८ वैशाख २०८१ शनिबार
विचार

शतायुमा साधक

नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्रको उदय भएपछि उच्चप्रशासकहरूमध्ये गर्वका साथ लिइने नाम हो– नरकान्त अधिकारी । नेपाली प्रशासनको इतिहासमा ४७ वर्षसम्म लगातार सरकारी सेवामा रही काम गर्ने यस्ता प्रशासक कमै होलान् । यो त भयो जागिरे नरकान्तलाई दुनियाँले बुझेको अनुहार । एक शैलीको सरकारी जीवनबाट अवकाश पाएपछि पारिवारिक धरोहरका रूपमा अन्तर्निहित आध्यात्मिक चेतले उनको वयको ठूलो हिस्सालाई झन् पल्लवित बनाउन पुग्यो ।  

विस्मृतिका कारण हाल उनी अहिले आफ्नाबारे सबैकुरा सम्झेर बताउने अवस्थामा छैनन् । यसैले उनका शिक्षादीक्षा, जागिर,  स्वभाव, निजी मामला, जीवनका आरोह/अवरोह, सोच र आध्यात्मिक लेखनबारे स्वयंले विगतमा भनेका, उनका बारे यस लेखकले जाने/बुझेका, उनका भाइ डा.  पूर्णकान्त,  छोराहरू रमाकान्त तथा शारदाकान्त र छोरी बेत्राबाट प्राप्त स्रोतलाई नै स्वभावैले यहाँ प्राथमिकता दिइएको छ । यसका अतिरिक्त उनका सहयात्री एवं अत्यन्त प्रियमित्र शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीबाट प्राप्त जानकारीको प्राधान्य  पनि यस लेखमा छ ।

दरबारबाट दुईवटा हेलिकप्टर किन्न रकम माग भयो । ‘यो जनताको पैसा हो, राजकुमारहरूको नाममा दिन मिल्दैन’ भनेर ठाडै इन्कार गरिदिए अर्थसचिव नरकान्त अधिकारीले ।  

प्रारम्भिक अवस्था  

पिता शेषकान्त अधिकारी नोकरीको सिलसिलामा वीरगन्जमा रहँदा वि.सं. १९७७ पुस २२ गते माता शैलकुमारीको कोखबाट नरकान्त अधिकारीको जन्म भएको हो । लप्टन पदवी पाएका शेषकान्तले जिल्ला हाकिमको हैसियतमा त्यतिबेलाको प्रशासन, अदालत, प्रहरी, सेना, विकास सबै पक्षको कामकारबाही हेर्नुपर्ने अवस्था थियो । नरकान्तले आफ्नो प्रारम्भिक बाल्यकालको पुख्र्याैलीघर लमजुङ जिल्लाको दुराडाँडामा नै बिताए । जागिरेको छोरा भएका कारण यस्तै १० वर्षको उमेरमा दरबार हाइस्कुल, काठमाडौँमा पहिलोपटक प्राथमिक कक्षामा नरकान्त अधिकारी भर्ना भए ।  

पारिवारिक पृष्ठभूमि  

नरकान्त अधिकारी १३ वर्षका हुँदा तनहुँ, चुँदीरम्घा निवासी दिग्विजय आचार्यकी ९ वर्षकी माहिली छोरी रमादेवीसँग विवाह भएको थियो । आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा आफैँमा सबैका लागि परिचित ठाउँ हो नै । भानुका ठाहिँलाबा गङ्गादत्त आचार्यको कुलमा जन्मिएकी  रमादेवी नाताका हिसाबले भानुकी पनातिनी पर्छिन् । अधिकारी दम्पतीका दुई छोरा र चार छोरीमध्ये हाल छोराहरू र एक छोरी मात्र छन् ।  

शिक्षा र पढाइप्रतिको दृष्टिकोण  

उनले दरबार हाइस्कुल, रानीपोखरीबाट म्याट्रिक (१९९४) पास गरी आइए र बिए त्रिचन्द्र कलेजबाट उत्तीर्ण गरेका हुन् । त्यतिबेला भारतको  पटनाबोर्ड तथा पटना विश्वविद्यालयको पाठ्यक्रमअनुसार नेपालमा पढाइ तथा परीक्षा हुन्थ्यो र उत्तीर्ण भएपछि प्रमाणपत्र समेत दिइन्थ्यो । यसपछि नेपालकै तत्कालीन नेसनल कलेजबाट उनले कानुन विषयमा स्नातक पनि गरे । भारत, श्रीलङ्का, जापान, जर्मनी, चीन, अमेरिकालगायतका देशबाट उनले उच्चस्तरीय तालिम,  अध्ययन भ्रमण गरेका छन् ।  

अंग्रेजी तथा संस्कृत भाषामा पनि राम्रो दख्खल राख्ने अधिकारी आफू अध्ययनमा रमाउने र आफ्ना भाइ तथा छोराछोरीसमेतलाई पढाइका सन्दर्भमा अत्यन्त कडा अनुशासनमा राख्ने गर्थे । गाउँघर र खासगरी लमजुङ तथा तनहुँबाट पढ्नका निम्ति काठमाडौँ आउने व्यक्तिलाई अन्यत्र व्यवस्था नहोउन्जेल आफ्नै घरमा आश्रय दिने गर्थे । कुनै कुनै बेला त यस्तो हुन्थ्यो कि मानौँ छात्रावाससरहकै भीड घरमा हुन्थ्यो । उनको पढ्नुपर्छ भन्ने चेतनाका अघि अन्य सबै पक्ष गौण मानिन्थे ।  

लमजुङ जिल्लाको दुराडाँडामा अवस्थित सर्वोदय मावि, उच्च माविका भवन र सहायक भवनहरू निर्माणनिम्ति नरकान्तले २० रोपनी जग्गा तथा नगद रु.१० लाख र छोरा रमाकान्तले नगद रु. २० लाख तथा पुस्तकालयका निम्ति पटक–पटक गरी करिब ८ लाख बराबरको सहयोग दिएका छन् ।  

जागिरे जीवन  

वि.सं. २००१ सालतिर जनसंख्या अधिकृतबाट राष्ट्रसेवकको हैसियतमा काम सुरु गरेका नरकान्त अधिकारी उपसचिव हुँदै सहसचिव भएपछि राष्ट्रिय योजना आयोगमा काम गरे । कुनैबेला इन्धन संस्थान, टिम्बर कर्पोरेसन र वन पैदावार विकास समितिलाई एकीकरण गरी सोको अध्यक्षमा उनलाई नियुक्त गरिएको थियो । तर त्यहाँ लोभीपापी र दलालहरूलाई राजनीतिक शरण भएको थाहा पाई या त उनीहरूसँग मिल्नुपर्ने या छोड्नुपर्ने अवस्था आएपछि उनी त्यसबाट हटे । नेपाल सरकारको सचिवमा पदोन्नति भएपश्चात् क्रमशः अर्थ, कृषि र रक्षा मन्त्रालयको कार्यभार सम्हालेका अधिकारीलाई २०४१ सालमा महालेखा परीक्षकमा नियुक्त गरियो । २०४६ सालमा बहुदलीय व्यवस्था लागु भएपछि प्रशासन सुधार आयोग गठनसँगै उनलाई पे–कमिसनको अलग्गै अध्यक्ष बनाइयो । यसरी अधिकारीको प्रशासनयात्रा २०४७ सालसम्म रहन पुग्यो ।  

अडानका व्यक्तित्व  

नरकान्तलाई उपसचिव भएपछि केही समय गुल्मी–अर्घाखाँची क्षेत्रको प्रशासन हेर्न बडाहाकिम बनाइ पठाइयो । यसैबीच पाल्पाका राणा बडाहाकिमका नातेदारले कसैको ज्यान मारेको विषयमा सो मुद्दा डिसमिस गर्न दबाब पर्दा सो काम गर्न चासो नदिएकाले उनलाई पुनःफिर्ता बोलाइयो । धेरै वर्षसम्म उनको बढुवा पनि रोकिएको थियो । अर्थसचिव हुँदा दरबारबाट दुईवटा हेलिकप्टर किन्न रकम माग भएकामा उनले ‘यो जनताको पैसा हो, राजकुमारहरूको नाममा दिन मिल्दैन’ भनेर ठाडै इन्कार गरेका कुरा पनि चर्चामा छ ।  

न्यायिक मान्छे  

नेपालमा देखिएका सामान्य प्रशासकहरू भन्दा नरकान्त अधिकारी  अलिक फरक मिजासका हुन् । एकपटक उनलाई भेट्न उनको घरतर्फ जाँदै गर्दा मैले एकजना मान्छे तल घरछेउ बाटोमै एउटा झोला बोकी बसेको देखेँ । रहेछन् भूमिसुधारमा काम गर्ने कुनै कर्मचारी । झ्यालबाट अधिकारीले हेर्दै भने– तपाईँले ल्याएको झोला बाहिरै छाडेर भित्र आउनोस् ।

मैले जागिरको प्रारम्भिक कालमा सहकारी अधिकृतमा काम गरेको छ वर्ष भइसकेको थियो । सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयमा निवेदन गर्दा जहिले पनि रजिस्टरमा लेख्नु, जानु, भइहाल्छ भनिन्थ्यो । तर त्यसरी कहिल्यै पनि सरुवा भएन । मैले पनि अधिकारीसँग सरुवा खोजेको कुरा गरेँ । उनले ‘तिमी अर्थ मन्त्रालयअन्तर्गत वा कुनै कमाउ ठाउँका लागि भन्न आएको भए गइहाल’ भने । म अकमक्क परेँ ।  

आध्यात्मिक साहित्य–साधक  

वास्तवमा सेवा निवृत्त भएपछि मात्र उनको आध्यात्मिक तथा धार्मिक क्षेत्रमा निकै लगाव रहेछ भन्ने कुरा भौतिकरूपमा उजागर भयो । अधिकारीले संस्कृतमा लेखिएका उच्चतम ग्रन्थहरूको नेपालीमा स्तरीय व्याख्या, मर्म र महत्व आफ्नो लेखनमा नै उतार्न सक्ने गरी स्वाध्ययनबाटै संस्कृत भाषाको ज्ञान हासिल गरेको प्रमाण त प्रकाशित कृतिहरूले नै बताउँछन् । झन्डै आधाशताब्दी राष्ट्रसेवामा लागेका र उमेरले करिब ७६ वर्ष पुगिसकेपछि मात्र आध्यात्मिक कृति लेखनमा जीवन सुम्पेर बृहत् आकारका यति धेरै ग्रन्थहरू लेख्ने विद्वान् शायद नेपालमा कमै होलान् ।  

उनका प्रमुख कृति हुन्– शिव महिम्न स्तोत्र (२०५३),  नारद तथा शाण्डिल्य भक्ति स्तोत्र २०५५,  श्रीमद्भागवत स्तुतिपुष्प (२०५७), पतञ्जलि योगसूत्र (२०६१), अमरापुरीभन्दा माथिको नन्दन वन (२०६४), गीताः मैले बुझेका केही कुरा (२०७३) र चिन्तन, मनन, अध्ययन गर्दा राम्रो हुन्छ कि ! (२०६६) भन्ने प्रतिदिन राम्रा वाणीहरू पढ्न पाइने टेबुलपात्रो ।  

अन्त्यमा,

उमेरले २०७७ पुस २२ देखि १०१ वर्षमा पाउ राख्ने यस्ता जीवित व्यक्तित्व नरकान्तले वेदवाक्य ‘जीवेम शरदः शतम्’ लाई उछिन्ने सत्यमोहनसहितका औँलामा गन्न सकिने केही दीर्घजीवी सामान्य नेपाली जस्तै जीवन बिताइरहेका  छन् । उनीसहित सबैको अन्तिम क्षण देवकोटाले भनेजस्तै ‘आखिर श्रीकृष्ण रहेछ एक’ नै हो । यो लेखक उनलाई भेट्न जहिले पुग्दा पनि उनको पारमार्थिक स्वभावका कारणले पनि होला आदिकवि भानुभक्त आचार्य लिखित रामायण (अयोध्या काण्ड (३००) मा वनप्रस्थानपूर्व भगवान श्रीरामले आफ्ना भाइ लक्ष्मणलाई भनेको श्लोक सुनाउने गर्छन् । उनको जीवन निरामय चलोस्, यही छ शुभकामना ।

प्रकाशित: २२ पुस २०७७ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App