटान्स’ पाइपलाइनबाट आउँछ । त्यसैले पालेकोे छ, गणतन्त्र । राष्ट्रका समस्या निर्मूल गर्न ल्याइएको तन्त्र आफैँ समस्याको जरो बनेको छ ।

द्वितीय महायुद्धले युरोपको उपनिवेश क्षतविक्षत भयो । यता नेपालमा ‘नवीन’ क्रान्तिले भ्रष्टाचार, बेथिति, विदेशी हस्तक्षेप र परावलम्बी चरित्रलाई मलजल गरेको देखियो । यो प्रवृत्ति रोक्न अर्को आमूल परिवर्तन आवश्यक पर्छ तर जोखिम उठाउन कोही तयार देखिँदैनन् । आफ्नो मृत्युपछि पनि सन्तानले नेतागणको आशीर्वाद पाइरहून् भन्ने स्वार्थले धेरै ‘ज्ञानी’ अज्ञानीझैँ मौन छन् । असत्यका विरुद्ध जनता जागृत नभए राष्ट्र मृत बन्छ ।

मत्स्य न्यायको सिद्धातमा ठूलो माछाले सानो माछा निल्नु स्वाभाविकरूपमा ‘माछा–अधिकार’ हो । ठूला राष्ट्रले त्यस्तै सोच्ने गरेको पाइन्छ । दक्षिण अफ्रिकाले महादेशकै महान् ठान्छ । भारतले दक्षिण एसियाको ‘लिडर स्टेट’ मान्छ आफूलाई । साना राष्ट्रको भविष्य जोखिममा पर्दैछ भनेर ३१ वटा राष्ट्रको भविष्यवाणी गरिएको छ ‘द फ्युचर अफ स्मल स्टेट’ पुस्तकमा । अर्थतन्त्र सुधारिएन भने शक्तिराष्ट्रसँग सिँगौरी खेले भने, राष्ट्रिय सुरक्षा सन्तुलित भएन भने र हैसियत बिर्सेर नचाहिने विवादमा परे भने साना राष्ट्रले ठूलो क्षति बेहोर्नुपर्ने विश्वप्रसिद्ध कूटनीतिज्ञहरूको तर्क छ । उनीहरूले विश्व मानचित्रबाट विलुप्त र लोपोन्मुख राष्ट्रका बारेमा गरेका विश्लेषण स्वैर–कल्पना, अतिरञ्जित र निराधार छैनन् ।  

पुर्खाले आर्जेको राष्ट्रलाई समुन्नत, शान्त र खुसी राख्न सबैलाई आफ्नो ठान्ने उदार नेतृत्व चाहिन्छ । आजको तस्बिर स्पष्ट छ, राष्ट्रका शत्रु घरभित्रै छन् । जनताले कतिपय अवस्थामा उनीहरूलाई नै नायक मान्नुपर्ने बाध्यता छ ।

राष्ट्रनायक (राजा) कर्तव्यच्युत हुँदैनन् भन्ने शास्त्रको मान्यता छ । अधिकार र कर्तव्यबीच सन्तुलन हुनैपर्छ । कर्तव्य नगर्नेले अधिकार पाउँदैन, पाउनुहुँदैन । चाणक्य (कौटिल्य) आफ्नो प्रसिद्ध ग्रन्थ ‘कौटिलीय अर्थशास्त्र’ मा भन्छन्– ‘प्रजासुखे सुखं राज्ञः प्रजानाञ्च हिते हितम् । नात्मप्रिय हितं राज्ञ : प्रजानां तु प्रियं हितम् ।’ (अर्थात प्रजाको सुखसँग राजाको हित गाँसिएको हुन्छ । प्रजालाई प्रिय लाग्ने काममा राजाको हित निहीत हुन्छ ।)

जनहित, राष्ट्रहित, धर्महित र अनुशासनविरुद्ध कुनै पनि शासकले काम गर्न पाउँदैनन् भन्ने शास्त्रको मान्यता छ । महाभियोग र ‘कोर्ट मार्सल’ शब्दहरू प्रचलनमा आउनुभन्दा हजारौँ सालपहिले पूर्वजहरूले गाउँ, समाज र राष्ट्रका हितमा बनाएका नियम पालना गरिएन । फलतः समाज भ्रष्ट हुँदै गयो । जनताले राज्यसत्ता चलाउन भ्रष्टहरूमध्येबाट विकल्प छान्नुपर्ने अवस्था आयो । नेपाललाई नर्वे, जापान र ब्रिटेन जस्तो बनोस् भन्ने चाहना राख्ने जनताले नै आफ्नो दल, जात वा नाताको मानिस भन्दै नालायकहरूलाई मार्गदर्शक बनाएको परिणाम भोगिरहेका छन् । हिजो विषवृष रोप्नेले आज अमृतफलको आशा किन गर्नु ?

बिपी कोइरालाका नातेदार कालीदास कोइरालाले श्री ३ चन्द्रशमशेरका पालामा २६ वर्ष र त्यसपछि जुद्धशमशेरका पालामा पनि सरकारी जागिर खाए । उनको क्षमता, साहस र इमानदारीबाट शासकहरू प्रभावित थिए । ‘अ रोल इन अ रिभोल्युसन’ पुस्तकमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले कालीदासको वर्णन गरेका छन् । शासकलाई मद्दत गर्न योग्य मानिस चाहिन्छ भन्ने बुझेका थिए राणाहरूले । भीमबहादुर पाँडेले ‘त्यसबखतको नेपाल’ नामक पुस्तकमा राणा शासकहरू निरंकुश भए पनि योग्य मानिसलाई खोजीखोजी जिम्मेवारी दिन्थे भनेका छन् । त्यो भनेको राष्ट्र बनाउन सबैको मद्दत चाहिन्छ भन्ने सन्देश हो ।

अहिले राष्ट्रनिर्माणमा सबैलाई समेट्ने वातावरण छैन । विभिन्न दलले गुट, उपगुट बनाएर सीमित व्यक्तिलाई मात्रै आफ्नो ठान्ने गरेका छन् । यसले गर्दा क्षमता भएका सबै जना राष्ट्रको सेवा गर्ने काममा समर्पित हुने वातावरण छैन ।  

२०४६ सालपछि दलहरूले हजारौँ रोपनीको फाँटमा तीन तीन आनाको पर्खाल लगाएझैँ गरे । प्रधानमन्त्री हुनेले फरक विचार, अर्को दल र अर्को गुटका मानिस भन्दै धेरैजसो योग्य मानिसलाई पूर्वाग्रहको छाउपडीमा कैद गरे । पहिले पहिले राष्ट्रलाई इमानदारीपूर्वक योगदान गर्छु भनेर योग्यहरूले विश्वास दिलाएमा उनीहरूलाई कुनै न कुनै दायित्व दिइन्थ्यो । अमेरिकामा पढिरहेका भेषबहादुर थापालाई राजा महेन्द्रले बोलाएर विभिन्न जिम्मेवारी दिए । यस्तै दार्जिलिङका लैनसिंह वाङ्देल र अम्बर गुरुङलगायत कैयन्लाई जिम्मेवारी दिएको पाइन्छ । राष्ट्र सबैको घर भएकाले यसलाई बलियो पारौँ भन्दै पहिलेका शासकले राष्ट्रको माया गर्नेहरूलाई समेटेका थुप्रै उदाहरण छन् । पछि गएर राष्ट्रको होइन, भ्रष्टको माया गर्नेहरू मात्र शक्तिशाली भए ।

‘राजा ज्ञानेन्द्रसँग राजदरवारका हजारौँ सूचना, गुप्त रिपोर्ट र दुर्लभ कागजपत्र सुरक्षित छन्, त्यसैले आफैँले पालेका कैयन् मानिसले बेलाबखत गाली गरेको सुन्दा उनी मुसुमुसु हाँस्छन् ।’ दरवारसँग निकट रहेका एक व्यक्तिले सुनाए । नक्खु जेलमा बसेका बेला एक जना झापाली नेताले भनेछन्– ‘पढ्न सकिएन, राजतन्त्र स्वीकार गरेर अब राजालाई विन्तिपत्र लेख्छु र अञ्चलाधीश बन्छु ।’ ती नेताले लेखेको विन्तिपत्र मात्र होइन, आर्थिक सहायता, राजनीतिक नियुक्ति र घर जग्गा माग्दै बिन्तिपत्र हाल्नेहरूका थुप्रै कागजपत्र अझै सुरक्षित होलान् ज्ञानेन्द्र शाहसँग । यस्तै, नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्रनीति भारतलाई बुझाएमा राजसंस्था सुरक्षित रहन्छ भनेर दिल्लीका शासकले पठाएका पत्र पनि ‘माहिला सरकार’ सँग सुरक्षित छन् भन्छन्, विश्वासपात्रहरू ।

राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्रलाई धेरैले ‘माहिला सरकार’ भन्छन् । उनले मानिससँग भेट्दा ‘मलाई गद्दीको होइन, राष्ट्रको चिन्ता छ । राजा, सेना र जनता मिलेर बनाएको राष्ट्र कामजोर भएको छ । त्यसैले, राष्ट्र बचाउन हामी सबै लाग्नुपर्छ’ भन्ने गरेको सुनिन्छ । प्रियजनहरूलाई यही सुनाउँछन् उनी । कसैप्रति अप्रिय शब्द प्रयोग गर्दैनन् । राजनीतिक दलका अधिकांश नेताले राष्ट्र हाँक्न दलहरू असफल भइरहेका छन् भन्ने स्वीकारेका छन् । नेपालमा स्थायित्व नभएकोमा छिमेकी राष्ट्रहरूसमेत चिन्तित देखिन्छन् ।  

राष्ट्रको स्वाभिमान र दलमध्ये एउटा रोज्नुपर्दा निःसन्देह जनताले राष्ट्रिय एकता र स्वतन्त्रता रोज्छन् । त्यसैले हिजोसम्म विरोध र आलोचना गर्नेहरू भन्न थालेका छन्– असल, योग्य, सक्षम, राष्ट्रवादी र निष्कलंक मानिस छानेर राष्ट्र र जनताको हित गर्ने मार्गचित्र लिएर आए भने ‘माहिला सरकार’ तेस्रो पल्ट राजगद्दीमा बस्न सक्छन् ।

सामाजिक सन्तुलन बिग्रने ‘फ्याक्टर’ मध्ये खुला सिमाना प्रमुख मानिन्छ । नेपाल त्यही पीडा भोगिरहेको छ । राष्ट्र बिग्रने प्रमुख कारण आर्थिक अवस्था पनि हो जुन कुराको दुष्प्रभाव चुलाचौकासम्म पर्छ । सुरक्षा चुनौती थप्न शत्रुको आक्रमण नै आवश्यक पर्दैन, राजनीतिक अस्थिरता पर्याप्त हुन्छ । यमन, साउथ सुडान, सोमालिया, सिरिया, कंगो, जिम्बाबे, अफगानिस्तान, नाइजेरिया, नाइजर, अंगोलालगायतका राष्ट्रमा त्यही देखियो ।

युगान्डाका पूर्वछापामार नेता योयेरी मुसेभेनीले दश वर्षभन्दा धेरै कालसम्म पद ओगट्नु उचित हुँदैन भनेका थिए तर २४ वर्ष सत्तामा बसे उनी, राष्ट्रपति भएर । उनीभन्दा पहिलेका इदी अमिन र मिल्टन ओबोटे पनि गतिला थिएनन् । जुन देशका जनता जस्ता हुन्छन्, नेता र प्रणाली त्यस्तै हुन्छ भने जवाहरलाल नेहरुले । शालीन जनताले जोन एफ केनेडीलाई राष्ट्रपति बनाए । संसारका अनेक हुल्याहा–मुल्याहाको हातमा मताधिकार गएपछि डोनाल्ड ट्रम्प जस्ता व्यक्ति पनि राष्ट्रपति भए । अर्थात अमेरिकाको ‘डेमोक्रेसी’ ट्रम्प जस्तै छ भन्ने सन्देश फैलियो । नयाँ राष्ट्रपतिले अमेरिकामाथि लागेको दाग मेटाउन निकै प्रयास गर्नुपर्ने अवस्था आएको छ । राष्ट्रनायकलाई पर्याप्त शक्ति मात्र दिएर हुँदैन, उसमा विवेक पनि हुनुपर्छ भन्ने कुरा पश्चिमी राष्ट्रहरूमा समेत प्रमाणित भइरहेको छ ।

हरेक राष्ट्रले विदेशीसँग आत्मसमर्पण नगर्ने नायक खोजेका छन् । जनतालाई विभक्त गर्ने होइन, एकै थलोमा जुटाउन सक्ने व्यक्तित्व खोजेका छन् । राष्ट्र र जनतालाई माया गर्ने मान्छे खोजेका छन् । केही कमी–कमजोरी सबैको हुन्छ, माहिला सरकारको पनि होला । विगतका कटु अनुभवले उनले धेरै सिके भन्ने बुझ्न सकिन्छ । तसर्थ, उनले जनतालाई सुरक्षा, शान्ति, एकता र स्वाभिमानको अनुभूति गराउन सक्छन् । जनतालाई खुसी दिन सक्छन् र आफू पनि जनतासँग रमाउन र मुस्कुराउन सक्छन् ।

प्रकाशित: ९ माघ २०७७ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App