coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

सेना हिँड्ने बाटो

हरेक राष्ट्रमा ‘सेना कता जान्छ’ भनेर हेर्ने गरिन्छ । अपवादबाहेक, सजीव सेना राष्ट्रघातको मतियार बन्दैन । राष्ट्रघातीको हतियार पनि बन्दैन । ब्रिटेन, फ्रान्स, जर्मनी, चीन, भारत र अमेरिका जस्ता राष्ट्रमा मात्र होइन, मान्मा (बर्मा) जस्ता शक्तिहीन राष्ट्रको सेनाले समेत मातृभूमिको अपमान भएको सहेर बसेन । केही राष्ट्रमा ‘प्रोफेसनल’ जामा लगाएको सेनाले आफू हिँड्ने मार्गचित्र बनाउन नसक्दा राजनीतिक नेतृत्वसँगै सती गएर सेना खण्डित, पतीत, स्खलित र विभाजित भएका उदाहरण छन् । लेबनानमा ‘रामकोट’ र ‘नगरकोट’ जस्ता बेरुतका डाँडाहरूबाट विभाजित सेनाले एक–अर्कालाई निशाना बनाएको हामीले बाल्यकालदेखि सुन्दै आएका हौँ ।

अटोमन साम्राज्यको पतनपछि सिरिया र लेबनानमा फ्रान्सले अधिकार जमायो । फ्रान्सले अपनाएको ‘मेरोनाइट क्रिस्चियन’ धर्म मान्नेले मात्र लेबनानको राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था गरियो तर सन् १९४३ मा लेबनानले फ्रान्सलाई मालिक नमान्ने ऐलान गर्‍यो । यो चुनौतीपूर्ण उद्घोष पेरिसका शासकलाई मन परेन । फ्रान्सले लेबनानको संसद् भंग गरेर कारिन्दा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत धेरैलाई कैदी बनायो । लामो संघर्षपछि लेबनान स्वाधीन भयो तर नेताहरू पराधीन थिए । फ्रान्सकै दास थिए । तसर्थ, राष्ट्रवादको मार्ग हिँड्ने हिम्मत गरेनन् । राष्ट्रिय एकताको बाटो लिएनन् ।

अहिले युवामा देखिएको राष्ट्रवादको पुनर्जागरणले नेपाललाई संकटबाट बचाउँछ भन्ने आशा गर्न थालिएको छ ।

सन् १९४८ मा नवोदित राष्ट्रका रूपमा इजरायल स्थापना भयो । उसलाई मान्यता दिने दक्षिण एसियाको पहिलो राष्ट्र हो, नेपाल । अरब–इजरायल युद्धले लाखौँलाई शरणार्थी बनायो । उनीहरू इजरायल त्यागेर जोर्डन, गाजा, लेबनान र सिरियामा बस्न थाले । सिरिया, लेबनान, जोर्डन र इराक जस्ता राष्ट्र स्वतन्त्र मात्र भए, शान्त र स्थिर भएनन् । राणा शासनबाट मुक्त भयौँ भन्दै गर्व गर्ने नेपाली कांग्रेस दिल्लीको दास भएझैँ लेबनान र उसका छिमेकीले पनि स्वतन्त्र भएर काम गर्न सकेनन् । यस्तै अवस्थामा, सन् १९५६ मा इजिप्टले स्वेजनहर राष्ट्रियकरण गरेपछि फ्रान्स र ब्रिटेनले हस्तक्षेप गरे । पश्चिमी राष्ट्रका कठपुतली भनिने क्यामिली चामोनविरुद्ध लेबनानमा विद्रोह भयो । मध्यपूर्व झन अशान्त बन्यो । सन् १९५२ देखि १९५८ सम्म राष्ट्रपति भएका चामोनको सबैभन्दा ठूलो योग्यता भनेको उनी ‘क्रिस्चियन’ थिए । त्यसैकारण उनलाई पश्चिमा राष्ट्रले समर्थन गरेको थियो । सन् १९७५ देखि १९९० सम्म भएको गृहयुद्धमा उनले लेबनानको होइन, पश्चिमी राष्ट्रको वकालत गरे । नेपालमा कुनै योग्यता र क्षमता नभएका जनविरोधीले त्यसै गरे । राष्ट्र र जनतालाई संकटतिर डोर्‍याउने बाटो गलत रहेछ भन्ने बुझेपछि युवाले विद्रोह गर्छन् । त्यो बेला राष्ट्रघातको बाटो हिँड्नेको पतन हुन्छ । अहिले युवामा देखिएको राष्ट्रवादको पुनर्जागरणले नेपाललाई संकटबाट बचाउँछ भन्ने आशा गर्न थालिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले पैदलयात्रा गर्दै नेपाल एकीकरणको अत्यन्त कठिन अभियानमा सफलता पाएको इतिहास छ । नेपालमा जात, धर्म, क्षेत्र आदिका आधारमा विभाजनको आगो सल्काउन प्रयास भइरहेका बेला नेपाली सेनाले राष्ट्रिय एकताको सन्देश दिन खोजेको पाइन्छ । यस्तो स्थितिमा सेनाले पुस २७ गते भव्यरूपमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने तयारी गरिरहेका खबरहरू आएका छन् । यही सिलसिलामा पृथ्वीनारायण हिँडेको बाटोमै सेनाले पनि आफू हिँड्ने सन्देश दिएको छ । गोरखा–काठमाडौँको प्राचीन पदमार्गमा यात्रा गरेर सेनाले राष्ट्रिय एकता, स्वाभिमान र सार्वभौमसत्ता बचाउन पृथ्वीपथ नै उपयुक्त भएको स्पष्ट गरेको छ । यस्तो अभियानले युवालाई समेत उत्प्रेरित गरेको देखिन्छ ।

राष्ट्र र जनतालाई संकटतिर डोर्‍याउने बाटो गलत रहेछ भन्ने बुझेपछि युवाले विद्रोह गर्छन् । त्यो बेला राष्ट्रघातको बाटो हिँड्नेको पतन हुन्छ ।

सेना हिँड्ने बाटो स्वाभिमानको बाटो हो । आत्मनिर्भर बन्दै नेपाललाई सुखी, शान्त र खुसी बनाउने बाटो हो । राष्ट्रिय सुरक्षा बलियो भए मात्र नेपाली सुरक्षित रहन्छन् भन्ने विश्वासको टाकुरा पुग्ने बाटो हो । बाह्य शक्तिबाट प्रेरित, प्रभावित र संरक्षितहरूले जे भन्छन्, त्यो कुबाटो हो । त्यो सेना हिँड्ने बाटो हुँदै होइन । नेपाल र नेपालीको रक्षा सेनाले नै गर्छ भन्ने विश्वास प्रगाढ भइरहेका बेला राष्ट्रलाई बलियो बनाउन सेनाले शल्यक्रिया पनि गर्न सक्छ । त्यो उपचार पद्धतिको बाटो पनि सेनाको आफ्नै बाटो हो ।

कतिपय राष्ट्रले पराधीन, परावलम्बी र परमुखापेक्षी बनेर मूल बाटो बिर्सिएका छन् । उनीहरू कालान्तरमा ‘असफल राष्ट्र’ बन्न पुगेका छन् । त्यस्ता राष्ट्रमध्ये मौलिक धर्म–संस्कृति त्याग्ने धेरै छन् । बाहिरी शक्तिको दबाबमा परेर राष्ट्रिय स्वभाव नै परिवर्तन गर्ने धेरै छन् । दान–दातव्य प्रदान गर्ने दातारामहरूको गुप्त योजनाबारे बेलैमा सूचना नपाउँदा सुडान, इथियोपिया र इन्डोनेसिया टुक्रिए । त्यसमा प्रजातन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको आवरणमा राष्ट्रघाती आचरण गर्नेहरूले क्विजलिङ, मिरजाफर र लेन्डुप दोर्जेले जस्तै विदेशीलाई मद्दत गरे । त्यस्तालाई सेनाले फलाम ठोक्नुपथ्र्यो तर अन्तिम दिनसम्म सलाम ठोकिरह्यो ।

जर्मनीका पूर्वभाइस चान्सलर तथा राजनेता जोस्खा फिसरको तर्क छ– युग बदलिँदै जाँदा समस्या थपिँदै जान्छन् । अहिले विश्व राजनीतिको बल युरोपको कोर्टमा छ । इयु र अमेरिकाले सम्बन्ध सुमधुर बनाएर विश्वको धरातलीय यथार्थ स्वीकार्नुपर्छ । कूटनीतिलाई सन्तुलित राख्नुपर्छ ।

चीन र भारतबीचमा स्वतन्त्रपूर्वक बाँच्न नेपालले स्वाभिमानी तथा स्वतन्त्र बाटो हिँड्ने प्रण गरेर पृथ्वीनारायण, महेन्द्र र वीरेन्द्रले तदनुकूल नीति बनाए । २०४७ सालपछि विचलित, दिग्भ्रमित र पथभ्रष्ट बन्दै गयो, परराष्ट्रनीति । २०६३ सालपछि नेपाल अफगानिस्तान, लेबनान र कम्बोडियाको ‘कोलाज’ जस्तो बन्दैछ । तसर्थ, सेनाले स्पष्ट मार्ग देखाएमा त्यसले क्षितिज देखाउन सक्छ ।

बिएस मुन्जेलाई हिन्दु महासभाको अध्यक्ष बनाउन चन्द्रशमशेरले भारतमा रहेका प्रियजनहरूलाई आग्रह गरे । यो चाल पाएपछि मुन्जे र उनका समर्थक खुसी भए । पहिले ब्रिटिस शासकहरूसँग सैन्य कूटनीतिमार्फत सम्बन्ध बढाएका श्री ३ चन्द्रले भारतमा ब्रिटिस शासन अन्त्य भएपछि धार्मिक कूटनीतिलाई आधार बनाए । सन् १९२७ देखि १९३७ सम्म हिन्दु महासभाका अगुवा रहेका मुन्जेले नेपाललाई सनातन धर्मावलम्वीहरूको पवित्र भूमि भनेका छन् । नेपालको नामसमेत नसुनेका करोडौँ भारतीयले नेपाल स्वतन्त्र राष्ट्र हो, भारतको प्रान्त होइन भन्ने बुझे । बालकृष्ण–शिवराम मुन्जे सुरुमा ‘मेडिकल डाक्टर’ थिए । पछि राजनीतिमा लागे । सन् १९०७ मा सुरतमा भएको कांग्रेस अधिवेशमा ‘नरमपन्थी’ र ‘गरमपन्थी’ कित्तामा ध्रुवीकृत भए कांग्रेसीजनहरू । कठोर विचारका बालगंगाधर तिलक, मुन्जे, विनायक–दामोदर सावरकरलगायतले कांगे्रस दल ब्रिटिसको मार्गचित्रमा हिँडेको आरोप लगाउँदै नयाँ बाटो बनाए । त्यो थियो– राष्ट्रिय स्वयंसेवक संघ ।  

भाजपाको अभिभावक संस्था आरएसएस स्थापना हुनुको प्रमुख कारण राष्ट्रियता बचाउन स्वाभिमानको बाटो बनाउनुपर्छ भन्ने नै थियो । १९२५ को सेप्टेम्बर १९ तारिखमा महाराष्ट्रको नागपुरमा जन्मिएको ‘आरएसएस’ को  मार्गचित्रमा हिँडिरहेको छ, भारतीय जनता पार्टी । आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ) का पुराना दस्तावेजमा हिमालयदेखि कन्याकुमारीसम्म ‘अखण्ड भारत’ बनाउने लक्ष्य लिइएको छ, त्यसमा हेरफेर गरिएको छैन । संसारलाई देखाउन भाजपाले नेपाल, भुटान, बंगलादेश र पाकिस्तान जस्ता राष्ट्रलाई ‘साथी’ माने पनि भाजपाको अन्तरहृदयमा भारतबाहेक अरू राष्ट्रको कल्पनासमेत छैन भन्ने बुझिन्छ ।

आरएसएसका संस्थापक डा. केशव बलिराम हेडगेवारले भनेका थिए– ‘हामी आधुनिक भूगोलसँग सन्तुष्ट छैनौँ ।’ यसको अर्थ भारतसँग जोडिएका राष्ट्रहरूको छुट्टै अस्तित्व मञ्जुर छैन भन्ने हो । कामेश्वर चौधरीले सन् १९९१ को अगस्त १७ तारिखमा प्रकाशित लेखमा ‘भाजपाले हिन्दु–मुसलमानबीच चरम घृणाको भावना फैलाएर भारतलाई झन असुरक्षित बनायो’ भनेका छन् । राष्ट्रिय एकता बलियो बनाउन सबै किसिमका मूल्य/मान्यता, विश्वास, जातीय र साम्प्रदायिक हितलाई समेट्ने उदार राष्ट्रनायक आवश्यक पर्छ । पृथ्वीनारायण शाहले नेपाललाई ‘सबै जातको फूलबारी’ भनेका छन् । राष्ट्र सबैको हो भन्ने बिर्सेर केही स्वार्थीले घेरा साँघुरो बनाउने प्रयास गर्दा टुँडिखेलबीच तीन आना जग्गा घेरे जस्तो भयो । दलहरूले ससाना पर्खाल लगाएर आफ्ना पसल चलाउँछन् । सेना पृथ्वीनारायणले झैँ सबै नेपालीलाई पृथ्वीपथ र पृथ्वी विचारमा सँगसँगै हिँडाउन खोजिरहेको छ । तसर्थ, त्यस्तो सत्प्रयासलाई राजनीतिक दलको चश्माले हेर्नु उचित हुँदैन ।

राजा महेन्द्रका पालासम्म पनि सेनाको भोजनघरमा ‘ठूलो र सानो जात’ भन्ने भेदभाव रहेछ । एक दिन सिपाहीको हुलमा मिसिएर राजाले उनीहरूसँगै भोजन गरेछन् । दुई चार जना बाहुन–क्षत्रीले हामी त अरुले छोएको खाँदैनौँ भनेको सुनेपछि राजाले सम्झाएछन्– ‘सिपाहीमा एउटै मात्र जात हुन्छ– नेपाली ।’ राजाले सम्झाएपछि ती ‘उच्च जात’ मानिएका सिपाहीहरूले मेसमा खान थालेको पुराना सैनिक अधिकृतहरू बताउँछन् ।

दलहरूका लागि गुटको नेता, दल र सीमित समर्थकको चिन्ता ठूलो हुन्छ । राजा, सेना र जनता मिलेर बनाएको नेपाल जोगाउन उनीहरूले ठूलो त्याग गरेका छन् । हजारौँ माइल हिँडेर, कष्ट सहेर राष्ट्र जोगाए उनीहरूले । तसर्थ, पृथ्वीनारायणकै पाइला पछ्याएर नेपाली सेनाले सन्देश दिएको छ– राष्ट्रिय एकता स्वीकार्नेहरू सबै हाम्रा मित्र (फ्रेन्ड्स अफ आर्मी) हुन् । बाँकी सबैलाई बैरी ठान्छ सेना । तसर्थ, अबको राज्य व्यवस्था राष्ट्रिय एकताका आधारमा चल्छ, चल्नुपर्छ । यसमा सेना सहजकर्ता, मर्यादापालक र सहयात्री बन्न सक्छ ।

राष्ट्रिय एकताको कुरा गर्दा हरेक राष्ट्रमा एकीकरणकर्ताको सम्मान गरिएको पाइन्छ । चीनका सम्राट छिन–सि–हाङ्ती, जर्मनीका अटो भोन विस्मार्क, इटलीका ग्यारीबाल्डी, मेजिनी र क्याभोर, नेपालका पृथ्वीनारायण शाह आदिको नाम सम्मानपूर्वक लिने गरिन्छ । सन् १९६० (२०१६/१७ साल) मा अफ्रिकाका सत्रवटा राष्ट्र स्वतन्त्र भए । सयाैं वर्षदेखि दासत्व भोगेका ती राष्ट्रको इतिहास अध्ययन गर्दा राष्ट्रिय एकता र स्वतन्त्रताको मूल्य थाहा हुन्छ । पाँच हजार वर्ष भन्दा पुरानो लिखित इतिहास भएको नेपाल सदैव स्वतन्त्र रहँदै आएको छ । राष्ट्र जोगाउन पुर्खाहरूले गरेको परिश्रमको अर्थसमेत नबुझ्ने विवेकहीनहरूले इतिहासलाई अभिशाप ठान्दै अपव्याख्या गरे पनि हामीले सधँै नेपाली भन्न पाएका छौँ । दलहरूले साइनबोर्डमा ‘नेपाल कम्युनिस्ट पार्टी’ र ‘नेपाली कांग्रेस’ आदि लेख्न पाएका छन् । तर पृथ्वीनारायणप्रति हृदयदेखि सम्मान व्यक्त गर्न किन कन्जुसी गरिरहेका छन् ? प्रश्न रहस्यमय छ ।

क्यामरुन, टोगो, माली, अल्जेरिया, म्याडागास्कर, सोमालिया, कंगो, नाइजर, बुर्किना फासो (अप्पर भोल्टा), सेन्ट्रल अफ्रिकन रिपब्लिक, ग्याबोन, सेनेगल, नाइेरिया आदीको राजनीतिक इतिहास अध्ययन गर्दा राष्ट्र स्वतन्त्र भए पनि राजनीतिज्ञहरू पुरानै मालिकका आज्ञाकारी हुँदा राष्ट्रको आत्मनिर्णय र सर्वाधिकार दुरूपयोग भएको पाइन्छ । २००७ सालपछि सत्तरी वर्षसम्मको अभ्यास गर्दा नेपालमा ‘डेमोक्रेसी’ एउटा थेगो मात्र भएको देखिन्छ । राष्ट्रलाई साँच्चै माया गर्नेहरूले मात्र राज्यसत्ता सम्हाल्न पाएको भए नेपालको यो हविगत हुने थिएन । तर २०४६ साल र २०६२/६३ सालको कथित परिवर्तनले जनतामा आशा उत्साह जगाउन सकेन । राष्ट्रिय एकता झन कमजोर भएको अवस्था छ भने राष्ट्रको अस्तित्वबारे अनेकौँ प्रश्न उठिरहेका छन् ।

यति हुँदाहुँदै पनि कताकता आशाको किरण देखिएको छ– पृथ्वीपथ र पृथ्वी विचारमा । दल, जात, क्षेत्र आदिको घेराबाट बाहिर आएर राष्ट्रका सबै शक्ति अटाउने राजनीतिक वातावरण सिर्जना गर्दै राष्ट्रिय एकताको रक्षा गर्ने स्थायी शक्तिहरूबीच बृहत् समझदारी हुनुपर्ने देखिन्छ । केही परजीवीबाहेक सबैले यस्तो प्रस्ताव स्वीकार गर्ने सम्भावना छ । राष्ट्रिय एकताको सरकार बनेमा त्यसमा विदेशी भाइरस पस्ने संभावना न्यून हुन्छ ।  

‘टिटो एन्ड द राइज एन्ड फल अफ युगोस्लाभिया’ पुस्तकमा रिचर्ड वेस्टले टिटोले कसरी राष्ट्रिय एकता बचाएका थिए भन्ने चर्चा गरेका छन् । टिटोको मृत्युपछि राष्ट्र कसरी टुक्राटुक्रा भयो भन्ने त युवा पुस्ताले पनि बुझेको छ । एउटा मात्र असल नायक भए पुग्छ, धेरै नायक भएमा राष्ट्रको विनाश हुन्छ भनिएको छ महाभारतमा । युधिष्ठिर भन्छन्– ‘नश्यन्ति बहुनायका ।’ यस्ता उदाहरणबाट राष्ट्र हाँक्ने हजारौँ परजीवी भन्दा प्रबल शक्ति नै भरपर्दो हुन्छ भन्ने बुझ्न सकिन्छ । नेपालले आज त्यस्तै बलियो नायक खोजिरहेको छ ।

प्रकाशित: २४ पुस २०७७ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App