१६ फाल्गुन २०७७ आइतबार
विचार

राष्ट्रिय सुरक्षाको मन्त्र

मुसलमान सम्राट अकबरका प्रमुख मन्त्री र प्रियपात्र वीरबल आज पनि जनजीवनमा किंवदन्तीका पात्र छन् ।  महेश दास नामका ती भट्ट ब्राह्मण सम्राटका नवरत्नमध्येका सर्वाधिक किमती रत्न थिए । ज्ञानी, विवेकी, वाक्पटु, चतुर, दूरदर्शी र शालीन चरित्रका कारण उनी सम्राटका सबैभन्दा प्रिय बने । ‘जोक’ सुनाउने जोकर र सम्राटका आज्ञाकारी नोकर मात्र थिएनन् वीरबल अर्थात महेश दास । अनपढ सम्राटका पुस्तकालय नै थिए उनी ।  

पान बेच्ने परिवारमा जन्मेका वीरबल कुशल सैनिक कमान्डर पनि थिए भनेर इतिहासकारहरूले लेखेका छन् । उनीहरूले सन् १५८६ को फेब्रुअरी १६ तारिखमा अफगानिस्तानको युद्धमा वीरबलले ५४ वर्षमा वीरगति पाएको उल्लेख गरेका छन् । 

नेपालमा उच्च पदमा बस्नेलाई योग्य, ज्ञानी, विवेकी, स्पष्ट वक्ता र दूरदर्शी सल्लाहकार चाहिँदैन । मालिकको जय/जयकार गरिदिए पुग्छ । 

राज्यकोषबाट हरेक महिना अर्बौँ रुपियाँ खर्च गरिन्छ नेपालमा । राष्ट्राध्यक्ष, प्रधानमन्त्री, मन्त्री सबैजसोले ‘सल्लाहकार’ राखेका छन् । भनिन्छ, तीमध्ये धेरै त चाटुकार, बेकार तथा गलत चित्र देखाउने ‘चित्रकार’ छन् । यसले गर्दा हजार सल्लाहकारको गुप्त फाइलमा गतिला सुझाव थोरै पुग्छन् र मालिकहरू अल्मलिन्छन् ।

पान खाँदा धेरै चुना चाहिने रहेछ, अकबरलाई । दरबारको पर्खाल बाहिर पान बेच्ने महेश भट्ट (वीरबल) ले सम्राटका नोकरलाई भनेछन्– ‘सरकारलाई बिन्ति गर्नू, धेरै चुनाले जिब्रो काट्छ । तसर्थ, केही बेरपछि घ्यु पिउनुपर्छ । त्यसो गर्दा जिब्रो सुरक्षित हुन्छ ।’ नोकरले पान टक्र्याउँदै महेशको सन्देश सुनाए । भोलिपल्ट पानवालालाई बोलाएर केहीबेर कुराकानी गरे सम्राटले । वीरबलको ज्ञानबाट प्रभावित भएपछि उनलाई दरवारमा सल्लाहकार बनाइयो । प्रचुर ज्ञानशक्तिले उनी राजाको शक्तिमान मन्त्री र सल्लाहकार भए ।

नेपालमा उच्च पदमा बस्नेलाई योग्य, ज्ञानी, विवेकी, स्पष्ट वक्ता र दूरदर्शी सल्लाहकार चाहिँदैन । मालिकको जय/जयकार गरिदिए पुग्छ । त्यसैले प्रायः सबै सल्लाहकार धामी/झाँक्रीका छेउमा बसेर धूप हाल्दै ‘हो परमेशवर हो’ भन्दै कराउने धुपौरे जस्ता छन् ।

कुनै विषयमा गहिरो ज्ञान भएका मानिस सल्लाहकार हुन योग्य मानिन्छन् । भारतमा मनमोहन सिंह प्रधानमन्त्री हुँदा सञ्जय बारु मिडिया सल्लाहकार थिए । सार्कस्तरीय सम्पादक सम्मेलनमा भाग लिन जाँदा प्रधानमन्त्री निवासमा उनीसँग भेट भएको थियो । प्रधानमन्त्री सिंहका राजनीतिक सल्लाहकार थिए, पृथ्वीराज चौहान । सन् २०१४ मा ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ पुस्तक लेखेर बारुले प्रधानमन्त्री सिंहलाई सोनिया गान्धीको आज्ञाकारी, लाचार र निरीह छायाँ भनेका छन् । 

साउथ चाइना समुद्री क्षेत्र र त्यसको वरपर जापान, अस्ट्रेलिया र भारतले अमेरिकी रणनीतिअनुसार विभिन्न गतिविधि गरिरहेका र त्यो देखेर क्रोधित चीनले कुनै पनि बखत शक्ति प्रदर्शन गर्ने विस्फोटक समय नजिकिँदै आएको देखिन्छ । 

भाजपाले चलचित्र नै बनाएर मनमोहन सिंह र कंग्रेस पार्टीको सक्कली चरित्र उदांगो पारिदियो भन्दै भारतीय सञ्चारमाध्यमले टिप्पणी गरे । कतिपयले सल्लाहकारले गोपनियता भंग गरेको आरोप लगाएका छन् । नेपालका दुई जना सेनापति र राजाका सैनिक सचिव (सैनिक सल्लाहकार) पनि त्यस्तै विवादमा परे । हुँदै नभएको कुराको गफ दिने, गोप्य र संवेदनशील सूचना पुस्तक बनाएर बेच्ने र सेनालाई समेत अप्ठ्यारो पार्ने प्रवृत्ति बढेको भन्दै सैनिक मुख्यालयले लेन्स र राडारमार्फत सूक्ष्मरूपमा निगरानी गर्नुपर्ने अवस्था आएको केही पूर्वजर्नेलको टिप्पणी छ ।

अमेरिकी राष्ट्रपति निर्वाचित भएका जो बाइडेनले गुप्तचर संस्था सिआइएको प्रमुखमा विलियम बर्नसलाई छानेका छन् । ‘चिफ अफ आर्मी स्टाफ’ जस्तै महत्वपूर्ण पदमा जिम्मेवारी सम्हाल्न लागेका बर्नसले रसिया र जोर्डनमा राजदूत भएर काम गरिसकेको अनुभव छ । अमेरिकी जनतालाई सुरक्षाको प्रत्याभूति दिन र ढुक्कले निदाउन सक्ने वातावरण बनाउन बर्नसले योगदान गर्नेछन् भन्ने बाइडेनको विश्वास छ । अन्तर्राष्ट्रिय सम्बन्धमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका बर्नसले राष्ट्रिय सुरक्षाका क्षेत्रमा राष्ट्रपतिलाई सत्य सल्लाह दिने बाइडेनको भरोसा र बर्नसको क्षमतामा ठूलो अन्तरविरोध देखिँदैन ।

राष्ट्रको छवि धमिलो भएको भन्दै सुसन राइस, टोनी ब्लिंकन र जोन केरीले सल्लाह दिएपछि सिरियाबारेको नीतिमा हेरफेर गर्न अमेरिका बाध्य भयो । रिचर्ड निक्सन राष्ट्रपति छँदा उनका कूटनीतिक सल्लाहकार हेनरी किसिन्जरलाई ‘निक्सनको मस्तिष्क’ भनिन्थ्यो । सन् २०११ को मे ९ तारिखमा मिचिको काकुतानीको आलेख छापियो, न्यूयोर्क टाइम्समा । त्यसमा किसिन्जरको ‘अन चाइना’ ग्रन्थले भविष्यका लागि मार्गचित्र देखाएको तर्क गरिएको छ । दरिद्रताको दर्दनाक अवस्थाबाट चीन एक दिन महाशक्ति बन्ने बाटोमा अग्रसर छ भन्दै चीनसँग अमेरिकाले सुमधुर सम्बन्ध बनाउनुपर्छ भनिएको छ पुस्तकमा ।

चीनको कम्युनिस्ट पार्टीका नेता माओ र निक्सनबीच सन् १९७१ मा सम्वाद गराउने काम किसिन्जरले गरे । चीनका प्रधानमन्त्री चाउ–एन–लाइले परिपक्व कूटनीतिक व्यवहार देखाए । यसले विश्व शान्तिमा योगदान पुग्यो । किसिन्जरले शान्तिका लागि योगदान गरेबापत सन् १९७३ मा नोबल पुरस्कार पाए । सन् २०१९ को नोभेम्बरमा किसिन्जरले चीनका राष्ट्रपति सि चिनफिङलाई भेट्दा माओसँग भएको वार्ताबारे सम्झाएका थिए । उनको निचोड थियो– अमेरिका र चीनको मित्रताले दुवै राष्ट्र झन् बलियो बन्दै जानेछन् ।

नेपालमा आज अमेरिका र चीनको मात्र होइन, भारत र युरोपको चासो पनि उत्तिकै देखिन्छ । भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपालको राजसंस्था ‘सफ्ट पावर’ भएको, धर्म–संस्कृतिका कारण भारतीयहरूको समेत आस्था जोडिएको र राजसंस्था ढलेपछि ‘इभानजेलिकल’ लगायत युरोप अमेरिकाबाट संरक्षित क्रिस्चियन धर्मले नेपालमा जरो गाडेको विश्लेषण गरेका छन् । माओवादीलाई ‘स्कानडेभियन’ भनिने नर्वे, डेनमार्क र फिनल्यान्डले इसाईकरणकै लागि लगानी गरेको उनको आरोप छ ।  

संघीयता, गणतन्त्र र धर्म निरपेक्ष राष्ट्रका नाममा विदेशीले ठूलो लगानी गरेको जगजाहेर छ । राजतन्त्र निर्मूल गर्न भारतले माओवादीलाई ‘भाडाका सिपाही’ बनाएको भारतीय लेखक एसडी मुनिलगायतका धरैले खुलासा गरेका छन् । मानव अधिकार, स्वतन्त्रता, प्रजातन्त्र आदिका नाममा २०६२/६३ सालमा सडकमा प्रदर्शन गर्नेमध्ये धेरैले पश्चाताप गरिरहेका छन् । त्यसैले कसैले आन्दोलन, विद्रोह वा संघर्ष गर्ने नारा दियो भने त्यसको निर्देशक को हो भनेर जनता शंकित हुने गरेका देखिन्छ ।

सन् २०२० नोभेम्बर १८ मा प्रकाशित ‘स्पट लाइट’ अंग्रेजी पत्रिकाले अमेरिकाका वृद्ध कूटनीतिज्ञ हेनरी किसिन्जरले ‘चीन र अमेरिकाबीचको सम्बन्ध अरू चिसो हुने’ बताएको उल्लेख गरेको छ । उनले प्रथम विश्वयुद्ध जस्तै अवस्था आउन सक्ने चेतावनी दिएका छन् । त्यो बेला चीन, भारत र अमेरिकाको समर्थन तथा विरोधमा संसार ध्रुवीकृत हुन सक्छ । अनि, नेपालको अवस्था के होला ? के नेपालका जान्ने/बुझ्नेहरूले नेपाली मालिकहरूलाई यसबारे कहिले विश्लेषणसहितको सुझाव दिएका छन् ? भविष्यको आकलन गरेका छन् ? राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको अवस्था के होला, सोचेका छन् ? हामी जनता त मकैबारीमा बाँदर र भालु पसे है भनेर कराउन मात्र सक्छौँ । हातमा बन्दूक बोक्नेहरूले बाँकी काम गर्ने साहस देखाउँछन् भने राष्ट्रभित्रका शत्रु बेलैमा चिन्न सक्नुपर्छ ।  

‘लायन अफ जोर्डन : द लाइफ अफ किङ् हुसेन इन वार एन्ड पिस’ ग्रन्थमा अभी सलेमले राजा हुसनेको मौन चित्कार (साइलेन्ट क्राइ) सजीव उतारेका छन् । चौतर्फी दबाब, गलत सल्लाहकारको लीला र जोर्डनको अस्तित्वमाथि देखिएका संकटको सामना गर्न राजाले अहर्निश प्रयत्न गरेको कथा छ, त्यसमा । प्यालेस्टिनी र अरबको पेलाइमा परेको जोर्डन, पश्चिमका गुप्तचरहरूको बिगबिगी, इजरायलसँग सन् १९६३ मा गरेको गुप्त वार्ता आदि प्रसंग रोचक छन् । राष्ट्र बचाउने मन्त्र धेरै छन् ।  

साउथ चाइना समुद्री क्षेत्र र त्यसको वरपर जापान, अस्ट्रेलिया र भारतले अमेरिकी रणनीतिअनुसार विभिन्न गतिविधि गरिरहेका र त्यो देखेर क्रोधित चीनले कुनै पनि बखत शक्ति प्रदर्शन गर्ने विस्फोटक समय नजिकिँदै आएको देखिन्छ । सि चिनफिङले हालै चिनियाँ सैनिकहरूलाई युद्धका लागि तयार रहन निर्देशन दिएको खबरले यसलाई पुष्टि गर्छ । सन् २०२० को अक्टोबर १३ तारिखमा प्रकाशित ‘अमेरिकन सेक्युरिटी म्यागजिन’ अनुसार दक्षिण एसियाको भूराजनीतिमा ठूलो ध्रुवीकरणको सम्भावना पनि उत्तिकै छ ।

राष्ट्रिय र क्षेत्रीय हितको रक्षालाई सबै राष्ट्रले उच्च प्राथमिकता दिने गरेका छन् । छिमेकीमा कलह, कोलाहल, धुवाँ, दुर्गन्ध र असुरक्षाको वातावरण रोक्न सहरका टोल, टोल र गाउँमा पनि प्रयास गरिन्छ । नेपालमा भइरहेका कतिपय रहस्यमय गोप्य गतिविधिहरूप्रति अन्तर्राष्ट्रिय चासो बढ्दै गएको जगजाहेर छ ।  

राजा वीरेन्द्रकै पालामा तत्कालीन संविधान, राज्यसत्ता र सम्पूर्ण राज्यसंयन्त्र भत्काउन धेरै प्रयास भए । अहिले नेपाली सेनाबाहेक सबै संस्था निर्जीव जस्तै बनाइएको छ । ‘डेमोक्रेसी’ छ, प्रजातान्त्रिक चरित्र हरायो । सार्वभौमसत्ता माथि पटक पटक हमला भइरहेको छ । यस्तो तरल अवस्थामा राष्ट्रको सुदूर भविष्य के होला ?

नेपाल एकीकरणको अभियानमा सफल हुँदै गएपछि पृथ्वीनारायण शाहका भाइहरूले एक एकवटा राज्य अंश माग्न थाले । पाटनका प्रशासक बनाइएका भाइ दलमर्दन शाहले आफ्ना नामको मोहर (मुद्रा) निकालेपछि राजा पृथ्वीनारायण शंकित भए । भादगाउँ विजय गर्न जाँदा भाइहरू कीर्तिमहोद्दम, दलजित र दलमर्दनले सहयोग नगरेको, उनीहरू नुवाकोटमा गएर बसेको ललिताबल्लभकृत ‘भक्त विजय’ उद्धृत गर्दै इतिहासकार सूर्यविक्रम ज्ञवालीले ‘पृथ्वीनारायण शाह’ ग्रन्थमा लेखेका छन् ।  

शक्तिकेन्द्रहरूलाई उकासेर कमजोर पार्ने र बीचमा बसेर फाइदा लिन खोज्ने प्रवृत्तिका सल्लाहकार र नक्कली हितैषीका कुकृत्यबारे समयमै जानकारी वा सूचना नपाउँदा कैयन् राजाले गद्दी त्याग्न ‘राजी’ हुनुपर्ने अवस्था आयो । कैयन् शक्तिशाली रानीहरू खरानी भए ।

रसियाका अन्तिम राजा (जार) निकोलसका राजगुरु रास्पुटिनले रानीसँग ‘रासलीला’ चलाएको र दरवारलाई बदनाम गराएको राजाले पत्तै पाएनन् । इरानमा शाह रेजा पहलवीले राजगद्दी त्याग्नुपर्यो, सन् १९७९ मा । २५ सय वर्ष पुरानो राजतन्त्र निर्मूल भयो । इथियोपियाको त्यही हालत भयोे । झण्डै ४२ वर्षअघिदेखि कलम घोटिरहेको पंक्तिकारलाई सझना छ– राष्ट्र कमजोर बनाउन धेरै राष्ट्रमा कट्टर कम्युनिस्ट, कट्टर धार्मिक समूह र प्रजातन्त्र तथा मानव अधिकार समर्थक नक्कली फौज खडा गरिन्छ । इरानमा आयातोल्ला रोहल्ला खोमेनीलगायतका धर्मगुरुलाई राजतन्त्रविरुद्ध प्रयोग गरेर पश्चिमी राष्ट्रले स्वार्थ पूरा गरे ।  

यस्तै कम्बोडियाका राजा नरोदम सिंहानुकले ‘माइ वार विथ द सिआइए’ ग्रन्थमा कट्टर कम्युनिस्टलाई अमेरिकाले हतियार बनाएर कम्बोडियामा राजतन्त्र निर्मूल गरिएको लेखेका छन् । उनले आफ्ना सेनापति लोननोलले राष्ट्रघात गरेको र पोलपोटको कम्युनिस्ट सरकारले लाखौँ जनता मारेको उल्लेख गरेका छन् । यस्तै, नेपाललाई कमजोर पार्न, विदेशी धर्म फैलाउन र नेपालको प्राचीन संस्कृति निर्मूल गर्न बितेका चौध पन्ध्र वर्षयता भएका क्रियाकलाप अध्ययन गर्दा राष्ट्र कुनै पनि बेला धराशायी हुने देखिन्छ ।

सन् १९४८ मा जन्मेको इजरायल आज पनि खतरामुक्त छैन । त्यसैले हरेक जनतालाई सैनिक तालिम दिएर तयार राख्ने गरिएको छ । कोरियाको संकटले राष्ट्र टुक्रिएर उत्तर र दक्षिण कोरिया भयो । सुडान टुक्र्याउन लोभीपापी नेताहरू अघि सरे । राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्य हुँदैन भन्दै संयुक्त राष्ट्रसंघले सन् १९६५ मा घोषणापत्र सार्वजनिक गर्‍यो । चुनावपछि नेताले पार्टीका घोषणापत्र बिर्सेझैँ राष्ट्रसंघले आज पनि कमजोर राष्ट्रको रक्षा गरेको देखिँदैन । बरु शक्ति राष्ट्रको कारिन्दा बनेर राष्ट्रसंघले रहस्यमय भूमिका खेल्दै आएको आरोप लागेको छ ।  

व्यापार गर्न आएको इस्ट इन्डिया कम्पनीले सन् १७५७ देखि एक सय वर्ष र त्यसपछि सन् १९४७ सम्म ब्रिटेनले शासन गर्‍यो भारतमा । ‘इन्डिया’ भन्ने नाम उनैले राखिदिए । ५६५ जना राजालाई शक्तिहीन बनाएर कज्याए गोरा शासकले । त्यो भन्दा पहिले झण्डै ६ सय वर्षसम्म इरान र अफगानिस्तानबाट आएका मुसलमानले शासन गरे भारतमा । सयौँ वर्षसम्म दास भएर बसेका भारतीयले स्वतन्त्रताको मूल्य कति हुन्छ भन्ने बुझेको भए नेपाल जस्तो प्राचीन र स्वतन्त्र राष्ट्रलाई कमजोर बनाउन षडयन्त्र गर्ने थिएनन् ।  

भारतका धेरै विद्वान्ले नेपालको प्रशंसा गरेका छन् । डा. हरिवंश रायबच्चनले टंकप्रसाद आचार्य प्रधानमन्त्री भएका बेला भारतीय राजदूत महाराजकृष्ण रसगोत्राको पाहुना भएर धेरै दिन पत्नी तेजी र छोरा अमिताभ बच्चनसहित नेपाल बसेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । पं. जवाहरलाल नेहरुले ‘ग्लिमसेज अफ वल्र्ड हिस्ट्री’ ग्रन्थमा कहिले पनि पराधीन नभएको वीर भूमि हो नेपाल भने जस्तै बच्चनले पनि नेपाल साँच्चै स्वाधीन, धार्मिक, सांस्कृतिक र स्वाभिमानी राष्ट्र भएको लेखेका छन् ।

स्वाभिमान भनेको पुर्खाले हाम्रो रगतमा पठाएको पहिचान त हो तर व्यक्तिगत स्वार्थका लागि जे पनि गर्नेहरूले स्वाभिमानलाई ‘ब्रान्ड’  मात्र बनाए । लाखौँ रुपियाँ पर्ने घडीको ‘डुब्लिकेट’ बनाएर रत्नपार्क र भोटाहिटीतिर पानीमा डुबाएर बेचिन्छ । दलहरूले राष्ट्रवाद र स्वाभिमानलाई त्यस्तै बनाए । विदेशी दूतावासका खर्चमा राजनीति गर्ने र राष्ट्रवादको नारा लगाउनेहरू सबैजसो दलमा छन् ।  

गान्धी, माओ, माक्र्स, लेनिन, क्राइस्ट, स्टालिन, चारु मजुमदार, चेग्वेभारा, होचिमिन्ह आदिका तस्बिरमा माल्यार्पण गर्दा गर्वोन्मत्त हुनेहरूले पृथ्वीनारायण शाहलाई किन अपमान गर्छन्, बुझ्न बाँकी छैन । पुस २७ गते राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाइरहेका नागरिकलाई टाउकोमा लठ्ठी बजार्नेहरूले ‘माथिको आदेश’ पालना गरे । तर ‘माथिको मान्छे कसको साथी’ भन्ने बुझ्न गाह्रो छैन । राष्ट्र निर्माण गर्ने राजा र सेनालाई परम शत्रु ठान्नेहरूका हातमा राज्यसत्ताको जिम्मा दिने र त्यसका लागि वातावरण बनाइदिनेहरूमध्ये धेरैले घाँसमा लुकेको हरियो सर्पझैं अदृश्य बनेर राजा र सेनालाई दिग्भ्रमित तुल्याए ।  

‘जो रामको भेष धरेर रावणको कर्तुत गर्छ, त्यो तिम्रो फूलबारीको विषालु सर्प होसियार’ भन्ने राष्ट्रिय गीत गाएका छन् भक्तराज आचार्यले । विषालु सर्पहरू जताततै छन् । उनीहरूलाई नागराजा ठानेर सलाम ठोकिरहनेहरूले ‘महादेवको माला’ मानेर राष्ट्रघातीलाई साथी बनाइरहे भने न राष्ट्र सुरक्षित रहन्छ न त जनता ।

स्वदेशी उत्पादन बढाएर सेना, प्रहरी, निजामती, सर्वसाधारण सबैले राष्ट्रलाई स्वावलम्बी, आत्मनिर्भर र स्वाभिमानी बनाउने हो भने हरेक साल अर्बौँ रुपियाँ विदेशिने थिएन । लाखाैं युवाले स्वदेशमै रोजगारी पाउने थिए । स्कुल कलेजका पाठ्यपुस्तक कस्तो हुनुपर्छ भन्ने कुरा इजरायल जस्ता राष्ट्रबाट सिके हुन्छ । छोराछोरीलाई आशीर्वाद दिँदा ‘यो फोहरी देशमा बस्दै नबस्नू, चाँडै विदेश जानू’ भन्ने ‘देशभक्त’ र ‘राष्ट्रवादी’ भनिने जनताले पनि ‘नेपाली बनौँ, नेपाल भनौँ, सम्हाल नेपाल’ भन्न सिकाउनुपर्छ । तसर्थ राष्ट्र कसरी बचाउने हजारौँ मन्त्र छन् तर जप गरेर मात्र पुग्दैन ।

प्रकाशित: २ माघ २०७७ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App