८ वैशाख २०८१ शनिबार
विचार

गुरु छोग्लिङ मिग्युर देवे दोर्जेको सम्झना

श्रद्धेय लामा गुरु रिन्पोछेज्यूहरू विभिन्न देशमा बसोबास गर्दै आएका बेला सबै सम्प्रदायका महान् गुरु दलाइ लामासहित गुरु तथा रिन्पोछेहरू भारत प्रवेश गरे । त्यतिबेला छाब्सार वंशका आदरणीय टुल्कु उर्गेन रिन्पोछे आफ्ना परिवारका साथ नेपाल भूमिमा बस्न रुचाए । सकल गुरुहरूले आफ्ना बौद्ध महायान धर्मलिपिहरू सुरक्षित राखी विश्व शान्ति र जगत् कल्याणका लागि परम्पराअनुसार पूजाआजा सञ्चालन गरी अभिषेक उपदेश र आगमहरू भक्तजनहरूलाई प्रदान गर्दै आएका छन् ।  

बौद्धनाथ स्तुपा सामीप्यमा रहेका फूलबारीस्थित जग्गामा निर्माण गरेको कानिब सेडुपलिब महाबिहार (सेतो गुम्बा) सन् १९७६ मा साह्रो ग्याल्वाब कर्मापाको सानिध्यमा राजा वीरेन्द्रको बाहुलीबाट समुद्घाटन भएको थियो ।

दश वर्षको उमेरमा सिक्किम रुम्तेक, सेडुप छोर्खोलिब महाबिहारमा अध्ययनार्थ प्रवेश गर्नुभएका आदरणीय छोग्लिब देवे दोर्जेले अक्षर लेखनको पठनपाठनबाट वाद्यवादन, धार्मिक नृत्य कला, मण्डला रेखांकित गर्ने कला र स्वर लहरीमा सूत्र पाठ गर्ने कलामा निपूर्णता हासिल गर्नुभयो ।  

सन् १९५३ मा पुजनीय टुल्कु उर्गेन रिन्पोछेज्यू र कुन्साब देक्षेनज्यूका पुत्रका रूपमा जन्मनुभएका आदरणीय छोग्लिब मिग्युर देवे दोर्जेज्यू २०७३ सालमा सिंगापुर जाँदा बिरामी हुनुभयो । उहाँलाई सोही ठाउँको अस्पतालमा भर्ना गरियो । अस्पतालमा रहँदा उपचारको बेला उहाँका परिवार सदस्यहरूसँगै थिए । राम्रो उपचार र प्रार्थना गर्दागर्दैै २०७७ पुस ३ गतेका दिन उहाँ दिवंगत भएपछि सात दिनसम्म मृत्यु प्रभाश्वर समाधि (थुग्दाम) मा रहनुभयो ।  

बौद्ध फूलबारीस्थित कानिब सेडुप लिब महाबिहार (सेतो गुम्बामा) को पूजा हलमा संस्मरण अनुष्ठान पूजा भव्यरूपमा सञ्चालन गरी केही दिन परमपुज्य गुरु छोग्लिब रिन्पोछेज्यूको पार्थिव शरीर (कुदुब) राखिने कार्यक्रम छ । सोही बेला राष्ट्रिय÷अन्तर्राष्ट्रिय शिष्यहरूले उहाँको पार्थिव शरीर (कुदुब) प्रति सम्मान श्रद्धाञ्जली अर्पण गर्ने सु–अवसर पाउनेछन् ।  

संक्षिप्त जीवनी  

बाल्यकालमा नै आदरणीय छोग्लिब मिग्युर देवे दोर्जेज्यूमा अद्भूत लक्षणहरू प्रतिविम्बित भइसकेको थियो । दश वर्षको उमेरमा सिक्किम रुम्तेक, सेडुप छोर्खोलिब महाबिहारमा अध्ययनार्थ प्रवेश गर्नुभएका आदरणीय छोग्लिब देवे दोर्जेले अक्षर लेखनको पठनपाठनबाट वाद्यवादन, धार्मिक नृत्य कला, मण्डला रेखांकित गर्ने कला र स्वर लहरीमा सूत्र पाठ गर्ने कलामा निपूर्णता हासिल गर्नुभयो ।  

उहाँले सद्धर्म, विनय, अभिधर्म कोष, माध्यमिकशास्त्र र मैत्रीयको पाँच शास्त्र, अभिलक्षण यानका ग्रन्थहरूको गहिरो अध्ययन पूरा गर्नुभयो ।  

अझ विशेषगरी हेबज्र तन्त्र, उत्तर तन्त्र, अर्थक्षय कोष, मूल र भाष्य जस्ता गुह्य मंत्रायानका ग्रन्थहरू र ज्ञान कोषका भाष्य टीकाहरूको अध्ययनमा उहाँ पारंगत हुनुभएको थियो ।  

आदरणीय ग्याल्वाब कर्मापा रिग्पे दोर्जे र पुजनीय दिल्गो खेन्चे रिन्पोछेबाट दुझ्योम तेर्सारका धर्मनिधिहरू र उपदेशहरूसँगै उहाँका पिता आदरणीय टुल्कु उर्गेन रिन्पोछेज्यूबाट विभिन्न अभिषेकहरू र गुह्य उपदेशहरू उहाँले पूर्णरूपमा प्राप्त गर्नुभयो ।  

क्याब्जे दिल्गो खेन्चे रिन्पोछेज्यूले भविष्यको परिस्थितिलाई विचार गरी उहाँलाई गम्भीर मार्ग वज्रयानको महा गुह्य उपहेतु चर्यामा गहन अध्ययन गर्न प्रोत्साहित गर्नुभयो । जसअनुसार शुभ सगुनको अवस्थामा सहज ज्ञान साक्षात्कार गरी सिद्ध विद्याधर्म अभेद रही उहाँले अनाभोग योग अवस्था अनवरत कायम राख्नुभएको थियो ।  

२०६९ सालमा सेतो गुम्बा र २०५३ सालमा भेन्छेन फुन्छोग धार्गेलिब गुम्बामा छोग्लिब तेर्सार अभिषेक उहाँले प्रदान गर्नुभयो । त्यसैबेला हिमाली लामाहरूलाई अभिषेक, आगम दिनुको साथै २०७३ सालमा आफ्नै सेतो गुम्बामा आफ्ना चेला–चेलीहरूलाई अभिषेक आगम दिनुभएको थियो ।  

संक्षेपमा महानिधि प्रकाशक छोग्युर लिबपाका धर्म शासनलाई पुनर्उत्थान गर्न र अटुटरूपमा राख्नमा उहाँको ठूलो योगदान रहेको छ । नेपाली भक्तजनहरूलाई उहाँले प्रदान गर्दै आउनुभएको अभिषेक, आगम उपदेशहरू विशेष उल्लेखनीय रहेका छन् । विदेशमा स्थापना भएका धर्मकेन्द्रहरूमा बेलाबखत भ्रमण गरेर सद्धर्मको अमृत बाँड्दै सकल प्राणीको उद्धार निम्ति निभाउनुभएको उहाँको धर्मकार्य सदा स्मरणीय रहनेछ ।  

अन्तमा उहाँको पुनर्निर्माण कार्य समयअनुसार शीघ्र पाउन सकोस् । हाम्रो सहृदय प्रार्थना ।  

(सेतो गुम्बा) 

प्रकाशित: २६ पुस २०७७ ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App