२३ फाल्गुन २०७७ आइतबार
विचार

क्लब ९९ र खुसी

एक दिन राजा र मन्त्री दरवारबाहिरको नजिकै गाउँमा डुल्दै थिए । एउटा किसानको परिवार श्रीमान्, श्रीमती, छोराछोरी मिलेर काम गरेका छन्, सबैको मुहारमा हाँसो, प्रफुल्लता छ । त्यो दृश्य देखेर आश्चर्य लाग्यो राजालाई । एकछिन टक्क अडिए र मन्त्रीलाई सोधे– मन्त्री यति ठूलो दरवार, जगजगी, सम्पन्नता र राज्य नै आफ्नो हुँदा मसँग खुसी छैन । यिनीहरू एउटा टुक्रा जग्गामा खेती गर्दै, यो सानो झुपडीमा पनि यति धेरै खुसी हुनुको कारण के हो ? मन्त्रीले भने– महाराज यो परिवार ९९ क्लबको सदस्य होइन, त्यसैले खुसी छ यिनीहरूमा । राजाले सोधे– यो कस्तो क्लब हो ९९ ? मन्त्रीले भने– मलाई ९९ वटा सुनका असर्फी दिनूस्, छ महिनापछि म बताउनेछु यो ९९ क्लब र खुसी के हो । राजाले सहमति जनाए र ९९ वटा असर्फी मन्त्रीलाई दिए । ती मन्त्रीले ९९ सुनका असर्फीलाई झोलामा राखे र मध्यरातमा ती किसानको छाप्रोको ढोकामा राखेर आए ।  

किसान बिहानै सबेरै उठे, चियापानी गरेर खेतमा जान्छु भनेर निस्कन खोज्दा ढोकैमा झोला र त्यसभित्र गह्रुङ्गो सामान देखेर आश्चर्य चकित भए । झोला खोलेर हेरे, आँखा तिर्मिरायो, सुनको असर्फी ? झोला भित्र लगे र गन्न थाले, गन्दै जाँदा ९९ पुग्यो । झनै उत्साहित भए, मैले गन्न बिर्सेँ, यो १०० नै हुनुपर्छ, फेरि गन्छु । फेरि गन्दा पनि ९९ नै भयो । कुन मुर्ख गन्न नजान्नेले राखेछ यो, १ राख्न भुलेछ, ९९ पनि कहीँ हुन्छ, १०० त हुनुपथ्र्यो । श्रीमती र छोराछोरीले गन्दा पनि ९९ नै छ ।  

उनले श्रीमती र छोराछोरीको अगाडि संकल्प गरे, हेर म खेती गरेर या जे गरेर भए पनि १०० त पुर्‍याउँछु नै । ती किसान एउटा सुनको असर्फी आर्जनका लागि कडा मेहनत गर्न थाले । दिनभर काम गरेर घर फर्कन्थे र आउनासाथ गएर असर्फीको झोला हेर्ने गर्थे ।

एकदिन श्रीमतीले सोचिन्– मेरो श्रीमान् जस्तो मूर्ख त कोही छैन होला ! यसबाट फाइदा पो लिनुपर्छ । नभन्दै उनले २ वटा असर्फी झिकिन् रसामान किनेर ल्याइन् । साँझ श्रीमान् घर फर्केर असर्फी गन्छन् त ९७ वटा पो छ । उनी आफू १०० पुर्‍याउनलाई दिनरात नभनी मेहनत गरेको भन्दै झर्किए ।

अर्को दिन छोराले पनि २ वटा असर्फी लिएर बजार गयो र आफूलाई चाहिने लुगा, सामान किनेर ल्यायो । बुबाले त्यसैगरी हप्काए फेरि । अनि छोरीले पनि २ वटा असर्फी बेचेर आफूलाई मन पर्ने सामान किनेर ल्याइन् । उनले पनि हप्की खाइन् । यसरी उनको प्रेसर बढ्न थाल्यो । अब परिवारमा दैनिक झगडा र मनमुटाव बढ्दै जान थालेको थियो ।

छ महिना बितिसकेको थियो, मन्त्रीले राजालाई सम्झाए, महाराज मेरो परीक्षाको समय आयो त । राजा र मन्त्री घुम्दैघुम्दै किसानको घरछेउ आइपुगे । किसान खेतबारीमा काम गर्दै थिए तर परिवार साथमा थिएनन् । उनको अनुहारमा खुसी र कर्मप्रति प्रेम झल्किन्थेन । बरु परिवारलाई गाली गरिरहेका थिए । घरभित्र श्रीमती र छोराछोरीको हल्लाखल्ला कोलाहल सुनिन्थ्यो । अब परिवारमा प्रेम थिएन, सहकार्य थिएन, गीत/संगीत थिएन, मेलमिलाप थिएन । बाँकी थियो त केवल तर्क, कोलाहल, एकअर्काप्रति आरोप/प्रत्यारोप ।  

राजा आश्चर्यमा परे । उनले मन्त्रीलाई सोधे– के भएको त यो खुसियाली परिवारमा यस्तो अवस्था ? कसरी परिवर्तन भए यी परिवारका सदस्य ? मन्त्रीले हाँस्दै भने– महाराज अब यो परिवार पनि त औपचारिकरूपमै ९९ क्लबको सदस्य भए नि त ! राजाले कुरो बुझेनन्, सोधे– मसँग ९९ असर्फी त माग्यौ तर यो ९९ क्लब भनेकोचाहिँ के हो ? मन्त्रीले भने– महाराज यो ९९ क्लब यस्तो हो जहाँ व्यक्तिसँग ९९ वटा सुनका असर्फी साथमा हुन्छन् तर थप १ प्राप्त गर्ने लालसामा जीवन आपाधापीमा बिताउँछन् तर ९९ लाई प्रयोग गर्न जान्दैनन्, होस पाउँदैनन् । एउटा असर्फी प्राप्तिका लागि ९९ असर्फीसँग लडाइँ गर्छन् । एउटा असर्फीको पछि भाग्दाभाग्दै ९९ असर्फीको न महत्व रहन्छ न त प्रयोग नै । जीवन त्यसै तनावमै बित्छ । अधिकांश व्यक्तिको हालत यस्तै हुन्छ महाराज ।

प्रकाशित: २ माघ २०७७ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App